Category: अन्तर्वार्ता

  • परराष्ट्र मन्त्री आरजु राणा देउवाद्वारा विपिनको रिहाइबारे इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    परराष्ट्र मन्त्री आरजु राणा देउवाद्वारा विपिनको रिहाइबारे इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    काठमाडौं माघ,२५
    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइमा पहल गरिदिन उनले फोन वार्ता गरेकी हुन् ।

    इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । तर हालसम्मको सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन ।

    मन्त्री डा राणाले इजरायल, इजिप्ट, कतारलगायतका विदेशमन्त्री तथा प्रतिनिधिसँग यसै विषयमा फोनवार्ता गरेकी थिइन् ।

    फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

  • चितवनमा हुँदै गरेको डिजिटल उद्यमी तालिम के हो ? (अन्तर्वार्ता)

    चितवनमा हुँदै गरेको डिजिटल उद्यमी तालिम के हो ? (अन्तर्वार्ता)

    चितवन, फागुन १५ –
    एसडि टेक कम्पनी चितवनले उद्यमीहरुका लागि एक महिने डिजिटल उद्यमी तालिम सुरु गर्दै छ । स्वदेशमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गर्दै कम्पनीले उक्त तालिम आयोजना गर्न लागेको हो ।

    यस विषयमा हामीले कम्पनीका प्रबन्ध निर्देशक सौगत देवकोटासँग कुराकानी गरेका छौं । प्रस्तुत छ चितवन आजकर्मी हिरालाल आचार्य ‘डायमण्ड’ ले देवकोटासँग गरेको कुराकानी, जस्ताको तस्तै ।

    प्रश्न : हजुरहरुले डिजिटल उद्यमी तालिम सुरु गर्ने भनि रहनु भएको छ । डिजिटल उद्यमी तालिम भनेको के हो ?

    उत्तर : साना तथा मझौला उद्यमीहरुका लागि डिजिटलाइजेशन तथा डिजिटल मार्केटिङ्ग सम्बन्धी सिप सिकाउने उद्देश्यले गर्न लागिएको तालिम नै डिजिटल उद्यमी तालिम हो ।

    प्रश्न : यो तालिममा सहभागी हुनेहरुलाई केके सिकाइन्छ ?

    उत्तर : तालिममा सहभागिले सामाजिक संजालमा कसरी पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, कसरी डिजाइन गर्ने, कसरी एड (विज्ञापन) बनाउने, गुगल म्याप्सबाट कसरी व्यवसाय प्रवद्र्धन गर्ने एवम् बल्क एसएमएस पठाउने तरिका, इमेल पठाउने तरिका, व्यवासायको दैनिक कारोबारहरु डिटिलाइज गर्ने तरिका, गुगल वर्क स्पेश, वेवसाइट व्यवस्थापन गर्ने तरिका लगायतका कुराहरु सिकाइनेछ । यसैगरी व्यावसायको समाजिक सञ्जाल ह्याक हुने गतिबिधिबाट कसरी बच्ने र साइबर सचेतनाका बारेमा पनि सिकाइनेछ ।
    साथै व्यावसायलाई डिजिटलाइज गर्न चाहिने सफ्टवेयर तथा एप्लिकेशनहरु चलाउन सिकाइने छ ।

    प्रश्न : यी कुराहरु सिक्न कति समय लाग्छ ? तालिम अवधि कति हो ?

    उत्तर :  यी कुराहरु सिक्न ६० घण्टा लाग्ने गरी हामीले सेलेबस बनाएका छौं । यसलाई व्यवस्थापन गर्न दैनिक २ घण्टा तालिमको कक्षा सञ्चालन गर्ने गरी एक महिनासम्म तालिम दिइने छ ।

    प्रश्न : यो तालिममा कस्ता व्यक्तिहरु सहभागी हुन सक्छन् ?

    उत्तर : यो तालिम विशेष गरी साना तथा मझौला उद्योगी तथा व्यावसायीहरुलाई लक्ष्ति गरेर दिन लागिएको हो । उद्यमशीलता गरिरहनु भएका तथा उद्यम कार्यमा लाग्न खोजिरहनु भएका दुबैले यो तालिममा सहभागि हुन पाउने छन् । आफूमा डिजिटलाइजेशन तथा डिजिटल मार्केटिङ् सम्बन्धि ज्ञान सिक्न चाहने विद्यार्थी, जागिरे जो कोहीले यो तालिम लिन सक्नुहुनेछ ।

    प्रश्न : यो तालिम लिएपछि सहभागिहरुलाई के फाइदा हुन्छ ?

    उत्तर : तालिममा डिजिटल मार्केटिङ र डिजिटलाइजेशन सम्बन्धी कुराहरु सिकाइने भएकाले सहभागिहरुले तालिम पश्चात आफ्नो व्यावसायलाई दैनिक कारोवार डिजिटल प्लेटफर्म मार्फत सञ्चालन तथा प्रवद्र्धन गरी व्यावसायिक गतिविधि बढाउन सक्नेछन् ।

    प्रश्न : यो तालिम लिन के कति शुल्क लाग्छ ?

    उत्तर : रजिष्ट्रेशन शुल्क बापत ३ हजार ५०० रुपैयाँ र कोर्ष फि २० हजार गरी २३ हजार ५०० शुल्क कायम गरेका छौं । तर अहिले तालिममा सहभागी हुन चाहनेहरुले कोर्ष फि मा २५ प्रतिशत छुट पाउने छन् । जसअनुसार कोर्ष फि बापत कुल १५ हजार बुझाउनु पर्ने छ । यसरी कुल १८ हजार ५०० रुपैयाँ लाग्ने छ ।

    प्रश्न : यो तालिममा कसरी सहभागी हुन सकिने छ ?

    उत्तर : तालिममा सहभागी हुन इच्छुकहरुले मनकामना अस्पताल पछाडि अवस्थित एसडि टेकको कार्यालयमा सम्पर्क गरी रजिष्ट्रेशन गर्न सकिने छ । साथै अनलाइनबाट पनि रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाएका छौं । जसका लागि https://forms.gle/abpyce3skjs3vret8 मा गएर भर्न सकिने छ । थप कुरा बुझ्न परेमा कार्यालयको सम्पर्क नम्बर ०५६–५३७१११ र ९८५५०१८०४७ मा सम्पर्क गर्न सकिने छ ।

  • आगामी अधिवेशनलाई सशक्त बनाउँछौँ : सांसद हरि ढकाल

    आगामी अधिवेशनलाई सशक्त बनाउँछौँ : सांसद हरि ढकाल

    काठमाडौँ, २६ कात्तिक
    “सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चल्यो !” सदनको पछिल्ला दुई अधिवेशनबारे प्रतिनिधिसभा सदस्य हरि ढकालले प्रतिक्रिया दिनुभयो ।

    सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढकालले आफूहरूको उत्साहका बाबजुद सफल संसदीय अभ्यास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी संसदीय अभ्यासमा नयाँ र उत्साहित भएका थियौँ । तर यो सत्ता पुरानै सोच र ढर्रा भएका राजनीतिक दलको हातमा भएकाले समग्र सदन प्रभावित भयो । जति कानुन बन्नु पर्दथ्यो जति विधेयक पास हुनुपर्दथ्यो, त्यो भएन ।”

    दोस्रो अधिवेशनमा रास्वपाले सदनमा दर्ता गराएको दुई सार्वजनिक महत्व र पाँच सङ्कल्प प्रस्ताव सदनमा प्रस्तुतसमेत भएन । उहाँले सदनमा प्रतिपक्ष हुनेबित्तिकै विरोध र सत्तापक्ष हुनेबित्तिकै बचाउ गर्ने संस्कारप्रति टिप्पणी गर्नुभयो ।

    संसद्मा पुरातनशैलीको यथास्थितिमा रमाउन खोज्ने दलहरूको हालीमुहाली भएको उहाँको आरोप छ । “सदनमा सत्तापक्षका सरकारको सङ्ख्याका आधारमा नै हामीले गरेका संशोधनहरू ‘फेल’ भए’, उहाँले भन्नुभयो, “तर हामीले हालेका संशोधन फेल गराइरहँदा, सदन सकिएपछि सत्तापक्षकै सांसदहरूले ‘कस्तो राम्रो संशोधन हाल्नुभएको पास हुन सकेन हाम्रो त यस्तै छ, यसरी नै चलिरहेको छ”, भन्ने प्रतिक्रिया दिनुहुन्छ ।

    सरकार र सदन दुवैले कानुन निर्माणमा ध्यान केन्द्रित गर्न नसकेको अवस्थामा उहाँ भन्नुहुन्छ, “सरकार सञ्चालकहरू यो सङ्ख्याले सरकार कति मजबुत छ भनेर सङ्ख्या गन्न मात्र लागिपरेको छ । सरकार बनिसकेपछि सदनले सत्ताको जोडघटाउमा होइन कानुन बनाउनमा केन्द्रित हुनुपर्ने हो ।”

    सदनको सम्पन्न दुई अधिवेशनको समीक्षा गर्दै रास्वपाका नेता ढकालले आफ्नो पार्टीको उपस्थितिले सदनमा आमनागरिकको चासो बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यसपटकको उपलब्धि सोध्नुहुन्छ भने, हाम्रो उपस्थितिका कारण सदनप्रति नागरिकको चासो बढेको छ ।”

    संवादका क्रममा उहाँले आगामी अधिवेशनलाई अघिल्ला दुई अधिवेशनजस्तै हुन नदिने सङ्कल्पसमेत व्यक्त गर्नुभयो । “हामी पनि सिकारु थियौँ, यो ११ महिनाको अनुभवबाट धेरै सिक्यौँ । आउने अधिवेशनमा अझ बढी सशक्तरूपमा प्रस्तुत हुनेछौँ”, उहाँले भन्नुभयो ।

    युवा सांसद ढकालले आगामी हिउँदे अधिवेशनमा सफल संसदीय अभ्यासका लागि अन्य राजनीतिक दलका नेताहरूसँग पनि अनौपचारिकरूपमा निरन्तर छलफल जारी राखेको राससलाई बताउनुभयो । “जनताले पनि राजनीतिक दल र जनप्रतिनिधिलाई सिर्जनात्मक, रचनात्मक सुझाव र खबरदारी गर्नुपर्छ”, सांसद ढकालले भन्नुभयो ।

    विधायिकको भूमिकामाथि प्रश्न
    वडाध्यक्ष, नगर प्रमुख र सांसदलाई आउने जनगुनासोको प्रकृति उस्तै छन् । विधायिकाको भूमिकाबारे आमजनता स्पष्ट छैनन् । जनप्रतिनिधिले नै आमजनतालाई विधायिकाको भूमिकाबारे बुझाउन चाहेनन् । विकास निर्माणको जिम्मा पनि सांसदले लिएर हिँडने पुरानो संस्कारका कारण स्थानीय तहको भूमिका र सांसदको भूमिकाबीच जनतामा स्पष्टता नभएको सांसद ढकालको भनाइ छ ।

    “जनतामा समेत सरकारले होइन, फलानो सांसद र नेताले हालेको बजेट भन्ने छ । मेरो निर्वाचन क्षेत्रमा पूर्वसांसदहरूले बाटाको नामसमेत आफ्नो नाममा राख्नुभएको छ”, उहाँले भन्नुभयो, “सांसदले आफ्नो मुख्य काम कानुन निर्माण हो है भन्ने बुझाउनुपर्ने ठाउँमा उहाँहरू सडक, पुल, कलर्भट र धारा बनाउन लागिपर्नुभएको छ ।”

    चितवन–१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य ढकालले विधायिकाहरू बजेट अधिवेशनका समयमा पनि सैद्धान्तिक छलफलमा भन्दा बढी आफ्नो क्षेत्रमा बजेट पार्न व्यस्त हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्थमन्त्रीसँग कसरी नजिक हुने, दुई–चार किलोमिटर सडकका लागि कसरी बजेट पार्ने र ‘मैले ल्याएको बजेट भन्ने’ भाष्य निर्माण भइरहेको छ ।”

    उहाँले विश्वका अन्य देशको सफल संसदीय अभ्यासबाट आफूहरूले धेरै सिक्न बाँकी रहेको बताउनुभयो । “सदनको उन्नत लोकतन्त्रको अभ्यास भएका देशहरूमा सरकारले पेस गरेका विधेयक सदनले ‘फेल’ गरेको छ । त्यहाँ सांसद दलको हँुदैन । आमनागरिक र पार्टीले मूल्याङ्कन गर्दा कुन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिए, संशोधन हाल्यो कि हालेन र गैरसरकारी विधेयक हाल्यो कि हालेन भनेर हेर्छ । तर हाम्रो देशमा कुलो बनायो कि बनाएन, धारो बनायो कि बनाएन भनेर हेरिन्छ”, सांसद ढकालले भन्नुभयो ।

    उहाँले सांसदहरू आफ्नो भूमिकामा खरो उत्रिनका लागि अध्ययनशील हुनुपर्ने बताउनुभयो । आफ्नो पार्टीका अधिकांश सांसद जनताका मुद्दा उठाउन र कानुन निर्माणका लागि अध्ययन गरेर मात्र उपस्थित हुने उहाँको भनाइ छ । उहाँले सदनमा दलीय ह्वीपका कारण पनि कतिपय सांसदमा अध्ययन गर्ने बानीको अभाव भएको बताउनुभयो ।

    उहाँले बताउनुभयो, “के देख्यौँ भने कतिपय सांसदहरू पिजन होलमा विधेयक आएको हुन्छ, त्यसलाई अध्ययन गर्नुहुन्न, किनभने सदनमा उहाँहरूको भूमिका नै ‘रबर स्ट्याम्प’को काममा जस्तो हुनुहुन्छ । प्रमुख सचेतकले अग्रिम दिएको सूचनाका आधारमा ‘हुन्छ भन्नुहोस्, हुन्न भन्नुहोस्’ मात्र पालना गर्ने सांसदहरू धेरै हुनुहुन्छ ।” लोकतन्त्र र संसदीय अभ्यासमा यस्तो अभ्यासलाई उहाँ भन्नुहुन्छ, “यो ‘विकृत स्वरुप’ हो !”

    सरकारले नसुन्ने शून्य समय
    “मैले बर्खे अधिवेशनमा शून्य समयसहित २७ पटक सदनमा बोलेको छु । मेरो अनुभूतिले के भन्छ भने यो सरकारले सुन्दैन”, उहाँले भन्नुभयो ।

    सरकारले प्रतिनिधिसभाको शून्य समयमा उठाएको विषय आवश्यकतानुसार तत्काल सम्बोधन गर्न सक्नुपर्ने उहाँको भनाइ छ । तर सरकारबाट चासो व्यक्त नहुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “उठाएको मुद्दाको निरन्तर अद्यावधिक गर्दा पनि सरकारले सुन्दैन त्यसैले दोस्रो अविधेशनको एक बैठकमा शून्य समयमा मौन धारणा गरेर विरोध जनाए ।” रासस

  • एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

    एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

    चितवन, असोज १ –
    जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले पनि चितवनको राजनीतिमा हलचल ल्याएको छ । उनी भरतपुर–१६ का बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग न्युज कारखानाले कुराकानी गरेकाे छ ।

    तपाईं जनयुद्धमा पनि लाग्नुभयो, सैन्य कमाण्डर पनि भएर हिँड्नु भो, अहिले माओवादी किन छाड्नुभयो ?

    कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृखला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्ग संर्घष क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौं । इमानदारितापूर्वक लाग्यौं । परिवर्तनका लागि जनयुद्ध गरेका थियौं । शान्ति प्रक्रियामा आयौं । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो । हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृतव मूलतः भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रुपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन ।

    तपाईंहरूले पार्टी भित्र यी कुराहरू उठाउनु भएन ?

    पार्टी भित्र संर्घष गर्‍यौं । स्थानीय तहको निर्वाचन अगाडि पनि हामीले भन्यौं । तर, भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन , गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको हो । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित ५ हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो भन्नुस् त ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । उहाँले ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो की नागरिकता विधेयक उस्तै तरिका देखिन्छ ।

    नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि ७ बर्षे प्रावधान राख्ने भन्ने उहाँ नै हैन । आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलतः नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ? एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि कांग्रेस ? कम्युनिष्ट हौं भन्ने तर, कांग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्ट विरोधी मात्रै हैन, जनविरोधी काम हो । यसले हाम्रो वर्गको हित गर्दैन ।

    तपाईं त सैन्य कमाण्डर पनि हो, हिजोका लडाकुले पाएको दुःखले तपाईंलाई उद्वेलित बनाएको हो ?

    पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्ति पनि हुँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो । उनीहरूको पीडा मैले नजिकबाट अनुभूति गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परेँ । नातावाद र कृपावादको हावी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो । त्यो कुरालाई आज प्रचण्डले बुझेनन् । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो ।

    अन्ततः हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता कार्यकर्ता पार्टीमा बसिरहन सकिएन । राजनीतिक वैचारिक हिसावले भन्नुहुन्छ भने माओावदी केन्द्रको विचार अस्पष्ट दिशाहिन छ । कस्तो समाजवाद ल्याउने हो ? कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । कांग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने छल्ने ढाँट्ने कामले परिवर्तन हुन्छ र ?

    एमालेमा त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ?

    बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ । कोभिडको महामारी भरखरै संविधान जारी भए पछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ । तर, गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने मात्रै कुण्ठा छ । जुन गलत छ । देशमा दुई एमाले चाँहिदैन । एउटै एमाले नै काफी छ ।

    तपाई पद नपाएर एमाले आएको भन्ने पनि छन् नि ?

    म पद र पैंसाका पछि लाग्ने मान्छे हैन । राजनीति मेरो पेसा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान् अनेक भन्छन् । तर, मलाई त्यसको प्रवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैया चन्दा उठाएको खाएको छैन । बरु आफ्नै पुर्ख्याैली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । कांग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेराे निष्कर्ष हो ।

  • समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल

    समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल

    काठमाडौं, जेठ २०-

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ ।

    उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित हुनुभयो । दाहालको अबको कार्यकाल कसरी बित्छ ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू यसपटक सम्पन्न गर्ने योजना बनाउनुभएको छ ? महानगरवासीको अपेक्षा सम्बोधन गर्ने भावी योजनाका विषयमा केन्द्रित रहेर नवनिर्वाचित प्रमुख दाहालसँग गरिएको कुराकानीको सम्पादित अंशः

    तपाईँ आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ?
    पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ । के गर्ने कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ । पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो । पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भएको छ । कोभिडको महामारीका बीच पनि पाँच वर्षमा धेरै कामको सुरुआत भएका छन् । महानगरको विकासमा पहिलो कार्यकाल सकिँदै गर्दा पनि विकास भएन, गर्न सकेन भन्ने जनगुनासो सुन्नुपरेको छैन ।

    देशको केन्द्र भागमा रहेर पनि भरतपुर विकासमा धेरै पछि परेको थियो । बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए । ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन, जीर्ण अवस्थामा थियो । एक सय मिटर कालोपत्रे नभएको वडा पनि थियो । अहिले पाँच वर्षमा हरेक वडामा न्यूनतम २० देखि २५ किलोमिटर र अधिकतम ५०/५५ किलोमिटर कालोपत्रे भएको छ । हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौँ भन्ने लाग्छ ।

    तपाईले दोस्रो कार्यकाललाई कसरी लिनुभएको छ ?
    पहिलो पाँच वर्षमा विकासको आधार तयार भइसकेको छ, अब त्यसमा थप सिँढी बनाउँदै जाने गरी कामहरु अघि बढाउने छौँ । त्यसलाई निरन्तरता दिनुपर्ने एउटा चुनौती छ र गर्न सकिन्छ भन्ने पूरै आत्मविश्वास पनि छ । अन्य केही मुख्य योजनाको पनि कार्यान्वयन गरी यस महानगरपालिकालाई देशकै नमूना बनाउने गरी अगाडि बढ्ने छौँ । सङ्घीय सरकारको नीति तथा कार्यक्रमको प्रक्रिया अघि बढेको बेला हामी चुनावमा थियौं । चुनावमा हार र जीत जेसुकै परिणाम आउला तर भरतपुरको योजनाहरुका बारेमा पहल गर्‍यौँ र नीति तथा कार्यक्रममा सिङ्गो चितवनलाई नै विकासमा फड्को मार्ने ढङ्गले सम्बोधन भएको छ । अनुभवका हिसाबले र समग्र अवस्थाको जानकारीका हिसाबले अबको पाँच वर्ष मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो । महानगरवासीको धेरै अपेक्षा छ, ती अपेक्षाअनुसार नै लोकप्रिय मत पनि जनताले दिनुभएको छ । उहाँहरुको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न हुन्न भन्ने कुराको गहिरो बोध छ ।

    तपाईंले किन पुनः महानगरको प्रमुखमा दोहोरिने निर्णय गर्नुभयो ?
    मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोहोर्‍याएको हुँ । नदोहो¥याएको भए सांसद हुन्थेँ होला, मन्त्री पनि हुनसक्थेँ । कुनै न कुनै राष्ट्रिय भूमिकामा हुन्थेँ होला । त्यो सम्भावना थियो तर त्यसो गरिन । चितवनको भरतपुर महानगरको कामहरु जसरी अघि बढाइएको छ । जनताको जे विश्वास पाँच वर्षको अवधिमा प्राप्त गरेको छु, त्यो जनताको विश्वास र म प्रतिको बुझाइ र अपेक्षाका हिसाबले हेर्दा मेरो यहीँ आवश्यकता छ भन्ने कुरा महसुस भयो । धेरै अधुरा काम सम्पन्न गर्नुपर्नेछ । ठूलाठूला गौरवका आयोजनाहरु अघि बढेका छन् । आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि ?

    तपाईंको पाँच वर्षे कार्यकालमा सङ्घीय सरकारको सहयोग कस्तो रह्यो ?
    पहिलो चरणमा पार्टी एकीकरणपछि नेकपा पनि भयो र सरकार पनि नेकपाको बन्यो । त्यतिबेला काम गर्न खासै समस्या भएन । पछिल्लो चरणमा पार्टीभित्र अन्तरविरोध हुन थालेपछि सङ्घीय सरकारको चितवन जिल्ला वा भरतपुरलाई हेर्ने सन्दर्भमा पूर्वाग्रह राखियो । चितवन जिल्ला भन्ने बित्तिकै नकारात्मक रुपमा हेर्ने अवस्था आयो । चितवनको रङ्गशाला निर्माणका लागि जग्गा व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसहित हामी प्रधानमन्त्री कहाँ गएका थियौं जग्गा टुङ्गोमा पुर्‍याइदिनुपर्‍यो भनेर । सिटी हलको जग्गाको कुरा टुङ्ग्याउनु पर्‍योभन्दा पनि सकारात्मक रुपमा लिइएन । त्यसपछि हामीले अर्को ढङ्गबाट रङ्गशालाका लागि कृषि विश्वविद्यालय, महानगरसहित त्रिपक्षीय सम्झौता गर्‍यौं । त्यो विषयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पनि लगेका थियौं । उहाँले सहयोग नगर्दा हामीले अर्को ढङ्गबाट काम गर्नुपर्‍यो । महानगरको सिटी हलको विषय सबै प्रक्रिया पूरा गरेर लैजान खोज्दा त्यो पनि रोकिएपछि हामीले तलैबाट समस्या समाधान गर्न सक्यौँ ।

    पछिल्लो चरणमा सिटी हलको बजेट विनियोजन गर्ने कुरा, सडकको बजेट विनियोजन गर्दा हरेक योजनामा सकेसम्म नहोस् भन्नेमा सरकारको दाउपेच चलिरह्यो । छ वटा महानगरमध्ये भरतपुर मात्रै ‘स्मार्ट सिटी’ बनेको थियो तर स्मार्ट सिटीबाट हटाउन लगाइयो । सहरी विकास मन्त्रालयले स्मार्ट सिटी गुरुयोजना पनि बनाएको थियो । प्रधानमन्त्रीले आफ्ना नयाँ शहरहरु थप्नुभयो । नारायणीको गुरुयोजना बनाएर माग गरिएको तटबन्धको बजेटका लागि पनि कुनै ध्यान दिइएन । यसरी विगत पाँच वर्षमा जे जति काम भयो, हामीले धेरै मिहेनत गरेर भएको हो । सरकार नै असहयोगी बनेपछि काम गर्न सजिलो थिएन ।

    तपाईंलाई प्रचण्डको छोरीका रुपमा नभई आफ्नो छुट्टै पहिचान बनाएँ जस्तो लाग्दैन ?
    पहिला कतिपयले नेता प्रचण्डले आफ्नो छोरीलाई राजनीतिमा ल्याए भन्ने टीकाटिप्पणी पनि नभएको होइन । मेरो पृष्ठभूमि जनस्तरसम्म धेरैले नबुझेका कारण त्यसो भनिएको हुन सक्छ । स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमियो । रोल्पा, काठमाडौंमा कार्य क्षेत्र हुँदै पार्टीले चितवनमा पठायो । म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ । चुनावलाई आफ्नो पक्षमा ल्याउन मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरेका थिए । त्यो खालको चुनौतीका बीच मलाई काम गरेर देखाउनुपर्छ भन्ने थियो । पाँच वर्षमा धेरै काम गरेर देखाएँ । म आफ्नै कामले परिचित हुन्छु भनेर सङ्कल्प पनि राखेँ । मेरो कारणले बुबा र पार्टीलाई तथा बुबाको कारणले मलाई यो खालको टीकाटिप्पणी सुन्नु नपरोस् भन्नेमा म एकदम सचेत छु । विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने सङ्कल्प राखेको थिएँ । अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द सुन्नुपरेन । रेनुले यहाँ कमजोरी गर्‍यो भन्ने गम्भीर आरोप पनि सुन्नु परेको छैन । विकास भएन भन्ने सुन्नुपरेको पनि छैन । पाँच वर्षको अवधिमा आफ्नो कर्मले त्यो कुरा मेटाउन सकेँ भन्ने लाग्छ ।

    अबको कार्यकालमा सबै पक्षलाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ?
    मेरो आफ्नो स्वभाव सन्तुलित छ । केही चिज प्राप्त गर्नका लागि झैँझगडा, किचलो गरेर सम्भव हुन्न भन्ने कुरा मलाई गहिरो बोध छ । गएको पाँच वर्षको कामले पनि त्यो पुष्टि गर्छ । सबैसँग समन्वय गरी काम गर्ने स्वभावले गर्दा नै जुनसुकै राजनीतिक उतारचढाव हुँदा पनि महानगरको गतिलाई रफ्तारमा अघि बढाउन सकिएको होे । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य थियो । पछिल्लो सङ्घीय निर्वाचनमा एमालेसँग गठबन्धन भयो । त्यो परिस्थितिको बीचमा पनि सुरुदेखि अन्त्यसम्म एउटै रफ्तारमा महानगर अघि बढ्यो । राजनीतिक हिसाबले भन्दा महानगरको २९ वडामध्ये माओवादीले जितेको तीन वडा मात्रै थियो भने कार्यपालिकामा ३९ सदस्यमध्ये जम्मा तीन जना थिए । सकेसम्म भरतपुरको विकास गर्ने हो, त्यो मिलेर मात्रै सम्भव छ भन्ने बोध थियो र सबैलाई सन्तुलन गरेर अघि बढेको हुँ । निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहे पनि अब सबैले महानगरलाई कसरी विकसित, जनमुखी बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहनुपर्छ । जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि सबैले जनताकै काम गर्ने हो । समृद्ध भरतपुर बनाउने नै मेरो एउटै सपना छ । यसका लागि कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी समन्वयात्मक ढङ्गबाट काम गर्न प्रतिबद्ध छु ।

    निर्वाचन अवधिभर भरतपुर चर्चाको केन्द्रमा रह्यो, खास त्यसको कारण के होला ?
    मलाई पनि अनौठो नै लाग्थ्यो । तीन महिना अघिदेखि नै चर्चा परिचर्चा भरतपुरकै थियो । फेरि रेनु उम्मेदवार हुने हो की होइन, को आउने हो भन्ने चर्चा राष्ट्रियरुपमै थियो । अर्को कुरा हिजो पनि गठबन्धनका हिसाबले रेनुलाई दिएको थियो फेरि पनि रेनुलाई दिने हो कि भन्ने कुराहरू पनि भए । विपक्षी पार्टीले पनि भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको थियो । चुनावलाई नै लक्षित गरेर नेकपा ९एमाले०ले राष्ट्रिय माहाधिवेशनदेखि हरेक कार्यक्रमहरू भरतपुर केन्द्रित गरेको थियो । त्यही कारणले पनि भरतपुर चर्चाको केन्द्र बन्यो ।

    यहाँको पहिलो कार्यकालमा फोहरमैला व्यवस्थापनको सम्बन्धमा काम नै भएन भन्ने गुनासो छ नि ?
    फोहरमैलाको दिगो सामाधानका लागि नयाँ, आधुनिक र नमूनाजन्य काम गर्न खोजेकै हो । अन्तर्राष्ट्रिय प्रविधिसहित कोरियन सरकारसँग सम्झौता गरिसकेका छौँ । धेरै चरणमा छलफल गरेर गुरुयोजना बनाउने काम सबै टुङ्गिसकेको छ । महानगर, सङ्घीय मामला, अर्थ मन्त्रालय र कोरियन सरकारबीच काम अघि बढाएका छौँ । कोरियन सरकारबाट एक अर्ब २५ करोडको अनुदान दिने निर्णय पनि भइसकेको छ । तर कोरियामा फैलिएको कोभिड महामारीका कारणले यो काम अघि बढाउन सकिएको छैन । अहिलेको स्थानीय तह निर्वाचन भएको भोलिपल्ट नै कोरियाबाट इमेल आइसकेको छ । छिटोभन्दा छिटो आउँछौँ, काम अघि बढाउँछौँ भन्ने जानकारी आएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सम्झौता गरेर अघि बढ्न खोजेका थियौं । रु २५ करोडका लागतमा सम्झौता गरेर अघि बढिसकेका बेला कोरियाको प्रस्ताव आएपछि त्यसलाई केन्द्रसँगको सम्झौतालाई रोकर गरेर यता अघि बढेको हो । कोभिडका कारणले ढिला भएको हो, अब फोहर व्यवस्थापनको समस्या समाधान हुन्छ ।

    जनतासँग यहाँको भावनात्मक सम्बन्ध राम्रो भएको निर्वाचन परिणमले देखायो, त्यसलाई कायमै राख्न सक्नुहुन्छ ?
    पहिलो कार्यकालमा भरतपुरवासीसँग चिनजान भएसँगै अन्तरङ्ग सम्बन्ध कायम भएको छ । त्यही सम्बन्ध र विश्वासको प्रतिफल नै दोस्रोपटक पनि मलाई अत्यधिक मत दिएर थप जिम्मेवारी सुम्पनुभएको छ । भरतपुरवासीको त्यो विश्वासलाई एक इन्च पनि घट्न नदिई अझ फराकिलो बनाउने छु । दोस्रो कार्यकालको पदबहाली गर्दैगर्दा तीन वटा महत्वपूर्ण कार्य गरेका छौँ । भरतपुरमा छोरीहरु जन्मनेबित्तिकै बीमाको सुरुआत गरेका छौँ । विपन्न समुदायलाई लक्षित गरेर सात हजार लिटर पानी निःशुल्क गरेका छौँ । अर्को भनेको भूमिहीनलाई लालपूर्जाको कुरा पनि छ । यस्तै हामीले विगतमा पनि महिलासँग मेयर, जोखिममा परेका समुदायसँग मेयर भनी महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर गौरवको कार्यक्रम राखेका छौँ । यो जोखिममा परेका समुदाय र महिलालाई लक्षित गरेको कार्यक्रम हो ।

    त्यस्तै, छात्रालाई साइकल वितरणदेखि अति लोपोन्मुख र विपन्न समुदायका तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिएका छौँ । यस्तै छात्रवृृत्ति सङ्घीय सरकारले जम्मा ४०० विद्यार्थीलाई मात्र दिन्छ । गरिबीका कारणले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रोक्न उनीहरुलाई वार्षिक १० हजार दिन थालको छौँ । स्वास्थ्य, शिक्षा, रोजगारलगायत आधारभूत कुरालाई पूरा गर्न खोजेका छौँ ।

    तपाईंले गर्न चाहेको तर पाँच वर्षमा गर्न नसकेका त्यस्ता अधुरा काम केही छने कि ?
    महानगरभित्र ठूलाठूला सडकहरु बन्दै छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडक विस्तार गर्नुछ । बाइपास सडक, हुलाकी सडक, लिङ्क सडकहरु, महानगरको चक्रपथ, सिटी हल, झण्डै पाँच अर्बको नारायणी तटबन्धका योजनाको कार्यान्वयन गर्नु छ । अब राप्ती तटबन्धको गुरुयोजना पनि अघि बढाउँदैछौँ । यी अधुरा कामलाई सम्पन्न गर्ने पूर्ण अठोटका साथ अगाडि बढ्नेछु । यसो हुँदा भोलिसम्मका लागि पनि भरतपुरले गर्व गर्ने अवस्था रहन्छ ।

    अबको कार्यकालमा तपाईंले गौरव गर्न लायक कुन–कुन योजना सम्पन्न गर्ने लक्ष्य राख्नुभएको छ ?
    आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्पन्न हुनेछ । देशकै ठूलो तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल सम्पन्न हुनेछ । त्यस्तै नारायणी तटबन्ध र महानगरीय रिङरोड सम्पन्न हुन्छ । नारायणीको ‘सिग्नेचर ब्रिज’ प्राथमिकतामा राखेको छु । महानगरभित्रको फोहर व्यवस्थापन दिगो रुपमा सम्पन्न हुनेछ भने भरतपुरको पुल्चोक–गोद्राङ सडक ब्युटिफिकेसनसहित सम्पन्न हुन्छ । हरेक क्षेत्रका योजना अब ब्युटिफिकेसनसहित सम्पन्न गर्ने लक्ष्य छ । शिक्षक अस्पताल भर्खरै मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नीति तथा कार्यक्रममा समेत समावेश छ । सुरुमा २०० शय्याको शिक्षक अस्पताल पाँच वर्षभित्रमा सञ्चालनमा आउँछ ।

    यसैगरी भरतपुर विमानस्थल प्रदशेस्तरीय विमानस्थल भनेर सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । यस्तै मेघौली विमानस्थलाई चाहीँ कालोपत्रे गर्ने कामलाई अघि बढाउन लागिएको छ । यही आर्थिक वर्ष कालोपत्रे हुन्छ । समग्र महानगरको सौन्दर्यकरणमा ध्यान दिइनेछ । प्रविधिमैत्री महानगर बनाउँछौँ । शिक्षा स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रमा प्राथमिताका साथ अघि बढ्छौँ ।

    अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि ?
    हाम्रो अबको प्रक्रिया भनेको विकाससँगै सुशासनको कुरा पनि छ । विद्युतीय भुक्तानीलगायत सफ्वेयरहरु प्रयोग गर्दैछौँ । महानगरको प्रशासनिक भवन पञ्चायतकालीन भवन हो । बदलिँदो परिवेशमा यस भवनबाट प्रशासनिक एवं विकास निर्माणका कामहरु सम्पादन गर्न कठिन भएकाले झण्डै सङ्घ र प्रदेश सरकारको साझेदारीमा एक अर्ब रुपैयाँको लगानीमा नयाँ प्रशासनिक भवन बन्दैछ । यस भवनको शिलान्यास भइसकेको छ । निर्वाचनको क्रममा आम मतदातालाई दिएको हाम्रो प्रतिबद्धता पत्रमा महानगरको सेवालाई कसरी सञ्चालन गर्ने भन्ने उल्लेख गरेका छौँ, त्यसैलाई आधार मानेर अघि बढ्छौँ । जनताबाट आएका थप सुझावलाई आत्मसाथ गरेर अघि बढ्छौँ । अब छिट्टै महानगरको नगरसभा बस्दैछ । यस सभामा हामीले जनतामा प्रस्तुत गरेको घोषणापत्रलाई आधार मानेर विगतका अधुरा योजनासमेतलाई ध्यानमा राख्दै महानगरको नीति, योजना तय गर्छौं । जनताको सेवा गर्ने जुन अवसर पाएका छौँ, त्यसमा कत्ति पनि कमी हुन नदिई दोस्रो कार्यकाललाई अझ परिणाममुखी र स्मरणयोग्य बनाउने हाम्रो प्रयत्न रहनेछ ।

     

  • माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु: ताराकाजी महतो (अन्तर्वार्ता )

    माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु: ताराकाजी महतो (अन्तर्वार्ता )

    माडी ,२२ वैशाख-
    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तारा कुमारी काजी महतोले नेकपा एमालेको तर्फबाट माडी नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडीको उपमेयरमा निर्वाचित भएकी महतो अहिले मेयरको लागि चुनावी अभियानमा लागेकी छिन् ।

    माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर उनले काम गरेकी छन् । माडीमा लोकप्रिय मानिने महतो, यहाँका आदिवासी, महिला, दलित, अल्पसङ्ख्यकलगायत माडीवासीको समस्या र पीडाको बारेमा जानकारी राख्छिन् । निर्वाचनसँग सम्बन्धित रहेर मेयरकी उम्मेदवार तारा कुमारी काजी महतोसँग न्युजकारखानाकर्मी कुलप्रसाद काफ्लेले गरेको कुराकानीको अंश–

    निर्वाचनको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?

    हामीले आफ्ना धारणाहरु सार्वजनिक गरेर प्रतिवद्धतापत्र तयार गरी जनताको घरघरमा गएका छौं । जनताका गुनासा र समस्या सुन्ने, आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने काम गरेका छौं । ठाउँठाउँमा कोणसभा गर्ने, माडीवासीसँग प्रत्यक्ष भेटघाट गर्दै निर्वाचनको अभियानलाई अगाडि बढाएका छौं ।माडीवासीलाई समृद्ध माडी कसरी बनाउने भन्ने चिन्ता छ । माडीको विकासको लागि विभिन्न सुझावहरु दिनुभएको छ । हाम्रा योजना र विगतमा गरेका कामका कारण माडीवासीको भरोसा हामीप्रति नै छ । माडीवासीले अगाडि बढ्ने हौसला दिनुभएको छ ।

    उपमेयर भएर एक कार्यकाल पूरा गर्नुभयो । अहिले किन मेयर बन्ने आका‌ंक्षा राख्नुभयो ?

    अघिल्लो कार्यकालमा हाम्रो पार्टी नेकपा एमालेले मलाई उपमेयरमा उठ्ने अवसर दियो । म अत्यधिक मतले विजयी भएँ । म त्यतिबेलाको म्यान अफ दि इलेक्सन हो । उपमेयरको जिम्मेवारीमा रहेर काम गर्दा मैले धेरै कुराहरू सिकेँ । जनताका वास्तविक समस्याका साथै समग्र माडीका समस्यालाई गहिरिएर बुझ्ने मौका पाएँ । अहिले मलाई मेयर भएर काम गर्ने आँट आयो । माडीवासीबाट पनि हौसला र प्रेरणा पाएँ । त्यसैले माडीवासीकै आकांक्षा पूरा गर्नकै लागि पार्टीसँग समन्वय गरेर मैले मेयरमा उम्मेदवारी दिएको हो ।

    उपप्रमुख भएर के–के काम गर्नुभयो त ?

    न्याय सम्पादन, अनुगमन, अपांगताका हक हितका विषयहरुका साथै राजस्व परामर्श समितिको संयोजकमा रहेर मैले इमान्दारीसाथ जिम्मेवारी पूरा गरेँ । माडीबाट धेरै महिलाहरु ठोरी नाका हुँदै बेचबिखनको लागि भारत लाने गरेको थाहा पाएर नियन्त्रणमा अगाडि बढ्यौं । माडी नगरपालिकाबाट बाहिर जाने बगई नाकाबाट जाने बसहरुमा जाँच गर्न सहायता कक्ष बनाएर काम सुरु गर्‍यौं । यसरी काम गर्दा हरेक वर्ष लगभग ७ देखि १८ जनासम्म महिला, बालिका, किशोरीहरुलाई उद्धार गर्न सफल भयौं ।

    यहाँका महिलाको स्वास्थ्य अवस्था दर्दनाक छ । तपाइँ उपमेयर हुँदा महिलाको स्वास्थ्यमा परिवर्तन गर्न सक्नुभयो ?

    हामी निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौं । प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरेका छौं । सामान्य उपचारमा सरसल्लाह गर्न अहेब, अनमी र एक जना सहयोगी गरी तीन जना कर्मचारी कार्यरत छन् । बगौंडा अस्पतालमा महिलाहरु गर्भवती हुँदा वा सो क्रममा गर्नुपर्ने दुई वटा भिडियो एक्सरे निःशुल्क गरेका छौं । बगौडा अस्पतालसम्म सुत्केरी हुन आउन परे घरमा सवारी साधन छैन । एम्बुलेन्स चाहिए त्यो पनि निःशुल्क गरिएको छ । कतिपय सुत्केरी र शिशुमा पोषणको कमी देखियो । त्यसका लागि पोषणको कार्यक्रम गर्नुपर्छ भनेर हामीले पोषणका कार्यक्रम पनि गरेका छौं ।

    पाँच वर्षसम्म माडी नगरपालिकामा के कस्ता विकास भए त ? विगतमा जनतासँग गरेको प्रतिवद्धता पूरा गरेजस्तो लाग्छ ?

    हामी नगरपालिकामा निर्वाचित भएर आएपछि धेरै विकासका कामहरू भएका छन् । बाटाहरु चौडा भएका छन् । पुलहरु निर्माण भएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले माडीमा चार लेनको सडक र ११ वटा पुल बनाउन बजेट दिएको थियो । अहिले काम धमाधम भइरहेको छ । यो बीचमा विद्यालयहरूको स्तरोन्नति गरिएको छ । कृषि र पर्यटनमा आशालाग्दो परिवर्तन देखिएको छ ।

    सुकुम्वासीहरुको स्थायी बसोवासको लागि पहल भइरहेको छ । यी कामहरू अगाडि बढाउन नेकपा एमालेको नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारले धेरै सहयोग गरेको छ । यहाँहरुलाई थाहै छ । माडीमा रामअयोध्याधाम बनाउने भनेर पनि ठूलो चर्चा भयो । केही काम पनि भए । कतिपय काम हुनसकेनन् । अब अगाडि बढाउनुपर्छ । हामीले विगतमा प्रतिवद्धता जनाएअनुसार समृद्ध माडी बनाउनको लागि धेरै काम बाँकी छन् । मेयरमा निर्वाचित भएर सहमति र सहकार्यले तिनै कामहरु पूरा गर्ने अठोटका साथ अगाडि बढेकी छु ।

    पाँच वर्ष तपाइँले उपमेयर रहेर काम गरिरहँदा आम मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन सके जस्तो लाग्छ ?

    हामीले माडी नगरपालिकामा अर्गानिक कृषि फर्म सञ्चालन गरेका छौं । वडा नंं. ८ मा प्रदेशकै नमुनाको रुपमा एउटा सामूहिक खेती सञ्चालन गरेका छौं । मगर, थारु, बोटे, दुरालगायतका होमस्टेहरू सञ्चालन गरेर ति समुदायका मानिसहरुलाई आयआर्जनसँग जोडेर काम गरेका छौं । होमस्टेहरूले जीवनमा परिवर्तन ल्याएको छ । माडीवासीमा शैक्षिक चेतना बढेको छ । कृषि कार्यमा परिवर्तन आएको छ । तर पनि यो पूर्ण होइन । अझै धेरै काम गर्न बाँकी छन् ।

    एमालेले तपाईँलाई नै माडी नगरपालिकाको मेयरको उमेदवार किन बनाएको होला ?

    म नै उमेदवार हुनुपर्छ भनेर मैले पार्टीलाई कहिल्यै दबाब दिइनँ । मैले कसैलाई तेरो मेरो नभनी काम गरेँ । कसैलाई पनि कुनै विभेद नगरी काम गरेँ । मेरो अनुभव, इमान्दारिता र लगनशीलतालाई मूल्याङ्कन गरेर नै पार्टीले मलाई अगाडि बढाएको होला भन्ने मलाई लागेको छ ।

    माडी नगरपालिकाको नेतृत्वमा निर्वाचित हुने के आधार छन् तपाईसँग ?

    निर्वाचित हुने प्रमुख आधार नै आदरणीय मतदाताप्रति मैले गरेको सेवा हो । म हर समय जनताको माझमा रहेँ । उहाँहरूको सुखदुःखमा साथमै भएँ । मैले विगतमा माडीवासीको शिर झुक्ने कुनै काम गरिन् । मेरो विगतको अनुभव, जनतामा गएर काम गर्ने कार्यशैली, समृद्ध माडी बनाउने योजना, माडीवासी जनताले दिएको माया, प्रेरणा र हौसला, सबैसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धताका कारण म मेयरमा निर्वाचित हुने प्रशस्त आधारहरु छन् । हाम्रो पार्टी र राप्रपाको बीचमा माडीमा तालमेल गरेर गएका छौं । त्यो पनि जितको एउटा आधार हो ।

    मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । हामीसँग प्रतिस्पर्धा गर्ने गठबन्धनले महिलालाई उपेक्षा गरेको छ । माडीका १४ हजार ५ सय ६२ महिला मतदाताको अपमान गरिएको छ । प्रमुख, उपप्रमुखमा महिलालाई अगाडि ल्याएको छैन । महिलाप्रति यस्तो दृष्टिकोण राख्ने दलका उम्मेदवारलाई यहाँका माडीका महिलाले किन मत दिने ? माडीवासी जनताको आशा, भरोसा र माया मप्रति नै देखिएको छ । त्यसैले माडीवासी जनताले मलाई अवसर दिनेछन् भन्नेमा म ढुक्क छु ।

    अहिले गठबन्धनबाट मेयरमा कुनै चौधरी उम्मेदवार नभएकोले सजिलो छ भन्ने तपाइँ र तपाइँको पार्टीको आंकलन हो ?

    यो जात विशेषको मात्रै विषय होइन । हाम्रो देश नै सबै जातजातिको साझा थलो हो । सबै जात जातिको संस्कृतिमा नै नेपाली संस्कृति विकसित हुन्छ । सबै जातजातिलाई सम्मान गर्दै संरक्षण र सम्वर्धन गर्नु हाम्रो कर्तव्य हो । मेरो जित्ने आधार भनेकै माडीका जनता हुन् । सबै जात जाति, धर्म समुदाय, क्षेत्र, बर्ग र लिङ्गका जनता नै मेरो जितका आधार हुन् । म थारु समुदायमा जन्मिएको एक छोरी हुँ । त्यस समुदायले मप्रति माया गर्नु त स्वाभाविक नै मान्नुपर्छ नि ।

    समृद्ध माडी बनाउनको लागि के कस्ता योजना लिएर अगाडि बढ्नुभएको छ त ?

    माडी भौगोलिक, सामाजिक, धार्मिक, राजनैतिक दृष्टिकोणले महत्वपूर्ण स्थल हो । यहाँ विकासका सम्भावनाहरू धेरै छन् । माडीका जनता र जमिनको सुरक्षा प्रमुख विषय हो । निकुञ्जसँगको द्वन्द्व हटाएर जनताको हितमा काम गर्नुपर्छ । रिउमा तटबन्धन गरेर पर्यटकीय मार्ग बनाउनुपर्छ । भूमिहीन सुकुम्वासीहरुको स्थायी बसोबास र रोजगारको व्यवस्था गर्नुपर्छ । कृषिमा आधुनिकीकरण, पर्यटकको आकर्षण, विभिन्न जात जातिको संस्कृति संरक्षण, स्वरोजगारको व्यवस्था, माडीलाई शैक्षिक हव बनाउने, माडीका विभिन्न धार्मिक र पुरातात्विक स्थलहरूको संरक्षण र स्तरोन्नति गर्ने, माडीका दक्षिणतिर बग्ने खोलाहरुमा तटबन्धन, बघौडा अस्पतालको स्तरोन्नति लगायतका योजनाहरू लिएर हामी जनतामाँझ गएका छौं । हाम्रा योजनाहरूलाई प्रतिवद्धतापत्रमा समावेश गरी सार्वजनिक पनि गरेका छौं ।

    माडीमा भुमिहिन सुकुम्बासीका समस्या छन्, जंगली जनावरका समस्या छन्, ठाडा खोलाहरुको समस्या छ । भूमिखण्डिकरणको समस्या छ यि समस्याको समाधान कसरी गर्ने सोच बनाउनुभएको छ ?

    कृषि योग्य भूमि जथाभावी गरिने खण्डीकरणलाई रोक्नुपर्ने मुख्य चुनौती बनेर आएको छ । यसलाई रोक्न नगरपालिकाले ठोस नीति ल्याउँछ ।
    राष्ट्रिय निकुञ्जको बाटोको सुधारका लागि हामी दुई/तीन पटक प्रधानमन्त्री कार्यालयमा डेलिगेसन पनि गयौँ । कानुनी हिसाबले पनि त्यहाँ अवरोध छ भने अन्य कुराहरु पनि छ । राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा परेको हुनाले अन्य निकायहरुले पनि अनुमति दिनुपर्ने, आफ्नै खुसीले बनाउन नपाइने जस्ता कुराहरु छन् । निकुञ्ज सम्बन्धि ऐनका कुरा छन् ।

    यसमा हामीले सहजीकरण गर्न धेरै प्रयास गर्‍यौँ । यही कारणले यतिसम्मको बाटो निर्माण भएको हो । हामीले यसलाई धुलोरहित बाटो बनाउने भनेर पनि काम अगाडि बढाउनु पर्छ भनेर हामीले सोचेको हो । तर, विविध कारणले त्यहाँ अहिले रोकिएको छ । यसलाई अगाडि बढाउँछौं । जंगली जनावरबाट हुने मानवीय र अन्य भौतिक क्षति कम गराउन तारवार लगाउने योजना पनि छ । निकुञ्जसँग समन्वय पनि गछौं ।

    निस्सा बाड्ने काम भूमि सम्बन्धि समस्या समाधान आयोगको काम कर्तव्य र अधिकार भित्रको विषय हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

    भूमिहिन सुकुम्वासीको समस्या माडीमा चर्को छ । सुकुम्वासीहरुको स्थानान्तरण र स्थायी बसोवास पूर्जा वितरणको पहल भैरहेको छ । केहीलाई हामीले निस्सा बाँडेका छौं । निस्सा माथि पनि माओवादीले राजनीति गरिरहेको छ । निस्सा माओवादी केन्द्रले बाँडेको होइन । नगरपालिकालाई जे जति अधिकार थियो, त्यो अधिकार क्षेत्रभित्र बसेर हामीले काम गरेर नगरपालिकाले बाँडेको हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

    सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई हामीले प्रतिवद्धता पत्रमा स्पष्ट पारेका छौं । हामीले भूमि सम्बन्धि समस्या समाधान आयोग आयोगसँग समन्वय गरेर रोजगार सहितको स्थायी बसोवासको अवधारण ल्याएका छौ । अझै पूर्णरुपमा हामीले निस्सा प्रदान गर्न सकेका छैनौं । अब विजय भएर फेरि यसलाई निरन्तरता दिने हो । यस कामको लागि समय लाग्छ । हामी आत्तिनु हुँदैन । अहिले चुनावको माहोल छ । यो लगतै यसलाई हामी निरन्तरता दिन्छौं ।

    शिक्षा, स्वाथ्य, खानेपानी, सरसफाइ, विकास निर्माणका कुरा लगायत अन्य बाटो, कलभर्टका कुरा सबैलाई हामीले एकदमै समान रुपमा अगाडि बढाउँछौं । यहाँ रहेका धार्मिक सांस्कृतिक स्थल, पर्यटन, कृषिमा प्रवद्र्धनका कुराहरू छन् । धेरै कुराहरुलाई समेटेर लानुपर्ने छ । म यी सबै कुराहरुलाई पूरा गर्न सक्छु । माडी नगरपालिकामा आन्तरिक बजेट कम हुँदा हुँदै पनि हामीले विभिन्न स्रोतहरु खोजेर अहिले माडी नगरपालिकाको बजेट बढाएका छौं । यो हिसाबले पनि समन्वय सहकार्य गरेर काम गर्न सकिन्छ । मैले अगाडि भनेअनुसार नै सुन्दर, हराभारा र समृद्ध माडी बनाउनु नै हाम्रो लक्ष्य हो ।

    अन्त्यमा केही भन्नुहुन्छ ?

    मैले भष्ट्राचार गर्दिनँ, गर्न पनि दिन्नँ । भष्ट्राचारीहरुका लागि गेट बन्द गर्नेछु । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन । यो मेरो प्रतिबद्धता हो । समृद्ध माडी बनाउने विषयमा नै मेरो जीवन समर्पण गर्नेछु ।

  • जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

    जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

    भरतपुर, २० वैशाख-

    भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर न्युज कारखानाकर्मी कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानी–

    १. चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
    -जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा उत्साह छ । विकासका लागि रेणु दाहाल भन्‍ने छ । ठूला आयोजनालाई निरन्तरता दिन र समयमै सम्पन्‍न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन । उहाँबाहेक अरुले गर्न सक्दैन भन्‍ने आममहानगरबासीको बुझाइ छ । जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएको छु ।

    २. पहिलो कार्यकालमा के गर्न सक्नुभएन र फेरि दोस्रो कार्यकालका लागि मेयरमा उमेदवारी दिनुपर्‍यो ?
    –पहिलो कार्यकालमा नसकेको भन्‍ने होइन । दीर्घकालीन सोचका साथ भरतपुरको विकास र समृद्धिका लागि हामीले जग तयार गर्‍याैँ । अब यसलाई पूर्णता दिनका लागि अब एक कार्यकाल चाहियो । जसले बच्चा जन्माउँछ, बच्चाको माया आमालाई जति त हुँदैन नि । जति पनि अन्तर्राष्ट्रियस्तरका, राष्ट्रिय गौरवका आयोजना अगाडि बढेका छन् । जस्तो, नारायणी तटबन्धनको पाँच अर्बको आयोजना छ । त्यसलाई सुरुवात हामीले गर्‍याैँ । अब सम्पन्‍न गर्नु छ ।

    नारायणी तटबन्ध भरतपुरबासीको व्यग्र प्रतिक्षाको विषय थियो । वर्षेनि बाढीका कारण हुने धनजनको क्षति हुने गर्थ्याे । यसको दीर्घकालीन समाधानका लागि आयोजना अगाडि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नु छ । ठूला सडक र पूर्वाधार बनेका छन् । ६ र ४ लेनका सडक बन्दै छन् । महानगरीय चक्रपथ योजना छ । यी सबै योजना पूरा गर्नुछ । नारायणी नदीलाई ‘सी बिच’ मोडलको रुपमा विकास गर्नुछ ।

    महानगरको आफ्नै प्रशासकीय भवन भर्खर शिलान्यास गरेका छौँ । महानगरपालिकाले अघि सारेका थुप्रै नीतिगत काम अधूरा छन् । अधूरा रहेका काम सम्पन्‍न गर्ने दायित्व छ । भरतपुरको भविष्य र जनताको अपेक्षालाई हेरेर पनि अब एक पटक कार्यकाल भयो भने यी सबै काम गर्न सक्थेँ । भरतपुरलाई हेर्न र गर्व गर्न लायक बनाउने भनेर उमेदवारी दिए । मलाई व्यक्तिगत रुपमा रहर त थिए । तर, समग्र आवश्यकतालाई बुझेर मेयरका लागि दोस्रो पटक पनि उमेदवारी दिएको छु ।

    ३. प्रचण्डकी छोरी भएकैले तपाईंले धेरै अवसर पाएको भन्‍ने गर्छन् नि । यसमा तपाईंको भनाइ के छ ?
    –प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन । मैले दुःख मात्रै गरेको छु । व्यक्तिगत इच्छा, चाहना छाडेको छु । हिजो पनि १० कक्षा पढ्दा पढ्दै कापीकिताब फालेर मुलुक परिवर्तनका लागि संघर्षमा होमिएकी हुँ । त्यसबेलादेखि आजसम्म लगभग २७ वर्ष भयो, म निरन्तर जनताको सेवामा छु । जनयुद्धमा बाँचेर आएको छु, मर्न पनि सकिन्थ्यो ।

    पार्टीको जिम्मेवारी लिएर कहिले रोल्पा त कहिले भारत पुगे । यहाँ मेयरमा लड्नुअघि काठमाडौँमा पार्टीको सेक्रेटरी थिए । अहिले चितवनमा पार्टीको इन्चार्जका रुपमा छु । मेयरका रुपमा एकचोटी परीक्षण पनि भएँ । जनताका पक्षमा कति काम गर्न सकेँ छर्लङ्ग देखिएको छ । जनताका हरेक सवाल शिर ठाडो बनाएर जवाफ दिनसक्छु । यसमा मलाई गर्व छ । प्रचण्डकी छोरी भएर राष्ट्रको लागि देन मात्रै गरेको छु । आफ्नो लाभको लागि गरेको छैन ।

    ४. गठबन्धनकै दलमध्येको कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्‍नाथ पौडेलले मेयरमा स्वतन्त्र उमेदवारी दिनुभएको छ । यसले गठबन्धनलाई कति प्रभाव पार्ला ?
    –खासै प्रभाव पार्लाजस्ताे मलाई लागेको छैन । किनकी गठबन्धनका दलको साझा उमेदवारका रुपमा मेयरको आधिकारी उमेदवार म नै हो । कांग्रेसका केन्द्रीय नेता, प्रधानमन्त्री एवं सभापतिदेखि लिएर शीर्षस्त सबै नेताले उहाँ (पौडेल)लाई फिर्ताको लागि आग्रह गर्नुभयो । पार्टीले गरेको आग्रहलाई पनि जगन्‍नाथजीले स्वीकार गर्नुभएन । उहाँले स्वतन्त्र उमेदवारी दिनुभएको छ । देशभर अन्यत्र पनि स्वतन्त्र उमेदवारी दिँदाखेरी कस्तो भयो भनेर इतिहासले पनि पुष्टि गर्छ ।

    स्वतन्त्र उमेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने लागेको छैन । दोस्रो कुरा यो गठबन्धन कुनै दल विशेष होइन । राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधरधर मिलेर गठबन्धन बनेको छ । जनयुद्धपछि विस्तृत शान्ति सम्झौता र २०६२/६३ को जनआन्दोलनदेखि आएका हामी सहयात्री पार्टीबीच गठबन्धन भएको छ ।

    तत्कालीन अवस्थामा राज्यपक्षबाट प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । हामीहरु यहाँसम्म आएका छौँ । संविधान जारी गर्‍यौँ । यी सबै परिवर्तनका हिमायती हामी हौँ । परिवर्तनको विरोधी राप्रपालाई बोकेर एमाले हिँडिरहेको छ ।

    गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्काे खेमामा छन् । हामी अग्रगामी पक्षधर यता छौँ । जगन्‍नाथजीले यी सबै विषयवस्तु, देशको आवश्यकतालाई बुझ्न सक्नुभएन कि जस्तो लाग्छ ।

    यो दुरगामी महत्वलाई बुझेर पाँच दलीय गठबन्धनको साझा दृष्टिकोणसहित देश अघि बढेको छ । उहाँले बुझ्न सक्नुभएन कि भन्‍ने ठान्छु । उहाँलाई पार्टी (कांग्रेस) ले कारबाही गरिसकेको पनि छ । उहाँ कांग्रेसको आधिकारीक उमेदवार होइन । स्वतन्त्र उमेदवार हुनुहुन्छ । स्वतन्त्र हुँदै गर्दा त्यतिधेरै असर गर्छजस्ताे लागेको छैन ।

    ५. गठबन्धन दलविरुद्ध एमाले र राप्रपाबीच पनि तालमेल भएको छ । तपाईंलाई भारी पर्ला नि ?
    -एमाले र राप्रपा तालमेल प्राकृतिक छैन । अप्राकृतिक खालको छ । एउटा वाम पार्टी र गैरवाम पार्टी, त्यो पनि गणतन्त्र र परिवर्तन विरोधि ।

    धर्मनिरपेक्षको विरोधि र हिन्दु राष्ट्रवादी शक्तिसँग एमालेले तालमेल गरेको छ । त्यसले गर्दाखेरी उहाँको हिजोका गतिविधिले गर्दा पनि । सम्मानित संसद दुई-दुई चोटी विघटन गर्ने र संसदको गला रेट्ने काम तत्कालीन प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । हामीले प्राप्त गरेका उपलब्धि खोस्‍ने काम केपी ओलीबाट भयो । एकलौटी र निरकुंश ढंगबाट उहाँ अघि बढ्नुभयो ।

    देशलाई स्थायीत्व दिन भनेर बनाइएको पार्टी उहाँले छिनभरमै टुक्रा-टुक्रा भयो । नेकपाको दुई तिहाईको सरकार, ठूलो पार्टी क्षतविक्षत भयो । तत्कालीन एमाले पनि विभाजन भएर त्यहाँ भएका शीर्षस्त नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु एमालेमा रहनसक्ने अवस्था भएन । एउटा व्यक्तिको गलत कार्यशैलीले गर्दा दुई तिहाईको सरकार गुम्यो, प्रदेश सरकार गुमे । अझै पनि यस्तो अप्राकृतिक गठजोड गरेर उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ ।

    उहाँ परिवर्तनको पक्षधर हुनुभएन । हामी बाम लोकतान्त्रिक गठबन्धन भनेका छौँ । २०७४ मा भएको चुनावमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । अहिले त झन् हामी पाँच वटा पार्टी छौँ । बलियो छौँ । पटक-पटकको प्रतिगमनबाट विजय भएर हामी यहाँसम्म आएका छौँ । अब जनताको अभिमतबाट पनि त्यो प्रवृत्तिलाई परास्त गर्नुपर्ने टड्कारो आवश्यकता भएको छ । हामीलाई हार्न छुट छैन र हामीलाई हार्दैनौँ ।

    ६. सडक मात्रै कालोपत्रे गरेर विकास भएको भन्‍न नमिल्ने कुरा आइएका छन् नि । तपाईं यसमा के भन्नुहुन्छ ?
    -भरतपुर महानगरमा सडक कालोपत्रे मात्रै भयो र ? पाँच वर्षमा भरतपुर महानगरको बजेट कति र हाम्रो सक्रिय पहलमा संघीय र प्रदेश सरकारबाट कति आयो भन्ने कुरा हामीले घोषणापत्रमा स्पष्ट रुपमा उल्लेख गर्दै छौँ । थुप्रै आयोजना अघि बढेका छन् । सडकमा उल्लखनीय प्रगति छ । पाँच वर्षमा ६२२ किमी सडक पिच भएको छ ।

    चौकीडाँडादेखि गोलाघाटसम्म खानेपानीको सुनिश्चितता भएको छ । झण्डै पौने चार अर्बका खानेपानी आयोजना अगाडि बढाएका छौँ । शारदानगर खानेपानी आयोजना मात्रै ५१ करोडको छ । दिव्यनगर खानेपानी आयोजना २१ करोडको छ । जखडीमाई खानेपानी आयोजना ३७ करोडको छ । यो पाँच वर्षमा हामीले सात हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढाएका छौँ ।

    विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर बढाएका छौँ । नगरस्तरीय पार्क बनाएका छौँ । पर्यटन क्षेत्रमा पनि महानगर, संघ र प्रदेशले विभिन्‍न स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेका छन् । दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिएका छौँ । आजसम्म कुनै सरकारले यस्तो गरेको छैन । हामीले सुरुवात गर्‍याे । विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी दिने र उद्यमशील बनाउने भनेर कृषिमा व्याज अनुदानका कार्यक्रम अघि बढाएका छौँ ।

    भरतपुर दिगो विकासको लक्ष्यसहित अगाडि बढेको छ । महानगरलाई प्रविधिमैत्री बनाएका छौँ । यी सबै योजनालाई हेर्दा सडकमात्रै होइन सबै क्षेत्रमा ‘स्मार्ट सिटी’को परिकल्पना अनुसार अघि बढेका छौँ । भरतपुरलाई उज्यालो शहरका रुपमा विकास गर्न झण्डै ८० किमी सडकमा स्मार्ट सडक बत्ती जडान भइरहेका छन् ।

     

  • देवघाटको धार्मिक महिमालाई अक्षुण्ण राख्ने काम गरिरहेका छौं : धिरणबाबु घिमिरे

    देवघाटको धार्मिक महिमालाई अक्षुण्ण राख्ने काम गरिरहेका छौं : धिरणबाबु घिमिरे

    – हिरालाल आचार्य ‘डायमण्ड’

    चितवन, फागुन १७ –
    पवित्र तीर्थस्थल देवघाटको व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समिति रहेको छ । उक्त समितिले देवघाटको भूगोल फैलिएको तनहुँ, चितवन र नवलपुरलाई हेर्ने गर्छ । निश्चित भौगोलिक क्षेत्रमा व्यवस्थापन समितिले काम गरिरहेको छ । उक्त समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश । उहाँ क्षेत्र विकास समितिमा आएको तीन वर्ष दुई महिना भएको छ । अब उहाँको कार्यकाल सकिन ८ महिना बाँकी छ ।

    देवघाट क्षेत्र विकास समिति यति खेर के गरिरहेको छ ?

    देवघाटको धार्मिक महिमालाई अक्षुण्ण राख्ने काम गरेको छ । मठमन्दिरहरु, आश्रमहरु यिनीहरुको संरक्षण गर्ने, संवद्र्धन गर्ने, यिनीहरुको विकासका लागि टेवा पु¥याउने, पाटी पौवाहरु बनाउने, घाटहरु स्नान घाट, मसान घाट व्यवस्थापन गर्ने, बाटोहरुमा ढुंगा बिछ्याउने, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वयन गर्ने, बजेटहरु ल्याउने, विकास निर्माणका काम गर्ने, देवघाटका महिमा झल्किने खालका बाटाहरु बनाउने, विभिन्न किसिमका ठूलाठूला पर्वहरु बालाचतुर्दशी, बोलबम मेला, सूर्य ग्रहण, चन्द्र ग्रहण, माघे संक्रान्ति मेला जस्ता मेलाहरु जुन चाहीँ हामीले आह्वान गरेको होइन । यो स्वत हाम्रो धर्म संस्कृतिभित्र परेका मेला पर्वहरुमा मान्छेहरुको ठूलो घुइँचो आउँछ । ५ लाखदेखि ७ लाखसम्म मानिसहरु आउँछन् । यसको व्यवस्थापन गर्ने, सुरक्षाको व्यवस्थापन गर्ने, सुरक्षाको व्यवस्था गर्ने, उज्यालोको व्यवस्था गर्ने, उज्यालोको व्यवस्था गर्ने कामहरु गर्छाैं ।

    देवघाट क्षेत्रविकास समितिको भौगोलिक कार्य क्षेत्र कति हो ?

    तनहुँ, चितवन र नवलपुर गरी ५४ सय ३४ हेक्टरभित्र समितिको कार्यक्षेत्र पर्दछ । यो क्षेत्रमा नेपाल सरकारले गठन आदेशबाट २०५० सालमा यो समिति गठन गरेको हो ।

    देवघाटमा आधुनिक कंक्रिटका संरचनाले पूरातत्विक झलक दिएको देखिँदैन । नुहाउने कुरालाईमात्र प्राथमिकतामा राखिएको देखिन्छ नी । अरु कुरा किन ओझेलमा परेका ?

    अब देवघाटको सबैभन्दा महत्वपूर्ण काम भनेकै स्नान हो । यहाँ कालिगण्डकी छ । गोसाईंकुण्डदेखि बग्ने त्रिशुली नदी जसलाई स्वेत गंगा भनेर भनिन्छ । दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै बग्ने नदी जसलाई हामी कालिगण्डकी भन्छौं । कालीगण्डकी नदी भनेको शालिग्राम पाइने नदी हो । शालिग्रामलाई हामी भगवानको रुपमा पुज्छौं । शालिग्राम बगाएर लेराउँछिन् कालीनदीले । त्रिशुली नदी र कालीनदीको अन्तिम बिन्दु भएको देवघाटधाम हो । यो बेनी संगममा हुन्छ । त्यसपछि दुई वटै नदीको अन्त्य हुन्छ । र नारायणी नदीमा रुपान्तरण हुन्छ । यसमा स्नान गरियो भने जानेर नजानेर पनि कहिलेकाहीँ भएका त्यस्ता पापहरु छन् भने मोक्ष प्राप्त हुने, पाप पतन्य हुने, यहाँ स्नान गरिसकेपछि भन्ने एउटा विभिन्न पुराणहरुमा, स्कन्द पुराणहरुमा लेखिएको हुनाले यसको ठूलो धार्मिक महिमा छ ।

    जसरी हरिद्वारमा गएर भागिरथी नदीमा नुहाइन्छ । स्नान गरिन्छ । त्यसैगरी कालिगण्डकीको बेनी संगममा स्नान ग¥यो भने जीवनको ठूलो मोक्ष प्राप्त हुन्छ भनेर लेखिएको हुनाले देवघाटको महत्व नै स्नानमा रहेको छ ।

    देवघाट तीन जिल्लाको तीन वटा स्थानीय तहसँग जोडिएको छ । यहाँहरुले यी तीन स्थानीय तहसँग कसरी तालमेल गरिरहनु भएको छ ?

    चितवनतर्फको हामी भरतपुर महानगरपालिकासँग समन्वयन गर्छाैं । ठूला मेला पर्वहरुमा भरतपुर महानगरबाट सहयोग प्राप्त भएको छ । तनहुँतर्फ देवघाट गाउँपालिका हो । यो गाउँपालिकाबाट पनि राम्रै सहयोग छ । हामीले राम्रो समन्वयन गरिरहेका छौं । यस्तै नवलपरासी सुस्ता (पूर्व) को गंैंडाकोट नगरपालिकासँग पनि समन्यवन गरिरहेका छौं । गैंडाकोटको मौलाकालीका मन्दिरसम्म देवघाटको भौगोलिक कार्य क्षेत्र हो ।

    अब हाम्रा कतिपय आर्थिक पक्षहरु बलियो नभएका हुनाले धेरै आर्थिक सहयोग देवघाट क्षेत्रविकास समितिलाई नभएता पनि गर्न सक्ने अवस्थामा र चाहिएको बेलामा तीन वटै स्थानीय सरकारले हामीलाई सहयोग गरिरहेको अवस्था छ ।

    आश्रमहरुसँग क्षेत्र विकास समितको भूमिका के रहन्छ ?

    तनहुँतर्फ भएका आश्रमहरु सरकारी हुन् । ती सबैमा क्षेत्रविकास समितिकै व्यवस्थापन हुन्छ । तनहुँतर्फ भएका सबै आश्रम उत्कृष्ट छन् । सबै लोककल्याणकारी काम गर्ने छन् । तर चितवनतर्फ पनि लोककल्याणकारी काम गर्ने आश्रमहरु त छन् । तथापि केहीकेही आश्रमहरु नितीनियमभन्दा बाहिर आश्रम चलाएको । पैसा लिने गरेको । त्यो पनि चर्काे शुल्क लिने गरेको भन्ने गुनासाहरु आएका छन् । त्यसलाई हामीले छलफलको प्रक्रियामा लगेर सकेसम्म धार्मिक विद्यार्थीहरु तथा वृद्धबाआमालाई सुविधा दिनुपर्छ । हामी यो पवित्र ठाउँमा गर्ने कार्यहरु पुण्य काम हुनुपर्छ । भन्ने मान्यता सिंगो समितिले बोकेको छ ।

    देवघाटमा कति आश्रम छन् । कस्ता खालका आश्रम छन् । कति आश्रममा शुल्क लिने गर्छन् ?

    चितवनतर्फ दुई वटा आश्रमहरुले केही रकम लिने गरेका छन् । एउटा एनआरएन र अर्काे रोटरीले स्थापना गरेको हो । ती आश्रमहरुमा पैसा लिएर सेवा राम्रै गरेको जस्तो लाग्छ । तनहुँतर्फ सरकारी वृद्धाआश्रम हुन् । ती सबैको पूरै अध्यक्ष म आफै हो । ती आश्रमहरुमा बढीभन्दा बढी दाताहरुले सहयोग गर्नुहुन्छ । बाआमाहरुलाई एक रुपैयाँ पनि पैसा लिँदैनौं । बाआमाहरुको खानपान, औषधीउपचार, बस्ने व्यवस्था सबै देवघाट क्षेत्रविकास समितिले मिलाएको छ ।

    देवघाटमा संस्कृत पनि पढाइ हुन्छ । यस्ता विद्यालयहरु कति छन् ?

    यो संस्कृत शिक्षाको खानी नै हो । यहाँ गुरुहरु उत्पादन हुन्छ । यहाँ पूर्व मध्येमादेखि लिएर आचार्यसम्मको पढाइ हुन्छ । तनहुँतर्फ तीन वटा संस्कृति विद्यालयहरु रहेका छन् । चितवनतर्फ एउटा विद्यालय रहेको छ । करिब ९ सयदेखि १ हजारसम्म विद्यार्थीले देवघाटमा पढ्छन् ।

    देवघाट क्षेत्रविकास समितिमा कोको हुनुहुन्छ ? कति जनाको समिति हो यो ?

    २०५० सालमा नेपाल सरकारको गठन आदेशबाट यो समिति निर्माण भएको हो । समितिको अध्यक्षमा बद्रिप्रसाद अधिकारी हुनुहुन्छ । उहाँको अध्यक्षतामा २४ सदस्यीय बोर्ड छ । बोर्डमा देवघाटको भौगोलिक क्षेत्रभित्रका सांसदहरु, तीन वटा स्थानीय तहका प्रमुख, देवघाटसँग जोडिएका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वयन समितिका प्रमुखहरु रहेका हुन्छन् । अध्यक्ष र कार्यकारी निर्देशक लगायतका व्यक्तिहरु संघीय सरकारको निर्देशनमा ४ वर्षे कार्यकालका लागि देवघाट आएका हौं । मेरो कार्यकाल सकिन अब ८ महिनामात्र बाँकी छ ।

  • शक्तिखोरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको कुरा कहाँ पुग्यो ?

    शक्तिखोरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको कुरा कहाँ पुग्यो ?

    – हिरालाल आचार्य ‘डायमण्ड’

    चितवन, फागुन १७ –
    संभावना नै संभावना बोकेको चितवन उद्योग विकासका लागि पनि प्रशस्त संभावन भएको जिल्ला हो ।

    घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग तथा चितवन उद्योग संघले उपलब्ध गराएको तथ्यांकका आधारमा भन्दा चितवनमा रहेका लगभग १४ हजार उद्योग रहेका छन् । जसमा ४१ अर्बभन्दा बढी लगानी रहेको देखिन्छ । ३० अर्बभन्दा बढी लगानी त साना तथा घरेलु उद्योग कार्यालयमै दर्ता भएका उद्योगमा लगानी देखिन्छ ।

    घरेलु तथा साना उद्योग कार्यालयले पाँच लाखदेखि पाँच करोडसम्म स्थिर पुँजी भएका उद्योगमात्र दर्ता गर्दै आएको छ । त्यो भन्दामाथि पँुजी भएका उद्योग हेटौंडा र काठमाडौंमा उद्योग विभागमा दर्ता हुने गर्दछन् ।

    सबै उद्योगहरुमा गरी प्रत्यक्षरुपमा ७० हजारभन्दा माथिले रोजगारी पाएका छन् भने अप्रत्यक्षरुपमा पनि धेरैले रोजगारी पाइरहेको अवस्था छ । चितवनको उद्योग क्षेत्रले देशको उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनको करिब १० प्रतिशित हिस्सा ओगटेको पाइन्छ ।

    चितवनको भूगोलअनुसार यहाँ सबै खालका उद्योग विकासको संभावना छ । विशेष गरी कृषिमा आधारित उद्योगहरु हाल चितवनमा धेरै रहेका छन् ।
    चितवन उद्योग संघ चितवनका अध्यक्ष हुन् त्रिलोचन कँडेल । कँडेलसँग रहेर हाम्रा संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

    शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने भन्ने कुरा कहाँ पुग्यो ?

    शक्तिखोर औद्योगिक क्षेत्र निर्माण रुख गणना र कटानमा गएर अल्झिएको छ । निर्माणस्थलमा रहेका रुखहरुको गणना र कटानका लागि डिभिजन वन कार्यालय भरतपुरले आफूहरुसँग पर्याप्त स्रोत साधन नभएको जनाएको छ । त्यसैले अहिले व्यवस्थापन लिमिटेडले यसका लागि स्रोत जुटाउन पहल गरिरहेको छ ।
    उद्योग संघले चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्न माग गरिहेको थियो । पछि राज्यले उक्त मागलाई पूरा गरिदियो ।

    वि.सं. २०७२ सालमा सरकारले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने भनेर २०७४ सालमा निर्णय गरिएको हो ।

    निर्णय भएपछि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए प्रतिवेदन) समेत पास भइसकेको । उदयपुर सामुदायिक वनक्षेत्रमा पर्ने १ हजार ७४१ बिघा जग्गामा हरियाली पार्कसहितको औद्योगिक क्षेत्र निर्माण गरिने छ ।

    त्यहाँ अहिले औद्योगिक मार्ग पनि चाहिएको छ । वस्तीको बीचबाट त्यो मार्ग बनाउने कुरा हुँदैन । औद्योगिक क्षेत्र निर्माणको काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने हामी चितवन उद्योग संघले निर्माणको अगुवाइ गरिरहेका छौं ।

    शक्तिखोर औद्योगिक क्षेत्रमा कति उद्योग अट्ने अनुमान छ ?

    उद्योगको प्रकृतिअनुसार कति उद्योग अट्छन् भन्ने हुन्छ । कुनै उद्योगलाई एक विघा भए पनि पुग्ला कुनैलाई धेरै नै जग्गा चाहिन्छ । यद्यपी हाम्रो अहिलेसम्मको अनुमानमा औद्योगिक क्षेत्रमा १ हजारदेखि १२ सय वटा उद्योग अट्ने छन् ।

    उद्योग संघले औद्योगिक प्रदर्शनी केन्द्र बनाएर बेलाबेलामा औद्योगिक प्रदर्शन गर्दै आएको छ । यसबाट के फाइदा पुगेको छ ?

    चितवन उद्योग संघले औद्योगिक प्रदर्शनी केन्द्र बनाएको छ । नविनतम प्रविधिहरु हस्तान्तरण गर्ने उद्देश्यले हामीले वर्षेनी औद्योगिक प्रदर्शनी गर्दै आएका छौं ।
    उद्यमी बन्नका लागि नयाँनयाँ प्रविधिको बारेमा जान्न आवश्यक हुन्छ । सबै प्रविधि नेपालमा छैनन् । सबै विदेशमा गएर अवलोकन गर्न सक्दैनन् । त्यसैले हामीले स्वदेशी आगनमै अन्र्तराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी गर्ने गरेका छौं ।

    उद्यमी पाठशाला बनाउने भन्नुभएको छ । त्यो के का लागि हो ?
    चितवनमा औद्योगिक पाठशाला फिडरको विकास गर्ने उद्देश्यका साथ उद्यमी पाठशाला बनाउन लागेका छौं ।

    पाठशाला बनेपछि उद्यमी र उद्योग क्षेत्रको प्राविधिक उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिएका छौं । १० वटा कोर्ष सञ्चालन गर्ने निर्णय गरेका छौं ।
    नेपाल सरकारको युनिभर्सिटीमा पढाइ नभएका विषय पाठशालामा राखिने छ । ती विषयमा सिटीभिटीले तालिम दिएको छ तर उद्योगी सृजना गर्न सहयोग गरेको छैन । अब उद्यमी बन्न उक्त पाठशालामा सिकाइने छ ।

    बिक्री केन्द्र पनि बनाउने कुरा थियो । कहाँ पुग्यो ?

    त्यो निर्माणाधिन अवस्थामा छ । बागमती प्रदेशको सहयोगमा निर्माण भइ प्रदेशले उद्योग संघलाई हस्तान्तरण गर्ने हो ।
    केन्द्रमा बागमती प्रदेशभित्र रहेका लघु, घरेलु तथा साना उद्योगमा उत्पादित वस्तुहरु बिक्री वितरण गरिन्छ । बिक्री केन्द्र स्थायी एक्सपो जस्तो हुन्छ । जहाँ सँधै घरेलु उत्पादनका समानहरु किनबेच हुन्छन् ।

    उद्योग विकासका लागि उद्योग संघले अरु केके गरेको छ ?
    अरु कामहरुमा हामीले चितवनमा औद्योगिक विकास सहकारी सञ्चालनमा ल्याएका छौं । जसमा उद्योग संघमा रहेका सदस्यहरु हुन्छन् । उद्यमीहरुलाई उद्योगमा लगानी गर्न तथा बचत गर्न सहकारीले भूमिका खेलिरहेको छ । उद्यमीहरुका लागि चितवनमा उद्यमी राहत कोष पनि सञ्चालनमा रहेको छ ।

    यस्तै जब बैंक नामक अनलाइन पोर्टल बनाउँदै छौं । नेपालमा बेरोजगारीहरु प्रशस्त छन् भनिन्छ । तर हामीले म्यानपावर नपाउने । बेरोजगारले रोजगार नपाउने अवस्था छ । जब बैंक वेभसाइटमा कुन उद्योगमा कर्मचारी चाहिएको छ हालिन्छ । यदी सिप नभएका तर काम गर्न इच्छुक छन् भने औद्योगिक पाठशालामा तालिम दिन्छौं । वेभसाइटबाटै नवीकरण गर्न मिल्ने, सूचना लिन मिल्ने लगायतका व्यवस्था पनि गर्नेछौं ।

  • भरतपुरलाई मेडिकल सिटी बनाउन चिया गफले मात्र पुगेन : डा. भोजराज अधिकारी

    भरतपुरलाई मेडिकल सिटी बनाउन चिया गफले मात्र पुगेन : डा. भोजराज अधिकारी

    हिरालाल आचार्य ‘डायमण्ड’

    चितवन, फागुन १६ –
    चितवनको सदरमुकाम भरतपुरलाई मेडिकल सिटी बनाउने चर्चा हुन लागेको थुप्रै भइसक्यो । भरतपुरमा स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियालीरहेका डा. भोजराज अधिकारीसँग हामीले कुुराकानी गरेका छौं । अधिकारी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवम् पुष्पाञ्जली अस्पताल प्रालिका निर्देशक पनि हुन् । प्रस्तुत छ डा अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

    भरतपुरलाई मेडिकल सिटी भन्दै चर्चा गर्न लागिएको पनि थुप्रै भइसक्यो । भरतपुर मेडिकल सिटी बन्ने आधारहरु केके हुन् ?

    भरतपुरलाई मेडिकल सिटी बनाउन सकिने आधारहरु म पाँच वटा बुँदामा भन्छु । पहिलो भनेको भौगोलिक आधार देशको केन्द्र भागम रहेकाले यस जिल्लामा १५ जिल्लाका मानिसहरु सेवा लिन आइरहेका छन् । यहाँ वर्षेनी १५ लाख मानिसहरु सेवा लिन आउँछन् । यो काठमाडौंपछिको धेरै हो ।

    अर्काे भनेको उपचारको हिसाबले पनि हो । उपचारमा उच्च विशेषज्ञतासहितको सेवा दिन भरतपुरमा ४ वटा ठूला अस्पताल छन् । क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई वटा मेडिकल कलेज चितवन मेडिकल कलेज (सिएमसी) र पूरानो मेडिकल कलेज अर्थात कलेज अफ मेडिकल साइन्स (सिओएमएस) छन् । यसका साथै दुईदर्जन जति साना ५५ देखि १०० बेडका अस्पताल र करिबकरिब १०० वटा जति विभिन्न खालका उपचार गर्ने सेन्टरहरु छन् भरतपुरमा । यसो भएको हुनाले उपचार नपाएर फिर्ता हुन पर्दैन । त्यो कुरा हामीले कोभिडका बेलामा पनि महसुश ग¥यौं ।

    तेश्रो चाहिँ स्वास्थयलाई शिक्षासँग जोड्नुपर्ने हुन्छ । मेडिकल एजुकेशन हुनुपर्छ मेडिकल सिटी बन्नका लागि । भरतपुरमा रहेका दुईवटा मेडिकल कलेजमा नेपालमा हुने सबै खाले पढाइ हुने गर्छन् । ठूलाठूला डाक्टर बनाउने विशेषज्ञ उत्पादन गर्ने पढाइ हुन्छ । १२ वटा नर्सिङ कलेजहरु छन् । यसका साथै मेडिकलसँग सम्बन्धित अरु प्राविधिक पढाइ हुने कलेजहरु पनि छन् । भनेपछि उपचार पनि हुने भो त्यो सम्बन्धित चाहिने जनशक्ति पनि उत्पादन हुने भो ।

    मेडिकल सिटी भन्नका लागि यहाँ रोग पनि धेरै हुनपरो नी । जुनसुकै रोगहरु आउँदा पनि चितवनमा बढी हल्लाखल्ला हुन्छन् । जस्तै डेंगो, मलेरिया, कोरोना आउँदा पनि यहाँ धेरै संक्रमण भयो । यसका साथै धेरै रोग छन् यहाँ । ती रोगको अनुसन्धान गर्न प¥यो भने यो ठाउँ उपयुक्त हुन्छ ।

    पाँच नम्बरमा मेडिकल टुरिजम हो । यो भनेको उपचार गर्न आएको मान्छे उपचारमात्र नगरी पर्यटकीय क्षेत्र घुम्न सक्छन् । चितवनमा आएर दुई चार दिन अडिन गाह्रो छैन । सौराह जान सकिन्छ, नारायणी जान सकिन्छ ।

    यी पाँच वटा आधारले गर्दा मेडिकल सिटी बन्न सक्छ । यी सबै व्यवहारिक आधार हुन् । तर नितीगत आधार भनेको चाहिँ सरकारले मेडिकल सिटी हो भनेर निर्णय गर्नु पर्ने हुन्छ । निर्णय चाहिँ नगरेको अवस्था हो ।

    सरकारले तत्काल निर्णय गरी हाल्न मिल्ने अवस्थामा छ त भरतपुर ?

    हामीले अहिले भनिरहेको कुराहरुलाई गुणस्तरियता कायम गर्न सक्यौं भने अवश्य संभव छ । काठमाडौंलाई सबै कुरा राजधानी पनि भन्ने मेडिकल सिटी पनि भन्ने गरेम भने अब सबै चिज काठमाडौंलाई भन्न प¥यो । होइन भने भरतपुर सबै हिसाबले मेडिकल सिटी बन्न सक्षम छ । त्यसको लागि अघि मैले भनेको पाँच वटा आधारलाई गुणस्तर मापन गर्ने र अनुगमन गर्ने र त्यहीअनुसारको एउटा शक्तिशाली बोर्ड बनाउनुपर्छ । मेडिकल सिटी बन्न योग्य छ छैन भनेर अध्ययन गरेर सिफारिस गर्न सरकारले एउटा बोर्ड बनाइदिने हो भने हामी सक्षम छौं ।

    मेडिकल सिटी बन्छ भनिरहँदा चितवनबाट बिरामीहरु भरतपुरका अस्पताललाई विश्वास नगरी काठमाडौं जाने गरेको पाइन्छ । किन होला ? विश्वासको वातावरण भरतपुरले किन बनाउन नसकेको होला ?

    यसमा यस्तो छ । तीन थरी मानिसहरु छन् । एउटा जानेर, बुझेर, चिकित्सकले जाँच गरेर जान पर्देन कतै भन्दा पनि त्यही सेवा लिन पनि काठमाडौं जाने मान्छेहरु छन् । त्यो चाहिँ चितवनप्रति कम विश्वास गरेर कन्फर्म गर्न जाने हो । त्यो चाहिँ काठमाडौंबाट पनि दिल्ली जाने । बंैकक जाने हुन्छन् फेरि ।

    दोश्रो समूह चाहिँ अन्यौलमा काम गर्छन् । अन्यौलमा भनेको अन्तिम इच्छा के छ भन्दा काठमाडौंलाई प्रयोग गरिन्छ र मानिसहरु अन्यौलमा पनि काठमाडौं जाने गरेका छन् ।

    तेश्रो समूह चाहिँ यहाँले भने जस्तो हाम्रा सेवाहरु, हाम्रा पूर्वाधारहरु व्यवस्थित नहुँदा र बिरामीहरुलाई गर्नुपर्ने काउन्सिलिङ्ग व्यवस्थित गर्न नसकेको हुनाले विश्वासको वातावरण नबनेको कुरा पनि सत्य हो ।

    भरतपुरमा निजी अस्पतालले शुल्कमा धेरै लिने गरेका गुनासा आउँछन् । जसले गर्दा सरकारीमामात्र मानिसहरुको भीड लाग्छ । भरतपुरमा उपचार किन महंगो ?

    यसमा साढे दुई लाख मानिसले बीमा गरेको हुँदा उनीहरुले सरकारी अस्पतालनै रोज्नुपर्ने अवस्था छ । अर्काे मूल्य र मूल्याङ्कनमा एउटै खालको समायोजन छैन । राज्यले साना अस्पताललाई महानगरपालिकाले, त्योभन्दा ठूलोलाई प्रदेशले र सबैभन्दा ठूलो अस्पतालहरुलाई केन्द्रीय सरकारले अनुगमन गर्ने गर्छ । यी तीन सरकारकाबीच तारतम्य मिलेको देखिँदैन । यिनीहरु तीन तहको सरकारमा शुल्कहरु देखि लिएर अनुगमन गर्ने कुराहरुमा तारतम्य मिलेको देखिँदैन । यसलाई मिलाउनुपर्छ र उचित अनुगमन भएर व्यवस्थित गर्न जरुरी छ । निजी अस्पतालहरु धेरै महंगो हुनुहुँदैन र त्यसको मूल्य र मूल्याङ्कन पनि समान हुनुपर्छ । साथमा गुणस्तर मापन पनि हुनुपर्छ ।
    कोरोनाको बेला तीन गुणा बढी बिरामी थपिए । भरतपुर अस्पतालको ६०० बेडमा जम्मा १० वटा इर्मजेन्सी बेड छ । अहिले हामीले अस्पतालमा ५० बेडको इर्मजेन्सी बनाउँदै छौं ।

    मान्छेको पहिलो चाहना सरकारी अस्पताल हुन्छ । बीमाको पनि सरकारी अस्पताल हो । त्यो अनुसारले यसलाई भौतिक संरचनात्मक हिसाबले यसलाई तयार गरिएन । अर्काे सरकारले के गर्छ भने स्टक्चर दिन्छ तर त्यसको म्यानपावर र दीर्घकालिनरुपमा त्यो रन गर्ने मेकानिजम दिँदैन । अनि अस्पताल विकास समितिलाई समस्या सृजना हुन्छ । भनेअनुसार मेन्टेन गर्न नसक्ने अवस्था आउँछ ।

    अपरेशन गरेपछि पनि बिरामीले डक्टरको काउन्सिलिङ्ग पाउन २४ घण्टाभन्दा पनि बढी कुर्नुपर्ने गुनासाहरु सबै अस्पतालमा सुनिन्छन् । किन हो ? चितवनमा विशेषज्ञको अभाव हो ?

    सेवा लिने मानिसहरु बढेको भए पनि सरकारले त्यो अनुसारको दरबन्दी बढाउन सकेको छैन । अर्काे सरकारी अस्पतालमा काम गर्न हप्तामा अनिवार्य ४० घण्टा काम गर्नुपर्ने हुन्छ । तर बिरामी भनेको घण्टा हिसाब गरेर त आउँदैन । ऊ २४ सै घण्टा बिरामी हुन सक्छ । सबैभन्दा पहिला चाहिँ ओएनएम नभएर । यो भनेको अर्गनाइजेशन अफ म्यानेजिङ्ग हो । यो भनेको कत्रो संस्थामा कति म्यानपावर हुनुपर्ने भन्ने सरकारले ओएनएम नगरेको २५ वर्षभन्दा बढी भइसक्यो । जबकी सेवाग्राही २५ वर्षमा त्रिबलभन्दा बढी भएका छन् । त्यो अनुपातमा चिकित्सकहरुको संख्या बढेन ।

    जस्तै भरतपुर अस्पतालमा ठूलाठूला विभाग नै १२ वटा छन् त्यत्तिका विभागमा जम्मा ४० वटा नर्सहरुको दबन्दी छ । ४० वटा भनेको १२ वटा विभागमा एक विभागमा ३ जनामात्र पुगे । जबकी तीन वटा सिफ्ट हुन्छ । बिहान दिउँसो बेलका । म्यानपावरको समस्या चाहिँ सरकारी अस्पतालमा एकदमै छ । निजी अस्पतालहरुका समस्यामा निजीमा त्यही मान्छे फुल टाइम बस्दैन । त्यसले गर्दा सर्भिसका कुरामा निजीमा पनि गाह्रो छ ।

    र अन्तिममा मेडिकल कलेजको समस्या के छ भने बसेका मानिसहरु त फुल टाइम हुन्छन् तर त्यहाँ पठनपाठनका लागि धेरै फ्याकुलिटीका नाम राख्नी तर कामै गर्ने मान्छेको संख्या थोरै हुन्छ भन्छन् । त्यसलाई चाहिँ काउसिन्लले अनुगमन गर्नुपर्छ ।

    डक्टरहरुको शुल्क उच्च भइरहँदा दिनरात बिरामीको सेवामा खटिने नर्सहरुको मासिक तलब भने एकदमै न्यून पाइन्छ । नर्सलाई आवश्यक तलब दिन नसक्ने अवस्थामा पुगेका हुन् र चितवनका अस्पतालहरु ?

    यसमा चाहिँ एउटा त १३ हजारभन्दा कममा काम गराउनै पाइँदैन । श्रम एनमै त्यो व्यवस्था छ । यदि कम पाएको गुनासो आएमा सम्बन्धित निकायले कारबाही गर्छ भन्ने म विश्वास लिन्छु ।

    त्यस्तै राज्यले चाहिँ डक्टरहरु र सिस्टरहरुका बीचमा अलिकति ग्याप राख्देकै हो । त्यो चाहिँ सरकारी अस्पतालभन्दा निजी अस्पतालहरुमा समस्या देखिन्छ । निजी अस्पताल पनि सरकारकै निर्देशिकाअनुसार बन्ने हुन नी त त्यसैले सरकारले अनुगमन नगरेको अवस्था होकी भन्ने मलाई लाग्छ । गर्न पर्छ ।
    नर्सहरुलाई एउटा कुरा भन्ने अर्काे कुरा दिन्छ भने उहाँहरुले पनि काम गर्नुभएन ।

    दुई वर्ष कोरोना भएका कारण उत्पादन भएका नर्सहरु बाहिर देशमा सेवा लिन जान नसकेकाले । उहाँहरु यहीँ रहनुभयो । त्यो कारणले गर्दा नर्स केही धेरै भएर कम मूल्यमा काम गर्न बाध्य पनि होलान् । तर अहिले चिकित्सा शिक्षा आयोगले केही कडा गरेपछि भर्नाहरु पनि अलि कम भएको छ । अब दुई तीन वर्षपछि त युकेले नै धेरै नै नर्स माग्दैछ भन्ने कुरा आएको छ । धेरै जसो विदेशिन चाहन्छन् नेपालमा तलब कम भएका कारण । र अहिले कोरोनाले जाने अवस्था छैन । विदेश जानका लागि काम नगरेको ग्याप देखिएमा विदेश तिर लाँदैन । त्यो ग्याप नहोस भनेर व्यस्त रहनलाई जति पैसा दिन्छु भने पनि मानेको देखिन्छ । यसरी दुबै पक्ष दोषी देखिन्छ । यसलाई पनि व्यवस्थित गर्ने मुल जिम्मेवारी भनेको चाहिँ तीनै तहको सरकारको हो । कुन लेभलको अस्पतालमामा के काम हुन्छ भन्ने हेरेर स्वास्थ्यलाई एउटै मापदण्ड बनाएर नर्सहरुको तलब तोक्नुपर्छ । उहाँहरु प्रति अन्याय भएको कुरा चाहिँ एकदमै सही हो ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    मेडिकल सिटी हामीले चिया गफमा भन्दै आएको विषय भयो । हामी योग्य छौं भने पनि सरकारले निर्णय गर्नुप¥यो । यो मेडिकल सिटी हो भनेर भरतपुरलाई भन्नुप¥यो । महानगरले एउटा सिटी एउटा पहिचान हुँदा खेरी भरतपुर मेडिकल सिटी हो भन्नुप¥यो । कुखुरावाला आए कुखुराकै सिटी भन्दिने, कृषिवाला आए कृषिकै सिटी भन्दिने, अण्डावाला आए अण्डाकै सिटी भन्दिने चलन छ नि त । त्यसो गर्न भएन । मेडिकल सिटी हो भने जसरी देवघाट विकास समिति भन्या जस्तै यहाँको मेडिकल सिटी समिति बनाउनु पर्छ । एउटा बलियो समिति बनाएर सकारले त्यसलाई निर्देशन गरेर अधिकारसहित समिति बनाउनु प¥यो । मेडिकल सिटीको नेतृत्व राज्यले गर्नुप¥यो राज्य भनेको भरतपुरको सरकारी अस्पताल भयो ।