प्रेस चौतारीको भवन निर्माणका लागि पत्रकार नवराज ढकालले गरे ५० हजार सहयोग

२७, असार, चितवन
चितवनको भरतपुरमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि पत्रकार नवराज ढकालले ५० हजार सहयोग गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको नेपालकै पहिलो प्रेस चौतारीको भवनका लागि आज विहान पत्रकार ढकालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ५० हजार सहयोग हस्तान्तरण गरे । गत बैशाख २२ गते प्रेस चौतारी चितवनको भवन शिलान्यास समारोहमा ढकालले ५० हजार दिने घोषणा गरेका थिए ।

चितवनमा ‘राजधानी आस्था’ पत्रिका प्रकाशन गर्दै आएका ढकाल प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष हुन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढकालले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशकै पहिलो भवन बन्दै गरेकोले सो भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘आर्थिक रुपमा सबैलाई यतिबेला गाह्रो छ, मेरो पनि बैंकमा ऋण छ, पैसा धेरै भएर सहयोग गरेको हैन, मन ठूलो बनाउँनुपर्छ । सबैले साथ सहयोग गर्दा हाम्रो उद्देश्य पुरा हुन्छ । जति सकिन्छ आफ्नो गक्ष अनुसार सहयोग गरौं ।’ पत्रकार ढकालले आगामी दिनमा पनि अझै आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने वचन दिए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन अग्रज पत्रकार ढकालले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताउँदै संगठनका हरेक गतिविधीमा साथ र सहयोग गर्दै आएको बताए । उनले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गरे ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । १ बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *