Category: माडी

  • माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन, माघ १३-
    चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
    माडी नगरपालिका-१ मरड खोला छेउमा सोमबार दिउँसो गैंडाले आक्रमण गर्दा माडी-१ कल्याणपुरका २२ वर्षका अशोक भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गयराती चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका भट्टराईलाई सुरुमा भरतपुर अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाइ चितवन मेडिकल कलेज लगिएको थियो ।
    माडीमै अर्का एक व्यक्ति पनि घाँस दाउरा लिन जङ्गल जादा बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

  • माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने

    माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने

    माडी,पुस २३-
    ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्रका घरधुरीबाट सङ्कलन हुने फोहर घरबाटै वर्गीकरण गरिनेछ र टोल विकास संस्थामार्फत तौलका आधारमा रकम भुक्तानी गरिनेछ । उहाँले भन्नुभयो, “हामीले फोहर व्यवस्थापनमा पारम्परिक तीन प्रकारको वर्गीकरणभन्दा फरक सात प्रकारको वर्गीकरण लागू गर्ने निर्णय गरेका हौँ ।” यस ढाँचाअन्तर्गत फोहर सङ्कलन गर्ने गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिनेछन् ।

    वर्गीकरणमा कागज, प्लास्टिक झोला (सादा), प्लास्टिक बोतल, प्रयोगयोग्य सिसाका बोतल, धातुजन्य सामग्री, रङ्गीन मेटालिक प्लास्टिक र अन्य वर्गीकरणमा नपरेका फोहर रहने प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार कुन फोहर कति तौलको छ र अवस्था कस्तो छ भन्ने आधारमा प्रत्येक महिनाको अन्त्यमा घरधुरीलाई रकम भुक्तानी गरिने बताउनुभयो ।

    भुसालका अनुसार बजार मूल्यका आधारमा बिक्रीयोग्य फोहरको मूल्य निर्धारण गरिनेछ । “घरमा एकै दिन धेरै फोहर जम्मा हुँदैन र सबै प्रकारका फोहर बिक्रीयोग्य पनि हुँदैनन् । बिक्ने फोहरको पैसा दिइन्छ, औषधिजन्य वा प्रयोगमा नआउने खतरनाक फोहर छुट्टै व्यवस्थापन गरिन्छ”, भुसालले भन्नुभयो ।

    चाउचाउ, बिस्कुट, गुट्खालगायत प्लास्टिकजन्य फोहरबाट टायल, इन्टरलक, टाँकजस्ता निर्माण सामग्री उत्पादन हुने भएकाले वातावरणमा बढी असर पार्ने यस्ता फोहरलाई नगरपालिकाले अन्य फोहरभन्दा महँगो मूल्यमा किन्ने प्रशासकीय अधिकृत भुसालले उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार ती फोहर लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा रहेको प्लान्टमा पठाउने योजना बनाइएको छ । “यस्ता फोहर बढी हुने भएकाले वातावरणमा असर पर्छ, त्यसैले सरसफाइमा टेवा पुग्नेगरी ती फोहर किन्ने व्यवस्था गरेका हौँ”, उहाँले थप्नुभयो ।

    भुसालले यस ढाँचाले फोहर व्यवस्थापन थप प्रभावकारी हुने र नागरिकमा सरसफाइ तथा फोहर छुट्टयाउने बानी विकास हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले योजना कार्यान्वयनको तयारी गरिरहेको बताउँदै हाल टोल विकास संस्थाहरूलाई अभिमुखीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    माडी नगरपालिकामा दैनिक करिब आठ टन फोहर सङ्कलन हुने गर्दछ । पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड तथा दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले घेरिएको हरियाली उपत्यका तथा जैविक विविधताले सम्पन्न माडीमा करिब १० हजार घरधुरी बसोबास गर्दै आएका छन् ।रासस

     

  • चितवनकोे माडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवनकोे माडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन, मङ्सिर ६-
    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • तीन दिनदेखि चितवनको माडीमा विद्युत् आपूर्ति बन्द

    तीन दिनदेखि चितवनको माडीमा विद्युत् आपूर्ति बन्द

    चितवन, असोज २० –
    जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो ।

    विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो । शनिबारदेखि परेको पानीका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा समस्या आएको छ । उहाँले भन्नुभयो, “पानी धेरै जमेका कारण विद्युत् प्रसारणमा समस्या भयो ।”

    यस्तै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै स्थानको समस्या समाधान गरेर आज साँझसम्ममा विद्युत् आपूर्तिमा सहज बनाइने छ । समस्या देखिएको स्थानमा अहिले मर्मतको काम भइरहेको श्रेष्ठले बताउनुभयो । माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् । – रासस

  • एमालेको अनेमसंघ माडीले भदौ ६ गते अधिवेशन गर्दै

    एमालेको अनेमसंघ माडीले भदौ ६ गते अधिवेशन गर्दै

    चितवन, साउन २९ –
    अखिल नेपाल महिला संघ (अनेमसंघ) नगर कमिटी माडीले आगामी भदौ ६ गते नगर अधिवेशन गर्ने निर्णय गरेको छ ।

    अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकमा उक्त निर्णय भएको हो ।

    अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य तथा माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोको प्रमुख उपस्थितिमा भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् अनेमसंघ माडी इञ्चार्ज पुर्णकला सुनार, एमाले जिल्ला कमिटी सदस्य श्रीप्रसाद दवाडी, कमल रामदाम, एमाले नगर अध्यक्ष नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो थियो ।

    अनेमसंघको माडीको अधिवेशनको दिनमै नेकपा एमाले माडी नगर कमिटीले दिदीबहिनीहरुलाई लक्षित गर्दै तीजको दर खाने कार्यक्रम समेत आयोजना गर्न लागेको एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।

  • चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

    चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

    चितवन, साउन २१ –

    माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।

    गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जनाउँदै उहाँले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । रासस

  • चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो

    चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो

    चितवन, ३० असार :
    यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ ।

    नगरपालिकाका पशु विकास अधिकृत डा रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उहाँले भन्नुभयो, “माडी नगरपालिका सधँै रेबिजको जोखिममा छ ।”

    रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उहाँले बताउनुभयो । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ ।

    रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका कुकुरलाई समातेर खोप लगाउनै सकिँदैन ।” रेबिजको सङ्क्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको छ ।

    चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “रेबिज नियन्त्रणका लागि कुकुर र स्याल दुवै नियन्त्रण गर्नुपर्ने मुख्य चुनौती छ ।” हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरेको छ ।

  • स्वर्गीय भूपराज पाठकको स्मृतिमा परोपकारी प्रतिष्ठान स्थापना गरिने

    स्वर्गीय भूपराज पाठकको स्मृतिमा परोपकारी प्रतिष्ठान स्थापना गरिने

    १८ फागुन, माडी-
    रक्तक्यान्सरका कारण हालै निधन भएका माडीका युवा सञ्चारकर्मी, शिक्षक एवं हाँस्यकलाकार भूपराज पाठकको स्मृतिमा परोपकारी प्रतिष्ठान स्थापना हुने भएको छ ।

    आइतबार पाठकको १२औं पुण्य तिथिका अवसरमा पाठक निवासमा सञ्चालित रक्तदान कार्यक्रममा सन्दर्भमा भूपराज पाठकको परिवारको प्रस्तावमा उपचार सहयोग अभियानको बैठकले सो निर्णय गरेको हो ।

    ‘भूपराज पाठक स्मृति प्रतिष्ठान’को नाउँमा स्थापित हुने सो परोपकारी संस्थाले माडीमा थालासेमिया (रगतमा रातो रक्तकोष उत्पादन नहुने दुर्लभ अनुवांशिक रोग) लागेका सबै (हाल १२ जना)लाई नियमित रगत चढाउन आवश्यक सहयोग गर्ने उद्देश्य लिएको छ ।

    त्यसैगरी बार्षिक रुपमा भूपराज पाठक पत्रकारिता र कलाकारिता पुरस्कार प्रदान गर्ने तथा माडीमा सञ्चालन हुने सबै रक्तदान कार्यक्रममा सहयोग समन्वय गर्ने पनि उद्देश्य राखेको छ । भविष्यमा एम्बुलेन्स सञ्चालन एवं माडीमा ब्लड बैंक स्थापना लगायतका कार्यमा समेत साझेदारी गर्ने उद्देश्य राखिएको छ ।

    उपचारका क्रममा बाँकी रहेको सहयोग रकम ८ लाख ५४ हजार रुपैंयामा परिवारका तर्फबाट हालका लागि थप गरी १० लाख रूपैंया पुर्याएर प्रतिष्ठानको स्थापना हुनेछ । सो रकममा परिवारका तर्फबाट बार्षिक रूपमा थप गर्ने तथा विभिन्न दातृसंस्थाहरुले थप गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • नेकपा एमाले माडी नगर कमिटीको अध्यक्षमा पुनः नारायण अधिकारी

    नेकपा एमाले माडी नगर कमिटीको अध्यक्षमा पुनः नारायण अधिकारी

    चितवन, माघ २८ –
    नेकपा (एमाले) माडी नगर कमिटी चितवनको अध्यक्षमा पुनः नारायण प्रसाद अधिकारी चयन भएका छन् ।

    हिजो आइतबार राति सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा ६८ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं, उपसचिवहरुमा कृष्णराज अधिकारी र गिता विक चयन भएका एमाले चितवनका अध्यक्ष श्याम विष्टले जानकारी दिए ।
    शनिबार एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले अधिवेशनको उद्घाटन गरेका थिए ।

    उद्घाटनसत्रमा भानुभक्त ढकालसहित एमाले पोलिटब्युरो सदस्य देवी ज्ञावली, केन्द्रीय सदस्यहरु प्रभा बराल, यम बहादुर परियार, शिव कुमारी गोतामे, कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने, एमाले चितवनका उपाध्यक्ष श्याम विष्ट, नेताहरु शिवहरी सुवेदी, तारा कुमारी काजी महतो र शंकर थपलियाले शुभकामना मन्तव्य राखेका थिए ।

    नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रलाई श्रीप्रसाद दवाडीले सञ्चालन गरेका थिए भने रामेश्वर चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

    यम बहादुर परियारको अध्यक्षता र श्याम विष्ट, शिव सापकोटा, सुदिप रेग्मी, शिवहरी सुवेदी, कमल रामदाम, श्रीप्रसाद दवाडी, नारायण पौडेल, ताराकुमारी काजी महतोको सदस्यतामा बनेको अध्यक्ष मण्डलले सर्वसम्मतबाट नयाँ कमिटी चयन गराउन सफल भएको हो ।

    अधिवेशनले नगर लेखा आयोग समेत चयन गरेको छ । लेखा आयोगको अध्यक्षमा श्यामबन्धु पोखरेल, उपाध्यक्षमा दिपेन्द्रराज पौडेल, सचिवमा सुर्यकान्त खनाल चयन भएका छन् ।

  • रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा माडीका विद्यार्थीलाई सहयोग

    रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा माडीका विद्यार्थीलाई सहयोग

    चितवन, माघ १४-
    चितवनको माडी नगरपालिका वडा नम्वर ९ स्थित गणेश आधारभूत विद्यालयका गरिव तथा विपन्न विद्यार्थीहरूलाई रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजनमा झोला तथा स्टेशनरी समाग्री वितरण गरिएको छ ।

    वितरण कार्यक्रम महालक्ष्मी ट्रायल सेन्टरसँगको सहकार्यमा विद्यालयमा भएका विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी समाग्रीहरू प्रदान गरिएको हो ।

    सोही अवसरमा त्यहाँ रहेका विद्यार्थी छात्रहरूलाई निःशुल्क कपाल काट्ने समेत कार्यक्रम भएको थियो। कपाल काट्ने कार्यक्रमको सहजीकरण भरतपुर स्थित कोसिस सलुन एण्ड एकेडमीले गरेको थियो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल लम्सलको अध्यक्षतामा भएको थियो भने अतिथिहरु रोटरी क्लबका पूर्व रो.अध्यक्ष अनिल थपलिया, रो. रामचन्द्र लम्साल, रो.प्रकाश पौडेल रोटर्‍याक्ट क्लब अफ नारायणी टाउनका अध्यक्ष राजीव घिमिरे, रोटर्‍याक्ट क्लब अफ नारायणी टाउनका संस्थापक अध्यक्ष रोट। अपिल श्रेष्ठसँगै कोसिस सलुन एण्ड एकेडेमीका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

    झोला तथा स्टेशनरी समाग्री वितरण कार्यक्रममा स्कुलको १०० जना विद्यार्थीलाई स्कुल झोला, कापी, कलम लगायतका सामाग्रीहरु प्रधान गरिए सँगै ५० जना विद्यार्थीको निःशुल्क कपाल काटेको रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनको रोटा वर्ष २०२४/२५ का अध्यक्ष रोट. राजीव घिमिरेले जानकारी दिए ।

    यस रोटर्‍याट क्लब अफ नारायणी मिड टाउनले चितवन जिल्लाको विभिन्न क्षेत्रमा विभिन्न समयमा सेवामूलक कार्यहरू गर्दै आएको छ सँगै महालक्ष्मी ट्रायल सेन्टरले विभिन्न विपन्न विद्यार्थीहरुको लागि आवश्यक कार्यक्रमहरु गर्दै आइरहेको छ।