Blog
-

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ
काठमाडौँ, ६ असोजःप्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुर गढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर तथा रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “हिराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्की भित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुई जनालाई पक्राउ गरिएको हो ।”हिराबहादुर मगरलाई हिजो र लक्ष्मण श्रेष्ठलाई आज पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले पेस्तोल सात थान, म्याग्जिन ६ थान, एसएलआर राईफलमा प्रयोग हुने गोली ३३ राउण्ड, ‘वाकीटकी ह्याण्ड सेट’को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताउनुभयो ।फेला परेको उक्त हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।— -

कारागारबाट भागेका दुई विदेशी पक्राउ
काठमाडौँ, ६ असोजः
बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बालयौन दुराचार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबरजस्ती करणी मुद्दामा काठमाडौमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले माइकल जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारमा र जेसन जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको जानकारी दिनुभयो ।
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका दुवै जनालाई ब्यूरोको टोलीले आज काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको उहाँले बताउनुभयो ।
— -

चितवनमा १८५ करोड लगानीमा खुल्यो होटल र सपिङ स्टोर
चितवन, ६ असोज :
चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् ।चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको छ । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले भवन र होटलमा गरी कुल रु एक अर्ब ६० करोड र सपिङ स्टोर ‘सेल्सबेरी’मा रु २५ करोड लगानी रहेको बताउनुभयो ।
उहाँका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अमेरिका, भारत, नेपाललगायत विभिन्न देशमा चेन होटल सञ्चालन गरेको लड्र्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “होटलमा ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्विट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा रहेका छन् ।” होटल शुभारम्भका अवसरमा सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो, “रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।” भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
कम्प्लेक्सको तीनवटा तलामा सेल्सबेरीको ३८औँ शाखा सञ्चालनमा आएको भन्दै उहाँले भन्नुभयो, “ग्रोसरी, हाउसवायर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सबेरीमा रहेका छन् ।” कपडा, फर्निचरलगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाइ थियो ।
भवनको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिएको भन्दै उहाँले जहाँ चारपाङ्ग्रे (कार) ८० वटा र दुईपाङ्ग्रे (मोटरसाइकल स्कुटर) २०० वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताउनुभयो । यहाँका स्थानीय १८ जना व्यवसायीको लगानी रहेको यो व्यवसायमा लक्ष्मी सनराइज बैङ्कसँग सहकार्य गरिएको छ ।






