Blog

  • दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

    दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

    नेपालगञ्ज, ५ असोजः
    नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

    नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का अध्यक्ष मोहम्मद अय्युब सिद्दिकीले जानकारी दिनुभयो ।

    एक जनालाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अर्का एक बोरा बोकेका व्यक्ति साथीको अवस्था बुझ्न आएको अवस्थामा उनलाई पनि पक्रेर प्रहरीलाई बुझाइएको उहाँले बताउनुभयो ।

    ती व्यक्तिले बोकेको बोरामा दुई हजार ९६ थान गोलीका खोका र केही औजार भेटिएका वडाध्यक्ष सिद्दिकीले जानकारी दिनुभयो । स्थानीयले नियन्त्रणमा लिएका दुवै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
    पक्राउ परेकामध्ये एक जना बर्दिया र अर्को भारत बाबागञ्जको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले स्थानीयले नियन्त्रणमा लिएर बुझाएका चोर र उनीहरूबाट बरामद भएका गोलीका खोकाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

    यसअघि यहाँ चोरी गर्ने चेतावनी दिँदै त्यसअघि विद्युत् पोलमा पर्चा टाँसिएको भेटिएको थियो । यहाँ स्थानीयवासीले टोलमा रातभरि नियमित गस्ती गर्दै आएका छन् ।

  • काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै

    काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै

    ५ असोज, काठमाडौं ।
    काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।

    मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

    विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले गराएका हुन् ।

    पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ ।

  • तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

    तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

    काठमाडौँ, ५ असोजः 
    चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

    विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिनुभयो । सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो ।

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन–नारायणघाट सडकखण्डमा हजाराँै यात्रु अलपत्र परेका थिए ।

    विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन् ।

    एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ ।

  • विद्युत् बक्यौता उठाउने मन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य

    विद्युत् बक्यौता उठाउने मन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य

    काठमाडौं, असोज ५ –
    अर्बौं बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ ।

    कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् वक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

    उनका अनुसार सोमबार/मंगलबार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताएका छन् ।

    ‘बक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यानवयन गर्छौं । विद्युत् प्राधिकरणको मन्त्रिज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौं,’ शाक्यले भने, ‘बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सिमै बोर्ड बैठक बस्छ ।’

    बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत उनले बताए । कुलनमान नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत् बक्यौता उठाउन भनेर तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए ।

    तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युत्को जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।

    उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत् प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।

  • काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

    काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

    काठमाडौं, असोज ५ –
    काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

    काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

    मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

  • विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने

    विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने

    काठमाडौँ, असोज ५  –
    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो ।

    यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए ।

    ‘निर्वाचनमा भाग लिने हाम्रो घोषित नीति नै हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ । समाजवादी व्यवस्था स्थापित गर्ने हिसाबले निर्वाचनको उपयोग गर्छौँ । २०८४ को निर्वाचनमा भाग लिने भनेर पार्टीले पहिले नै निर्णय गरिसकेको छ । तर पछिल्लो विशेष राजनीतिक परिस्थिति उत्पन्न हुँदा हामी छलफल मै भएकाले निर्णय भएको छैन’, उनले भने ।

    समाजवादी व्यवस्था ल्याउनका लागि माओवादी घटकसँग एकता र विचार मिल्ने कम्युनिस्ट पार्टीसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण के–के गर्नुपर्ने हो गर्ने बुढाथोकीले बताए । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो ।

  • तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

    तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

    चितवन, असोज ५-

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो ।

    पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

    इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले दावी गर्नुभयो । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छभने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।

    पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    अलपत्र यात्रुलाई निःशुल्क खाना

    यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए ।

    पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । मुग्लिन र नारायणढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो । रासस

     

  • बाढी–पहिरोका कारण अवरुद्ध छन् यी सडकखण्ड

    बाढी–पहिरोका कारण अवरुद्ध छन् यी सडकखण्ड

    काठमाडौँ ०५ असोज
    नेपाल प्रहरीले हाल देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराएको छ।

    आज  बिहान ९ बजेसम्मको तथ्यांकअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन्।

    सङ्खुवासभामा अविरल वर्षाका कारण मकालु गाउँपालिका–३ एकुवा र भोजपुर गाउँपालिका– ४ वरुण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यता रसुवामा पहिरोका कारण नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका– २ सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण भोटेकोशी गाउँपालिका– २ कोदारी मा सडक अवरुद्ध भएको छ ।

    त्यस्तै चितवनको इच्छाकामना–५ तुइनखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध छ।

    यता बागलुङमा पहिरोका कारण कालीखोला सडक खण्ड एकतर्फी सुधार गरिरहेको छ। नवलपरासी पूर्वमा पहिरोका कारण विन्ध्यावासिनी–२ विश्वकर्मा मन्दिर सडक खण्ड पनि एकतर्फी सुधार गरेर सञ्चालनमा ल्याएको छ ।

    रुकुम पूर्वमा पहिरोका कारण भुमे–८ कोइडाबगर सडक खण्ड एकतर्फी भएको छ भने जाजरकोटमा पहिरोका कारण नलगाड–११ भिरकुना सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यी सडक खण्डहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

     

  • तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग

    तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग

    काठमाडौँ ०५ असोज
    मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ।

    ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

    सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको दण्डहीनतालाई मूल कारण ठहर गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरिएको छ।

    समाजले आन्दोलनपश्चात् भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ। त्यस्तै, पूर्वविशिष्ट व्यक्तिहरूलाई राज्यको ढुकुटीबाट दिइँदै आएका सेवा–सुविधा कटौती गर्न, ध्वस्त संरचनाको पुनर्निर्माणका लागि विशेष मन्त्रालय गठन गरी आगामी दशकलाई ‘पुनर्निर्माण दशक’ घोषणा गर्नुपर्ने सुझावसमेत समाजले दिएको छ।

    प्रहरी र प्रशासनलाई राजनीतिकरणमुक्त गरी स्वायत्त बनाउनुपर्ने, संवैधानिक तथा न्यायिक निकायमा भागबन्डाका आधारमा भएका नियुक्तिलाई कुशासनको कारक मानेर त्यस्ता पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने माग पनि विज्ञप्तिमा समेटिएको छ।

    समाजले अन्तरिम सरकारले सबै नागरिकका लागि अभिभावकको भूमिका निर्वाह गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिएको छ।

    शान्ति, सद्भाव, अहिंसा र समुदायबिचको सुमधुर सम्बन्धलाई शान्ति संस्कृतिको आधार भन्दै समाजले सबैलाई योगदान गर्न आह्वान गरेको छ।

    संयुक्त राष्ट्रसंघले १९८१ मा महासभा सुरु भएको दिन पारेर शान्ति दिवस मनाउने निर्णय गरेको हो भने सन् २००२ देखि सेप्टेम्बर २१ लाई स्थायी अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा घोषणा गरिएको छ।

  • आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

    आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

    काठमाडौँ, असोज ५

    हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । रासस