Category: राप्ती

  • शिखर सामुदायिक वनको अध्यक्षमा घलान चयन

    शिखर सामुदायिक वनको अध्यक्षमा घलान चयन

    राप्ती, माघ ८-
    पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ ।

    बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
    सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन।

    जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा अमृत गौतम रहेका छन । त्यसैगरी,सदस्यहरुमा भगवती तामाङ,पार्बती पान्डे, बिनिता बिक,सम्झना घलान,संगिता बिक,रबिन्द्र खड्का,राजकुमार चौधरी,तेज प्रसाद रुवाली र भाईकाजी थापा रहेका छन भने सचिव पद रिक्त रहेको छ।

    निवर्तमान अध्यक्ष नरेन्द्र रुवालि लामो समयका लागी वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको हुँदा ५ वर्षे कार्यकालमा अझै २ वर्ष बाँकी रहेको समयमा पद बाट राजिनामा दिएकाले संस्थाका सचिव घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो।

    नवनिर्वाचित अध्यक्ष घलान राप्ती नगरका उदयमान युवा नेताका रूपमा परिचित छन्। उनी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन ।

    वि.सं २०५२ सालबाट सेवा प्रवाह सुरु गरेको यस वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    सो वन समुहमा हाल ९२० घर धुरी उपभोक्ता संख्या रहेको नवनिर्वाचित अध्यक्ष घलानले जानकारी दिए ।

    नेतृत्व परिवर्तनसँगै समूहको आगामी कार्ययोजना, वन संरक्षण, उपभोक्ता हित तथा सामुदायिक विकासबारे समेत विस्तृत छलफल भएको उनले बताए।

    राप्ती-५ का वडा अध्यक्ष सिताराम बल प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र रुवालिको अध्यक्षता रहेको थियो।

    त्यस्तै,सो कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, समुहका उपभोक्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

  • थ्री एन्जल्स नेपाल चितवनद्वारा एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार

    थ्री एन्जल्स नेपाल चितवनद्वारा एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार

    राप्ती, पुस ६-
    पूर्वीचितवनको राप्तीमा रहेको थ्री एन्जल्स नेपाल चितवन शाखाले एक वर्षदेखि बेपत्ता रहेकी एक किशोरीको उद्धार गरेको छ।

    कालिका नगरपालिका स्थायी ठेगाना भएकी १८ वर्षीया अस्मिता (नाम परिवर्तन) एक वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन अवस्थामा रहेकी थिइन्।

    गत बिहीवार थ्री एन्जल्स नेपाल चितवन शाखाले उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

    बिहीबार दिउँसो करिब ३ बजे नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा राप्ती नगरपालिका–१ लोथरबाट अन्दाजी २७/२८ वर्षको एक युवकसँगै उक्त किशोरी यात्रा गरिरहेको अवस्थामा भेटिएकी थिइन्।

    शङ्कास्पद अवस्थालाई ध्यानमा राख्दै थ्री एन्जल्स नेपाल चितवन शाखाको टोलीले किशोरीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो।

    थ्री एन्जल्स नेपाल चितवन शाखाकी प्रमुख सुनिता सिल्वालका अनुसार, किशोरीलाई इलाका प्रहरी कार्यालय भण्डाराको रोहवरमा राखी आवश्यक सोधपुछ गरिएको थियो। त्यस लगत्तै सो किशोरीकी आमासँग सम्पर्क गरी कानुनी प्रक्रिया पूरा गर्दै परिवारलाई जिम्मा लगाइएको हो।

    सो क्रममा किशोरीसँगै रहेका पुरुष भने उक्त स्थानबाट फरार भएको र उनको खोजी तथा आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जानकारी गराइएको प्रमुख सिलवालले बताउनुभयो।

    थ्री एन्जल्स नेपाल चितवन शाखाले पछिल्लो समय मानव बेचबिखन, ओसारपसार तथा बेपत्ता महिला, बालबालिका र बेवारिसे व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका खेल्दै आएको छ।

    सो संस्थाले समुदायस्तरमै निगरानी बढाई जोखिममा परेका व्यक्तिहरूलाई सुरक्षित गर्न र परिवारसँग पुनर्मिलन गराउन निरन्तर पहल गरिरहेको जनाएको छ।

  • राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

    राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

    अशोज २६,राप्ती ।
    राप्ती नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगर उपप्रमुख देवेन्द्र लामाको उपस्थितिमा आन्दोलनरत पक्षसँग आइतबार भएको वार्तामा सहमति जुटेपछि ताला खुलेको हो।

    राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नसक्नुको विषयमा छानविन समिति गठन गर्ने सम्बन्धमा सोमबार बैठक बोलाउने र सो बैठकले २ जना आन्दोलनरत पक्ष सहित ५ जनाको छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

    त्यस्तै कार्यालयको नियमित कार्यपालिका तथा नगरसभाको बैठक राख आवश्यक व्यवस्था मिलाउने, नगर प्रमुख एवं उपप्रमुख अनिवार्य कार्यालयमा उपस्थित रहि सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, नगरका विशेष समितिहरूको बैठकमा आन्दोलनरत पक्षको मागलाई ध्यानमा राखी बैठकमा सहभागी गराउन आवश्यक समन्वय गर्ने, सार्वजनिक सम्पत्ति कार्यालयको समय र कार्यालय प्रयोजनको लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

    यस्तै विभिन्न योजना र कार्यक्रमसँग सम्बन्धित भुक्तानी नियम सम्वत् कानूनी प्रक्रिया पुरा गराई भुक्तानी गर्ने, नियमित रुपमा सार्वजनिक सुनुवाइको आयोजनाको व्यवस्था मिलाउने, प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाको लागि कार्यपालिकाको बैठकबाट निर्णय गराई सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको छ ।

    बैठकमा नगरपालिकाको तर्फबाट कार्यबहाक नगर प्रमुख देवेन्द्र लामा, राप्ती ५ का वडा अध्यक्ष सिताराम बल र अधिकृत राजेन्द्र मैनाली तथा आन्दोलनरत पक्षको तर्फबाट अनिल अधिकारी ,कुबेर सिंह लामा, हिराबहादुर श्रेष्ठ ,नवीन पराजुली लगायत उपस्थित थिए ।

  • चितवनको बूढीराप्ती नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

    चितवनको बूढीराप्ती नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

    चितवन, असार २६
    पूर्वी चितवनको रत्ननगर-७, पडेरियास्थित बूढीराप्ती नदीमा बिहीबार एक बालक बेपत्ता भएका छन् ।

    पौडी खेल्ने क्रममा रत्ननगर-१५, माधवपुर निवासी १५ वर्षीय अनमोल लम्साल बेपत्ता भएका हुन् ।

    रत्ननगर-७, पडेरियास्थित मामाघर गएका लम्साल नदीमा पौडी खेल्न गएका थिए ।

    दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल बिहीबार बेलुकी ८ः१५ बजेसम्म नभेटिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी रन्जन अवाले जानकारी दिए । उनको खोजी कार्य तीव्र पारिएको छ ।

  • चितवनमा एमालेको जरा अभियान अन्तर्गत अशक्त परिवारलाई घर निर्माण

    चितवनमा एमालेको जरा अभियान अन्तर्गत अशक्त परिवारलाई घर निर्माण

    चितवन, असार १४ –
    नेकपा (एमाले) राप्ती नगरपालिका वडा नम्बर ६ कमिटी चितवनले अशक्त परिवारका लागि घर निर्माण गरिदिएको छ ।

    राप्ती ६ मुडाभारका सुरदेश र सृष्टिी महतोको परिवारका लागि घर निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमका बीच एमालेले परिवारलाई घर हस्तान्तरण गरेको छ । सो घरको शिलान्यास बैशाख १८ गते परेको श्रमिक दिवसको दिन गरिएको थियो ।

    नेकपा एमालेले सञ्चालन गरेको जरा अभियान अन्तर्गत महतो परिवारलाई आवास निर्माण गरेर हस्तान्तरण गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य एवम् राप्ती ६ इन्चार्ज उत्तम सेढाइले जानकारी दिए ।

    स्थानीय नेता कार्यकर्ताको आर्थिक सहयोग एवम् श्रमदान र पार्टी पंक्तिको सहयोगमार्फत घर निर्माण गरिएको सेढाईले जानकारी दिए ।

    घर हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका अध्यक्ष कमल पाठक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बरालले एमाले पार्टी जनताको सुखदुखको साथी रहेको बताउँदै यस्ता अनुकरणीय कामले पार्टीलाई थप मजबुत बनाउँदै लग्ने बताइन् । उनले जनतासँग निरन्तर सम्पर्कमा रहन स्थानीय नेता कार्यकर्तालाई निर्देशन समेत दिएकी छन् ।

    जिल्ला कमिटी सदस्य सेढाईको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा राप्ती ६ का वडा कमिटी अध्यक्ष शिव नारायण चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सुजन थापाले गरेका थिए ।

    राप्ती नगरपालिका ६ वडा कमिटी पार्टी राजनीतिसँगै सामाजिक काममा पनि बढी सक्रिय हुँदै आएको छ । वडा कमिटीले गत जाडोमा राष्ट्रिय आधारभुत विद्यालय राप्ती ६ पडरियामा न्यानो कपडा एवम् शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।

     

  • ४ दिनदेखि हराएका चितवनको राप्तीका वृद्ध खोलामा मृत भेटिए

    ४ दिनदेखि हराएका चितवनको राप्तीका वृद्ध खोलामा मृत भेटिए

    भरतपुर,असार ८-
    घरबाट हराएको तीन दिनपछि चितवन कोराकका एक चेपाङ वृद्ध खोलाको खोँचमा मृत फेला परेका छन् । राप्ती नगरपालिका–१० कोराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गते बुधबार साँझ घरबाट निस्के पनि नफर्केपछि आफन्तले खोजतलास गरेका थिए ।

    शनिबार दिउँसो उनको शव घरदेखि उत्तरतर्फ ५ सय मिटर पर ताकुन्चे खहरे खोलाको खोँचमा भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । मकलका भतिज कृष्णबहादुर चेपाङले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पूर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर बजारदेखि लगभग १० किलोमिटर उत्तर पहाडी खोँचमा पर्छ । सो क्षेत्र आदिवासी चेपाङ बहुल ठाउँ हो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ ।

  • एमालेको युवा संघ राप्ती नगर कमिटीद्वारा मृगौला पीडितलाई सहयोग

    एमालेको युवा संघ राप्ती नगर कमिटीद्वारा मृगौला पीडितलाई सहयोग

    चितवन, जेठ १६ –
    गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीले मृगौला पीडितलाई सहयोग गरेको छ ।

    संघले राप्ती नगरपालिका वडा नम्बर १० स्वामीटार स्थित विगत २ वर्षदेखि दुवै मृगौलामा समस्या भई डायलासिस गराइरहेका २४ वर्षीय सपना प्रजा चेपाङको निवासमा पुगि आर्थिक सहयोग गरेको राप्ती नगर कमिटीका कार्यवहाक अध्यक्ष मनिष पुनले जानकारी दिए ।

    उनका अनुसार मृगौला रोगी सपना प्रजाका पिता मंगल प्रजाको उपस्थितिमा नगद २४ हजार २ सय रपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

    सहयोग कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला सचिव उत्तम सेढाईले राष्ट्रिय युवा संघ नेपाल राप्तीले केही हप्ता अगाडि राप्ती– ८ स्थित जनप्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रम र आज गणतन्त्र दिवसको अवसरमा मृगौला पीडितलाई गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै राप्तीमा युवा संघ जनतामुखी हुँदै अगाडि बढेको बताए । आगामी दिनहरुमा पनि यस्ता खाले सृजनशील र जनपक्षीय कामहरुलाई तीब्रता दिनु पर्नेमा उनले जोड दिए ।

  • चितवनमा सुजुकी भ्यानको ठक्करबाट साइकलयात्री युवक घाइते

    चितवनमा सुजुकी भ्यानको ठक्करबाट साइकलयात्री युवक घाइते

    चितवन चैत २
    राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित भित्री सडकखण्डमा सुजुकी भ्यानको ठक्करबाट साइकलयात्री युवक घाइते भएका छन् ।

    बेल्डियाबाट भण्डारातर्फ आउँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको बा १२ च ७७९ नम्बरको सुजुकी भ्यानले ठक्कर दिँदा साइकलयात्री धादिङ घर भई हाल राप्ती–५ बस्ने २५ वर्षीय राजकुमार प्रजा घाइते भएका हुन् ।

    घाइते युवकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र भ्यान चालक राप्ती–४ बस्ने २३ वर्षीय जोन तामाङ इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • चितवनमा सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु

    चितवनमा सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु

    चितवन, फागुन २३

    चितवनको राप्ती नगरपालिका–५ खहरे पुल नजिक सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु भएको छ ।

    बिहीवार दिउँसो १ः२५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा इट्टा झार्नको लागि रोकिराखेको गण्डकी प्रदेश०४–००१ ख ००५१ नम्बरको (इट्टा लोड) ट्रकमा डडुवाबाट भण्डारातर्फ जाँदै गरेको बा ७ च २७१७ नम्बरको कार ठोक्किएको थियो ।

    ट्रकमा कार ठोक्किँदा गम्भीर घाइते भएका कार चालक भरतपुर महानगरपालिका–११ बस्ने अन्दाजी ६० वर्षीय बद्री प्रसाद भट्टराईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ५ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    प्रहरीले ट्रक चालक नवलपुर मध्यबिन्दु नगरपालिका–२ बस्ने वर्ष ३४ को गोविन्द महतो र सहचालक सोहि ठाउँ बस्ने वर्ष २६ को खड्क नारायण महतोलाई नियन्त्रणमा लिएको छ ।

  • एमाले राप्ती ६ चितवनद्वारा विद्यालयमा न्यानो कपडा एवम् शैक्षिक सामग्री वितरण

    एमाले राप्ती ६ चितवनद्वारा विद्यालयमा न्यानो कपडा एवम् शैक्षिक सामग्री वितरण

    चितवन, पुष २६ –
    नेकपा (एमाले) वडा कमिटी राप्ती नगरपालिका ६ चितवनले विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

    राष्ट्रिय आधारभुत विद्यालय राप्ती–६ पडरियामा अध्ययनरत विद्यार्थीहरुलाई कपडासँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।

    विद्यालयका ११० जना विद्यार्थीहरुलाई अविभावकहरुको उपस्थितिमा न्यानो कपडा स्विटर तथा शैक्षिक सामाग्री वितरण गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज उत्तम सेढाईले जानकारी दिए ।

    न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरणका लागि प्रवासी मञ्च पोल्याण्डका सहयोगी रुपक थापा, वडा कमिटी सदस्य धनराज चौधरी लगायतको सहयोग रहेको सेढाईले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने गरेको बताए । सामाजिक काम र सहयोगमा यसै गरी पार्टी कमिटीहरु लाग्नुपर्ने उनको जोड थियो । राप्ती ६ मा बागमती प्रदेश सरकारबाट प्रसस्तै बजेट विनियोजन नेकपा एमालेको पहलमा भएको स्मरण गराउँदै थपलियाले यस क्षेत्रको विकासमा एमालेको ठूलो योगदान रहेको बताए ।

    कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, बामगती प्रदेश कमिटी सदस्यहरु गोविन्द प्रसाद कँडेल, श्यामलाल विक, प्रदेश विभागीय सदस्य जल्लु महत्तो थारु, राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कँडेल, जिल्ला समन्वय समिति सदस्य गुनु विक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    एमाले राप्ती ६ का अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा भएको सहयोग कार्यक्रमलाई अनेरास्ववियु बागमती प्रदेश कमिटीका सदस्य सुजन थापा काजीले सञ्चालन गरेका थिए ।