Category: फिचर

  • विदेशबाट फर्किएर मौरीपालनमा रमाउँदै चितवनका २९ वर्षीय केशव

    विदेशबाट फर्किएर मौरीपालनमा रमाउँदै चितवनका २९ वर्षीय केशव

    चितवन, वैशाख १८ –
    पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत छ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नुभएको हो ।

    राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फकिनुभएको र उहाँ नेपाल आएर मौरीपालन व्यवसायमा लाग्नुभएको हो । उहाँले करिब २५ घारबाट सुरु गर्नुभएको मौरीपालन व्यवसाय अहिले १३५ घार पु¥याउनुभएको छ । विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, “अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ ।” परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्नुभएको छ । आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उहाँले मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।”

    मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उहाँले बताउनुभयो । चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उहाँको भनाइ छ ।

    आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गर्नुभएका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आउनुभएको छ । घारलाई बढाएर १५० पु¥याउने योजना उहाँको रहेको छ । सुरुआतमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश हुनुभएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उहाँले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि बढाउनुभएको छ ।

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फकिएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताउनुभयो । – रासस

  • घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

    घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

    पाल्पा, भदौ २९-
    बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।

    हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन् । हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्छन् । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो ।

    उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उनको आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको बताउँछन् ।

    अहिले उनी पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्छन् । उनले सुरुमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गरे ।

    नेपाल फर्किएपछि उनी पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाएका छन् । तानसेनमा व्यापार गर्ने क्रममा उनी रामपुर आएका हुन् । “तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक ना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ भन्नुभयो,” उनले भने, “म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु ।”

    रामपुरमा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उनको अनुभव छ । रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उनको अनुभव छ ।

    पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उनको बुझाइ छ । उनको मुख्य व्यापार भनेको राडीपाखी हो । तर अहिले बढीमात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ ।

    गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरु जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उनको अनुभव छ । सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उनको अनुभव छ ।

    पहिला दिनमा २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा चार हजार जति कमाइ हुने गरेको उनी बताउँछन् ।

    उनी राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउँछन् भने अन्य सामान काठमाडौंबाट खरिदगरी व्यापार गरिरहेका छन् ।

    जुम्लामा राडीपाखी लिन उनी चार/चार महिनामा जान्छन् भने काठमाडौंमा महिनामा एकपटक पुग्छन् । रासस

     

  • सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

    सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

    इलाम, भदौ ७-
    छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।

    त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।

    पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।

    उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।

    “मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।

    उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।

    कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।

    जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।” रासस

     

  • भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

    भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

    भोजपुर, साउन ३१
    भोजपुरका पशुपालक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

    भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा शुरू गरेको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए ।

    किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख आम्दानी हुने गरेको उनले बताए ।

    स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए । उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पालेका छन् । स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ ।

    खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन् । उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् ।

    यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिए ।

    यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन शुरू गरेका छन् । उनले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेका हुन् । रासस

  • बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेतीमा जुट्न थाले भोजपुरका किसान

    बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेतीमा जुट्न थाले भोजपुरका किसान

    २० साउन, टक्सार
    बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।

    ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ ।

    ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताउनुभयो । यस वर्ष रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने उनको अनुमान छ ।

    यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आएका छन् । बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलपूmल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए । नेपालले हाल वार्षिक रु सात लाखसम्म आम्दानी गर्दै आएका छन् ।

    सिँचाई अभाव, बसाइँसराईलगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए ।

    जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन् ।

    गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए । अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए ।

    यस्ता कृषकलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ । रासस

     

  • पढाइलाई व्यवसायमा उतार्दै वीरेन्द्रमा अध्ययनरत विद्यार्थी विनय : खोले ‘खाजा पोइन्ट’

    पढाइलाई व्यवसायमा उतार्दै वीरेन्द्रमा अध्ययनरत विद्यार्थी विनय : खोले ‘खाजा पोइन्ट’

    चितवन, असार १२ –
    स्नातक (व्याचलर) लेभल पढिरहेको उमेरमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरु खोज्ने हो भने एकदमै कमै मात्रामा भेटिन्छन् । नेपालमा व्याचलर लेभल पढ्ने धेरैजसो विद्यार्थी घरपरिवारकै खर्चमा पढिरहेका हुन्छन् । केहीले जागिर गर्दै पढिरहेका पनि छन् । तर आफ्नै व्यवसाय नै खोलेर पढाइसँगै व्यवसायलाई अघि बढाउने विद्यार्थी कमैमात्र भेटिन्छन् ।

    चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षीय विद्यार्थी विनय आचार्यले पनि आफ्नै व्यवसाय सुरु गरेका छन् । क्याम्पसको व्यावसायिक सटरमा उनले ‘खाजा पोइन्ट’ नामक होटल सञ्चालन गरेका हुन् ।

    खाजा पोइन्टको वीरेन्द्र क्याम्पस प्रमुख दायाराम पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै उनले बिबिएस भनेको व्यवसायसँग सम्बन्धित पढाइ भएको र उक्त पढाइलाई सीपमा ढालेको भन्दै आचार्यको प्रसंशा गरे ।

    अहिले जागिर खोज्ने तर आफै केही उद्यम गर्न नखोज्ने प्रवृत्ति देखिएको अवस्थामा आफ्नै व्यवसाय खोलेर आचार्यले एक उदाहरण प्रस्तुत गरेको पौडेलको भनाइ छ ।

    घरबाट बाउआमासँग पैसा मागेर ल्याएर पढ्ने अवस्था बिस्तारै कम हुँदै गएको उनले बताए । उनका अनुसार वीरेन्द्र क्याम्पसका आइटीका विद्यार्थीहरुले आइटीको समुह बनाएर आइटीको संस्था बनाएर व्यावसायिक काम गरिरहेका छन् । त्यसैगरी कुनै विद्यार्थीले ट्रेनिङ् सेन्टर खोलेका छन् । त्यसैमध्येको अर्काे खाजा पोइन्ट पनि सञ्चालन आएको बताउँदै उनले विद्यार्थीका यस्ता कामले सिंगो क्याम्पस परिवार खुसी रहेको सुनाए । यस्ता कार्य गर्न अरु विद्यार्थीहरुलाई पनि प्रेरणा मिल्नुपर्ने उनले बताए ।

    आचार्यले आफ्नो पढाईलाई व्यवहारमा उतारेँ झैं अरु विद्यार्थी पनि यसरी नै लाग्नका लागि यस होटलले प्रेरणा प्रदान गर्नेमा आफू विश्वस्त रहेको पौडेलले बताए ।

    विद्यार्थीले सञ्चालन गरेका व्यवसायको विकास र प्रवद्र्धनमा क्याम्पस सदैव सहयोग गर्न तयार रहेको बताउँदै उनले विभिन्न विद्यार्थी संगठनहरुलाई पनि विद्यार्थीको व्यवसायलाई प्रवद्र्धनमा सहयोग गरिदिन आग्रह गरे ।

    वीरेन्द्र क्याम्पस सहायक क्याम्पस प्रमुख भोजराज गौलीले वीरेन्द्र क्याम्पसका सटरहरुमा पहिलो व्यवसायको रुपमा आफ्नै विद्यार्थीले खाजा पोइन्ट सञ्चालन गरेको प्रति खुसी व्यक्त गरे । होटलसँगसँगै आफ्नो पढाइलाई पनि राम्रोसँग निरन्तरता दिन उनले आग्रह गरे । पढ्दै कमाउँदै जुन सोच आचार्यमा विकास भएको छ यो सोच अरु विद्यार्थीहरुमा पनि आउनु पर्ने उनको भनाइ छ । व्यवसायिक सफलताको शुभकामना दिँदै उनले आचार्यबाट अरु विद्यार्थीले पनि सिक्ने वातावरण बन्नुपर्ने बताए ।खाजा पोइन्टका सञ्चालक एवम् विद्यार्थी विनय आचार्यले आफू विगतमा अरु व्यवसायमा काम गरेको अनुभव र प्लस टु देखि नै व्यवस्थापन संकाय लिएर पढेको ज्ञानका आधारमा होटल सञ्चालन गरेको बताए । उनले सुरुमा ६ लाख लगानी गरेर होटल सुरु गरेको जानकारी गराए । परिवार र साथी भाइको साथ र सहयोगले होटल सञ्चालन गरेको उनको भनाइ छ ।

    उनले चितवनको बजारमा चल्ने खाजाका अधिकांश परिकार होटलमा पाइने बताए । त्यसैगरी खानाका परिकार पनि बनाइने उनको भनाइ छ । ग्राहकको आवश्यकताअनुसार हामेडेलिभरी अर्थात ग्राहक भएकै ठाउँमा खाजा पुराउने काम पनि उनले गर्ने गरेका छन् ।

  • कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

    – भीष्मराज ओझा
    काठमाडौँ, २९ चैत
    सामान्यतः वन्यजन्तुबाट हुने क्षतिका बारेमा बढी चर्चा हुने गरेको छ । तर मानवीय क्रियाकलापकै कारण बर्सेनि ठूलोमात्रामा हुने वन्यजन्तुको क्षतिबारे भने कम चर्चा हुन्छ । वन्यजन्तुबाट मानवीय क्षति, घरपालुवा जनावर, घरगोठ र कृषिबाली नष्ट हुने गरेको छ । त्यस्तै माननीय क्रियाकलापका साथै चोरी सिकार, पूर्वाधार निर्माण र सडक दुर्घटना परेर वन्यजन्तुको क्षति हुन्छ ।

    आर्थिक वर्ष २०७९/८० मा मात्र २० वटा संरक्षित क्षेत्रहरुमा विभिन्न ४७ किसिमका ५५८ वटा वन्यजन्तु र जिवको मृत्यु भएको थियो । त्यसमध्ये प्राकृतिक कारणले १८७, सडक दुर्घटनाबाट १४१, चोरी शिकारबाट १४, करेन्ट लागेर १०, नहरमा डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणबाट ११३, पासो/जालमा परेर पाँच, कारण नखुलेको २९ र अन्य कारणले २५ वन्यजन्तुको मृत्यु भएको थियो ।

    यसरी मृत्यु भएका वन्यजन्तुमा गैंडा, बाघ, हात्ती, अर्ना, गौरी गाई, हिउँ चितुवा, कृष्णसार, चरी बाघ, चौका, चित्तल, रतुवा, निलगाईलगायत छन् । तराईका संरक्षित क्षेत्रहरुमा मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दो छ भने पहाड तथा हिमाली क्षेत्रमा यो संख्या तुलनात्मक रुपले कम देखिन्छ । सबैभन्दा बढी वन्यजन्तुको मृत्यु चितवन राष्ट्रिय निकुञ्जमा ११८ र सबैभन्दा कम मकालु बरुण र खप्तड राष्ट्रिय निकुञ्जमा एक÷एक भएको थियो ।

    विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा पछिल्लोपटक पूर्वाधार विकासका कार्य तीब्र रुपमा बढेका छन् । यसै सन्दर्भमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका विभिन्न मोडेलबारे बहस भएका छन् । कतिपय स्थानमा त्यस्ता निर्माणको सुरुआत समेत भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेकोे जलदेवी सामुदायिक वनअन्तर्गत आपटारीमा पर्ने पुलमुनि वन्यजन्तुको आहोरदोहोरका लागि बनाइएको ‘अन्डरपास’ प्रभावकारी देखिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता उमेशविन्दु श्रेष्ठका अनुसार सरकारले संरक्षण क्षेत्रमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८’ अनुसार नै पूर्वाधार निर्माण गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “नारायणगढ–हेटौडा–पथलैया सडक खण्ड विस्तार गर्ने योजनामा पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार डिजाइन गर्ने काम सुरु भएको छ । दुई स्थानमा दुई÷दुई किलोमिटर लामो सवारी साधनका लागि ‘फ्लाईओभर’ सडकको प्रस्ताव गरिएको छ ।” जैविक मार्गमा निर्माण हुने यस्ता ‘फ्लाईओभर’ सडकबाट वन्यजन्तुलाई ओहोरदोहोर गर्न सहज हुन्छ ।

    वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न तुलनात्मक निकै खर्चिलो छ । तैपनि जैविक विविधता र वन्यजन्तुको बासस्थान संरक्षण गर्न आवश्यक स्थानमा आर्थिक अवस्थाले धान्न सक्ने जति वन्यजन्तुमैत्री पूर्वाधार बनाउन लागिएको उहाँको भनाइ छ । “हाल निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डमा समेत जैविक मार्ग पर्ने विभिन्न १३ स्थानमा पुल कल्भर्टलाई केही माथि उठाएर वन्यजन्तुलाई आवतजावत गर्न मिल्ने गरी ‘अन्डरपास’ बनाउने काम भइरहेको छ” प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ ।

    वन्यजन्तुुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तुको बासस्थान र हिँडडुलका क्षेत्रमा निर्माण हुने रेखात्मक प्रकृतिका पूर्वाधार संरचनालाई वन्यजन्तुमैत्री बनाउन उक्त निर्देशिका बनाईएको हो । निर्देशिकामा राष्ट्रिय निकुन्ज, आरक्ष, जैविक मार्ग वा रामसार सूचिमा सुचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील क्षेत्र भनी परिभाषित गरिएको छ । यस्तो क्षेत्रमा पर्ने सडक, रेलमार्ग, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध, तटबन्ध, ग्यास तथा तेलका पाइप लाइन, विद्युत् आयोजनाका बाँधलगायत पूर्वाधार निर्माण गर्दा निर्देशिका लागू गर्नुपर्ने प्रावधान छ ।

    विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारले लागू गरेको नीति सकारात्मक प्रयत्न भएको बताउनुहुन्छ । युएसआइडीको सहयोगमा डब्लुडब्लुएफ नेपालले पनि यस सम्बन्धमा काम गरिरहेको छ । “वन्यजन्तुमैत्री पूर्वाधार निर्माण वन्यजन्तुका लागि मात्र होइन, यो त मानिस र घरपालुवा जनावरको सुरक्षाका लागि पनि हो”, उहाँ भन्नुहुन्छ, “मानिसले गर्ने यातायातको सुरक्षाका लागि पनि यस्ता पूर्वाधार आवश्यक छन् ।”

    वन्यजन्तुमैत्री पूर्वाधार भविष्यमा सस्तो हुन जान्छ :

    विश्वलगायत छिमेकी मुलुक भारतमा पनि यस्ता धेरै वन्यजन्तुमैत्री पूर्वाधार निर्माण भइसकेका छन् । नेपालले भर्खरै सुरु गर्न लागेकाले त्यस्ता अनुभवबाट नेपालले लाभ लिन सक्ने राष्ट्रिय प्रतिनिधि डा गुरुङको भनाइ छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सुरुमा अलिकती महङ्गो देखिए पनि वन्यजन्तु र संरक्षण क्षेत्रको दिगो व्यवस्थापनले भविष्यमा सस्तो हुन जान्छ । बाघ, गंैडा हात्तीजस्ता वन्यजन्तु विश्वकै सम्पत्ती भएकाले यसमा लाग्ने थप खर्च दातृ निकायबाट अनुदानका रुपमा पनि लिन सकिन्छ ।

    भायडक्ट, पुल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु आवतजावत गर्न सक्ने अण्डसपास संरचना बनाउन सकिन्छ । त्यस्तै भिलेज रोड ब्रीज, इको ब्रीज, क्यानोपी ब्रीज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु आवतजावत गर्ने ओभरपास संरचना बनाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

    नेपालमा रहेका ११८ किसिमका पारिस्थिकीय प्रणालीहरुमध्ये हालसम्म ८० किसिमका पारिस्थिकीय प्रणालीहरु संरक्षित क्षेत्रभित्र पर्दछन् । यी पारिस्थिकीय प्रणालीहरुको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्यहरु सञ्चालन हुँदै आएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख डिलबहादुर पुर्जा पुन पनि पूर्वाधारमैत्री निर्माणबाट मात्र जैविक विविधताको दिगो संरक्षण गर्न सकिनेमा जोड दिनुहुन्छ । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्न निकुञ्जको टिकौलीमा पर्ने सडक खण्डमा वन्यजन्तु ओहोरदोहोर गर्नका लागि दुई किमी लामो ‘फ्लाईओभर’ राख्ने सहमति भएको छ ।

    टिकौली र बरण्डाभारलगायत क्षेत्र मुलुककै लाइफ लाइन सडकखण्ड पनि हो । यस क्षेत्रमा भारतको बाल्मिकी निकुञ्जदेखि महाभारतसम्म जोड्ने जैविक मार्ग करिडोर पनि पर्छ,” प्रमुख पुन भन्नुहुन्छ, “यस खण्डको विकासलाई पनि रोक्न सकिदैन । जैविक विविधताको संरक्षणका लागि करिडोर जोगाउन वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पनि अपरिहार्य छ ।” यसले गर्दा वन्यजन्तुको निरन्तर ओहोरदोहोर हुने र यातायातका साधन पनि २४सै घण्टा निर्वाध सञ्चालन गर्न सकिन्छ ।

    चितवन निकुञ्ज क्षेत्रमा पर्ने हुलाकी राजमार्गका सन्दर्भमा पनि कसरादेखि बनकट्टा क्षेत्रमा पर्ने धु्रवा पोष्ट छेउबाट पनि यस्तै करिब दुई किमी लामो ‘फ्लाईओभर’ बनाउन सके जैविक विविधतालाई कम असर पर्ने आफूले सुझाव दिएको उहाँ बताउँनुहुन्छ ।

    नेपालले जैविक विविधता संरक्षणको क्षेत्रमा अवलम्बन गरेको विभिन्न नीति तथा योजना अन्तर्राष्ट्रिय मञ्चहरुमा उच्च प्रशंसा हुँदै आएको छ । त्यसका बाबजुद जैविक विविधता संरक्षणमा केही चुनौतीको सामना गर्नु परिरहेको छ । निकुञ्ज वरपर बढ्दो जनघनत्व र प्राकृतिक स्रोत माथिको निर्भरता, वातावरणीय व्यवस्थापन योजना विनाका विकास निर्माण, जलवायु परिवर्तनको प्रभाव, मानव वन्यजन्तु द्वन्द्व तथा अव्यवस्थित भू–उपयोगका कारण संरक्षित क्षेत्रमा पर्न गएको असर मुख्य चुनौती हुन् ।

    निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना संरक्षण क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा संरक्षणका लागि प्रत्युपादक हुने गरेको बताउँनुहुन्छ । जैविक विविधतामा असर पर्छ भनेर हाम्रो जस्तो विकासोन्मुख मुलुकले विकास निर्माणका काम रोक्नु पनि हुदैन, तर जैविक विविधताको संरक्षणलाई नजरअन्दाज पनि गर्नुहुँदैन, उहाँ भन्नुहुन्छ, “वन्यजन्तुको ओहोरदोहोरका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ आवश्यकताअनुसार बनाएर निर्माणको काम गर्नुपर्छ ।”

    क्षति न्यून गर्न वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक :

    संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति न्यूनीकरण गर्न वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक पर्ने एक अध्ययनले समेत देखाएको छ । रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारणलाइन, रेलका लिङ्कलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । यस्ता दुर्घटनाबाट जैविक विविधता संरक्षणमा गरेको खर्च खेर जाने र संरक्षणमा प्राप्त उपलब्धि मासिने देखिएको छ ।

    नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले केही समयअघि यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत अध्ययन गरेको थियो । तराईका बारादेखि कैलालीबीचका सबै जिल्लाको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनमा तराईका जिल्लामा भइरहेका भौतिक पूर्वाधारको अवस्था, प्रभावित क्षेत्र, पूर्वाधार निर्माणका सकारात्मक तथा नकारात्मक पक्ष, वन्यजन्तुमैत्री निर्माणका आधार, निर्माणका क्रममा सम्बोधन गर्नुपर्ने विषय तथा क्षेत्रलाई समेटिएको छ ।

    अध्ययनमा पूर्व पश्चिम सडक विस्तार, हुलाकी मार्ग, सिँचाइ आयोजना (सिक्टा र रानीजमरा–कुलेरिया), मोतीहारी–अमलेखगञ्ज पाइपलाइन, चुरेमा निर्माणाधीन मदन भण्डारी राजमार्ग, ललितपुर–निजगढ फास्ट ट्रर्याक, प्रस्तावित निजगढ विमानस्थललगायतका निर्माण आयोजनाहरुलाई समेटिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका केही काम भए पनि ती पर्याप्त नभएको र हाल निर्माण भएकाभन्दा अझ स्तरीय र प्रभावकारी निर्माण आवश्यक देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

    वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने खालका पूर्वाधार निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व जैविक मार्ग, वन्यजन्तुको वासस्थान र संवेदनशील अवस्थामा रहेका ‘बोटलनेक’ (वन्यजन्तु ओहोरदोहोर गर्ने साँघुरो जैविक क्षेत्र) को नक्सा तयार गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

    प्रतिवेदनमा चितवनको बरण्डाभारस्थित राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गर्न बनाइएको ‘अन्डरपास’ प्रभावकारी भएको पाइएको उल्लेख छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउनुपर्ने सुझाव दिइएको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, केन्द्रीय तथा प्रादेशिक सम्बन्धित मन्त्रालय, मध्यवर्ती क्षेत्र विकास परिषद्, संरक्षण क्षेत्र तथा वन उपभोक्ता समूहबीच सहकार्य तथा समन्वय अनिवार्य छ ।

    स्थानीय तहमा तीव्र गतिमा भइरहेका सडक, सिँचाइ, रेलमार्गलगायतका निर्माण कार्यलाई जैविक विविधतामैत्री बनाउनुपर्ने, ठूला सिँचाइ, नहर र कुलोको दुवै किनारमा फेन्सिङ गरी वन्यजन्तु स्वतन्त्ररूपमा ओहोरदोहर गर्न मिल्ने गरी उपयुक्त र वैज्ञानिक पूर्वाधार निर्माण गर्नु आवश्यक छ । – रासस

  • गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

    गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

    महोत्तरी, २९ चैत
    चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीका धारा चल्न छाडेका छन् ।

    यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन् । जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार÷पाँच वर्ष नै भइसक्यो । जुडी र जोकाहाको भुलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुञ्जेल गखरक्क रहन्छन् ।

    “यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बा¥हैमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियो भन्दा उदेक मान्छन्”, बर्दिवास–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भन्नुहुन्छ, “यही जुडी भुलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो ।”

    यसैगरी जोकाहा भुल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतर बताउनुहुन्छ । “जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो”, बाँतर विरक्तिँदै भन्नुहुन्छ ।

    यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे । कतै पानी देखिन्न । पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन् । जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिएपनि उत्तरी क्षेत्रमा नामनिसान देखिदैन । “पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुबस्तुलाई नुवाइधुवाइ गराउन छाडियो”, भङ्गाहा–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारु भन्नुहुन्छ, “अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ ।”

    यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ । “हेर्नोस् न, धारामा पानी झर्नै छाड्यो” घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास–२ की गृहिणी नगिना महतो भन्नुहुन्छ, “अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिदैन ।” चैत नबित्दै बनेको यो अवस्थाले वैशाख÷जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ । दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउनुहुन्छ ।

    बर्दिवासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ । चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी धाराबाट वितरण गरिदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो । “धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ” बर्दिबास–१४ की सुनिता साह भन्नुहुन्छ, “पानी बढी चाहिने बिहानपख नै धारा मा पानी आउँदैन ।” अरु आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउनुहुन्छ । जतिखेर पनि पानी आइरहने धारामा अब त कतिबेला पानी आउँछ भनेर ताक पर्खनु पर्ने भएको गृहिणी बताउँछन् ।

    बर्दिवास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडाबस्ती खानेपानी धारामा आश्रित छन् । वडानम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन् । अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो । यसैगरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ का रामविलास सिंह कुशवाहा बताउनुहुन्छ । “मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन”, कुशवाहा भन्नुहुन्छ । मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुराबासी बताउँछन् ।

    जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलबस्तीमा अहिले खानेपानीको समस्या बढेको छ । नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शङ्कर) स्वीकार गर्नुहुन्छ । यद्यपि बस्तीबस्तीमा पालो मिलाएर धारामा पानी दिदै आइएको उहाँको भनाइ छ । “पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो”, फुयाल भन्नुहुन्छ, “हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्बनमा लागेका छौँ ।”

    सामान्यतया प्रत्येक वर्षजसो वैशाख÷जेठमा पानीको सङ्कट झेल्दै व्यहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको हाहाकार पर्नसक्ने यस भेगका सर्वसाधारणको चिन्ता छ । भङ्गाहा–४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला पाँच÷छ वर्षदेखि कवाडी बनेका रामनगर बस्तीका ३० वर्षीय रामईश्वर ठाकुर बताउनुहुन्छ । “चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्”, ठाकुर भन्नुहुन्छ ।

    बर्दिवास नगरपालिका क्षेत्रका धेरैजसो बस्तीमा नदी, खोल्साखोल्सी र जरुवाको पानी सङ्कलन गरेर भण्डार गरिएको पानी धाराबाट सर्वसाधारणलाई वितरण गरिदै आइएको छ । यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा फागुन अन्त्यदेखि नै घरघरमा वितरण गरिएका धारामा पानी घटेको हो । “हाम्रो धारामा आउने पानीको स्रोतका मुहान सुक्दै गएका छन् , त्यसैले यसपालि अलि चाँडै धारामा पानी घटेको हो” बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेन भन्नुहुन्छ, “तर हाहाकारकै स्थिति चाहिँ बनेको हैन ।”

    बर्दिवास नगर क्षेत्रका बिजलपुरा, भेडियारीटोल र मेघरोलसहितका केही बस्तीमा खानेपानीको स्रोत चापाकल, पशुपतिनगर, बिजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका केही बस्तीमा इनार प्रयोग हुँदै आएका छन् । अहिले धमाधम चापाकल सुक्दैछन् भने इनारमा पानीको सतह निकै गहिरिएको छ ।

    त्यसैगरी भङ्गाहा र गौशाला नगरक्षेत्रका दक्षिणी भेगमा खानेपानीका स्रोत इनार र चापाकल रहँदै आएका छन् । यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला–९ भरतपुरका शिवशरण राय बताउनुहुन्छ । “चापाकल धमाधम सुक्दैछन्” आफ्नो आँगनको चापाकल देखाउँदै रायले भन्नुभयो, “अब यसपालि पछिपछि पानी ओसार्न बयलगाडा जोत्नु पर्लाजस्तो छ ।” यता पानी पाइन छाडेपछि बयलगाडा जोतेर टाढाटाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो ।

    भङ्गाहाका दक्षिणी भेगका बस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडानम्बर–४ र ५ का १० भन्दा बढी बस्तीमा पानीको सङ्कट चुलिदै छ । वडानम्बर–४ का प्रेमनगर, रामनगर, टोका, पलार र वडानम्बर–५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुम्हालटोल र चौधरीटोलमा चापाकल कुनै कामलाग्ने स्थितिमा नरहेका धतियाटोलका सामाजिक कार्यकर्ता सुपतलाल यादव बताउनुहुन्छ । “अब यी बस्तीमा चापाकल फेल (असफल) भयो, अहिलेलाई इनारले बचाइ राखेको छ” यादव भन्नुहुन्छ, “इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ ।” यसैगरी रामनगर, प्रेमनगर र टोकाटोलका चापाकल यसअघि नै कवाडी बनेका स्थानीय बताउँछन् ।

    भङ्गाहा नगर क्षेत्रका ४ र ५ नम्वर वडा बस्तीहरुमा बर्सेनि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ । “लगभग दुई दशकअघि होला, १५÷१६ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके” भङ्गाहा–४ रामनगरका ५८ वर्षीय गङ्गाराम महतो भन्नुहुन्छ, “अब त ६० हात नपु¥याइ पानी भेटिदैन, किन यस्तो भएको होला ?”

    यसैगरी चुरे पहाडी बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन् । चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्वर वडामा ४० भन्दा बढी बस्ती छन् । पाखा बस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । “पहिलेपहिले यहाँका खोल्सी र जरुवा कहिल्यै सुक्दैनथे, सधैं सदाबहार पानी चल्थ्यो” बर्दिबास–४ माइस्थान शिरका ७० वर्षीय रामबहादुर राना भन्नुहुन्छ, “पछिल्ला केही दशकयता नदी, पाखा र बगर पर्ति जग्गामा बालु ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि अनुकूल वर्षा हुन छाडेर पानीका मुहान सुकेका जान्ने बुझ्ने बताउँछन् ।” वन उजाडिदै जानु र अवैध उत्खनन् नियन्त्रण हुन नसक्दा पानीका मुहान सुक्ने गरेका विज्ञहरुको भनाइप्रति आपूm सहमत रहेको राना बताउनुहुन्छ ।

    त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिबास–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा भोला श्रेष्ठ बताउनुहुन्छ । यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगरमा धमाधम इनार सुक्न थालेपछि चैत सकिनअघि नै खानेपानीको सङ्कट बढेको छ ।

    खानेपानीका स्रोतका मुहानसँगै बस्तीबस्तीका सार्वजनिक पोखरी र डबरी (साना पोखरी) सबैजसो सुकेपछि बस्तुभाउको नुवाइधुवाइ र पानीघाटको सुविधा पाइन छाडेको छ । इनारको पानीबाहेक सिचाइको अरु सुविधा नहुँदा आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको भङ्गाहा–४ रामनगर बस्तीकै किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । जिल्लाका गाउँ नगर बस्तीमा अचेल २०३० सालयता पहिलेका वन मासेर रोपिएका इक्युलिप्टिस (मसला, सपेता) ले पनि पानीको मुहान सुकाउँदै लगेको सर्वसाधारणको अड्कल छ । मसला सघन रोपिएका क्षेत्रमा त्यसअघि रहेका सदाबहार भूल (जरुवा) सबै सुकेका बर्दिबास–८ हाथीलेटका शेरबहादुर तामाङ बताउनुहुन्छ ।

    यसपालि हिउँदे वर्षा राम्ररी नभएको, यसै चैतको दोस्रो साताको क्षणिक वर्षाले पानीका मुहान रसाउन नसकेका र नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन् गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाउँदा पानीको सङ्कट बढेको हो । यसैगरी चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैत नसकिदै पानीको सङ्कट बढेको विज्ञ बताउँछन् । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौं” महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “नदीहरुको अनियन्त्रित दोहन रोक्न, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट झनझन बढ्दै जानेछ ।”

    विसं २०७४ यता स्थानीयतहमा जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार चाँडै सुक्ने गरेका भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरेविज्ञ डा. विजयकुमार सिंह बताउनुहुन्छ । चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एबम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने डा. सिंह ठोकुवा गर्नुहुन्छ । विगतमा राष्ट्रपति चुरे मधेश संरक्षण तथा विकास समितिमा आबद्ध रहनु भएका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल गर्दै आउनु भएको छ ।

    पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, जङ्घा, भब्सी, रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा पानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइ स्थानीय तहले भने बेवास्ता गरेका सर्वसाधारणको गुनासो छ । यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । “हामी नदीनाला, नदीउकास जग्गा र अन्य प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोेगका नीति कसरी बनाउँदा राम्रो हुन्छ भन्ने सघन छलफल गरी रहेका छौँ” भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्नुहुन्छ, “विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना छनौट गरिदा र कार्यान्वयमा लगिदा प्राकृतिक सम्पदाहरुको संरक्षणलाई ध्यान दिएका छौँ, यस्ता विषयमा पर्याप्त गम्भीरता अपनाइएको छ ।”

    स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिइएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञहरुको मत पाइन्छ । – गोपालप्रसाद बराल/रासस

  • सफलतालाई छेक्दैन अपाङ्गताले

    सफलतालाई छेक्दैन अपाङ्गताले

    खोटाङ, २८ चैत
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान)मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल हुनुभएको छ ।

    पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्रसमेत बुझिसक्नुभएको छ । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाउनुभएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस हुनुभएको छ ।

    कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिनुभएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नंमा नाम निकाल्नुभएको थियो । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुभएका दिक्तेलस्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ ।

    विसं २०६९ मा आफ्नै गाउँ खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका विश्वकर्मा दुई वर्षअघिदेखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०६५÷६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिक्नुभएका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष हुनुहुन्छ ।

    विसं २०७१ देखि सङ्गीतमा लाग्नुभएका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आउनुभएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बन्नुभएको छ ।

    कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिनुभएका विश्वकर्माको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्नुहुने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गर्नुभएको हो ।

    आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताउनुभएको छ । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उहाँले भन्नुभयो, “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।”

    विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ ।

    उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उहाँकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकाल्नुभएको छ । उहाँहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझ्नुभएको छ ।

    जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नुभएको छ । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस हुनुभएको छ ।

    स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिनुभएको थियो । राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत हुनुहुन्थ्यो ।

    उहाँकी श्रीमती लिम्बू भने हालसम्म पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गरिरहनुभएको थियो । खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो ।

    राई आँखाको उपचारका सिलसिलामा बाल्यवस्थामै धरान झरेको सुनाउनुहुन्छ । धरानमा राईको आँखाको ज्योति फर्किएन तर धरानले उचित शिक्षादीक्षा दिलाएको थियो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतीसहित गाउँ फर्किनुभएको छ ।

    दृष्टिविहीन विश्वकर्मा र राई दम्पतीको सफलताले सपाङ्ग व्यक्तिका लागि चुनौती थपिएको छ । मेहनत गर्नेका लागि सफलता चुम्न शारीरिक अपाङ्गताले नछेक्ने विश्वकर्मा र राई दम्पतीको सफलता उदाहरणीय बनेको छ ।

    गत जेठ २० गते पहिलो पेपर, असोज १३ गते दोस्रो पेपरको लिखित परीक्षा तथा फागुन २९ गतेको अन्तर्वार्ता भएको शिक्षक सेवा आयोगको परीक्षामा विश्वकर्मा र राई दम्पतीसँगै ७८ जना स्थायी शिक्षक भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा ९२ जना माग भएकामा ७८ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । – राष्ट्रिय समाचार समिति (रासस)

  • बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमाया

    बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमाया

    भोजपुर, ११ चैत
    बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उहाँ हाटबजारमा बदाम बेच्न पुग्नुहुन्छ । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थाल्नुभएकी उहाँ अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जानुहुन्छ ।

    “आफूले सकेको काम गर्नुपर्छ”, वृद्धा कार्कीले भन्नुभयो, “धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।” जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको उहाँले बताउनुभयो । आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । “बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ”, उहाँले भन्नुभयो ।

    किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उहाँले बताउनुभयो । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उहाँले बदाम बेच्दै आउनुभएको छ । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उहाँले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गर्नुभयो ।

    विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उहाँको अनुभव छ । “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवद्र्धन गर्नुपर्छ ।”

    गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताउनुभयो । पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उहाँले बताउनुभयो । “बदामखेती व्यावसायिक बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।” बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भन्नुभयो । – राष्ट्रिय समाचार समिति (रासस)