भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट

चितवन,७ साउन
चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुमा निजी विद्यालय र सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका ५०/५० प्रतिशत विद्यार्थी छन् ।

शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय/सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधन सहित) को दफा ५ को उपदफा ३(१) बमोजिम छात्रवृत्ति प्रदान गर्न विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन मागेको थियो ।

जसअनुसार सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट २८३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको महाशाखा प्रमुख पौडेलले बताए ।

कसरी गरियो छनोट ?

महानगरले आवेदन माग गर्दा एसईईको ग्रेड सिटसहित अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, शहीद, जनआन्दोलनका घाइतेका, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, गरिब तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीको हकमा वडा कार्यालयको सिफारिस समावेश गर्न भनेको थियो ।

महाशाखा प्रमुख पौडेलका अनुसार विद्यार्थीले एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो । जसमा ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, ५ प्रतिशत दलित, ३ प्रतिशत अपाङ्गता र ९ प्रतिशत शहीद, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्तति छन् ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरिसकेका विद्यार्थीलाई छात्रवृत्ति दिने नाममा फेरि परीक्षा लिइनु उपयुक्त नहुने निष्कर्षसहित महानगरले परीक्षा नलिइएको पौडेलले बताए ।

छात्रवृत्ति दिने बहानामा पुनः परीक्षा लिएर छनोट गर्दा अपारदर्शी हुन सक्ने, विद्यार्थी र अभिभावक स्वमंले छनोटमा आशंका गर्न सक्ने देखिएकोले एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै आधार बनाइएको उनले बताए ।

विद्यालय कसरी छनोट हुन्छ ?

महाशाखका प्रमुख पौडेलका अनुसार आवेदन माग गर्ने समयमै विद्यार्थीले पढ्न चाहने विद्यालय छान्नु पर्ने अप्सन दिइएको र सोही अनुसार महानगरले विद्यालय छनोट गरी सिफारिस गर्ने छ ।

महानगरले छात्रवृत्तिका लागि सिफारिस गरेको आधारमा विद्यालयले अध्यापन गराउनु पर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *