Category: Banner

  • विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

    विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

    आइतवार, माघ २५-
    खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङनिवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।

    विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीयवासी वीरबल किराँतीले जानकारी दिए । यही २१ माघमा दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी २२ माघमा बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।

    बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

    स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि शिविरमा आउनेजानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले २३ माघदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको हो ।

    भोज खाएर फर्किएका उदयपुर, काठमाडौंलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए । ‘शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्’, उनले भने, ‘विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।’

    केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन् । भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए । ‘विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल सङ्कलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौं गएका एक बिरामीलाई टेकु पठाएका छौँ’, उनले भने, ‘फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुङ्गामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।’

    बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्र बाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।रासस

  • एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

    एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

    काठमाडौं, माघ २५-
    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।

    आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ ।

    शुक्रबार चार हजार ७१० रुपैयाँ थियो ।

  • ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

    ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

    बैतडी २५ माघ
    बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक गए राति दुर्घटनामा परेको हो ।

    सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।

    सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

    निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

    काठमाडौँ, २४ माघः 
    सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिनुभयो ।

    उहाँले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिनुभयो । उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उहाँको भनाइ छ ।

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताउनुभयो ।

    उहाँले गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको बताउनुभयो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेर प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिनुभएको पनि प्रवक्ता काफ्लेले बताउनुभयो ।

    मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोध गर्दै मित्थ्या र भ्रमपूर्ण र कसैलाई लाञ्छना लगाउने जस्ता सूचना नराख्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।

  • काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

    काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

    काठमाडौँ, २४ माघः 
    सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।

    गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ ।

    म जस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।” आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

    “सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु”, सभापति थापाले भन्नुभयो । उहाँले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

  • बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

    बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

    नेपालगन्ज, माघ २४-
    निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् ।

    निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा संलग्न उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहो¥याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

    निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको, निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी परेका थिए ।

    यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गरेको, सवारीसाधनमा झण्डा प्रयोग गरिएकोलगायत घटना दर्ता भएका छन् ।

    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका अनुगमन अधिकृत खत्रीले कतिपय स्थानमा उम्मेदवारले स्वयं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको स्वीकार गरेको उल्लेख गर्दै यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

    अनुगमन अधिकृत खत्रीले पछिल्ला केही दिनयता आचारसंहिता उल्लङ्घनका घटनामा कमी आउन थालेको जानकारी दिँदै कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको बताउनुभयो । केही उम्मेदवारसँग मौखिक स्पष्टीकरणसमेत सोधिएको र तत्काल त्यस्ता कार्य नदोहो¥याउन निर्देशन दिइएको उहाँले बताउनुभयो । रासस

  • प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

    प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

    काठमाडौँ, माघ २४ –
    प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

    अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताउनुभएको छ ।

    प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताउनुभएको छ । सन्देशमा उहाँले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भन्नुभएको छ ।

    प्रधानमन्त्रीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । रासस

  • चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

    चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

    चितवन, माघ २४
    जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ जनाले हतियार राख्न अनुमति लिएका छन् । स्थानीय प्रशासनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन अनुमति लिएर राखिएका हतियार बुझाउन गत माघ ६ गते सूचना प्रकाशित गरेको थियो । पन्ध्र दिनभित्र हतियार बुझाउन भनिए पनि सो अवधि सकिँदासमेत सम्पूर्ण हतियार फिर्ता गरिएको छैन ।

    “हतियार राख्ने अनुमति लिएर जिल्ला बाहिर राखिएको पनि हुन सक्छ, अन्य जिल्लामा बुझाइएको तथ्याङ्क आउने क्रम जारी छ”, प्रजिअ अर्यालले भन्नुभयो । उहाँका अनुसार बैंकिङ क्षेत्रमा रहेका हतियार बैंकको सुरक्षाका लागि राखिने हुँदा ती हतियार फर्ता गर्नुपर्दैन । अन्यको हकमा अनुमति लिएर राखिएका हतियार निर्वाचनको समयमा फिर्ता गरी निर्वाचनपछि पुनः लिन मिल्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रासस

  • युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

    युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

    काठमाडौँ, माघ २४ –
    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उहाँले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्ने कांग्रेसमा कुनै द्विविधा नभएको बताउनुभयो ।

    महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनका साथै निर्वाचनमा होमिन सहज भएको बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्छ भन्नुभयो ।

    त्यस अवसरमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । रासस

  • चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

    चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

    काठमाडौँ, माघ २४-
    काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

    उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।

    काठमाडौँको तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    “तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाउने गरेको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको थियो”, उहाँले भन्नुभयो, “सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आइटी ग्यारेजमा चेकजाँच गर्दा आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।”

    उहाँका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो ।

    चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पु¥याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । “अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ ।”

    प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।

    ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ । रासस