Category: भरतपुर

  • चितवनमा अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्मःमुख्य आकर्षक गाई

    चितवनमा अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्मःमुख्य आकर्षक गाई

    चितवन, माघ २२ 

    यही माघ २५ गतेदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो । व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट हुने फाइदा के हो भन्ने बारेमा किसानलाई जानकारी दिनका लागि गाई प्रदर्शनी गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

    चितवनसहित अन्य जिल्लामा पालिएका राम्रो नश्ल भएका गाई ल्याएर प्रदर्शनी गरिनुका साथै ती गाईको बारेमा बुझाइने उहाँले बताउनुभयो । उहाँका अनुसार माघ २९ गतेसम्म चल्ने डेरी एक्स्पोका अन्य आकर्षणमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, दूध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायसम्बन्धी अन्तरक्रिया गरिने छ । यसमा पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

    यस प्रदर्शनीमा नेपाल र भारत गरी १२० दुग्ध उत्पादक र प्रविधि कम्पनी सहभागी हुने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा डेरी उत्पादन, प्रक्रिया र वितरणमा नविनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जामा जोड्न टेवा पुग्ने अध्यक्ष बगालेले बताउनुभयो ।

    प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ । ११५ दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन् । रासस

  • आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

    आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

    चितवन माघ १७
    अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाले आयोजना गर्न लागेको ‘मेट्स इडु एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आज माघ १६ गते (जनवरी ३०) चितवनस्थित कार्यालय परिसरमा एक्स्पो आयोजना हुँदैछ ।

    एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुने मेट्स चितवन शाखाका प्रबन्धक प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पोमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरण सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

    ‘एक्स्पोमा विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा भेट गर्न पाउनेछन्,’ प्रबन्धक पौडेलले भन्नुभयो, ‘आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसनसमेत लिन सक्नेछन्।’

    एक्स्पोमा १२ कक्षा उत्तीर्ण, साथै ब्याचलर र मास्टर्स डिग्री अध्ययन गर्न चाहने जुनसुकै विद्यार्थीले शैक्षिक परामर्श लिन सक्नेछन् । विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता तथा कागजातको आधारमा छात्रवृत्ति प्राप्त गर्ने अवसर पनि पाउने बताइएको छ ।

    कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । जसबाट विद्यार्थीहरूले वित्तीय परामर्श तथा शैक्षिक ऋणसम्बन्धी जानकारी लिन सक्नेछन् । साथै, एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको मेट्स इन्टरनेसनलले जनाएको छ ।

    आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    मेट्स इन्टरनेसनलले एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा, साथै आईईएलटीएस (IELTS) तथा पीटीई (PTE) तयारी कक्षाहरू पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

  • कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

    कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

    भरतपुर माघ १२
    आरम्भ कलेजको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

    प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११ मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार यस प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता गराउने लक्ष्य राखिएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्।

    आयोजकले प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघ (Nepal Basketball Association – NeBA) का आधिकारिक नियमअनुसार सञ्चालन गरिने जानकारी दिएको छ। निष्पक्ष र व्यवस्थित खेल सुनिश्चित गर्न अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोलीको व्यवस्थापन गरिएको छ।

    प्रतियोगितालाई थप आकर्षक बनाउन आकर्षक पुरस्कार राशि को व्यवस्था गरिएको छ।
    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १५,००० तथा
    दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु. १०,००० पुरस्कार प्रदान गरिनेछ।
    त्यसैगरी व्यक्तिगत उत्कृष्ट प्रदर्शनका आधारमा Most Valuable Player (MVP) र Highest Scorer लाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। सहभागी सबै टिम तथा विजेता टिमलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ।

    प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा सदस्यहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै प्रतियोगिताका नियम, खेल तालिका, अनुशासन र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

    आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

  • सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

    सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

    चितवन, १२ माघः
    डेढ वर्षअघि चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको गणपति डिलक्स बसको भग्नावशेषबाट मानव कङ्काल फेला परेको छ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस उत्खनन गर्ने क्रममा १६ औं दिनमा मानव कङ्काल भेटिएको हो।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मानव शरीरको अङ्ग भेटिएको पुष्टि गरेका छन्।

    त्यसलाई जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा कानुनी प्रकृयाअनुसार काम गर्ने उनले बताए।

    भेटिएको कङ्काल परीक्षणको लागि भरतपुर अस्पताल ल्याइएको छ।

  • अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

    अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

    चितवन, माघ ०६-
    भरतपुर–७, कृष्णपुरस्थित अङ्रम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी भावनाको विकास गर्ने बताए । उनले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अपरिहार्य हुने उल्लेख गरे ।

    विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार माघ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ । अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीका लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    खेलकुद सप्ताहअन्तर्गत म्युजिकल चेयर, चेस, बेलुन ब्लास्ट, बल्स टनेल रेस, ७५ मिटर तथा १०० मिटर दौड, चकलेट रेस, तातो आलु, म्याथ रेस, पिरामिड रेस, स्पुल एण्ड मार्बल रेस, टग अफ वार, ब्लो द बल, इङ्ग्लिस रेस, थ्रेड एण्ड निडल रेस, छात्र फुटबल, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर म्याराथन, हाइजम्प, लङ जम्प, भलिबल र छेलोलगायत करिब तीन दर्जन खेलहरू समावेश गरिएको तह प्रमुख अर्जुनजी शर्माले जानकारी दिए ।

  • नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

    नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

    चितवन माघ ५
    ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पन्चै नौमती बाजाको प्रवर्द्धन’ गरौं भन्ने मूल नाराका साथ नारायणी एक्स्पोस्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुने भएको छ ।

    पत्रकार सम्मेलन मार्फत जानकारी दिनु हुँदै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले संस्कार र संस्कृति झल्काउन पञ्चै/नौमती बाजा प्रतियोगिता गरिएको जानकारी दिनुभयो ।

    स्थानीय कला, संस्कृतिको संरक्षण र जगेर्ना गर्न प्रतियोगिता फलदायी हुने आफूहरुको विश्वास रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा नारायणी एक्स्पोको आयोजक संस्था रेड रक इभेन्टका अध्यक्ष विकल क्षेत्रीले माघ ८ गते प्रतियोगिता आयोजना गरिएको भन्दै प्रतियोगिताको संयोजक नारायणी एक्स्पोको सहआयोजक नेपाल आदिवासी जनजाति महासंघ चितवनले गरेको जानकारी दिनुभयो ।

    प्रतियोगितामा पहिलो हुने समूहले रु २० हजार, दोस्रो हुने समूहले रु १५ हजार, तेस्रो हुने समूहले रु १० हजार तथा सान्त्वना हुने समूहले रु ५ हजारका दरले पुरस्कार पाउने क्षेत्रीको भनाइ छ । प्रतियोगितामा सहभागिता जनाउन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

    पञ्चै तथा नौमती बाजा बहुजातिको संस्कृतिसँग जोडिएको भन्दै क्षेत्रीले बाद्यवाधकहरुको प्रतिभालाई प्रवर्द्धन एवम् मूल्यांकन गरी नेपाली पहिचान बोकेको बाजालाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उद्देश्य रहेको बताउनुभयो । प्रतियोगिता माघ ८ गते बिहान १० बजेदेखि नारायणी एक्स्पो स्थलमा हुने छ।

  • सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

    सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

    माघ ४, चितवन-
    चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोृजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिनुभयो ।

    ‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने , जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, सबै प्रर्दशकहरु पनि खुशी हुनुहुन्छ ।’

    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले एक्स्पोमा आशा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउनु भयो । ‘पहिलेका एक्स्पो, मेलामा सबै प्रकारका अवलोकनकर्ताहरु पनि आउने गर्नुहुन्थ्यो, अध्यक्ष घिमिरेले भन्नुभयो, यसपटक लक्षित समुहका अवलोकनकर्ताहरु आएको पायौं ।’ चितवन उद्योग संघले गर्दै आएका यस्ता कार्यक्रमले सार्थकता पाउंँदै गरेको र अवलोकनकर्ताहरुले पनि अधिकतम लाभ लिएको घिमिरेको भनाई छ । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत बिषयगत क्षेत्रका अवलोकन कर्ताको उत्साहजनक सहभागिताले एक्स्पो सफल भएको उहांँले बताउनु भयो ।

    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।

    प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी दिइएको मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिनुभयो।

    यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्। माघ ४ गतेसम्म संचालित एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो ।

  • भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

    भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

    चितवन, माघ २ –
    भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भवन उद्घाटन गरे । भवनको प्रचण्डले नै शिलान्यास गरेका थिए ।

    ६ तला रहेको नयाँ भवनको भुईं तलामा नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशाकसकीय अधिकृतको कार्यालय राखेर भवन उद्घाटन गरिएको हो । भुईं तलामा रहेको यी तीन वटा कार्यालयभित्रकोमात्र इन्टेरियरको काम सकिएको छ । बाँकी रहेका तला र भुईं तलाका अन्य कोठाहरुको इन्टेरियरको काम सकिएको छैन ।

    भवन पूर्णरुपमा निर्माण सम्पन्न नभएकै अवस्थामा हतारहतार उद्घाटन गरिएपछि राजनीतिक दल र नागरिक समाजले विरोध जनाउन थालेका छन् । रास्वपा भरतपुर महानगर कमिटीले विज्ञप्ति नै जारी गरी निर्माण सम्पन्न भइनसकेको अधुरै भवनलाई उद्घाटन गर्न खोज्नु राजनीतिक स्टण्डमात्र भएको बताएको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन ३ बाट उम्मेद्वारी दिने तयारी गरिरहेकी छन् । उम्मेद्वारी दिनु पहिले महानगर प्रमुखबाट राजीनामा दिनुपर्दछ । यही माघ ६ गते उम्मेद्वारी दिने कार्यतालिका रहेको छ । आफू प्रमुख छँदै उद्घाटन गर्ने रेनुको रहरले निर्माण सम्पन्न भइनसकेको प्रशासकीय भवन उद्घाटन गरिएको भन्दै विरोध भएको हो ।

    ५३ करोड ३२ लाख ६४ हजारको लागतमा ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७९ साल साउनमा भरतपुर महानगरपालिकासँग शर्मा÷सगरमाथा÷सगुन जेभीले सम्झौता गरेको थियो ।
    सम्झौता अनुसार २०८१ माघमा निर्माण सम्पन्न भइसक्नुपर्ने हो । समयमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गरी २०८२ माघ १८ सम्म निर्माण सम्पन्न गरिसक्ने गरी म्याद थप भएको थियो ।
    भरतपुुर महानगपालिकाका वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार कुल लागत ५३ करोड ३२ लाख ६४ मध्ये हालसम्म ४५ करोड ९७ लाख ५१ हजार रुपैयाँ खर्च भइसकेको छ । संघ, प्रदेश र भरतपुर महानगपालिका तीनै तहको लगानीमा भवन निर्माण गरिएको हो । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख खर्च भएको छ । इन्टेरियरको काम सम्पन्न गर्न बाँकी रहेको छ ।

    इन्जिनियर आचार्यका अनुसार इन्टेरियर अन्तर्गतकै फर्निसिङ् लगायतका कार्यका लागि छुट्टै ठेक्का सम्झौता हुनेछ । जसका लागि ४.५ करोड बजेट विनियोजन गरिएको छ ।

     

  • त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    चितवन, पुस २९

    त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ ।

    आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो ।उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो । खोजी कार्यमा खटिएका शसस्त्र प्रहरी हवल्दार ललित बहादुर काम्चाले उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेकोजानकारी दिए । उनले अझै उत्खनन् कार्य भइरहेको बताए ।

    २०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।

    दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन ।

     

  • चितवन मेडिकल कलेजमा ‘कार्डियोलोजी कन्फ्रेन्स’ हुँदै

    चितवन मेडिकल कलेजमा ‘कार्डियोलोजी कन्फ्रेन्स’ हुँदै

    चितवन पुष १५
    चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा पहिलो पटक ‘सिएमसी कार्डियोलोजी कन्फ्रेन्स’ हुने भएको छ । यही पुस १९ गते शनिबार कन्फ्रेन्स हुन लागेको हो ।

    अस्पतालको मुटुरोग विभागको आयोजनामा हुने कन्फ्रेन्समा नेपालभरीका ३५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मीको सहभागिता रहने मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीले बताउनुभयो । कन्फ्रेन्समा मुटु रोग विशेषज्ञ, मुटुरोग अध्ययन गरिरहेका विद्यार्थी, मुटु रोग उपचार गरिरहेका फिजिसियन, मुटुरोगको उपचारमा संलग्न नर्स, प्राविधिक लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

    कन्फ्रेन्समा मुटुरोगको उपचार र अनुसन्धानका बारेमा ३३ वटा पेपर प्रस्तुती हुनेछन् । ती प्रस्तुतीमाथि छलफल गरिने छ । कार्यक्रम कोअर्डिनेटर अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका पद्धति, उपचारमा प्रयोग हुने प्रविधि, नविनतम अनुसन्धानहरुका बारेमा व्यापक छलफल हुने छ ।
    सिएमसीको पाँचौं तलामा रहेको अडिटरियम हलमा बिहान ८ बजेबाट शुरु हुने कन्फ्रेन्स साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ । बिहान एक घण्टाको सत्र उद्घाटनको रहने छ भने त्यसपछि पेपर प्रस्तुती र छलफल हुने काफ्लेले जानकारी दिनुभयो ।