Category: कालिका

  • कालिकाको चापागौंडी देखि शेरबास जाने सडकको शिलान्यास

    कालिकाको चापागौंडी देखि शेरबास जाने सडकको शिलान्यास

    चितवन, मंसिर २८-
    चितवनको कालिका नगरपालिकाको रिङरोड भएको गैरीबारी, चापागौंडी देखि शेरबास जाने कालोपत्रे सडक र पक्कि नालाको कालिका वडा नं. ८ गैरीबारीमा शिलान्यास भएको छ ।

    कालिका नगरपालिका र बागमती प्रदेश सरकारको बजेटमा १ हजार ६ सय ५० मिटर कालोपत्रे सडक र २ हजार ६ सय ५० मिटर पक्कि नाला निर्माण कार्यको कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले शिलान्यास गरे ।

    नगर प्रमुख रेग्मीले विकास निर्माणको कार्यमा सबैलाई सघाउन आग्रह गरे । यो सडक निर्माणले बैकल्पिक सडक मार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एंव न्यूनीकरण कम गर्न, रणनैतिक हिसावले कालिका नगरपालिकाको आर्थिक रुपमा टेवा पु¥याउने बताए ।

    नगर प्रमुख रेग्मीले भने, “यसरी नै नगरले आगामी आर्थिक वर्ष भावि रुपमा कालिकाको शेरेबास सम्मै पुग्नेगरी यो बाटो जोड्ने लक्ष्य छ ।”

    सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुँने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटोहरु बिस्तारै बन्दै जाने उनको भनाई छ ।

    नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकको लागि पालिकाको रु १ करोड ८० लाख र प्रदेश सरकारको रु १ करोड २० लाख गरी ३ करोडको बजेट परेतापनि जीए.राम माता कंकालीनी जेबी चितवनसंग रु २ करोड ३ लाख ९० हजार रुपैँयामा ठेक्का समझौता भएको उनले बताए ।

    सो कम्पनिसंग २०८२ मंसिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते कार्य सम्पन्न गर्ने सम्झौता भएको इन्जिनियर खतिवडाले बताए ।

    नगरपालिकाले कालिका–८ गैरीबारी झरना जाने बाटोलाई पक्कि बाटोको रुपमा बिकाश गरेको छ ।

    शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, नगरका प्रवक्ता लक्ष्मण पौडेल, वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, वडा सदस्य, स्थानीयहरुको सहभागीता रहेको थियो ।

  • भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका महतोको शव फेला

    भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका महतोको शव फेला

    चितवन,भदौ ५-

    भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार दिउसो २ बजेको समयमा कालिका नगरपालिका ५ खगेरी खोलास्थित कमिनी घाटमा भैसी चराउन जाने क्रममा कालिका नगरपालिका ५ भिमवली पार्कका ७२ वर्षिय डकुवा महतोलाई एक्कासी आएको बाढीले बगाएको थियो । उनको शव आज (बिहिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    उनको खोजीका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली खटिएको थियो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

  • प्रहरी चौकी जुटपानी अनुगमन, प्रहरी निरिक्षक (ईन्सपेक्टर) आउँदै

    प्रहरी चौकी जुटपानी अनुगमन, प्रहरी निरिक्षक (ईन्सपेक्टर) आउँदै

    रत्ननगर, साउन २१ ।
    कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोविन्द पुरीले प्रहरी चौकी जुटपानीको अनुगमन गरेकाछन् ।

    अनुगमनका क्रममा कालिका ७ मा रहेको प्रहरी चौकी जुटपानीमा प्रहरी निरिक्षक दरबन्दी, प्रहरीको दैनिक गतिविधि, समस्या, स्थानीयसंग प्रहरीको समन्वय लगायतका बिषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एसपी) पुरीसंग नगर प्रमुख रेग्मीले छलफल गर्नुभएको थियो ।

    प्रतिक्रिया स्वरूप प्रहरी उपरिक्षक (एसपी) पुरीले कालिका नगरपालिकामा छिट्टै प्रहरी निरिक्षक आउने कुरा बताएका छन् । नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका बाबजूद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

    कालिका नगरपालिकामा शान्ति सुरक्षाको सुदृढीकरणका लागि लामो समयदेखि स्थानीय जनप्रतिनिधिहरूले यस्तो माग राख्दै आएका थिए ।

    सोही क्रममा बोल्दै नगर प्रमुख रेग्मीले एक हप्ता वा दश दिन भित्र प्रहरी चौकी जुटपानीमा प्रहरी निरिक्षक आउने जानकारी दिए ।
    उनले भने, “प्रहरी अधिकृत आउँदा न्यूनतम पूर्वाधार निर्माण, गाडी मर्मत, अन्य अफिसमा आवश्यक पर्ने सामग्रीहरू नगरपालिकाले सहयोग गर्नेछ । ”

    धेरै वर्षको प्रयासपछि सफल हुने चरणमा पुगेकोमा नगर प्रमुख रेग्मीले खुसी व्यक्त गरे ।

    गत साउन १४ गते नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र कालिका नगरपालिकाका मेयर विनोद रेग्मीबिच भरतपुरमा एक महत्त्वपूर्ण भेटवार्ता भएको थियो । भेटका क्रममा मेयर रेग्मीले कालिका नगरपालिकामा ईन्पेक्टरको दरबन्दीसहितको प्रहरी चौकी स्थापनाको विषयमा चासो राखेका थिए ।

    प्रहरी चौकी अनुगमनका क्रममा उपप्रमुख विमला तामाङ, नगरका प्रवक्ता तथा कालिका २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, कालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवा, प्रहरी चौकी जुटपानी, खोलेसिमल प्रहरी बिट, प्रहरी चौकी पदमपुरका प्रहरी प्रमुख र प्रहरीहरुको सहभागिता रहेको थियो ।

  • चितवनका सात पालिकामध्ये कालिकाको अधावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र पर्न सफल

    चितवनका सात पालिकामध्ये कालिकाको अधावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र पर्न सफल

    कालिका, जेठ ७ –
    चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका सबैभन्दा कम अधावधिक बेरूजु कायम भएको छ । यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको छ । २०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरिएको जनाएको छ ।

    लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम असुल गरी नगरपालिकाको खातामा जम्मा गरिएको छ । पेश्की रकम फर्छाैट गरेको तथा नगरपालिकाले आवश्यक विभिन्न कानुन तथा कार्यविधि निर्माण गरेकोले रु १५ करोड ६६ लाख बेरुजु फर्छौट गरी महालेखा परिक्षक कार्यालयको २०८१ सालमा प्रकाशित (२०७९/०८०) तथ्याङक अनुसार हाल रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु कायम भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको रेग्मीले बताए ।

    आर्थिक वर्ष २०७९/०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाइएको तथ्याङक अनुसार कालिका नगरपालिकाको हाल रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु बाँकी छ । जुन चितवन जिल्लामा सबैभन्दा कम हो । इच्छाकामना गाउँपालिकाको रु १० करोड ८० लाख ६४ हजार दोस्रो, खैरहनी नगरपालिकाको रु ११ करोड ८४ लाख ९२ हजार तेस्रो, रत्ननगर नगरपालिकाको रु १६ करोड १८ लाख ८९ हजार चौथो, राप्ती नगरपालिकाको १९ करोड २९ लाख ९४ हजार पाँचौ, माडी नगरपालिकाको ४६ करोड १५ हजार छैठौं र भरतपुर महानगरपालिकाको ९३ करोड ५० लाख २९ हजार सबैभन्दा धेरै कुल बेरुजु बाँकी रहेकाले सातौं स्थानमा छ ।

    चितवन जिल्लाकै सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको कालिकाका नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिको सम्पूर्ण पक्षमा साना साना सुधार गरिरहेको बताउँदै उनले कानुनहरुको पालना गरेको प्रतिक्रिया दिए । कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालका अनुसार नगरपालिकाले बजेट तर्जुमा गर्दा र खर्च गर्दा नेपाल सरकारको सम्पूर्ण कानुनहरु पालना गरेको र नगरपालिकाले आफैले बनाउनु पर्ने कानुन, कार्यबिधिहरु र मापदण्डहरु बनाएकाले बेरुजु न्यूनीकरण सम्भव भएको हो ।

  • लियो क्लव अफ कालिकाको वक्तित्व कला, शिखा चौधरी प्रथम

    लियो क्लव अफ कालिकाको वक्तित्व कला, शिखा चौधरी प्रथम

    चितवन, बैशाख १४
    लियो क्लव अफ चितवन कालिकाले आयोजना गरेको नगर स्तरिय वक्तित्व कला कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    क्लवले “बालमैत्री स्थानीय शासन निर्माणमा सङ्घसंस्थाहरूको भूमिका” शीर्षकमा उक्त वक्तित्व कला आयोजना गरेको हो ।

    वक्तित्व कलामा प्रथम शिखा चौधरी भएकी थिइन् भने द्वितीय शाश्वत अर्याल र तृतीय तबिता प्रजा भएकी छन् ।

    कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा र नगर उपप्रमुख बिमला तामाङको विशिष्ट अतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो भने विभिन्न वडाका जन प्रतिनिधिहरू र महिला बालबालिका शाखा अधिकृतको आतिथ्यता रहेको थियो।

    साथै लियो जिल्ला परिषद्का निवर्तमान अध्यक्ष लियो लायन किरण लामिछाने नवनिर्वाचित वर्ष २०२५/२६ का अध्यक्ष लियो लायन विज्ञान पौडेल लयायत अन्य बोर्डका सदस्यहरु र छिमेकी क्लबका अध्यक्षहरुको उपस्थिति रहको थियो।

    कार्यक्रम शुभ राशि कन्सल्टेन्सीले प्रायोजन गरेको थियो भने कालिका नगरपालिकाको सहयोगमा क्लबका अध्यक्ष लियो अनिश दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

  • पढाइ सुरू गर्न सामुदायिक विद्यालयलाई कालिका नगरपालिकाको आग्रह

    पढाइ सुरू गर्न सामुदायिक विद्यालयलाई कालिका नगरपालिकाको आग्रह

    भरतपुर, बैशाख १३
    चितवनको कालिका नगरपालिकाले वैशाख १५ गतेदेखि पठन९पाठन सुरू गर्न सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।

    शिक्षकहरूको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरू हुनुपर्ने विद्यार्थी भर्ना अभियान प्रभावित भएको भन्दै नगरपालिकाले १५ गतेपछि विद्यार्थी भर्नासँगै पढाइ सुरू गर्न अनुरोध गरेको हो।

    प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले नगरभित्रका सबै सामुदायिक विद्यालयहरूलाई पत्र पठाएको बताए।

  • नेकपा एमाले कालिका नगरपालिकाको नगर अधिवेशन सुरु, ३५१ प्रतिनिधिबाट नेतृत्व चुनिँदै

    नेकपा एमाले कालिका नगरपालिकाको नगर अधिवेशन सुरु, ३५१ प्रतिनिधिबाट नेतृत्व चुनिँदै

    चितवन, पुष ५ –
    नेकपा (एमाले) कालिका नगरपालिका चितवनको दोश्रो नगर अधिवेशन सुरु भएको छ ।

    ३५१ जना प्रतिनिधिसहित हजारौंका उपस्थितिमा सडकमा र्यालीसहित उल्लासमय तरिकाले अधिवेशन सुरु भएको हो । अधिवेशनको खुलासत्र सकिएर आजै बन्दसत्र समेत सुरु भइसकेको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

    सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा नेताहरु लागेका छन् । बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । कालिका नगर इन्चार्ज एवम् बागमती प्रदेश सदस्य गोपी श्रेष्ठ अध्यक्ष र विभिन्न तहका एमाले नेताहरु दिवश पाण्डे, विनोद रेग्मी, विमला श्रेष्ठ, टिका रिजाल, प्रकाश खनाल शैलेश र जयचन्द्र चौधरी सदस्य रहने गरी अध्यक्ष मण्डल बनाइएको छ ।

    नगर कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुलासत्रमा नेकपा एमाले पोलिट ब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य जेएन थपलिया, संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखेल, केन्द्रीय सदस्यहरु प्रभा बराल, यम बहादुर परियार, प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, सचिव प्रकाश ढुंगाना, सहसचिवहरु मिन बहादुर परियार, ज्वालापुरी वन सहित जिल्ला कमिटीका नेताहरु, विभिन्न पालिका कमिटीका नेता कार्यकर्ता, जनवर्गीय संगठनका नेता कार्यकर्ता लगायत स्थानीय नगरबासीहरुको उल्लासमय उपस्थिति रहेको थियो ।

  • चितवनमा भएको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको मृत्यु

    चितवनमा भएको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको मृत्यु

    चितवन,मंसिर १०

    चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ः ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

    शनिबार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका-९ मा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो । घाइते मध्ये छ जनाको अझै उपचार भइरहेको छ भने अन्य घाइतेहरु डिस्चार्जपछि घर फर्किएका छन् ।

    स्कुलको आफ्नै बसमा चालकसहित ३२ जना सवार थिए । उपदङ्गगढीबाट पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेलपछि चालकले भिरालो बाटोको भित्तामा ठोकाएर धेरैको ज्यान जोगाएका थिए ।

  • राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा वृक्षारोपण (फोटोफिचरसहित)

    राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा वृक्षारोपण (फोटोफिचरसहित)

    चितवन, साउन १९ –
    राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

    ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ ।

    एक युवा पाँच बिरुवा भनेर अभियान चलाइएको छ । त्यही अभियान अन्तर्गत आज चितवनमा वृक्षारोपण गरिएको हो ।

    आजको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै वृक्षारोपणको महत्व र यसको दीर्घकालीन फाइदाहरुका बारेमा चर्चा गरे । उनले ‘एक युवा, पाँच विरुवा’ भन्ने नारालाई आत्मसात गर्दै, युवाहरुले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिए । राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य शंकर अधिकारीले वृक्षाराेपणमात्र नभई विभिन्न रचनात्मक क्रियाकलापसहित समाज सुधारका क्रियाकलापमा संघ सहभागी रहेकाे बताए ।

    राष्ट्रिय युवा संघ नेपाल, चितवनका अध्यक्ष झलकराज भट्टले १ हजार बिरुवा रोपिएको जानकारी दिए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कार्यक्रममा वन डिभिजन कार्यालयका प्रमुख थीर बहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ लगायतको उपस्थिति रहेको थियो ।

  • राष्ट्रिय युवा संघ नेपाल चितवनले भोलि कालिकामा वृक्षारोपण गर्दै

    राष्ट्रिय युवा संघ नेपाल चितवनले भोलि कालिकामा वृक्षारोपण गर्दै

    चितवन, साउन १८ –
    राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा भोलि कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा वृक्षारोपण हुने भएको छ ।

    ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ ।

    त्यही अभियान अन्तर्गत भोलि चितवनमा वृक्षारोपण गर्न लागिएको हो । बिहान ७ बजेबाट वृक्षारोपण सुरु गरिने राष्ट्रिय युवा संघ नेपाल, चितवनका अध्यक्ष झलकराज भट्टले जानकारी दिए ।

    वृृक्षारोपण कार्यक्रममा उपस्थित हुन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले नेकपा (एमाले)का सम्पूर्ण नेता कार्यकर्ता, जनवर्गीय संगठन, समर्थक एवम् शुभचिन्तकसहित सम्पूर्ण स्थानीयहरुमा आह्वान गरेको छ ।