Category: इच्छाकामना

  • इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

    चितवन, माघ २० –
    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

    गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । रासस

  • चितवन २ का उम्मेद्वार अस्मिन घिमिरे इच्छाकामनाका पहाडमा घरदैलो गर्दै (फोटोफिचर)

    चितवन २ का उम्मेद्वार अस्मिन घिमिरे इच्छाकामनाका पहाडमा घरदैलो गर्दै (फोटोफिचर)

    चितवन, माघ १३ –
    चितवन क्षेत्र नम्बर २ मा एमालेका उम्मेद्वार अस्मिन घिमिरेले इच्छाकामना गाउँपालिकामा चुनावी घरदैलो गरिरहेका छन् । समानुपातिक उम्मेद्वार सन्तबहादुर चेपाङलाई साथमा लिएर घिमिरेले भोट मागिरहेका छन् ।

    दुबै उम्मेद्वारका साथमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, चितवन २ बाट दुई पटकसम्म निर्वाचित संविधान सभा सदस्य कृष्णभक्त पोखरेल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा घरदैलो गरिएको छ ।

    तस्विरमा हेरौं, चुनावी घरदैलो अभियानको दोश्रो दिनको दृश्य :

  • सिराईचुलीको फेद हात्तिवांगबाट अस्मिन घिमिरेको घरदैलो अभियान सुरु (फोटोफिचर)

    सिराईचुलीको फेद हात्तिवांगबाट अस्मिन घिमिरेको घरदैलो अभियान सुरु (फोटोफिचर)

    चितवन, माघ १३ –
    चितवन क्षेत्र नम्बर २ मा एमालेका उम्मेद्वार अस्मिन घिमिरेले चुनावी घरदैलो सुरु गरेका छन् । चितवनको सगरमाथाको रुपमा चिनिने सिराईचुलीको फेद ईच्छाकामना गाउँपालिका १ हात्तिवांगबाट घिमिरेले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । समानुपातिक उम्मेद्वार सन्तबहादुर चेपाङलाई साथमा लिएर घिमिरे चुनावी घरदैलो अभियानमा जुटेका छन् ।

    दुबै उम्मेद्वारको साथमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, चितवन २ बाट दुई पटकसम्म निर्वाचित संविधान सभा सदस्य कृष्णभक्त पोखरेल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा चुनावी अभियान सोमबारबाट सुरु गरिएको उम्मेद्वार अस्मिन घिमिरेले जानकारी दिए ।

    तस्विरमा हेरौं, चुनावी घरदैलो अभियान सुरु गरिएको दिनको दृश्य :

  • यस वर्ष इच्छाकामना र भरतपुरमा गरी नौ करोड बढीको सुन्तला बिक्री

    यस वर्ष इच्छाकामना र भरतपुरमा गरी नौ करोड बढीको सुन्तला बिक्री

    चितवन, माघ १२-
    जिल्लामा सुन्तलाखेती गर्दै आएका किसानले रु नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन् । कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ का किसानले सो रकम बराबरको सुन्तला बिक्री गरेका हुन् ।

    कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा एक हजार दुई दशमलव आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ आर्थिक बर्ष २०८०/८१ मा एक हजार ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    पुराना बिरुवाको वृद्धावस्था, सुन्तला बगैँचा व्यवस्थापनमा कम चासो हुँदा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेमौसमी वर्षा वा खडेरी, रोग किराको समस्या, उचित मलजलको कमीका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तालको बोटमा फल लाग्न नदिने सिट्रस ग्रिनिङ रोगको समस्या, सिजनमा मल र बोटका हेरचाहमा ढिलाइ र बजारमा मूल्य अस्थिरता हुँदा किसानमा चुनौती थपिएको उहाँले बताउनुभयो ।

    सुन्तला उत्पादनका दृष्टिले प्रचुर सम्भावना भएको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिकको सहयोगबाट उत्पादन वृद्धि गर्नतर्फ लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । यहाँको सुन्ताल नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ, पोखरालगायत सहरहरूमा बिक्री हुँदै आएको छ । रासस

  • चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

    चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

    मुग्लिन,पुस ११
    आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताउनुभयो । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने उहाँले जानकारी दिनुभयो । महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।

    महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताउनुभयो । होटल व्यवसायले पहिल्यैदेखि नै संसारभर पहिचान बनाएको मुग्लिन बजारमा फुड फेस्टिबल हुन लाग्दा स्थानीय होटल व्यवसायीमा उत्साह छाएको होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइका अध्यक्ष पुजन भण्डारीले बताउनुभयो । उहाँले यहाँको थकाली तथा नेवारी खानाका साथै इच्छाकामनामा उत्पादन हुने स्थानीय रैथाने बालिको परिकारहरुको स्वाद लिन पाइने बताउनुभयो ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि १० करोडको कारोबार गर्ने गरेको बताउनुभयो । यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्र्रीका लागि बजारको कुनै समस्या नरहेको बताउनुभयो । सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएको सुन्तलाका बिरुवा वितरण गरिँदै आएको अध्यक्ष गुरुङको भनाइ छ । नयाँ प्रविधियुक्त सामग्रीको वितरण, टिपाइ, गोडमेल, गोठेमल तथा सिँचाइ व्यवस्थापनमा आवश्यक सहयोग गाउँपालिकाले गर्दै आएको उहाँले बताउनुभयो ।

    सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

  • इच्छाकामनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इच्छाकामनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    चितवन, ५ पुसः
    नेपाली सेनाको श्री नयाँ सबूज गणको आयोजना, इच्छाकामना गाउँपालिकाको समन्वय र कलेज अफ मेडिकल साइन्सेस (CMS) को प्राविधिक सहकार्यमा चितवनको इच्छाकामना गाउँपालिका–७, गर्दासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    शिविरमा मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी विष्णु कुमार खड्का, नं.७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कमल बानिया, नयाँ सबूज गणका गणपति प्रमुख सेनानी दिनेश लामा र इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ सहभागी थिए।

    विशेषज्ञ डाक्टरहरूको टोलीले जनरल फिजिसियन, छाला तथा यौन रोग, दन्त रोग, ENT, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, मधुमेह र बाल रोगसम्बन्धी सेवा उपलब्ध गराएको थियो। साथै, USG, भिडियो एक्सरे, ईसीजी, मधुमेह तथा रक्तचाप परीक्षण र आवश्यक औषधि वितरण समेत निःशुल्क गरिएको थियो।

    शिविरबाट इच्छाकामना गाउँपालिकाका १३९ महिला, ७४ बालबालिका र ६२ पुरुष लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकको प्रारम्भिक स्वास्थ्य समस्या पहिचान, उपचार र स्वास्थ्य सचेतना अभिवृद्धिमा यस शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    स्वयंसेवक र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिताले शिविरलाई व्यवस्थित र प्रभावकारी बनाएको थियो। नेपाली सेनाको यस किसिमको मानवीय पहलले सेना र नागरिकबीचको सम्बन्ध थप प्रगाढ र विश्वासिलो बनाएको छ।

  • इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

    इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

    चितवन, मंसिर ३–
    शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नं.६ का वडा अध्यक्ष लक्ष्मण प्रजा, एक्सपर्ट एजुकेशन चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाल, शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीलगायतले विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

    सो क्रममा बोल्दै वडा अध्यक्ष प्रजाले पहाडी क्षेत्रका विद्यालयहरु भौतिक पूर्वाधारको अभावसंगै विद्यार्थीहरुलाई विभिन्न सामग्री अभाव हुने गरेको स्मरण गर्दै यस्तै सहयोगको आवश्यकता रहेको बताए । जेसीजकी अध्यक्ष केसीले जेसीजले यस ठाउँमा विगतदेखि नै विभिन्न सहयोगहरु गर्दै आएकोमा यसपटक पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको बताइन् । उनले सहयोगका लागि एक्सपर्ट एजुकेशनलाई धन्यवाद दिइन् ।

    एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले विपन्न समुदायको शिक्षामा एक्सपर्टले विगतदेखि नै सहयोग गर्दै आएको भन्दै यस ठाउँमा पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि एक्सपर्टले विपन्न समुदायको शिक्षामा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

    कक्षा ८ सम्म अध्यापन हुने यस विद्यालयमा अध्ययनरत १ सय ५९ मध्ये १ सय ५५ जना चेपाङ रहेको प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिनुभयो । उहाँले त्यस क्षेत्रमा विद्यार्थीलाई भन्दा बढी अभिभावकलाई सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

  • चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    मुग्लिन,कात्तिक २६-
    मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

    दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

    चितवन असोज २०
    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

    गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।

  • मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन, पहिरोको जोखिम कायमै

    मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन, पहिरोको जोखिम कायमै

    काठमाडौं असोज १७
    मुग्लिन–नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ।

    आज बिहान ८:३० बजे सडक डिभिजन भरतपुरले जानकारी जारी गर्दै तर उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ । जसका कारण यात्रुले सचेत रहनुपर्ने सूचनामा उल्लेख छ।

    सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन्। डिभिजनले आवश्यक सावधानी अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।