Category: रत्ननगर

  • टिकौली जङगलमा तीनवटा गाडी ठोक्किएपछि….

    टिकौली जङगलमा तीनवटा गाडी ठोक्किएपछि….

    चितवन,३१ असार
    पुर्व पश्चिम राजमार्गको टिकौलि जंगलमा तिनवटा सवारी साधन एक आपसमा ठोकिदा एक जना घाइते भएका छन्।

    ४६ बर्षिय कालिका नगरपालिका वडा नं ६ घ भएका टेकनाथ वाग्ले घाइते भएका हुन्।घाइतेको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता बिजय पण्डितले जानकारी दिएका छन्।

    पूर्वी चितवनको टाडीबाट भरतपुर तर्फ आउदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नं.को कार र सोही स्थनबाटै आएको ना १७ च ६८०० नं.को कार नारायणगढबाट टाडी जादै गरेको लु २ च ७१०६ नं.को स्कार्पियो हाईस ठोक्किएको थियो ।आइतबार विहान १० बजे तीन वटा सवारी साधन ठोक्किदा ना १७ च ६८०० नं.को कार चालक वाग्ले घाइते भएका हुन् ।

    तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

  • मलमासले देवघाटमा लाग्ने बोलबम मेलालाई प्रभावित बनाउने

    मलमासले देवघाटमा लाग्ने बोलबम मेलालाई प्रभावित बनाउने

    चितवन, ३१ असार
    पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

    देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थी नआउने बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ । गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले आगामी साउन २ गतेबाट मलमास पर्ने भएकाले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने जानकारी दिनुभयो । उहाँले यस वर्ष साउने सङ्क्रान्तिपछिका सोमबार धार्मिकरूपले दर्शनार्थी कम आउने बताउनुभयो ।

    महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरूका लागि उचित समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरू घुम्न र भगवान्को दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामनापूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रूपमा भगवान्को दर्शन र गङ्गा स्नान गर्न सकिने भए पनि मनोकामनापूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।”

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भोलि साउने सङ्क्रान्तिका दिन सोमबार परेकाले त्यस दिनका लागि आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले सङ्क्रान्तिका दिन धेरै भक्तजन आउन सक्ने भएकाले सुरक्षा र अन्य व्यवस्थापनका काम गरिएको जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झन्डै दुई लाखजति दर्शनार्थी देवघाट आउने अनुमान गरिएको बताउनुभयो । साउने सङ्क्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकाले झन्डै ५० हजारजति भक्तजन आउने उहाँको अनुमान छ ।

    चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरू खासै रोक्न जरुरी नभएको बताउनुभयो । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।

  • अर्बिट कलेजले थप्यो चार एकेडेमिक कोर्ष

    अर्बिट कलेजले थप्यो चार एकेडेमिक कोर्ष

    चितवन,२९ असार
    यसै शैक्षिकसत्र देखि अर्बिट कलेजले कक्षा ११ र १२ मा चार वटा उत्कृष्ट संकायका एकेडेमिक कोर्स थपेको छ।

    यसै बर्षदेखि होटल म्यानेसमेन्ट,डिजाइनिङ्ग र कानुन बिषयको कोर्स थपेको हो।चार संकाय मध्य राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ मा इन्टेरियर डिजाइनिङ्ग र फेसन डिजाइनिङ्ग बिषयमा नेपाल मै पहिलो पटक यस कलेजले सम्बन्धन प्राप्त गरेको कलेजका अध्यक्ष दिपेन्द्र राज ढकालले जानकारी दिए।

    यस अघि अर्बिट कलेजमा बायो साइन्स,कम्प्युटर साइन्स र म्यानेजमेन्ट बिषय पढाई हुदै आइरहेको थियो।

    स्वदेश वा बिदेश जहाँ रहेर पनि इन्टेरियर डिजाइन वा फेसन डिजाइनको राम्रो स्कोप भएको बुझेर नै यि कोर्सहरुको सम्बन्धन लिएको अध्यक्ष ढकाल बताउछन्।

  • चितवनमा एक लाख ६६ हजार जनङ्ख्या बाढीपहिरोबाट प्रभावित हुने

    चितवनमा एक लाख ६६ हजार जनङ्ख्या बाढीपहिरोबाट प्रभावित हुने

    चितवन, २८ असार
    जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताउनुभयो । महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ ।

    यस्तै कालिका नगरपालिकाका दुई हजार ५० घरधुरीका छ हजार, रत्ननगर नगरपालिकाका पाँच हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने जनाइएको छ । खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुने छन् ।

    यस्तै पहिरोका कारण एक हजार आठ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपािलका रहेको छ । इच्छाकामनाका एक हजार दुई सय ५६ घरका छ हजार दुई सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

    भरतपुरका तीत सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ । जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतङ्क आदि प्रकोप समस्याका रुपमा रहेका छन् ।

    सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ ।” अन्य सामाजिक सङ्घ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

    बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ । यस्तै अन्य पालिकामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई समेत सुरक्षित क्षेत्रको पहिचान गरी विपद्बाट बच्न सजग रहन आह्वान गरिएको उहाँले बताउनुभयो । विपद्बाट बच्न पूर्व तयारीका लागि सातै पालिकामा सूचना गरिएको कार्यालयले जनाएको छ । (रासस)

  • नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने

    नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने

    चितवन, २८ असार
    लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन् । लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ ।

    लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाका इन्जिनियर कुलराज चालिसेले जानकारी दिनुभयो । पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ । अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन हुने उहाँले बताउनुभयो । चालिसेले भन्नुभयो, “असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ । त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका छाँै ।” रु २६ करोडको ठेक्का सम्झौतामा भारतीय कम्पनीले मेसिन जडानको काम गरिरहेकाले केही दिन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “साउन पहिलो साताभित्र पानी दिने गरी काम गरिहेका छौँ ।”

    पुराना मेसीन बिगँ्रदै जाँदा क्षमताअनुसार पानी तान्न नसकेकाले नयाँ मेसीन जडानको काम गरिएको हो । चालीस वर्ष पुराना मेसिनका कारण पानी तान्दातान्दै समेत बिग्रने अवस्था आउने गरेकाले यसलाई परिवर्तन गरिएको हो । नारायणी लिफ्ट सिँचाइ सञ्चालनमा आएसँगै नारायणपुर, कैलाशनगर, पारसनगर, फूलबारी, शिवनगर, गितानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुने गर्दछ । विसं २०४० मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट चार हजार सात सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्दछ । नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ । जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका छन् । पानी समयमा छोड्न नसक्दा ती कृषक मर्कामा परेका छन् ।

    नारायणी लिफ्टमा रहेका चार पम्पमध्ये दुई वटाबाट दुई घनमिटर प्रतिसेकेण्ड र दुईवटा पम्पबाट चार घनमिटर प्रतिसेकेण्ड पानी तान्ने क्षमता रहेको छ । यस्तै खगेरी सिँचाइबाट असार १५ गतेदेखि नहरमा पानी छोडिएको छ । अहिले यस नहरको दुई क्यानलबाट पानीको पठाइएको उहाँले जानकारी दिनुभयो । लामो समय खडेरी पर्दा खोलामा पानी नभएका कारण सो नहरबाट समेत क्षमताअनुसारको पानी पठाउन नसकिएको कार्यालयले जनाएको छ । विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई सङ्कलन गरी नहरमा पठाइने गरिएको छ । यसबाट १५ हजार परिवार लाभान्वित भएका छन् । (रासस)

  • विवेकशील साझा भरतपुर महानगरका नेता प्रबिन काफ्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

    विवेकशील साझा भरतपुर महानगरका नेता प्रबिन काफ्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

    चितवन,२७ असार
    विवेकशील साझा भरतपुर महानगरका नेता प्रबिन काफ्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।२८ वर्षीय प्रबिन काफ्ले विवेकशील साझा पार्टीबाट स्थानीय निर्वाचन २०७९ मा भरतपुर महानगरपालिका प्रमुखका रुपमा उम्मेदवार समेत बनेका बनेका थिए ।

    विवेकशिल साझा पार्टी चितवनका जिल्ला संयोजकका रुपमा सक्रिय भएर काम गरेका थिए।

    पेसाले इञ्जिनियर रहेका काफ्लेले भरतपुरका २९ वटै वडाको वस्तुस्थिति बुझेका छन् । २०७९ साल चैत १ देखि चैत १६ गतेसम्म १५ दिन उनी भरतपुर यात्रामा निस्केका थिए । मंगलवार उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन् :-

    “गन्तब्य नजिकको तर कठिन यात्रा अब रास्वपाबाट
    बेस क्याम्प सम्मको यात्रा विवेकशील साझा बाट गरें, अब सगरमाथाकै आरोहण भने रास्वपा बाट गर्ने निधो गरेको छु। आज म साधारण सदस्यका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काम गर्न निकै उत्साहित छु।
    हजुरहरुको मायाँ, आशिर्वादको अपेक्षा गर्दछु। गाली पनि स्वीकार्य छ।
    रा स्व पा लाइ विकल्प सहितको नयाँ राजनीतिक दल बनाउन नयाँ विचार, नयाँ संगठन, नयाँ शैलीमा ठेल्नुपर्ने छ, अब यसैमा जोड गर्ने हो।

  • प्रेस चौतारीको भवन निर्माणका लागि पत्रकार नवराज ढकालले गरे ५० हजार सहयोग

    प्रेस चौतारीको भवन निर्माणका लागि पत्रकार नवराज ढकालले गरे ५० हजार सहयोग

    २७, असार, चितवन
    चितवनको भरतपुरमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि पत्रकार नवराज ढकालले ५० हजार सहयोग गरेका छन् ।

    भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको नेपालकै पहिलो प्रेस चौतारीको भवनका लागि आज विहान पत्रकार ढकालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ५० हजार सहयोग हस्तान्तरण गरे । गत बैशाख २२ गते प्रेस चौतारी चितवनको भवन शिलान्यास समारोहमा ढकालले ५० हजार दिने घोषणा गरेका थिए ।

    चितवनमा ‘राजधानी आस्था’ पत्रिका प्रकाशन गर्दै आएका ढकाल प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष हुन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढकालले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशकै पहिलो भवन बन्दै गरेकोले सो भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘आर्थिक रुपमा सबैलाई यतिबेला गाह्रो छ, मेरो पनि बैंकमा ऋण छ, पैसा धेरै भएर सहयोग गरेको हैन, मन ठूलो बनाउँनुपर्छ । सबैले साथ सहयोग गर्दा हाम्रो उद्देश्य पुरा हुन्छ । जति सकिन्छ आफ्नो गक्ष अनुसार सहयोग गरौं ।’ पत्रकार ढकालले आगामी दिनमा पनि अझै आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने वचन दिए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन अग्रज पत्रकार ढकालले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताउँदै संगठनका हरेक गतिविधीमा साथ र सहयोग गर्दै आएको बताए । उनले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गरे ।

    समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । १ बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

  • चितवनका उद्योगी व्यवसायी विदेश पलायन हुँदै

    चितवनका उद्योगी व्यवसायी विदेश पलायन हुँदै

    चितवन, २६ असार
    कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् ।

    कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएको उनीहरूको भनाइ थियो । विगत वर्षदेखि व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय अहिले बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देखिन्छ ।

    उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात व्यवसायी व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् । यहाँको व्यवसाय बन्द गरेर उनीहरु विजनेश भिसामा विदेश पलायन भएको उहाँले बताउनुभयो । अहिले १२ उद्योगी व्यवसायीले औपचारिकरुपमा फार्म बन्द गर्नका लागि निवेदन दिएका छन् ।
    उहाँले भन्नुभयो “आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण नयाँ काम गर्ने वा पुरानै कामलाई निरन्तरता दिन सक्ने स्थिति छैन ।” मुख्य बजार क्षेत्रमा समस्या कम भए पनि बजार विस्तार हुँदै गएका नयाँ ठाउँमा समस्या बढ्दो मात्रामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । सरकारले मौद्रिक नीतिलाई खुकुलो बनाउन नसक्दा व्यवसायी विदेश पलायन हुन थालेका हुन् ।

    उहाँले थप्नुभयो,“ठूला उद्योग तथा व्यवसायी अस्तित्वका कारण सञ्चालनमा आएका छन् । सानाको अवस्था नाजुक बन्दै गएको छ ।” सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् । क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसाय सञ्चालनमा समस्या पर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    जिल्ला उद्योग वाणिज्य सङ्घमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयानीय बन्दै गएको छ । अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यन्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग त्यसको प्रत्यक्ष मारमा परेका छन् ।

    चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताउनुभयो । यो क्रम बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । सङ्घमा आवद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उहाँको भनाइ थियो ।अध्यक्ष कँडेलले भन्नुभयो “उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ ।” उहाँले अगाडि थप्नुभयो “बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।”
    उद्योगी तथा व्यवसायी आफ्ना उद्योग तथा व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै अध्यक्ष कँडेललले यसलाई रोक्न राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताउनुभयो । बैंकहरुले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायत काम गर्न जरुरी रहेको उहाँको भनाइ थियो । (रासस)

  • चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

    चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

    चितवन,२६ असार
    नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताउनुभयो । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

    चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताउनुभयो । उहाँका अनुसार अहिले उत्पादनले गोदाम भरिएको बताउनुभयो । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौँ ।”

    एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर मिल्कको रु चार सयदेखि पाँच सयको बीचमा मूल्य पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उहाँले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताउनुभयो । “जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो”, उहाँले भन्नुभयो ।

    विसं २०७२ को भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । “यहाँ प्रयोग भएको मेसिन जर्मन प्रविधिको हो । एउटा सामान बिग्रेपनि जर्मनबाट ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताउनुभयो । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो । जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताउनुभयो । उहाँले किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको जानकारी दिनुभयो । (रासस)

  • चितवनमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

    चितवनमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

    रत्ननगर, २६ असार
    पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्याङ्कका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन् ।

    स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका सेवा लिएका केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले बताउनुभयो । केन्द्रबाट ५० हजार आठ सय ३३ जनाले बहिरङ्ग चिकित्सा, नौ हजार छ सय ६३ जनाले पूर्वकर्म÷पञ्चकर्म, छ हजार छ सय ८० जनाले ज्येष्ठ नागरिक सेवा, छ हजार तीन सय ९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा, पाँच हजार एक सय ३७ जनाले योग सेवा, दुई हजार आठ सय ५९ जनाले ल्याब सेवा, एक हजार २९ जनाले स्तनपायी आमा तथा शिशु सेवा, चार सय ९१ जनाले अकुपन्चर सेवा, दुई सय ३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको डा अधिकारीले बताउनुभयो ।

    हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उहाँको भनाइ छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम करिब २० प्रतिशत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

    चालु आव २०७९÷८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको भन्दै डा अधिकारीले बागमती प्रदेश सरकारले आगामी आव २०८०÷८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरको जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पतालको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा रहेको खाली जग्गामा आयुर्वेद अस्पतालको भवन बनिरहेको छ । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख डा अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद चिकित्सा कोरोना भाइरसको प्रकोपपछि अझ प्रभावकारी बनेको बताउनुभयो । “आयुर्वेदलाई पहिला कागजमा औषधि पोका पारेर दिने भन्ने बुझिन्थ्यो”, उहाँले भन्नुभयो, “तर आयुर्वेद त्यत्तिमा मात्रै सीमित होइन, यसले विश्वव्यापी प्रभाव जमाइसकेको छ ।” रत्ननगरमा सञ्चालनमा आएको आयुर्वेद स्वास्थ्य केन्द्रमा नागरिकको आकर्षण बढ्दै गइरहेको भन्दै उहाँले धेरै नागरिकले लाभ लिनसक्ने गरी सेवा विस्तार गरिँदै आएको बताउनुभयो ।
    केन्द्रका सूचना अधिकारी डा देवेन्द्रकुमार यादवले आयुर्वेदिक औषधिको सही तरिकाले सेवन नगरे त्यसले असर गर्ने बताउनुभयो । आयुर्वेद चिकित्साबारे आम जनतालाई बुझाउनु आवश्यक रहेको यादवको भनाइ छ । आयुर्वेद मूल उपचार पद्धति भएको जनाउँदै उहाँले आधुनिक चिकित्सा पद्धतिको विकाससमेत आयुर्वेदबाट भएको बताउनुभयो । (रासस)