Category: रत्ननगर

  • बेसाहारा बालबालिका भर्ना गर्दैनन् चितवनका सामुदायिक विद्यालय

    बेसाहारा बालबालिका भर्ना गर्दैनन् चितवनका सामुदायिक विद्यालय

    –सुरेन कुँवर
    रत्ननगर, ४ असार
    उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको भनाइ गर्न नमान्ने गरेको बताउनुभयो । “उद्धार गरी ल्याएर बालगृहमा राखिएका बालबालिकाहरुलाई नारायणगढका सामुदायिक विद्यालयले भर्ना गर्नै मान्दैनन्” उहाँले भन्नुभयो, “यस्ता खालका विद्यार्थी हामी पढाउँदैनौँ भनेर विद्यालयका प्रधानाध्यापकले भन्ने गरेका छन् ।” बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दियालोले उद्धार गरेर बालगृहमा राखिएका बालबालिकालाई विद्यालय भर्ना गर्नै सकस हुने गरेको उहाँको गुनासो थियो ।

    “जोखिममा रहेका बालबालिकाको खबर दिन दश नौ आठमा फोन आउँछ, हामीले तत्काल उद्धारका लागि काम गर्छौं” उहाँले भन्नुभयो, “भरतपुर क्षेत्रमा रहेका बालगृहमा समेत त्यस्ता बालबालिका राख्न मान्दैनन्, हामीकहाँ क्षमताअनुसार बालबालिका छन् । अरु राख्ने अवस्था छैन भनेर भन्छन्”, जोखिममा रहेका बालबालिका उद्धार गरेपछि भरतपुरमा धेरै बालगृहमा राख्न नमान्ने गरेको भन्दै उहाँले केही दिन राखे पनि पुनः सकेनौँ भनेर फिर्ता गर्ने गरेका गुनासो गर्नुभयो । “हामीले उद्धार गरेका बालबालिकाको मनोसामाजिक परामर्श गर्छौँ, उनीहरुको परिवार खोज्छौँ । सकेसम्म पारीवारिक पुनर्मिलन गराउँछौँ”, उहाँले भन्नुभयो, “पारिवारिक पुनर्मिलन गराउन गाह्रो भएका बालबालिकालाई हामीले बालगृहमा राख्ने गरेका छौँ ।”

    दियालो परिवारमा रहेको बाल्प हेल्पलाइनले चितवनसँगै नवलपुुर, तनहुँ, लमजुङ, गोरखा र धादिङ हेर्ने गरेको कार्यकारी निर्देशक शिल्पकारले बताउनुभयो । बाल हेल्प लाइनको ‘दश नौ आठ’ नम्बरमा देशभरबाट निःशुल्क फोन गरेर जोखिममा परेका बालबालिकाको जानकारी दिन सकिने उहाँको भनाइ छ । दियालो परिवारमा रहेको बाल हेल्पलाइनबाट यस वर्ष ५६ जना बालबालिकाको उद्धार गरिएको भन्दै उहाँले ४३ जना बालबालिका खोजतलासबाट फेला परेका जानकारी दिनुभयो ।

    दियालोले यस वर्षको जेठ मसान्तसम्म तीन सय छ जना बालबालिकालाई मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्दा ३३३ परिवारलाईसमेत मनोविमर्श सेवा प्रदान गरेको उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो । छत्तीस जना बालबालिकाको पारीवारिक पुनर्मिलन, २१ जनालाई स्थायी बालगृहमा पुनःस्थापना गरिएको उहाँको भनाइ छ ।

    संस्थाले तीन सय छ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान, १९ जनाको स्वास्थ्योपचार, १७ जनालाई खाद्यान्न सहयोग, ५४ जनालाई आपतकालीन आश्रय प्रदान गर्नुका साथै सचेतनामूलक कार्यक्रम, श्रम शोषण हिंसा दुव्र्यवहारबाट उद्धार, सूचनामूलक सामग्री प्रचारप्रसार गरेको उहाँले बताउनुभयो ।

    दियालो परिवार नारायणगढले आइतबार आयोजना गरेको कार्यक्रममा भरतपुर–१ की वडासदस्य राममाया पियाले सामुदायिक विद्यालयले बालबालिका पढाउँदिन भन्न नपाउने भन्दै कसैले भर्ना गर्न नमाने तुरुन्त वडामा खबर गर्न आग्रह गर्नुभयो । जोखिममा रहेका बालबालिका उद्धारका लागि आफू हरक्षण तयारी अवस्थामा रहने जनाउँदै पछिल्लो समय घरेलु बालश्रम अन्त्यजस्तै भएको उहाँले बताउनुभयो । अझै पनि सार्वजनिक ठाउँमा बालश्रम भेटिने गरेको उल्लेख गर्दै उहाँले सबै प्रकारका बालश्रमको अन्त्य गर्न राज्यका साथै सङ्घसंस्थाको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

    बाल अधिकारकर्मी रामचन्द्र आचार्यले अभिभावक भएका बालबालिकालाई बालगृहमा राख्न नमिल्ने बताउनुभयो । अभिभावक, नजिकका नातेदार नभएको अवस्थाका बालबालिकालाई मात्रै बालगृहमा राख्न पाइने उल्लेख गर्दै १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाइने बताउनुभयो । चौधदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई दैनिक छ घण्टाभन्दा बढी श्रममा लगाउन नपाइने, तीन घण्टा काम गरेपछि आधा घण्टा विश्राम दिनुपर्ने, हप्तामा छ दिनमात्रै काम गराउनुपर्ने तर, पारिश्रमिक वयस्कलाई सरह दिनुपर्ने गरी कानुन बनेको उहाँको भनाइ छ ।

    कार्यक्रममा चितवन कवाड व्यवसायी सङ्घका अध्यक्ष नारायणसिं गुरुङले बालबालिका श्रममा प्रयोग भइरहेका भन्दै पहिले उनीहरुको परिवारमा रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो । त्यस्तै गैरसरकारी संस्था महासङ्घ नेपाल चितवनकी अध्यक्ष पार्वती घिमिरेले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताउनुभयो । संस्थाका पूर्वअध्यक्ष राजेन्द्रकुमार पियाले संस्थाले जोखिममा रहेका बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा काम गरिरहेको भन्दै राज्यको विशेष भूमिका भएमात्रै बालश्रम न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

    कार्यक्रमका अध्यक्ष एवं दियालो परिवारका अध्यक्ष ईश्वरराज पण्डितले राज्यले बालबालिकाको जिम्मा लिनुपर्ने बताउनुभयो । बालबालिकालाई दया र मायाको भावले हेर्नेभन्दा पनि संविधानले प्रदान गरेको अधिकार दिनुपर्ने पण्डितले बताउनुभयो । अप्ठ्यारोमा रहेका बालबालिकालाई जोखिममुक्त बनाउन सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । – (रासस)

  • ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

    ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

    चितवन, ३ असार

    पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ । वाल्मीकि साहित्य सदनद्वारा शनिवार आयोजित कार्यक्रममा पूर्वी चितवनमा बस्ती बसाल्नेदेखि विकास निर्माणमा विशिष्ट योगदान पुर्याउनुहुने १८ व्यक्तित्वको योगदानका बारेमा चर्चा गरियो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेलले भूराजनीति समाजसेवा भएकाले जनप्रतिनिधिले राज्यबाट सेवा–सुविधा लिनु उचित नहुने बताउनुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले पुर्खाहरूको निःस्वार्थता, अनुशासन र प्रेरणाबाट पूर्वी चितवनको विकास सम्भव भएको उल्लेख गर्दै भाषा, कला, संस्कृति, साहित्यको उन्नयनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री सावित्रीदेवी बोगटीले विमोचित पुस्तकले चितवनको इतिहासलाई उजागर गरेको बताउनुभयो । पुस्तकका लेखक राष्ट्रिय समाचार समितिका सञ्चालक समितिको सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले अग्रजहरूको योगदान इतिहासको दस्तावेज भएकाले यसलाई भावी पुस्तासम्म पुर्याउन पुस्तकहरूको प्रकाशन गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

    पुस्तकमाथि समालोचना गर्दै चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकले पूर्वी चितवनको इतिहासलाई जीवन्त राखेको र यस पुस्तकमा छुटेका थुप्रै व्यक्तित्वहरूलाई समेट्न अर्काे संस्करण प्रकाशन गर्न सुझाव दिनुभयो ।

    वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वी चितवनको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरूका बारेमा चर्चा गर्नुभयो ।

    पुस्तकमा पूर्वी चितवनमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा योगदान पुर्याउनुभएका १८ जना अग्रजहरूको योगदानको चर्चा गरिएको छ । पूर्वी चितवनमा बस्ती बसाउनेदेखि विभिन्न राजनीतिक आन्दोलनमा योगदान पुर्याउनेहरूका बारेमा पुस्तकमा उल्लेख छ । पुस्तक एक सय ४० पृष्ठको रहेको छ । – (रासस)

  • गर्मी अत्याधिक बढेपछि रत्ननगरका विद्यालयहरु थप दुई दिन बन्द

    गर्मी अत्याधिक बढेपछि रत्ननगरका विद्यालयहरु थप दुई दिन बन्द

    चितवन जेठ २६
    चितवनमा गर्मी कम नभए पछि रत्ननगर नगरपालिकाले नगरभित्रका सामुदायिक, संस्थागत विद्यालय र मन्टेश्वरीहरु थप दुई दिन बन्द गरेको छ ।

    नगरपालिका अधिकृत राजेन्द्रप्रसाद वरालका अनुुसार आइतबार र सोमबार दुई दिन बर्षे विदा कट्टी हुने गरी गर्मी विदा गरिएको उनले बताए ।

    यसअघि नगरपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    नगरपालिकाले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

  • चितवनमा कुन पालिकाले कति पाए बजेट ?

    चितवनमा कुन पालिकाले कति पाए बजेट ?

    चितवन, जेठ १७ –
    संघीय सरकारबाट चितवनका सात पालिकाले साढे चार करोड बढी अनुदान पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात पालिकालाई ४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ अनुदान दिने भएको हो ।

    जसमा भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख रुपैयाँ विशेष अनुदान पाएको छ ।

    कालिका नगरपालिकाले संघीय सरकारबाट जम्मा ४२ लाख ७० हजार अनुदान पाउने भएको छ । कालिकाले समानीकरण अनुदानमा १३ लाख ४९ हजार, ससर्त अनुदानमा २६ लाख ९६ हजार, विशेष अनुदानमा एक लाख ५० हजार र समपूरक अनुदानमा ७५ हजार रूपैयाँ अनुदान पाउने भएको छ ।

    खैरहनी नगरपालिकाले पनि ४२ करोड ७० लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १५ करोड ७६ लाख समानीकरण, २४ लाख १४ हजार सशर्त, २ करोड विशेष र ८० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।

    माडी नगरपालिकाले ४७ लाख ५१ हजार अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ । माडी नगरपालिकाले समानीकरण अनुदानमा १२ लाख १५ हजार, ससर्त अनुदानमा ३३ लाख छ हजार, विशेष अनुदानमा एक लाख ८० हजार र समपूरक अनुदानमा ५० हजार रूपैयाँ संघीय सरकारबाट पाउने भएको छ ।

    रत्ननगर नगरपालिकाले ५७ करोड १४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १८ करोड १४ लाख समानीकरण, ३६ करोड २० लाख सशर्त, १ करोड ६० लाख विशेष र १ करोड २० लाख समपुरक अनुदान रहेको छ ।

    राप्ती नगरपालिकाले ५३ लाख ५९ हजार अनुदान पाउने भएको छ । संघीय सरकारबाट राप्ती नगरपालिकाले समानीकरण अनुदानमा १६ लाख ४ हजार, ससर्त अनुदानमा ३४ लाख ७५ हजार, विशेष अनुदानमा दुई लाख र समपूरक अनुदानमा ८० हजार रूपैयाँ पाउने भएको छ ।

    इच्छाकामना गाउँपालिकाले ३९ लाख नौ हजार रूपैयाँ अनुदान पाउने भएको छ । संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि इच्छाकामनाले समानीकरणमा ९ लाख ८७ हजार, ससर्त अनुदानमा २६ लाख ७ हजार, विशेष अनुदानमा एक लाख ५० हजार, समपूरक अनुदानमा एक लाख ६५ हजार पाउने भएको छ ।

  • बेस्ट डेस्टिनेशनद्वारा मोहना विद्यालयमा पोसाक सहयोग

    बेस्ट डेस्टिनेशनद्वारा मोहना विद्यालयमा पोसाक सहयोग

    चितवन, जेठ १४-
    बेस्ट डेस्टिनेसनले रत्ननगर नगरपालिका ९ मा रहेको श्री मोहना माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पोसाक सहयोग गरेको छ ।

    सामाजिक उत्तरदयित्व अन्तर्गत बेस्ट डेस्टिनेसनले विभिन्न सामाजिक क्षेत्रमा अग्रसर रहेर विद्यार्थीहरुलाई सहयोग छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

    पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान र अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गका सम्पूर्ण कामहरु आफूहरुले गर्ने प्रबन्ध निर्देशक कुँवरले बताए ।

    बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै आईटी सम्बन्धि विभिन्न कक्षा एवम् विभिन्न तहका कम्प्युटर कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

  • जलकुम्भीले ढाकियो ताल, फोटो खिच्न र टिकटक बनाउन आन्तरिक पर्यटकको भिड

    जलकुम्भीले ढाकियो ताल, फोटो खिच्न र टिकटक बनाउन आन्तरिक पर्यटकको भिड

    १३ जेठ, भरतपुर ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ ।

    पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।

    भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भीमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताए । ‘दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो’, उनले भने ।

    पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ थियो । उनका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । ‘यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि’, उनले भने ।

    अध्यक्ष चापागाईँका अनुसार वन प्रवेश गरेको एक जनासँग २५ रुपैयाँ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उनले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए । उनले पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको बताए ।

    दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए । ‘पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फुल पहिले पनि फुल्थ्यो । अहिले फुल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ’, उनले भने । जलकुम्भीले ताललाई विनास गरेको उनको भनाइ छ । ‘अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ’, न्यौपानेले भने, ‘हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ ।’

    बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फुल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताए । ‘प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ’, उनले भने । जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनले बताए ।

    चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए । उनले भने, ‘यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।’

    बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिए । ‘मान्छे प्रकृतिमा रमाउन चाहान्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ’, उनले भने ।

    जलकुम्भीको फुल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो । उनका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताए ।

    निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने बताए । ‘डढेलो लाग्ने ठाँउमा जलकुम्भी बढी फैलन्छ र ताल तलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालीन रुपमा असर गर्छ, बेलेमा सबैको पहलमा समाधनतर्फ लाग्नुपर्छ’, अधिकृत घिमिरेले भने ।

    निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताए । उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोत समेत भएको जानकारी दिए । ‘यहाँका ताल अनुसन्धान केन्द्र (रिचार्ज सेन्टर) हुन् । यिनको संरक्षण विना सिमसार जोगाउने कुरा सम्भव हुँदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालीन रुपमा यसले वातावरण र तालतलैयामा असर गर्छ’, समितिका अध्यक्ष ढुङ्गानाले भने । उनले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्राउन अन्य दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताइन् । उनले यसको दीर्घकालिन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

    राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने बताए ।

    घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे । पत्रकार रमेशकुमार पौडेलले समस्या ल्याउने बनस्पतिलाई समस्याका रुपमा हेर्नुपर्ने भन्दै पर्यटकीय आकर्षणका लागि अन्य विकल्प खोजी जलकुम्भीको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए ।

  • बेस्ट डेस्टिनेशनले गर्‍यो चितवनको टाँडीमा सेमिनार, चनौलीपछि टाँडीमा प्रभुत्व जमाउँदै

    बेस्ट डेस्टिनेशनले गर्‍यो चितवनको टाँडीमा सेमिनार, चनौलीपछि टाँडीमा प्रभुत्व जमाउँदै

    चितवन, जेठ ९ –
    चितवनको बेस्ट डेस्टिनेशन एजुकेशनलले पूर्वि चितवनको टाँडीमा एजुकेशन सेमिनार सम्पन्न गरेको छ ।

    बेस्ट एजुकेशनको टाँडी शाखाले आज सौराहा चोकको गंगोत्री होटल हलमा एक कार्यक्रम गरी उक्त सेमिनार सम्पन्न गरेको हो । सेमिनारमा १५० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक संजय कुँवरले जानकारी दिए ।

    सेमिनारमा उच्च शिक्षा अध्ययनका लागि जापान र अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई ती देशमा कसरी एप्लाई गर्ने ? डकुमेन्ट केके चाहिन्छ ? त्यहाँ पुगेपछि जागिरको अवसर, पिआर पाउने प्रक्रिया लगायतका कुराहरुका बारेमा जानकारी गराइएको थियो ।

    साथै उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम, लक्की ‘ड्र’ का विभिन्न खेल, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम समेत गरिएको थियो ।

    पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान र अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गका सम्पूर्ण कामहरु आफूहरुले गर्ने प्रबन्ध निर्देशक कुँवरले बताए ।

    बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै आईटी सम्बन्धि विभिन्न कक्षा एवम् विभिन्न तहका कम्प्युटर कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

  • अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त

    अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त

    चितवन, २१ वैशाख-
    सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो ।

    घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिस पक्राउ परिसकेको छैन । अनुसन्धान भइरहेकाले थप केही भन्न मिल्दैन ।” निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरी सहयोगसमेत लिइरहेको छ । तिवारीले अभियुक्त पक्राउ पर्नेमा ढुक्क रहेको भन्दै यस्ता आपराधिक घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गरिने बताउनुभयो ।

    व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहेको भए पनि नतिजा नआएसम्म भन्ने अवस्था नरहेको बताउनुभयो । हात्तीको अवस्था सुधार हुँदै गएको छ । सुँडले घाँस खान नमिलेपछि माउतेले हातले खुवाउँदै आएको छ भने पानी हात्तीले आफँ खाएको उहाँले जानकारी दिनुभयो । खतिवडाले भन्नुभयो, “पानी खान सकेको छ । घाँस टिप्न सकेको छैन । घाउ ७० प्रतिशत ठिक भयो ।” पशु प्राविधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस

  • चितवन राष्ट्रिय निकुञ्जमा  हालसम्मकै धेरै पर्यटक भित्रिए

    चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

    चितवन बैशाख १९

    चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार सात सय आठ नेपाली, ३९ हजार चार सय पाँच विदेशी, २२ हजार तीन सय ९० सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा रु १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ ।

    आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको छ । यसैगरी आव २०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको छ ।

    तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । जसले रु दुई लाख एक हजार चार सय २१ राजस्व बुझाएका थिए ।

    पर्यटकको सङ्ख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको रु २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । तिवारीले भन्नुभयो, “पहिले–पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजस्व बढी हुन्थ्यो, अहिले नेपाली पर्यटक बढी हुने भएकाले राजस्व कम पर्यटकको सङ्ख्या बढेको छ ।”

    सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताउनुभयो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भन्दै उहाँले निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने बताउनुभयो । मेघौलीलाई बागमती प्रदेशको र पटिहानीलाई सङ्घको पर्यटकीय गन्तव्य घोषणा गरेर पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको ध्यान गएको उहाँको भनाइ छ ।

    रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधिकरण गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने बताउनुभयो । अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उहाँले थप पर्यटक भित्र्याउन व्यवसायीले समेत योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउन गरिने कार्यक्रममा नगरपालिका सधैँ सहकार्य गर्न तयार छ ।”

    चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो ।

    हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् ।

  • निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि मोटरसाइकल र्‍याली

    निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि मोटरसाइकल र्‍याली

    चितवन,बैशाख १८
    चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् ।

    अभियानले आज माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म र्‍याली प्रदर्शन गरेको हो । निकुञ्जका जनावरहरुले समेत धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर टाँस गर्दै धुलोरहित सडक निर्माणको दबाबका लागि र्याली निकालिएको थियो।

    र्‍याली प्रदर्शनमा सहभागीहरुले “वायु प्रदुषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं”, “बन्यजन्तु र मानब दुबैको हितकोलागी धुलो रहित बाटो आजको आबस्यकता”,Full of Dust, We are Lost”, “Much Pollution not Solution” र “Reduce Pollution, Save Wildlife, Secure our Future” लेखिएकाका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    समृद्धिका लागि युवा अभियान माडीले आह्वान गरेको दबाबमूलक कार्यक्रममा स्वतस्फूर्त उल्लेख्य युवा र माडीबासीहरु सहभागी भएका थिए ।

    र्‍यालीको गन्तव्यबिन्दुका रुपमा रहेको कसराचोकमा सम्पन्न कोणसभामा बोल्दै एक अभियन्ता रामचन्द्र लम्सालले निकुञ्जभित्र बाटोमा उड्ने धुलोले जनावरहरुलाई समेत असर गरेको बिषय अन्तर्राष्ट्रिय र राष्ट्रिय चासो एवं चिन्ताको बिषय रहेकोले दबाबस्वरुप सो र्याली निकालिएको बताउनुभयो ।