Category: रत्ननगर

  • रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

    रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

    रत्ननगर, ४ माघः
    पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३ औं संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अवलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सव अन्तर्गत माघ १ गते एकै दिन ४५ हजारले अबलोकन गरेका थिए । माघ २ गते सम्म दुई लाखले अवलोकन गरेको सो महोत्सव तीन दिनमा एकलाखले अवलोकन गरेका हुन्।

    माघ २ गते ४० हजार, ३ गते ३० हजार र ४ गते ३० हजारले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । संघका कोषाध्यक्ष विनोद घिमिरेले महोत्सव अबलोकनकर्ताको संख्या बढ्दै जाँदा टिकट विक्रीपनि अपेक्षाकृत नै रहेको बताए ।

    महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

    विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।

    महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव माघ ६ गते सम्म चल्ने छ ।

    यसैबीच रत्ननगर उद्योग बाणिज्य संघले महोत्सव परिसरमै चितवन उवासंघको चिरन्जीवि सुवेदी नेतृत्वको नवनिर्वाचित टोलीलाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष शंकर गिरी र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको हो । सो अबसरमा पूर्वअर्थमन्त्री पाण्डेले लगानी सुरक्षाको लागि राज्य जिम्मेवार हुनुपर्ने बताए ।

    सरकारको पैसाले देश नबन्ने भन्दै उनले मुलुक निर्माणको लागि नयाँ उपायको खोजि गर्नुपर्ने बताए । कार्यक्रममा रत्ननगर उवासंघका अध्यक्ष गिरी र चितवन उवासंघका अध्यक्ष सुवेदीले व्यवसायी सुरक्षा तथा उद्यमशिलता विकासमा दुई संघ बीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।

  • रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

    रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

    रत्ननगर, २५ पुसः 
    पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा शुक्रबारदेखि रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए ।

    रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा रहेको बताए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा छ उनले भने यो अबस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको बाताबरण तयार गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको बताए । नेपालको निजी क्षेत्र र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयलाई मनन् गरी अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाई छ ।

    उनले लगानी सुरक्षाको सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्ने गरी स्थानीय उत्पादनको प्रर्बद्धन र बजारीकरणमा ध्यान दिन आग्रह गरे । महोत्सव रमाइलोमा मात्र सिमित हुन नहुने भन्दै उद्देश्यप्राप्तीमा गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

    कार्यक्रममा प्रदेश सभा साँसद जेएन थपलिया, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष राजेश्वर खनाल, एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिष्ट पार्टीकी जिल्ला सहइन्चर्ज कन्चन खनाल, रास्वपाकी जिल्ला उपसभापति प्रभा ढकाल, राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेश समिति अध्यक्ष कृष्ण शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवको इतिहार, यसले अर्थतन्त्र र कृषि प्रर्बद्धनमा खेल्दै आएको भूमिकको विषयमा मन्तव्य राखेका थिए । महोत्सव उद्घाटन पूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको छ । नेपाल माविको खेलमैदानबाट सुरु भएको शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी भएको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ कर्मचार्यले जानकारी दिइन् । पौष ६ गते सम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ ।

    उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका उपाध्यक्ष रामशरण नेपालले बताए । यस पटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।

    महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिएको छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् ।

    महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने छ ।

    महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

  • रास्वपाको चितवन बैठकमा यी विषयमा हुनेछ छलफल

    रास्वपाको चितवन बैठकमा यी विषयमा हुनेछ छलफल

    चितवन , २१ कात्तिक
    पार्टीको आगामी कार्यदिशा र चुनावी रणनीति तय गर्न चितवनको सौराहामा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठकमा आगामी निर्वाचन रणनीति, पार्टी सङ्गठन विस्तार, पार्टीको विचार सिद्धान्तको बारेमा थप स्पष्ट गर्नेबारे छलफल हुनेछ ।

    रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले वैधानिकता, एजेन्डा र अपेक्षित परिणामबारे बैठकमा विस्तृत छलफल हुने बताए । उपसभापति वाग्लेका अनुसार पार्टीको विधानले पहिलो महाधिवेशन नहुन्जेलसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय समितिलाई विशेष अधिकार दिएको छ। सोही अधिकार प्रयोग गर्दै र फराकिलो दायरामा छलफल गर्न केन्द्रीय समितिले यो विस्तारित बैठक आयोजना गरेको गरिएको उनले बताए ।

    ‘यो बैठक कर्तव्य बोध र उदारताका साथ आयोजना गरिएको हो ।’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो ६० जनाको सामूहिक विवेकभन्दा पनि अझ फराकिलो ढङ्गले राय, विमर्श र चिन्तन गरौँ भन्ने उद्देश्य हो।’

    डा. वाग्लेले बैठकमा मुख्यतया पाँचवटा प्रस्तावमाथि घनिभूत छलफल हुने जानकारी दिए । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको वर्तमान राजनीतिक अवस्था, सुशासनको पक्षमा भएका हस्तक्षेप र आगामी रोडम्याप समेटिएको प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको वर्तमान साङ्गठनिक स्वरूपको समीक्षा र सुधारका प्रस्तावहरू प्रस्तुत गर्नेछन्।

    सभापति रवि लामिछानेविरुद्ध भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रगति र त्यसबाट प्राप्त जनसमर्थनबारे संयोजकले प्रतिवेदन पेस हुने उपसभापति डा. वाग्लेले बताए । आगामी संघीय निर्वाचनलाई लक्षित गरी तयार पारिने वाचापत्रको प्रारम्भिक खाका र मोडालिटी उपसभापति डा. स्वर्णिम वाग्ले आफैँले प्रस्तुत गर्नेछन् । बैठकले निर्वाचनका लागि उमेदवार छनोटको विधि र प्रक्रियाबारे सहमहामन्त्रीले प्रस्ताव पेस गर्नेछन्।

    डा. वाग्लेले यो बैठकले पार्टीलाई २१ सिटबाट बहुमतको लक्ष्यतर्फ अघि बढाउन बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, बैठकमा उठेका राय, सुझावहरूलाई वैज्ञानिक र लोकतान्त्रिक ढङ्गले सङ्कलन गरी पार्टीको रणनीति परिमार्जन गरिनेछ। हाल देश असामान्य राजनीतिक र संवैधानिक अवस्थाबाट गुज्रिरहेको र विभिन्न शक्तिबिच ध्रुवीकरण चलिरहेको सन्दर्भमा रास्वपाले वैकल्पिक शक्तिको अगुवाइ गर्नेबारे पनि बैठकमा छलफल हुनेछ। बैठकको अन्त्यमा ‘चितवन घोषणापत्र’ जारी गर्ने प्रारम्भिक लक्ष्य रहेको पनि डा. वाग्लेले बताए ।

    ‘न्याय र एकताको सन्देश दिँदै हामी एकढिक्का छौँ । रास्वपा नै मुलुकको नयाँ, सशक्त र जिम्मेवार शक्ति हो भन्ने सन्देश दिनेछौँ ।’ उनले भने ।

  • `योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

    `योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

    रत्ननगर,कार्तिक १६-
    योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध रुपमा चयन भएका छन्।

    शनिवार रत्ननगरस्थित सहारा सुपरमार्केटमा रहेको होटल चिम्निमा सम्पन्न अधिवेशनले धिताललाई सचिव पदमा निर्विरोध चयन गरेको हो। रत्ननगर-१६ निवासी धिताल यस संस्थाका आजिवन सदस्य हुन्।

    सो समितिको अध्यक्षमा विरन्जना घिमिरे,उपाध्यक्षमा सौरभ रिजाल र सह-सचिवमा लक्ष्मी पौडेल चयन भएका छन्।

    त्यस्तै,सदस्यहरुमा पार्वती देवि मगर,लिला दाहाल,लक्ष्मी देवि तामाङ्ग,कमल घिमिरे,श्रुति राणा,ईश्वरी सिंखडा,निरज साह,अनु बोहरा र अरुणा कट्टेल चयन भएका छन्।

    साथै,सो समितिको सल्लाहकारहरुमा रामहरी लम्साल,वसन्त राना,लक्ष्मण पौडेल चयन भएका छन्।

    “प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने मुल नारा लिई एक घर, एक प्राथमिक उपचारको अवधारणा सहित वि.सं. २०७४ बाट सुरु भएको यो संस्थाले वि.सं. २०७७ मा विधिवत रुपमा दर्ता गरी सामाजिक क्षेत्रमा विविध कार्यहरु गर्दै आएको छ।

    चावहिल-७,काठमाडौँमा केन्द्रिय कार्यालय रहेको यस मुनाफारहित संस्था स्वास्थ्यको क्षेत्रमा प्राथमिक उपचार, सरसफाई, जनचेतना लगायत सम्पूर्ण सामाजिक कार्यक्रम गर्ने,दैवी प्रकोपमा योगदान गर्न स्वयंसेवकको भूमिका निर्वाह गर्ने,प्राथमिक उपचार, आगलागी, बाढी पहिरोबाट बच्ने उपायको तालिम सञ्चालन गर्ने तथा दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधानमा सहयोग गर्ने ,देशमा दैवी प्रकोपको कारणले सृजना भएको प्रतिकुल परिस्थितिमा आवश्यक सहयोग गर्न पहल गर्ने,राष्ट्रलाई आइपर्ने महामारी, भवितव्य आपतकालिन समस्यासँग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने र गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने उद्देश्यसहित संचालनरत छ।

  • जिल्ला प्रशासन कार्यालयमा गैँडाको मूर्ति अनावरण

    जिल्ला प्रशासन कार्यालयमा गैँडाको मूर्ति अनावरण

    रत्ननगर, भदौ ३-
    रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र सङ्घका अध्यक्ष शङ्कर गिरीले संयूक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् ।

    सङ्घका अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासको लागि सकारात्मक सन्देश प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय परिसर भित्र गैँडाको मूर्ति निर्माण गरिएको बताए।

    चितवन जिल्लाको पहिचानको रुपमा स्थापित एकसिँगे गैँडाको मूर्ति प्रशासन कार्यालयमा राख्दा जिल्ला प्रतिको माया जागृति हुनुको साथै यसले सफारी पर्यटनको विकासमा टेवा पुग्ने उनले बताए ।

    अध्यक्ष गिरी सङ्घले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्वको कामहरूलाई समेत अगाडि बढाएको बताए ।

    प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको एकसिँगे गैँडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउने बताए । रत्ननगर उद्योग वाणिज्य सङ्घले गरेको उक्त कामको प्रशंसा गर्दै प्रजिअ पौडेलले निजी क्षेत्रले एउटा उदाहरणीय कामको सुरुवात गरेको बताए ।

  • बुढीराप्ती नदीमा बेपत्ता बालककाे शब भेटियाे

    बुढीराप्ती नदीमा बेपत्ता बालककाे शब भेटियाे

    रत्ननगर असार २७

    पूर्वी चितवनकाे रत्ननगर वडा नं ७ पडेरिया स्थित बुढीराप्ती नदीमा विहीबार बेपत्ता भएका बालककाे शव भेटिएकाे छ ।

    दिउसाे २:०० बजे पौडी खेल्ने क्रममा रत्ननगर वडा नं १५ माधवपुर निवासी १५ बर्षीय अनमोल लम्साल बेपत्ता भएका थिए । रत्ननगर नगरपालिकाको नगरप्रहरीको टोलीले शुक्रबार विहान ५:१८ बजे पडेरीया पुलबाट २ किलोमिटर चित्रसारी तर्फ बाँसघारी नजिक शव फेला पारेको हो ।

    बेपत्ता भएकाे १५ घण्टापछि बालकको शब भेटिएको हो । लम्साल बुधबार पडेरिया स्थित मामा घर आएका थिए । साथीसंग पाैडी खेल्न गएका उनलाई नदीले बगाएको थियो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले राती नौं बजे सम्म खाेजी गर्दा पनि शब भेटिएको थिएन ।

  • चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    चितवन,जेठ ४

    जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ वर्षका गमबहादुर कुँवरको निधन भएको छ । काम विशेषले भरतपुर आएर फर्कँदै गरेका कुँवरले चलाएको बा प्र ०३–००३ प २०७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार मध्याह्न १२ बजेर ४० मिनेट जाँदा भरतपुर महानगरपालिका–१४ नमस्ते चोकको बाटो छेउको पोलमा ठोक्किएको डिएसपी खनालले बताए । सख्त घाइते भएका कुँवरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा दिउँसो पौने दुई बजेतिर निधन भएको डिएसपी खनालले जानकारी दिए ।

    डिएसपी खनालका अनुसार गएराति सवा दुई बजेतिर नारायणगढ लायन्स चोकमा पनि बा प्र ०६–००५ प ०१३२ नम्बरको मोटरसाइकल पनि आफैं अनियन्त्रित भएर पल्टेको छ । मोटरसाइकल पल्टँदा चालक भरतपुर महानगरपालिका–२३ का ३० वर्षीय प्रशान्त घतानेको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएसपी खनालले बताए ।

    भरतपुर–२५ बसकठ्ठामा पनि प्रदेश ३–०३–००१ प ९२०२ नम्बरको मोटरसाइकल आज आइतबार बिहान सबेरै सवा पाँच बजे अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जनाएको छ । मध्यम अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको नाम ठेगाना खुलेको छैन ।

    त्यसैगरी, हिजो शनिबार राति आठ बजे रत्ननगर नगरपालिका–८ चित्रसारीमा बा प्र ०६–००३ प ३८३७ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर पल्टेको डिएसपी खनालले बताए । उक्त मोटरसाइकलका चालक रत्ननगर–९ का एकिन राउतको टाउको र अनुहारमा चोट छ । उनको अवस्था मध्यम छ । शनिबार साँझ साढे आठ बजे राप्ती नगरपालिका–४ मा प्रदेश २–०३–०१७ प ४८९५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । पैदलयात्री राप्ती–५ का राजन पुडासैनी र मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का रमेश महतोको अवस्था मध्यम छ ।

    त्यसैगरी हिजै साँझ साढे ६ बजे भरतपुर महानगरपालिका–११ भोजाड चोकमा ना ४३ प ८१९१ नम्बरको मोटरसाइकल लत्रिएको इन्टरनेटको तारमा अल्झेर पल्टेको छ । घाँटीमा चोट लागेका भोजाड घर भएका मोटरसाइकल चालक विशाल गुरूङको अवस्था मध्यम छ ।

    हिजै साँझ पौने सात बजेतिर भरतपुर महानगरपालिका–५ मा बस्दै आएका भारतीय नागरिक २७ वर्षीय जसपाल सहनीले चलाएको बा ५२ प ७२३१ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ मा ना १ ज ८७३० नम्बरको म्याजिक भ्यानसँग ठोक्किएको थियो । घाइते सहनीको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

    हिजो शनिबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१ हरिहर मार्गमा बा प्र ६–००३ प ९६२१ नम्बरको इलेक्ट्रिक स्कुटरले बुटवल घर भइ हरिहरमार्गमा बस्दै आएकी कविता सुनुवारकी तीन वर्षकी छोरीलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । टाउकामा चोट लागेकी बालिकाको अवस्था मध्यम रहेको डिएसपी रवीन्द्र खनालले बताए ।

  • सौराहा चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    सौराहा चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    चितवन, जेठ १ –
    चितवनको सौराहा चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६४ प ४३३ नम्बरको स्कुटर र भरतपुरबाट खैरहनी तर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको खाली ट्रक ठक्कर खाँदा दुर्घटना भएको हो ।

    स्कुटर चालक रत्ननगर नगरपालिका ९ बस्ने २७ वर्षीय किशोर श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज (सिएमसी) मा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडि सवार सागर बुढाथोकी उपचारपछि डिस्चार्ज भएका छन् ।

    प्रहरीले हाल स्कुटर, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

  • रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी

    रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी

    चितवन, बैशाख २७

    चितवनको रत्ननगर नगरपालिका–१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी भएको छ। पर्साबाट पिठुवा तर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति १०ः४५ बजे तिर आगलागी भएको हो।

    घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो ११ः०५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

    घटनामा मानवीय क्षति नभए पनि बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट पिठुवाबाट करिब दुई किलोमिटर पूर्व पर्छ।

  • चितवनमा गोविन्दे नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गोविन्दे नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन फागुन २५
    चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा ‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

    खैरहनी नगरपालिका–९ स्थायी घर भई रत्ननगर नगरपालिका–७ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

    उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले बताए । ‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो ।