Category: रत्ननगर

  • रत्ननगरमा सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

    रत्ननगरमा सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

    चितवन, १५ चैत
    नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु गरेको हो । एड्वानले महिला र दलित समुदायभित्र पनि सबैभन्दा बढी दलित महिलाले नै हिंसा भोग्नुपरेको अवस्था उल्लेख गर्दै उनीहरूले भोग्नुपरेको सबै प्रकारका हिंसाको अन्त्य गर्ने उद्देश्यले पनि सो अभियानको सुरुआत गरेको हो ।

    रत्ननगर नगरपालिकाका उपप्रमुख विमलादेवी दुवाडीले अभियानको सुरु गर्दै संवैधानिक र कानुनीरूपमा प्राप्त अधिकारलाई व्यवहारिकरूपमै कार्यान्वयनको निम्ति समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एड्वानले विशेषगरी ग्रामीणस्तरका महिला र किशोर–किशोरीको अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आएको छ । विसं २०५५ मा स्थापना भएको एड्वानले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बाग्लुङ र तनहुँलगायतका जिल्लामा विपन्न समुदायका २०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

    एड्वानका अध्यक्ष पम्फा परियार र महासचिव विन्दु परियारले राज्यको मूलधारबाट पछाडि परेका आर्थिकरूपमा विपन्न, दलित महिलालगायत अति सीमान्तकृत समुदायलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपमा सशक्त बनाउने एड्वानको उद्देश्य रहेको बताउनुभयो । एड्वानका संस्थापक डा विष्णुमाया परियारले आर्थिकरूपमा कमजोर समाजमा अत्यधिक मदिरा सेवन हुने र त्यही घरमा सबैभन्दा बढी महिला हिंसा भएको बताउँदै सोही समुदायलाई लक्ष्य गरेर अभियान सुरु गरिएको जानकारी दिनुभयो । (रासस)

  • स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

    स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

    चितवन, ९ फागुन –
    पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् ।

    पालिकाहरुको उपप्रमुखमा दुई पुरुष छन् भने पाँच महिला छिन् । ईच्छाकामना गाउँपालिका बाहेक नेतृत्व नेपाली कांग्रेसको छैन । उपप्रमुखमा दुई कांग्रेस र पाँच नेकपा (एमाले) का छन् । प्रमुखमा दुई माओवादी केन्द्र र चार नेकपा एमालेका छन् । निर्वाचनको समिकरण कसरी जान्छ, त्यसको पर्खाइमा रहेका उपप्रमुख आफ्नो तर्फबाट आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबीमा धेरै छन् । केहीको मनसाय उपप्रमुख नै दोहो¥याउने छ ।

    आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा नेतृत्वले स्थानीयस्तरमा अवसर दिने भनेपछि आफू पछि हटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केन्द्रीय सदस्य छोड्दै गर्दा मलाई महानगरको प्रमुखको टिकट दिने आश्वासन छ ।” केन्द्रीय आश्वासन पाएको र पाँच वर्षको अनुभव हासिल गरेकाले आफैले नेतृत्व पाउनुपर्ने उहाँको दाबी छ ।

    महिला सङ्घ चितवनकी अध्यक्षसमेत रहनुभएका ठकुरीले पार्टीले आफूलाई प्रमुखको टिकट दिनेमा विश्वस्त रहेको बताउनुभयो । यसअघि भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादीका तर्फबाट रेनु दाहाललाई समर्थन गरेर उपप्रमुखमा ठकुरीले टिकट पाउनु भएको हो । केन्द्रीय गठबन्धनको टुङ्गो लागिसकेको छैन । कांग्रेसभित्रबाटै प्रमुखमा अन्य नेताको पनि दाबी छ ।

    रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी आफ्नो भूमिका नै प्रमुख सरह भएको बताउनुभयो । नेकपा (एमाले) बाट निर्वाचित उहाँले अबको दाबेदारी स्वतः आफ्नो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपप्रमुखमा दोहो¥याएर उठ्दा रमाइलो हुँदैन, अनुभव हासिल गरेको छु, भूमिका पनि मेरै हो ।” पार्टीले आफूलाई अवसर दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । पाँच वर्षको आफ्नो अनुभवलाई उपयोग गरेर नगरपालिकामा काम गर्ने दुवाडीले बताउनुभयो । उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवं अनेमसङघका उपाध्यक्ष हुनुहुन्छ । नेकपा एमालेबाट रत्ननगरमा प्रमुखका अन्य दाबेदार पनि छन् ।

    माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले आफ्नो अनुभवका हिसाबले प्रमुखको दाबी स्वभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको निर्णय हामीले मान्नुपर्छ, स्वभाविक रुपमा मेरो दाबी रहन्छ, निर्णय पार्टीको हुन्छ ।” अनुभव र क्षमताको हिसाबले आफूलाई निर्वाचन जित्न सहज हुने उहाँको दाबी छ । नगरपालिकामा पार्टीका तर्फबाट अन्य नेता पनि आकांक्षी छन् । सो नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकालले जितेको भए पनि उपप्रमुखमा एमालेका तर्फबाट महतो निर्वाचित हुनु भएको हो ।

    राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अबको निर्वाचनमा प्रमुख पदमा आफ्नो दाबी रहने बताउनुभयो । पाँच वर्षको आफ्नो अनुभवलाई सँगाल्दै नगरपालिकाको प्रमुखमा आफ्नो जित सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ, जित हासिल गर्न पनि सहज छ ।” सो नगरपालिकामा पार्टीका तर्फबाट प्रमुख पदमा अन्य उम्मेदवारको पनि दाबी रहेको छ । नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसमेत रहनुभएका लामाले उपप्रमुख भएर आफूले पूर्णरुपमा काम गरेकाले अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

    जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने बताउनुभयो । उहाँले भन्नुभयो “पार्टीले आफूलाई अवसर दिन्छ भन्नेमा ढुक्क छु ।” नेपाली कांग्रेसबाट निर्वाचित श्रेष्ठले पाँच वर्षमा आफूले उपप्रमुख भएर हाँसिल गरेको अनुभव प्रमुख बन्नका लागि सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी भूभाग भएकाले भूगोलको पूर्ण ज्ञानसहित अबको नेतृत्व मैले गर्न सक्छु ।” सो गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट अन्यको पनि दाबी रहेको छ ।

    खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले प्रमुखमा आफ्नो दाबी प्रष्ट नभएको बताउनुभयो । उहाँले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै आफूले गरेको कामको मूल्याङ्कन पार्टीले गर्नुपर्ने बताउनुभयो । गएको चार वर्षमा नगरपालिकालाई उत्कृष्ट बनाउन उपप्रमुखतर्फबाट आफूले गरेको योगदान नगरवासीलाई छर्लङ्ग रहेको उहाँको भनाइ छ । उहाँ नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुनुहुन्छ ।

    कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले आफूले उपप्रमुखमै दोहो¥याउने चाहना राखेको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकामा पाँच वर्षमा गरेको अनुभवले पुनः एक पटक उपप्रमुखमै भएर काम गर्ने सोचमा छु ।” उहाँ नेकपा (एमाले) बाट उपप्रमुखमा निर्वाचित हुनुहुन्छ ।

    जिल्लाका अधिकांश पालिकाका प्रमुख र अध्यक्ष पुनः दोहो¥याउने चाहनामा हुनुहुन्छ । पार्टीको निर्णय भइनसकेकाले उनीहरु उम्मेदवारीको घोषणा गरेका छैनन् । तर पार्टीमा भित्री रुपमा उनीहरुले लविङ सुरु गरेका छन् । केन्द्रीय र स्थानीयस्तरमा हुने गठबन्धनले पालिकामा प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुङ्गो लाग्ने धेरैको बुझाइ छ । चाहना व्यक्त गरे पनि यसका लागि पार्टीले निर्णय गर्नुपर्ने हुन्छ । पार्टीको निर्णय स्वीकार्ने पक्षमा सबै देखिएका छन् । (रासस)

  • रत्ननगरका किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

    रत्ननगरका किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

    चितवन, ८ फागुन –
    जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ ।

    नगर क्षेत्रमा एक टेलर मलको रु तीन हजारदेखि रु तीन हजार ५०० सम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा रु एक हजार ५०० उपलब्ध गराउने भएको छ । एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन् । एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले रु छ हजार अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताउनुभयो ।

    नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानलाई अनुदानमा गाई दिएका छौँ, पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।” अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको शिकार हुनुपरेको भन्दै अग्र्यानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उहाँको भनाइ छ ।

    नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ ।” नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ । यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ । (रासस)