Category: रत्ननगर

  • चितवन राष्ट्रिय निकुञ्जले गर्‍यो छ बाघको उद्धार

    चितवन राष्ट्रिय निकुञ्जले गर्‍यो छ बाघको उद्धार

    चितवन, २५ असार

    चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए ।

    उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले जानकारी दिए । उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ । यस वर्ष उद्धार गरिएकोमा चार वटा भाले र दुईवटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।

    गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात वटा बाघको उद्धार गरेको थियो । जसमध्ये दुईवटा उपचारका क्रममा मरेको, चार वटाको आनिवानिमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उनले बताए । यस वर्ष उद्धार गरिएका बाघमध्ये दुईवटा पोथी र पाँचवटा भाले रहेका छन् ।

    निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुईवटा बाघ रहेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । रासस

  • साइन्स भनेको सरकारी विद्यालयमा पढ्नु हुँदैन र ? पूर्वि चितवनको नेपाल नमुना माविमा खुल्यो भर्ना

    साइन्स भनेको सरकारी विद्यालयमा पढ्नु हुँदैन र ? पूर्वि चितवनको नेपाल नमुना माविमा खुल्यो भर्ना

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, असार २४ –
    पूर्वि चितवनको रत्ननगर नगरपालिका– २ टाँडीमा रहेको सरकारी विद्यालय नेपाल नमुना माविमा कक्षा ११ मा भर्ना खुलेको छ ।

    व्यवस्थापन, विज्ञान, शिक्षा तथा मानविकी विषयमा भर्ना खुलेको हो । गुणस्तरी शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अघि बढिरहेको उक्त विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ ।

    कक्षा १ देखि १० सम्म निःशुल्क र कक्षा ११–१२ मा न्यून शुल्कमा शिक्षा प्रदान भइरहेको छ । सो विद्यालयमा प्राविधिक धारतर्फ कृषि तथा बाली विज्ञान र साधारण धारतर्फ विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी समूहमा विभिन्न ऐच्छिक विषयहरु रोजेर पढ्न पाइन्छ ।

    प्रयोगात्मक कक्षा, एकाई, मासिक, त्रैमासिक परीक्षाको व्यवस्था र कमजोर विद्यार्थीहरुलाई अतिरिक्ति कक्षाको समेत व्यवस्था नेपाल नुमना माविमा छ । सरकारी भए पनि उक्त विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ हुने गर्दछ ।

    यी लगायत अन्य थुप्रै सुविधाहरु (तल बुँदागत दिइएको छ) नेपाल नमुना माविमा छन् । मन्टेश्वरीदेखि १० कक्षा र प्लस २ मा व्यवस्थापन र शिक्षा तथा मानविकी विषय पढ्ने विद्यार्थीहरुको संख्या उल्लेखनीय छ ।

    तर अत्याधुनिक ल्याब, योग्य र अनुभवी शिक्षकको व्यवस्था गरी साइन्स विषय समेत सुरु गरिएको उक्त विद्यालयमा साइन्स पढ्ने विद्यार्थीहरुको संख्या कम रहेको प्रधानाध्यापक बुद्धिराज सुवेदीले दुखेसो गरे । साइन्स भनेको महँगो कलेजमै पढ्नुपर्छ, निजीमै जानुपर्छ भन्ने मानसिकताले गर्दा सरकारी विद्यालय नेपाल नमुना माविमा साइन्स (विज्ञान) पढ्न विद्यार्थी तथा अभिभावकहरुले रुची नदेखाएको पाइएको छ ।

    अहिले त प्रधानाध्यापक सुवेदीले अभिभावकहरुलाई सोध्ने गरेका छन्, ‘आफ्नो सामान्य जीविको पार्जनबाट आफ्नो पेट काटेर अनावश्यक रुपमा महङ्गो शुल्क तिरी किन नीजिमै पठाउनु हुन्छ ?’
    सरकारी विद्यालयमा राज्यबाट अनुदान आउने हुँदा शुल्क कम लागेको बताउँदै प्रधानाध्यापक सुवेदीले साइन्स पढ्ने विद्यार्थीहरु पनि यहीँ भर्ना हुन आह्वान गरेका छन् ।

    वि.संं २०१३ सालमा स्थापित चितवनकै पहिलो संघीय सामुदायिक नमुना विद्यालय भएकाले गुणस्तरीय शिक्षा प्रदानका लागि आवश्यक भौतिक पूर्वाधार, सक्षम तथा विज्ञ शिक्षक, कर्मचारी र उपयुक्त शैक्षिक वतावरण नेपाल नमुना माविमा छ ।

    शिक्षा मन्त्रालयबाट लिइएको एम.बी.बी.एस. २०२३ प्रवेश परीक्षामा उक्त विद्यालयका विद्यार्थीहरु ऋषभ थापा मगर, शैलेश पाठक र दिक्षान दवाडीले पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । यस्तै बीई तर्फ हिमाल थापा मगर, रविन पाण्डे, सुदिप शर्मा र युकेश दुराले पनि पूर्ण छात्रवृत्तीमा नाम निकाली राज्यको सेवा सुविधामा पढिरहेका छन् । उनीहरु यस विद्यालयबाट शैक्षिक सत्र २०७९ सालमा विज्ञान समूहबाट उत्तीर्ण भएका विद्यार्थी हुन् । ‘यी कुराले पुष्टि गर्छ की हाम्रो विद्यालयमा साइन्स कस्तो पढाइ हुन्छ’ प्रधानाध्यापक सुवेदी भन्छन् ।’

    अन्य सुविधाहरु :
    – दक्ष एवम् अनुभवी शिक्षकहरूबाट पूर्ण पारिवारिक, स्वच्छ, सफा र प्राकृतिक एवम् बालमैत्री वातावरणमा पठनपाठन हुने ।
    – खोज अनुसन्धान र व्यवहारिक शिक्षा प्रणालीमा जोड ।
    – कक्षा १ देखि १० सम्म निःशुल्क र कक्षा ११–१२ मा न्यून शुल्कमा शिक्षा प्रदान गरिने ।
    – सुविधासम्पन्न कक्षाकोठाको साथै आधुनिक, आरामदायी, बालमैत्री डेक्स बेन्चको व्यवस्था ।
    – बाल एवम् अपाङ्गमैत्री शौचालयका साथै शुद्ध खानेपानीको व्यवस्था ।
    – इन्टरनेट सुविधा ई–लाइब्रेरी विज्ञान कम्प्युटर तथा कृषि प्रयोगशाला, पर्याप्त खेलमैदान र स्वच्छ चमेना गृहको व्यवस्था ।
    – विद्यालय नर्सको व्यवस्था, साना बाबुनानीहरूका लागि बाल उद्यानको साथै आराम कक्षको व्यवस्था ।
    – अडियो भिजुअल प्रविधिमार्फत मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन ।
    – प्राथमिक तहका बालबालिकालाई निःशुल्क दिवा खाजाको व्यवस्था ।
    – कृषि समूहतर्फ विद्यार्थीहरूको लागि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत एवं प्रयोगात्मक कार्यका लागि टनेल सहितको पर्याप्त कृषि फिल्डको तथा ओजेटीको व्यवस्था ।
    – विद्यालय बसको व्यवस्था ।
    – प्रयोगात्मक कक्षा, एकाई, मासिक, त्रैमासिक परीक्षाको व्यवस्था र कमजोर विद्यार्थीहरुलाई अतिरिक्त कक्षाको व्यवस्था ।
    – बालविकासका विद्यार्थीहरुको सुरक्षाको लागि स्मार्ट आईडि कार्डको व्यवस्था ।
    – विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउनका लागि अन्तर सदनात्मक एवम् नगरस्तरीय अतिरिक्त क्रियाकलापको व्यवस्था ।
    – कक्षागत अभिभावक भेला एवम् विद्यालय सूचना अधिकारीको व्यवस्था ।
    – वार्षिक विद्यार्थी तथा शिक्षक अवलोकन भ्रमणको व्यवस्था ।
    – विद्यालय हाताभित्र सिसिटीभि क्यामेराबाट निगरानी गरिने ।

  • मेघौलीबाट नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

    मेघौलीबाट नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

    चितवन,असार २४-

    चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।

    पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बाघ राख्नका लागि हामीसँग खोरको अभाव भयो, त्यसपछि खोरमा नै राख्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाएका छौँ ।” अन्दाजी १० वर्षको सो बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्जमा बाघ राख्न बनाइएका खोर भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा तीन र सौराहामा रहेको खोरमा दुई बाघ रहेका छन् । बाघ राख्नका लागि बनाइएको एउटा काठको खोर जीर्ण अवस्थामा छ । त्यसको मर्मत हुन सकेको छैन ।

    यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् । घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो ।रासस

     

  • दूधको अनुदान कटौती गरेपछि किसानको विरोध : आन्दोलन गर्ने चेतावनी

    दूधको अनुदान कटौती गरेपछि किसानको विरोध : आन्दोलन गर्ने चेतावनी

    भरतपुर, २४ असार
    चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् ।

    बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरिएपछि किसानले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन् । भरतपुरमा पत्रकार सम्मेलन गरी तत्काल अनुदान रकम उपलब्ध नगराइए कडा आन्दोलन गर्ने चेतावनी किसानले दिएका छन् ।

    प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई अनुदान दिँदा दोहोरो सुविधा हुने भन्दै अनुदान दिन रोकिएको छ । चितवनको भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रु तीन अनुदान दिँदै आएको छ । माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा दिँदै आएको छ । सोही कारण देखाउँदै प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दोहोरो अनुदान नदिने भन्दै रोक लगाएपछि किसान असन्तुष्ट बनेका हुन् ।

    जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले किसानलाई अनुदान उपलब्ध नगराइएको भन्दै आज प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले किसानका समस्याप्रति सरकार उदासिन बनेका कारण सधैँ मारमा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लम्पी स्कीनबाट गाई ढलेका ढल्यै छन्, दूधको उत्पादन घटेको छ, यही समयमा बीमा कम्पनीले बीमा गरेको छैन, डेरीले दूध उठाएको छैन ।” किसानको खातामा पैसा आउने बेला सरकारको निर्णयले पीडामाथि पीडा थपेको बगालेले गुनासो गर्नुभयो । (रासस)

  • चितवनका दुई सहित २४ कम्पनीलाई सोधियो स्पष्टीकरण

    चितवनका दुई सहित २४ कम्पनीलाई सोधियो स्पष्टीकरण

    चितवन,२४ असार
    सार्वजनिक खरिद अनुगमन कार्यालयले चितवनका दुई सहित २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

    कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

    स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा एकेएस कन्ट्रक्सन भरतपुर चितवन, कश्यप/आर्भन जेभी भरतपुर चितवन, सिरुवा कन्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राईजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा, लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स प्रालि तनहुँ, नुरी कन्ट्रक्सन प्रालि बर्दिया, शिवालय बिल्डर्स हेटौँडा, अन्तरता इन्टरनेस्लन कोटेश्वर,आरडि सप्लायर्स पुतली सडक छन् ।

    यसैगरी नागारर्जुन शङ्करमाली जेभी (नागारर्जुन कन्ट्रक्सन प्राली, शङ्कर माली निर्माण सेवा प्राली) कमलादी, एञ्जल निर्माण सेवा बानेश्वर, तिइभु निर्माण सेवा रोल्पा, इसु इन्फर्मेसन सर्भिस गुप्र, तथ्य इन्जिनियरिङ इन्फा प्रोजेक्ट प्रालि मुम्बै, रुपन्देही बिल्डर्स एण्ड कन्ट्रक्सन प्रालि काठमाडौँ तथा आर्भन कन्ट्रक्सन प्रालि छन् । रासस

  • नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

    नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

    चितवन, २४ असार
    चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।

    पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बाघ राख्नका लागि हामीसँग खोरको अभाव भयो, त्यसपछि खोरमा नै राख्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाएका छौँ ।” अन्दाजी १० वर्षको सो बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्जमा बाघ राख्न बनाइएका खोर भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा तीन र सौराहामा रहेको खोरमा दुई बाघ रहेका छन् । बाघ राख्नका लागि बनाइएको एउटा काठको खोर जीर्ण अवस्थामा छ । त्यसको मर्मत हुन सकेको छैन ।

    यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् । घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो । (रासस)

  • बागमती प्रदेशद्वारा दुध किसानलाई अनुदान

    बागमती प्रदेशद्वारा दुध किसानलाई अनुदान

    चितवन, २४ असार
    बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो ।

    मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा रु १६ करोडमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो ।

    प्रदेशले आव २०७५÷७६ मा कार्यविधि बनाएर दुध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ ।

    यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उहाँले जानकारी दिनुभयो । भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।” कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिकाले प्रतिलिटर रु तीन, माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् । अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् । (रासस)

  • चितवनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याइदै

    चितवनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याइदै

    भरतपुर, २२ असार
    चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

    चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ ।

    टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । कृष्णसारलाई चितवनमा ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको उहाँको भनाइ थियो ।

    नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत वर्ष रू ३८ लाख छुट्याएको थियो भने यस वर्ष रू ५० लाख बजेट विनियोजन गरेको छ ।

    कृष्णसारको संरक्षण र पर्यापर्यटनको विकासका लागि कृष्णसार यहाँ ल्याउन लागिएको प्रमुख सापकोटाले बताउनुभयो । “चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौँ”, उहाँले भन्नुभयो, “नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ ।”

    पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १९ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ । यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माणको तयारी गरेको उहाँले बताउनुभयो ।

    कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ । अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ ।

    पूर्व प्रमुख संरक्षण अधिकृत बर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो ।

    वन मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो । प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो ।

    विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो । “प्राविधिकरूपमा व्यवस्थापनका लागि पाँचवर्षे कार्ययोजना तयार हुँदैछ”, पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भन्नुभयो, “कार्ययोजनाको रिपोर्ट बुझाउनासाथ कृष्णसार स्थानान्तरणको काम सुरु हुन्छ ।” उहाँका अनुसार पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ ।

    “कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो”, डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले भन्नुभयो । कृष्णसार स्थानान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो । उहाँले वन कार्यालयले कृष्णसारलाई मन पर्ने बयरलगायतका जातका बिरुवासमेत रोपेको जानकारी दिँदै अनुकूल हावापानी र वातावरण भएको समय पारेर स्थानान्तरण गरिने जनाउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेती जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला र घाँसेमैदान उपयुक्त हुने बताउनुभयो । “घना जङ्गल र झाडीमा हराउने डर हुन्छ”, उहाँले भन्नुभयो, “बिहान–बेलुका घाँसेमैदानमा चर्ने र दिउँसोको चर्को घाम तापेर बस्ने यसको स्वभाव हुन्छ ।”

    कृष्णसारलाई उचित बासस्थान दिए संरक्षण सफल हुने भन्दै पूर्व संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मका अनुभवले सफलता मिल्ने बताउनुभयो । उहाँले कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको जानकारी दिनुभयो ।

    कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् । (रासस)

  • गैंडा मारेको मद्दामा २५ वर्षदेखि फरार चितवनका भीमबहादुर पक्राउ

    गैंडा मारेको मद्दामा २५ वर्षदेखि फरार चितवनका भीमबहादुर पक्राउ

    चितवन, असार २२–
    गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका भीमबहादुर थापा क्षेत्रीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

    चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले पक्राउ गरेको हो । उनि २५ बर्ष देखि फरार समेत थिए ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाईएको थियो । तर भीमबहादुर कैदभुक्तान नगरी लुकीछुपी बस्दै आइरहेका थिए ।

    भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।

  • यातायातमा विद्यार्थीलाई सहुलियत नदिएको बारे ध्यानाकर्षण, अनेरास्ववियु भरतपुरले अनुगमन गर्ने

    यातायातमा विद्यार्थीलाई सहुलियत नदिएको बारे ध्यानाकर्षण, अनेरास्ववियु भरतपुरले अनुगमन गर्ने

    चितवन,२० असार
    चितवन भित्र चल्ने यातायातहरुले विद्यार्थी परिचयपत्रको आधारमा यातायातमा ४५% छुट दिन अनेरास्ववियु भरतपुरले माग गरेको छ।

    विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको गुनासो प्राप्त भएपछि एमाले निकट अनेरास्ववियु भरतपुरका संयोजक सुबास सुबेदीले प्रेस विज्ञप्ति जारि गर्दै सो माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ” भरतपुर महानगरपालिका एक स्थानीय तह मात्र नभैइ शैक्षिक हब भएकोले विभिन्न जिल्लाबाट हजारौं विद्यार्थी अध्ययनको लागि आउने गर्दछन।दैनिक सार्वजनिक यातायातबाट आवतजावत गर्ने विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको गुनासो प्राप्त भएकोले अनेरास्ववियु सरोकारवाला निकायसँग समन्वय गरि अनुगमनमा निस्किने जानकारी गराउदछौँ।”

    विद्यार्थीको परिचयपत्रको आधारमा ४५% छुट दिन आवस्यक पहल गरि समस्या कार्यान्वयन तर्फ लाग्न र अनेरास्ववियु महानगर कमिटि भरतपुरले गर्ने अनुगमन कार्यमा सहयोग गरिदिन र छुट सुबिधा नदिएका यातायात व्यवसायीलाई नियमानुसार कार्बाहिको दायारामा ल्याउन अनेरास्ववियु महानगर कमिटिले आग्रह गरेको छ।