Category: रत्ननगर

  • डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

    डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

    चितवन, ४ साउन
    चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

    जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो ।

    डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।

    डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उहाँको भनाइ छ । (रासस)

  • गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो

    गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो

    चितवन,३ साउन
    चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई नियन्त्रणमा लिई निुञ्जकको सुरक्षित क्षेत्रमा छोडिएको छ ।

    निकुञ्जबाट बस्तीमा पसेर मानव तथा जनावरमाथि आक्रमण गर्न थालेको बाघलाई निकुञ्ज प्रशासनले आज नियन्त्रणमा लिई नियमित अनुगमन गर्ने गरी निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको हो ।

    अन्दाजी पाँच वर्षको सो बाघलाई माडी नगरपालिका–३ रतनी खोला किनारबाट नियन्त्रणमा लिइएको थियो ।

    सो बाघले मङ्गलबार बस्तीमा प्रवेश गरी तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो । त्यसपश्चात् निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आज बिहान मात्रै बाघ नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

  • भरतपुरका अखाद्य वस्तु प्रयोग गर्ने पानीपुरी पसल बन्द

    चितवन,३ साउन
    अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि भरतपुरका दुई पानीपुरी बनाउने पसल बन्द गरिएको छ । भरतपुर महानगरपालिकाले मङ्गलबार गरेको बजार अनुगमनमा भरतपुर–१० का दुई पानीपुरी बनाउने पसलले अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि तिनलाई बन्द गराइएको हो । सप्तगण्डकी चोक र ज्ञानदर्शन सडकमा रहेको पानीपुरी बनाउने दुई पसल बन्द गराइएको महानगरपालिकाले जनाएको छ । बजारमा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेको लिखित उजुरी आएपछि महानगरले ती पसलमा अनुगमन गरेको थियो ।

    वडाध्यक्ष परमेश्वर खनालले भन्नुभयो, “यी दुवै पानीपुरी पसल बन्द भएका छन्, अब सरसफाइ गरेर प्रक्रिया पु¥याएर आए विचार गर्नसकिन्छ ।” अनुगमनका क्रममा पानीपुरी पसल दर्ता नगरी सञ्चालन गरिएको र पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो एवं रङ अखाद्य भेटिएको छ ।

    त्यसैगरी अनुगमन समितिले भरतपुर–१० अस्पताल सडकमा रहेको न्यु थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलले अखाद्य तेल प्रयोग गरेको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउदा सावधानी नअपनाएको पाइएको समितिले जनाएको छ । अनुगमनका क्रममा अघिल्ला आर्थिक वर्षमा गरिएको बजार अनुगमन निकै प्रभावकारी भएको उल्लेख गर्दै महानगरउपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा पनि बजार अनुगमनले थप निरन्तरता पाउने बताउनुभयो ।

    उहाँले भन्नुभयो,“यो वर्ष महानगरले बजार अनुगमनलाई अझ सशक्त रुपमा लैजाने तयारी गरी काम सुरु गरेको छ ।”स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजार अनुगमन गर्ने कामलाई तीव्र बनाएको छ ।

    अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफूल, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य वस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको अधिकारीले बताउनुभयो । बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले होटल तथा खाद्य बस्तुका मात्रै नभइ सबै प्रकारका क्षेत्रमा महानगरले छड्के अनुगमन गर्ने गरेको बताउनुभयो । उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको महानगरपालिकाले जनाएको छ । (रासस)

  • भरतपुर महानगरपालिकाद्वारा बजार अनुगमन पुन:सञ्चालन

    भरतपुर महानगरपालिकाद्वारा बजार अनुगमन पुन:सञ्चालन

    चितवन,२ साउन
    भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई पुन:सुचारु गरेको छ । बजारमा विशेष गरि अखाद्य बस्तुको खुलेआम बिक्री बितरण भइरहेको लिखित उजुरि महानगरको उजुरी पेटिकामा आएपछि महानगर थप एक्सनमा उत्रिएको हो ।

    मंगलबार महानगरको उजुरी पेटिकामा एकजना सेवाग्राहीले गोप्य तरिकाबाट लिखित उजुरी हालेपछि लगत्तै महानगरले तत्काल बजार अनुगमनमा जाने निर्णय गरेको हो बजार अनुगमन समिति संयोजक एवं महानगर उप प्रमुख चित्रसेन अधिकारीले बताए।

    अनुगमनमा भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल, बजार अनुगमन समितिका सदस्य विष्णु बहादुर भुजेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य निरीक्षक वन्दना पन्त, उपभोक्ता हित संरक्षण शाखा तथा प्रशासकीय सुधार इकाईका अधिकृत ठनेश्वर सापकोटा, नगर प्रहरीहरुको उपस्थित रहेको थियो ।

    अनुगमन समितिले भरतपुर १० मा रहेका २ वटा पानीपुरी बनाउने साना उद्योगहरु र अस्पताल सडकमा रहेको न्यु थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पानीपुरी उद्योगहरु दर्ता नगरी सञ्चालन गरिएको, पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो र रङ्ग अखाद्य भेटिएको छ । त्यस्तै होटल तथा रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग भएको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउँदा सावधानी नअपनाइएको पाइएको छ ।

    भरतपुर १० स्थित पुरानो ज्ञानदर्शन सडक र सप्तगण्डकी चोक नजिकै रहेको २ वटा पानीपुरी बनाउने साना उद्योगहरु हालका लागि बन्द गराइएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए।

    स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो ।

    अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ बजार अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेलले भने, यति मात्र नभई सबै प्रकारका क्षेत्रहरुको पनि महानगरले छड्के अनुगमन गर्ने छ ।

    उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

    बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरु माथिको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो ।

     

     

  • चितवनका अस्पतालमा पार्किङ निःशुल्क गर्न मन्त्री जोशीको निर्देशन

    चितवनका अस्पतालमा पार्किङ निःशुल्क गर्न मन्त्री जोशीको निर्देशन

    चितवन,२ साउन
    बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चितवनका अस्पतालहरुलाई सवारी पार्किङ शुल्क नलिन निर्देशन दिएका छन् ।

    मन्त्री जोशीले बिरामीहरुको चाप उच्च रहने चार ठूला अस्पतालहरुलाई पार्किङ शुल्क नलिन निर्देशन दिएका हुन् । जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई यस्तो निर्देशन दिएका हुन् ।

    जोशीले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल, सिएमसीका सिईओ प्रताप देवकोटा, सिएमएसका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र क्यान्सर अस्पातलका अध्यक्ष विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका छन् ।

    अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका विषयमा जनगुनासो बढेकोले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ । “बिरामी र तीनका आफन्तले अस्पतालमा उपचारका लागि आउँदा पार्किङ शुल्क तिर्नु परेको धेरै गुनासा आए । यस्तो बाध्यता हटाउन निर्देशन गरिएको छु” उनले भने ।

    शुल्क लिने व्यवस्था हटाई सवारी साधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले असार १५ गते नै सबै अस्पताललाई निर्देशन गरेको भन्दै उनले साउन महिनाबाटै यसको कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । अस्पातलहरुले बिरामी र तीनका आफन्तहरुबाट पार्किङ शुल्कको नाममा १० देखि ५० रुपैयाँ सम्म लिदै आएका छन् । यसले नियमित आउने बिरामी र आफन्तलाई मर्का पर्ने गरेको गुनासो आउने गरेको छ ।

     

  • चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

    चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

    चितवन, २ साउन
    चितवन जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ा कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो ।

    बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु एक सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु ९५ का दरले अनुदान रकम प्राप्त गरेको कृषि ज्ञानकेन्द्रकी निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।

    खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । उहाँका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि तीन हजार सात सय छ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गरिएको हो ।

    प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । कार्यक्रमअनुसार प्रतिकट्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णयअनुसार अनुदान रकम दिइएको हो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ । (रासस)

  • एक वर्षमा ४ सय ७५ फरार प्रतिवादी पक्राउ

    एक वर्षमा ४ सय ७५ फरार प्रतिवादी पक्राउ

    चितवन, २ साउन
    जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

    अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।

    उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र रू एक करोड ३० लाख ६७ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।

    अदालतले लगत कट्टा नगरेका कारण कतिपय व्यक्ति पुनः पक्राउ पर्ने गरेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए । अदालतले सजाय भुक्तान गर्न बाँकी रहेका भनी दिइएका व्यक्तिहरुले सजाय भुक्तान गरेको प्रमाण दिने गरेको उनको भनाइ थियो । रासस

  • इच्छाकामनाका कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

    इच्छाकामनाका कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

    चितवन, २ साउन
    चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

    इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९÷८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित रु २५ लाख ३४ हजार नौ सय ९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकाले कृषि उत्पादन बजारीकरणका थुप्रै योजना ल्याएका छौँ, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो”, उहाँले भन्नुभयो, “यसले किसानको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।”

    एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं १ र २ का काउले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ । (रासस)

  • एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडाको मृत्यु

    एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडाको मृत्यु

    चितवन,१ साउन
    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए । सो घटनाका अभियुक्त पक्राउ परेको उनले जानकारी दिए ।

    तिवारीका अनुसार आव २०७५/७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए । त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ ।

    गत वर्ष यो सङ्ख्या तुलनात्मकरूपमा घटेको हो । आव २०७६/७७ मा २६, २०७७/७८ मा ३९ र २०७८/७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा २०७२/०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् ।

    त्यस वर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३/०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

    चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ ।

    आव २०७३/७४ मा एउटा, २०७७/७८ मा चार वटा र २०७८/७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ गैँडा मरेका थिए ।

    प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकआपसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताए ।

    प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए ।

  • स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने उदेश्यले चितवनमा शनिबार बृहत कृषि मेला लाग्दै

    स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने उदेश्यले चितवनमा शनिबार बृहत कृषि मेला लाग्दै

    चितवन,३१ असार
    चितवन प्रदर्शनि केन्द्रमा “शनिबारे मेला” लाग्ने भएको छ। स्थानीय कृषिजन्य,रैथाने,मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवर्द्धन गर्ने उदेश्यले “शनिबारे मेला” अर्थात Saturday Mart आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रीलोचन कंडेलले जानकारी दिनुभयो।

    शनिबारे मेला यहि मिति २०८० साल साउन ६ गते देखि सुरु हुन लागेको हो।उक्त मेला बिहान ६:०० बजे देखि ११:०० बजेसम्म लाग्ने छ।

    मेलामा ताजा फलफूल तथा तरकारी,घरेलु अचार,मह तथा भान्साका लागि आवश्यक चाइने सामग्री,हस्तकलाका सामग्रीहरु,अण्डा,माछा,गेडागुडीहरु,चिया,कफि तथा हर्वल सामग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु राखिने छन।मेलामा स्टल राख्न चाहानेहरुका लागि प्रतिदिन प्रति स्टल रु १,००० रहेको छ।

    मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि नि:शुल्क प्रवेशको समेत व्यवस्था रहेको छ।

    मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने गरि सो स्टल राख्न लागिएको हो।