Category: रत्ननगर

  • चितवनमा गैँडा मारेको अभियोगमा तीन पक्राउ

    चितवनमा गैँडा मारेको अभियोगमा तीन पक्राउ

    चितवन, २० असार
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

    निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो ।

    पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिनुभयो ।

    निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।(रासस)

  • पूर्वि चितवनको पञ्चकन्या विद्या मन्दिरमा खुल्यो प्रि रजिष्ट्रेशन

    पूर्वि चितवनको पञ्चकन्या विद्या मन्दिरमा खुल्यो प्रि रजिष्ट्रेशन

    चितवन, असार १९
    पूर्वि चितवनमा रहेको पञ्चकन्या विद्या मन्दिरले प्रि रजिष्ट्रेशन खुलाएको छ । साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरुका लागि विद्यालयले प्रि रजिष्टे«शन खुलाएर रजिष्ट्रेशन गरिरहेको छ ।

    साथै विद्यालयले एसईई दिएर बसेकाहरुलाई विशेष अवसर ल्याएको छ । जसअन्तर्गत वारिष्टा, कुकिङ्ग, वेटर, वेट्रस तालिम, हाउस किपिङ्गको दुई हप्ते निशुल्क तालिम दिने अवसर ल्याएको छ ।

    रत्ननगर नगरपालिका २ मा रहेको पञ्चकन्या विद्यामन्दिर चितवनकै पूरानो शैक्षिक संस्था हो । विद्यालयमा होटल म्यानेजमेन्टको लागि अत्याधुनिक पूर्वाधारको व्यवस्था रहेको विद्यालयका प्राचार्य भुनव सिंह थापाको दाबी छ ।

    उनले साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरु एकपटक आफ्नै ठाउँको कलेजमा बुझ्नका लागि भए पनि आउन सबै पूर्वि चितवनका विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

  • अनुचित लेनदेनविरुद्धका उजुरीमाथि चितवनमा छलफल सुरु

    अनुचित लेनदेनविरुद्धका उजुरीमाथि चितवनमा छलफल सुरु

    चितवन, १९ असार
    अनुचित लेदनदेनविरुद्ध परेका उजुरीमाथि जिल्ला प्रशासन कार्यालय चितवनले छलफल सुरु गरेको छ । गत जेठ १४ गतेसम्म परेका उजुरीमाथि दुवै पक्षलाई राखेर छलफल सुरु गरिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यालयमा ९२ जनाले अनुचित लेनदेन (मिटर ब्याज)विरुद्ध उजुरी दर्ता गरेका छन् । दर्ता भएका उजुरीलाई अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा पठाइएको थियो । आयोगले उजुरीमाथि छलफल चलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले पीडित र पीडक दुवै पक्षलाई राखी छलफल सुरु गरेको हो ।

    उहाँका अनुसार अहिलेसम्म २३ वटा उजुरीमाथि छलफल भएकोमा दुईवटाको मिलापत्र भइसकेको र अन्य उजुरीको छलफलका क्रममा छन् । कार्यालयमा पीडितले ६० वटा र पीडकले ३२ वटा उजुरी दर्ता गराएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग २०७९ ले गत जेठ १४ गतेसम्म उजुरी दर्ता गराउन आह्वान गरेको थियो ।

    यसअघि गृह मन्त्रालयले २०७९ साल साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याज पीडितविरुद्ध उजुरी दिन भनेको थियो । तत्कालीन समयमा २५ जनाले उजुरी दर्ता गराएकोमा एउटा उजुरीको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा अवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको थियो । (रासस)d4`1.

  • रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

    रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

    रत्ननगर, १९ असार
    चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ ।

    केन्द्रका प्रमुख डा कोपिला अधिकारीले चालु आर्थिक वर्ष २०७९÷८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले आगामी आव २०८०÷८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, ल्याब, एक्सरे, भिडियो एक्स–रे कक्ष रहने उहाँले बताउनुभयो ।

    भवन निर्माण सम्पन्न भएसँगै बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिने डा अधिकारीले बताउनुभयो । हालसम्म जिल्लामा आयुर्वेद अस्पतालमा बिरामी भर्ना सुविधा छैन । उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएपछि अस्पतालबाट बिरामीलाई राम्रो सेवा प्रवाह गर्न सकिन्छ ।”

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र मातहतमा गत आव २०७८÷७९ मा ५६ हजार बिरामीले सेवा लिएका थिए । चालु आवमा यो सङ्ख्या अझै बढ्ने अस्पतालको आकलन छ । केन्द्रअन्तर्गत रत्ननगरको बकुलहरमा स्वास्थ्य केन्द्र, कालिका–७, खैरहनी–१२ र इच्छाकामना–३ मा तीनवटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । यस्तै भरतपुर–१५ शिवनगरमा जीवनशैली व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ ।

    स्थानीय सरकारमातहत भरतपुरको देवघाट, शिवघाट, कविलास, गुञ्जनगर, पटिहानी, मेघौलीमा आयुर्वेदिक औषधालय रहेका छन् । यस्तै माडी–१, राप्ती–१ मा पनि आयुर्वेदिक औषधालय छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य गरी थेरापीका बिरामीको चाप बढी हुने गरेको डा अधिकारीले जानकारी दिनुभयो ।

    बाथव्यादीका बिरामी, नसा च्यापिएको, हड्डी खिइएका बिरामीलाई औषधोपचार र बाफले सेक्ने स्नेहन स्वदेन, ढाड दुख्नेका लागि कट्टीबस्ती, घुँडाको दुखाइका लागि जानुबस्ती, घाँटीका लागि गृभाबस्ती, दुखाइ, सुनिएको पत्रपिण्ड स्वेदन, अनिन्द्रा, एन्जाइटी, तनाव व्यवस्थापनका लागि शिरोधारा, नसारोगका लागि मात्राबस्ती गरिँदै आएको उहाँले बताउनुभयो ।

    केन्द्रमा बिरामी परीक्षण एवं अत्यावश्यक सेवा, आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशालामा रगत, दिसापिसाब परीक्षण, भिडियो एक्स–रे, सशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, क्षारसूत्र सेवा, पञ्चकर्म, पूर्वकर्म सेवालगायतका सेवा पनि उपलब्ध रहेको छ । (रासस)

  • नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

    नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

    भरतपुर, १९ असार
    असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन् । यो सडकखण्डमा यस वर्षमात्र होइन, प्रत्येक वर्ष पहिराले दुःख दिने गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सास्तीले यो सडकखण्डको वैकल्पिक राजमार्ग बनाउनुपर्छ भन्ने कुरा पटक–पटक उठ्ने गरेको छ ।

    यो राजमार्गको विकल्पका रूपमा चितवनमै अर्को पनि सडक छ । त्यो सडक हो– शक्तिखोर–फिस्लिङ ग्रामीण सडक । यो सडकखण्डको अधिकांश काम सकिएको छ । साना सवारी र मोटरसाइकलमा यो सडकखण्ड हुँदै यात्रा गर्न सकिन्छ । तर यो सडकखण्डको काम पूर्ण नहुँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा वैकल्पिक सडकको रूपमा प्रयोगमा आउन सकेको छैन ।

    पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट शक्तिखोरसम्मको ४५ किलोमिटरको दूरी रहेको यो सडक ‘सिङ्गल लेन’को हो । नारायणगढ– मुग्लिन सडकखण्डमा बारम्बार सास्ती ब्यहोरेका यात्रुले फिस्लिङ–शक्तिखोर सडकलाई विकल्पका रूपमा पनि प्रयोग गर्न सक्ने इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउनुहुन्छ । उहाँले यो सडक पूर्णरूपमा निर्माण सम्पन्न भएपछि इच्छाकामना गाउँपालिकाको विकासको ढोका खुल्ने बताउनुभयो । अहिले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएको समयमा कतिपय यात्रुले यो सडकखण्ड प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

    इच्छाकामना गाउँपालिका–३ का अध्यक्ष नरबहादुर नेपालले रिग्दीखोलामा पुल निर्माण नभएका कारण यो सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । “प्रदेश सरकारबाट पुल निर्माणको काम त सुरु भएको छ, तर निर्माण सम्पन्न भएपछि मात्र सहजरूपमा यात्रा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । तोलाङको भिरमा पहिरो गएका कारण बोलेरो गाडी मात्र छिर्न सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यो सडकले फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर जोड्छ ।

    प्राविधिक समस्याका कारण चार ठाउँमा सडक कालोपत्र नगरिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर राकेश रोशनले जानकारी दिनुभयो । उहाँले केही खोल्सा र खोलामा पुल निर्माणको काम बाँकी रहेको भन्दै त्यो प्रदेश सरकारबाट निर्माण भइरहेको जानकारी दिनुभयो ।

    ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको अनुदानमा रु ८७ करोडको लागतमा ठेक्का सम्झौता भएको सडकको समयमै काम सम्पन्न नगरेका कारण निर्माण कम्पनीलाई क्षतिपूर्ति तिराउने तयारी गरिएको इन्जिनियर रोशनले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी काम सम्पन्न गर्ने दायित्व पनि यही निर्माण कम्पनीको हो । यो वर्ष जसरी पनि काम सक्न भनेका छौँ”, पाँच–छ महिनामै यो सडकखण्डको २५ किलोमिटर क्षेत्रमा कालोपत्र भएको भन्दै उहाँले चाहेको खण्डमा एक–दुई महिनाभित्र निर्माण कम्पनीले काम गर्न सक्ने बताउनुभयो ।

    विसं २०७५ देखि निर्माण सुरु भएको यो सडकखण्डको पाँचपटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको हो । अन्तिमपटक चैतसम्म म्याद थियो । तीन वर्षसम्म यही निर्माण कम्पनीले सडक मर्मतको काम गर्नुपर्ने इन्जिनियर रोशनले बताउनुभयो । केही वर्ष पहिले आरआरएनले रु १२ करोड खर्चेर यो सडकको ट्रयाक खोलेको थियो । चार दशमलव पाँच मिटर चौडाइको यो सडक अहिलेसम्म ३० किमीमात्रै कालोपत्र भएको छ ।

    यो सडक निर्माणको जिम्मा साङछी एन्ड आशिष जेभीले पाएको हो । साङछी एन्ड आशिष जेभीका इन्जिनियर सञ्जयकुमार महतोले आफूहरूले नै यो वर्ष काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले चार ठाउँमा झन्डै पाँच किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले यो सडकखण्ड नारायणगढ–मुग्लिन सडकखण्डको वैकल्पिक मार्ग हुने भन्दै साना सवारीसाधन सञ्चालन गर्न सकिने बताउनुभयो । चेपाङको बाहुल्य रहेका पहाडमा कालोपत्रसहितको सडक निर्माण हुने भएपछि यहाँका स्थानीय खुसी बनेका छन् । स्थानीय वीरबहादुर चेपाङले दिनभर हिँड्नुपर्ने सडक कालोपत्र भएपछि एक–दुई घन्टामै पार गर्न सकिने बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसम्म लैजान सडक निर्माणपछि सहज भएको उहाँले बताउनुभयो ।

    प्रदेशसभा सदस्य कृष्ण सिलवालले सडक निर्माणपश्चात पहाडी क्षेत्रमा पर्यटक चहलपहल बढ्ने र शक्तिखोर व्यापारिक केन्द्र बन्ने बताउनुभयो । उहाँले मलेखु–भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने र नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुने धारणा राख्नुभयो । उहाँले सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताउनुभयो । (रासस)

  • चितवनका नीजि विद्यालयमा मनपरी छात्रवृत्ति वितरण : अनेरास्ववियुले जनायो आपत्ती

    चितवनका नीजि विद्यालयमा मनपरी छात्रवृत्ति वितरण : अनेरास्ववियुले जनायो आपत्ती

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, असार
     १८  –

    चितवनका नीजि विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिमा मनपरी गरेको भन्दै अनेरास्ववियु चितवनले छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम सार्वजनिक गर्न माग गरेको छ ।

    आज एमाले निकट अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षहरुले आफू अनुकुलका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन सिफारिस गरेको, विद्यालय प्रशासनले लगानी कर्ता, शिक्षक, कर्मचारीका छोराछोरीका नाममा छात्रवृत्ति राख्ने गरेको, निवेदन दिएका र छात्रवृत्ति पाउने विद्यार्थीका नाममा दुई महिनाको छात्रवृत्ति राखि पालिकामा पठाइएको भनि अभिभावकहरुबाट गुनासो आएको हुँदा यस विषयमा छानबिन गर्न सम्बन्धित पालिकालाई अनुरोध गर्दै, विद्यालयमा अनुगमन गर्न र १० प्रतिशत छात्रवृत्ति कडाइका साथ कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ दबाब सृजना गर्न अनेरास्ववियु पालिका कमिटीलाई निर्देशन गर्दछौं ।’

    माध्यमिक तहसम्मको शिक्षामा नीजि तथा संस्थागत विद्यालयहरुले कुल विद्यार्थीहरुको १० प्रतिशत संख्या नघट्ने गरी छात्रवृत्ति उपलब्ध गराउनु पर्ने नियम छ । तर
    चितवनका नीजि विद्यालयले त्यो छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गरेपछि अनेरास्ववियु चितवनले पटकपटक आन्दोलन गरी नीजि विद्यालयलाई पनि छात्रवृत्ति दिने अवस्थामा पुराएर सम्झौता गरी आन्दोलनका थप कार्यक्रम फिर्ता लिएको थियो ।

    छात्रवृत्ति दिँदा जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने नियम छ । उक्त नियमभन्दा बाहिर गएर चितवनका अधिकांश नीजि विद्यालयले आप्mना मान्छेलाई छात्रवृत्ति प्रदान गरेको अभिभावकहरुको गुनासो छ । उक्त गुनासा ेआएपछि अनेरास्ववियुले सबै पालिका, प्याब्सन चितवन र अभिभावक संघलाई विज्ञप्ति दिँदै यसतर्फ ध्यानाकर्षण गराएको हो ।

    छात्रवृत्ति आवश्यक नपर्ने विद्यार्थीले पाएको भन्दै छात्रवृत्तिको सम्पूर्ण जानकारी सूचना पार्टीमा टाँस गरी अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन विद्यालय संचालकहरुलाई अनेरास्ववियुले माग गरेको छ । यदि त्यसो नगरे अनेरास्ववियु फेरि पनि आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट सृजना हुने परस्थितिको जिम्मेवारी स्वयम विद्यालयले लिनुपर्ने अनेरास्ववियुको चेतावनी छ ।

     

  • चितवनको रत्ननगरमा रोजगार मेला

    चितवनको रत्ननगरमा रोजगार मेला

    चितवन, १६ असार
    चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

    मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको भनाइ छ ।

    सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।”

    कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत गर्नुभएको छ ।

    कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताउनुभयो । मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन् । (रासस)

  • चितवनको रत्ननगरमा किसानलाई अनुदानमा भैँसी वितरण

    चितवनको रत्ननगरमा किसानलाई अनुदानमा भैँसी वितरण

    चितवन,१२ असार
    चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो ।

    किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको बताउनुभयो । चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ ।

    अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ । पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उहाँको भनाइ छ ।

    जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । उहाँले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो ।(रासस)

  • कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

    कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

    चितवन, ६ असार
    चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।

    खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैतेधान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाउने भएका हुन् । कार्यालयका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार ८० हजार पाँच सय १५ कठ्ठामा चैतेधान खेती गरेको निवेदन परेको थियो । निवेदनपश्चात स्थलगत अनुगमन र प्रमाणीकरणपछि ७४ हजार एक सय २४ कठ्ठामा लगाइएको धानखेतीका लागि प्रोत्साहन रकम वितरण गर्न लागिएको हो ।

    पुनका अनुसार २० कठ्ठासम्म चैतेधान खेती गर्ने कृषकका लागि प्रतिकठ्ठा रु एक सयका दरले र सोभन्दा बढी गर्नेका लागि रु ९५ का दरले प्रोत्साहन रकम वितरण गरिने छ । प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । यसमा रु ७३ लाख प्रोत्साहन अनुदान वितरण गर्न लागिएको हो । कार्यक्रमअनुसार प्रतिकठ्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ । – (रासस)

  • चितवनको रत्ननगरबाट दिउँसै ३३ तोला सुन र २ लाख ५० हजार चोरी

    चितवनको रत्ननगरबाट दिउँसै ३३ तोला सुन र २ लाख ५० हजार चोरी

    चितवन,असार ५
    पूर्वी चितवनको रत्ननगर वडा नं १२ का गोपाल ओझाको घरबाट नगद सहित ठुलो परिमाणमा सुनका गहना चोरी भएको हो ।

    दिउसो करिब १२स्४५ बजेको समयमा ओझाको किसानचोक स्थित घरबाट ३३ तोला ५० लाल सुन र साढे दुई लाख रुपैया चोरी भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

    चोर घरको पछाडि पट्टीको ढोका फोरेर भित्र पसेको प्रहरीले जनाएको छ । घरको तलो तलको कोठामा रहेको दराज फोरेर नगद र गरगहना चोरी भएको वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए । चोरको खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।