Category: धर्म संस्कृति

  • महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

    महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

    काठमाडौँ, २४ माघः
    विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ ।

    वाग्मती सफाइ महाअभियानको ६६५औँ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रको सूर्यघाट, आर्यघाट, राममन्दिर क्षेत्रमा सफाइ गरिएको हो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

    सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।

    आजको सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनलगायत अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो ।

    अर्को हप्ता शनिबार पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको सहभागितामा पशुपति क्षेत्रमै सफाइ गरिने छ ।

    विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर चलिरहेको छ ।

    भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियान रोकिएन । चाडपर्व, जाडो, झरीजस्ता समयमा पनि प्रत्येक हप्ता शनिबार बिहान अभियानकर्मी वाग्मती नदीमा जम्मा भएर सफाइ गर्ने गरेका छन् । देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मीहरु वाग्मती नदी किनारमा प्रत्येक हप्ता जम्मा भएर सफाइ गर्ने गरेका छन् ।

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    काठमाडौँ, माघ ९
    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो छ ।

    आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, डिल्लीबजारस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

    मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सरस्वती मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको काठमाडौँ महानगरपालिका–३० का अध्यक्षसमेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

    यसैगरी काठमाडौँ उपत्यका बाहिरका सरस्वती मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकीदेवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, बरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सिर्जनाकीदेवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या आरम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता पनि छ । तर यसवर्ष भने हाल शुक्र अस्त रहेकाले यस्ता शुभकर्म गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्न समेत शुभ मानिन्छ ।

    देशभर रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । रासस

  • माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    काठमाडौँ, माघ ९ –
    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

    चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही०जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

    वसन्त श्रवण

    यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।

    वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।रासस

  • मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    नवलपुर माघ ५

    मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । जस अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् ।

    मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउने छन् . अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए .

    “हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै

    व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौं”, पौडेलले भने-

    यो छुटले लुम्बिनी र मौलाकाली दुबैतर्फका सेवाग्राही लाभान्वित हुनेछन । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमूना भएको पौडेलको भनाई छ . एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले बताए ।

    एक अर्काका यात्रु सेवाग्राहीलाई दिईने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले ३महिनासम्म प्राप्त गर्न सकिने घिमिरेले बताए ।

    मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ जहाँबाट 15 औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ भने लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ . मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल संचालित छ भने वसन्तपुरमा पनि १५० कोठा सहितको अति सुविधासम्पन्न होटल निर्माण हुने चरणमा छ ।

  • नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

    नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

    चितवन माघ ५
    ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पन्चै नौमती बाजाको प्रवर्द्धन’ गरौं भन्ने मूल नाराका साथ नारायणी एक्स्पोस्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुने भएको छ ।

    पत्रकार सम्मेलन मार्फत जानकारी दिनु हुँदै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले संस्कार र संस्कृति झल्काउन पञ्चै/नौमती बाजा प्रतियोगिता गरिएको जानकारी दिनुभयो ।

    स्थानीय कला, संस्कृतिको संरक्षण र जगेर्ना गर्न प्रतियोगिता फलदायी हुने आफूहरुको विश्वास रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा नारायणी एक्स्पोको आयोजक संस्था रेड रक इभेन्टका अध्यक्ष विकल क्षेत्रीले माघ ८ गते प्रतियोगिता आयोजना गरिएको भन्दै प्रतियोगिताको संयोजक नारायणी एक्स्पोको सहआयोजक नेपाल आदिवासी जनजाति महासंघ चितवनले गरेको जानकारी दिनुभयो ।

    प्रतियोगितामा पहिलो हुने समूहले रु २० हजार, दोस्रो हुने समूहले रु १५ हजार, तेस्रो हुने समूहले रु १० हजार तथा सान्त्वना हुने समूहले रु ५ हजारका दरले पुरस्कार पाउने क्षेत्रीको भनाइ छ । प्रतियोगितामा सहभागिता जनाउन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

    पञ्चै तथा नौमती बाजा बहुजातिको संस्कृतिसँग जोडिएको भन्दै क्षेत्रीले बाद्यवाधकहरुको प्रतिभालाई प्रवर्द्धन एवम् मूल्यांकन गरी नेपाली पहिचान बोकेको बाजालाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उद्देश्य रहेको बताउनुभयो । प्रतियोगिता माघ ८ गते बिहान १० बजेदेखि नारायणी एक्स्पो स्थलमा हुने छ।

  • माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

    माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

    काठमाडौँ माघ ५
    तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

    मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

    ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।

    करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।

    यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

    रासस

  • चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

    भरतपुर माघ १

    देवघाटधाममा क्षेत्रमा विभिन्न नाममा पैसा उठाउदा धार्मिक महत्त्व, मर्म र मौलिक संस्कृति छायामा पर्ने बारे आवाज उठेको छ ।

    सामाजिक कार्यमा सक्रिय भरतपुर निवासी प्रदिप पराजुलीले सामाजिक संजालमा एक स्टाटस लेख्दै यस प्रति असन्तुष्टि जनाउदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्, ।

    विभिन्न सामाजिक संघसंस्था, वित्तीय संस्था एवम् युवा विद्यार्थी माझ परिचित पराजुलीले उक्त स्थानमा भएका सामाजिक गतिविधिको प्रसंसा सगै पैसा उठाउने कामलाई चन्दा आतंकको संज्ञा दिदै धार्मिक महत्व, मर्म र मौलिक संस्कृति छायामा पर्ने बताएका हुन् ।

    “देवघाट धाम क्षेत्रका मेला पैसा, चन्दा उठाउने माध्यमको रूपमा विकास गरिनुहुदैन । यसले तिर्थालुहरूमा नकारात्मक असर सगै धार्मिक महत्त्व, मर्म र मौलिक संस्कृति माथि गम्भीर प्रहार गर्दछ।” उनले लेखेका छन्।

  • रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    पाल्पा, १ माघः 
    पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।
    रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले उल्लेख गर्नुभयो ।
    माघे सङ्क्रान्तिको अवसरमा परम्परादेखि कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको उहाँले जानकारी दिनुभयो । नेपालका चारधाममध्ये एक रुरु धाममा देशभित्रका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । माघे सङ्क्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले नजानेर गरेका पाप नाश हुने, मृत्यु पछि स्वर्गमा बास हुने जनविश्वास रहेकाले श्रद्धालुहरू यहाँ आउने गरेका तिमिल्सेनाले विश्वास व्यक्त गर्नुभयो ।
    मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । “कालीगण्डकी जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । स्नान गर्न र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले सहज बनाएको छ”, उहाँले भन्नुभयो ।
    पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।
    धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायत घरेलु सामग्रीका साथै हुम्ला, जुम्लाको ओखरको घाँजीलगायत सामग्री बिक्रीका लागि राखिएका रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पा तथा गुल्मीको थोर्गासहित आसपासका किसानले गुँड, खुदो, चाकुका साथै स्थानीय उत्पादनका दुई सयभन्दा बढी कक्ष राखिएका छन् ।
  • नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुर (नवलपरासी), पुस ३०

    गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ ।

    गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने बताउनुभयो । त्यस्तै, गैँडाकोटकै कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोर हुँदै ढोडेनी पुगेर हर्दी हुँदै कालीगण्डकी नदीको पक्की पुल तरेर देवघाट पुग्न सकिने तिवारीले जानकारी दिनुभयो । दुवै सडक कलोपत्र गरिएको भन्दै सहज रूपमा देवघाट पुगी स्नान गरेर फर्किन सकिने तिवारीको भनाइ छ ।

    नवलपुर, तनहुँ र चितवनको सङ्गममा पर्ने देवघाटधाम जानका लागि चितवनको मात्र सडकको भर पर्नुपर्ने अवस्थामा सवारीसाधनको जामले यात्रीहरूले सास्ती खेप्दै आएकामा अब त्यो पीडा न्यूनीकरण भएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नवलपुर र पश्चिमतर्फबाट आउने यात्रुहरू गैँडाकोटबाटै सिधै देवघाट पुग्ने भएकाले सहज सडक प्रयोग गर्न आग्रह गर्नुभयो । “सहज र छोटो दूरीमा गैँडाकोटबाट सिधै देवघाट पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले यो सडकमा निजी सवारीसाधन र अटो रिक्सामात्र हिँड्ने गरेका छन् तर माघेसङ्क्रान्तिलाई लक्षित गरी सार्वजनिक सवारीसाधन सञ्चालन गराउने तयारी गरेका छौँ ।”

    यसअघि देवघाट जान नवलपुरको कलीगण्डकी करिडोर हुँदै एवं चितवनको आँपटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट जानुपर्ने बाध्यता थियो । गैँडाकोट–१ र गैँडाकोट–३ लाई जोड्नेगरी पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै सिधै देवघाट पुग्न सकिने वातावरण सृजना भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि देवघाट पुग्न सकिने उहाँले बताउनुभयो ।

    देवघाट जाने तीर्थयात्रीका लागि कालीगण्डकी नदीको केलादीघाटमा स्नान गर्ने व्यवस्था गरिएको भन्दै उहाँले यहाँबाट देवघाटको बेणी सङ्गमा जान पक्की पुल तथा डुङ्गा प्रयोग गर्न सकिने बताउनुभयो । सवारीसाधन पार्किङका लागि केलादी बसपार्कलाई प्रयोग गर्न सकिने भन्दै उहाँले देवघाटमा माघ स्नानका लागि नवलपुरतर्फको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

    देवघाटधामको बेणी सङ्गममा आज बिहान बाँसको लिङ्गो गाडेर मकरस्नान सुरु गर्ने वैदिक परम्परा छ । गोसाईँकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानका रूपमा रहेको दवघाटधामको बेणी सङ्गममा मकरस्नान सुरु गर्न यहाँका वैदिक आश्रमका बटुक तथा पीठाधीश, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र भक्तजनको सहभागिता रहने गर्दछ । देवघाटमा माघेसङ्क्रान्ति स्नानका लागि नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजन पनि आउने गरेका छन् । रासस

  • रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    नारायणगढ (चितवन), पुस २९-
    खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भर्नुभएको हो ।

    विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उहाँले भन्नुभयो, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।”

    ललितकला क्याम्पसबाट आर्टमा स्नातक गर्नुभएकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आउनुभएको छ । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय हुनुहुन्छ । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आउनुभएकी उहाँका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उहाँ भन्नुहुन्छ, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।”

    सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गर्नुभयो । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उहाँमा थियो । आज उहाँका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।

    “आर्ट भनेको प्यासन हो”, उहाँले भन्नुभयो, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उहाँ अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आउनुभएको छ । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आउनुभएको छ । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आउनुभएकी उहाँका कलाकृतिको माग बढ्दो छ ।

    चौधरीउहाँले भन्नुभयो, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।” सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।रासस