Blog

  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ असोज ६
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा समसामयिक अवस्था र बैठक बारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।

  • लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

    लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

    काठमाडौँ  ६ असोज

    जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ ।

    सोही कारण शिक्षा मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ ।

    उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् ।

  • गोरखा दरबारको दसैँघरमा जमरा राखियो

    गोरखा दरबारको दसैँघरमा जमरा राखियो

    गोरखा ०६ असोज 
    गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

    परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह ९पूजा कोठा० मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए ।

    ‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो,’ उनले भने( ‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’

    गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । त्यस्तै गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए ।

    घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ ।

    त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

  • दुर्गा पक्ष सुरुः बडादसैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

    दुर्गा पक्ष सुरुः बडादसैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

    काठमाडौँ, असोज ६

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

    जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

    घटस्थापनाको साइत ०९ ः१३ बजे

    आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

    आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    नौ दिन नौ दुर्गाको पूजा

    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

    आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसँै पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । दसँै पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

    बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसँै घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।

    विजयादशमीको साइत असोज १६ गते बिहान ११ ः ५३ बजे

    नवरात्र भनेरसमेत चिनिने दसैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताउनुभयो ।

    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने गरिन्छ ।

    असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९ ः २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ ः ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

    विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

    हनुमानढोकाको दसैं घरमा विशेष पूजा

    परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसँै घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

    दसँैघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

    रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसँैलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसँैका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।

  • नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)

    नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)

    काठमाडौ असोज ६

    नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ, जो देवी दुर्गाको पहिलो रूप हुन्।
    शैलपुत्री हिमालयकी पुत्री हुन् र उनले दक्ष प्रजापतिको यज्ञमा देह त्याग गरेकी सतीदेवीको पुनर्जन्म लिएकी हुन्।
    पूजा विधिमा रातो वस्त्र ओछ्याएर तस्बिर स्थापना गरी मन्त्र जप गरिन्छ, जसले मानसिक शान्ति मिल्छ।

    शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।

    कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र महादेवलाई नाना प्रकारले गाली गरिएको सहन नसकी शतिदेवीले यज्ञकुण्डमा आफैँलाई समर्पण गरिन् । यो घटनापछि क्रुद्ध महादेवले आफ्ना गणहरूलाई पठाई यज्ञ पूर्णतः ध्वस्त गरिदिनुभयो ।
    यज्ञकुण्डमा देह त्याग गरेकी शतिदेवीले पुनर्जन्म लिएर हिमालयराजकी छोरीका रूपमा शैलपुत्री नामले परिचित भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको चित्रण पाइन्छ ।

    पूजाविधि

    नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्मपछि गंगाजल वा गाईको गहुँतले शुद्ध गरी रातो वस्त्र ओछ्याएर शैलपुत्रीको तस्बिर स्थापना गरिन्छ । शुद्ध मन, वचन र कर्मले पूजन सामग्री तयार गरी धान, चामल, जौँ, तिल, कुश, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, फलफूल, पकवान्न, धूप, बत्ति, कपूर, फूलमाला आदि अर्पण गर्ने प्रचलन छ ।

    पूर्व, उत्तर वा पश्चिम फर्केर शुद्ध आसनमा बसेर दियो प्रज्वलन गरी सङ्कल्प उच्चारणसहित ॐ देवी शैलपुत्र्यै नमः मन्त्र ११, २१ वा १०८ पटक जप गर्नुपर्ने शास्त्रीय उल्लेख छ । सङ्कल्पपछि गणेश पूजा गरी वरुण कलशमा ब्रह्माण्डका सम्पूर्ण देवी–देवताहरूको आवाहन गरी कलश पूजन सम्पन्न गरिन्छ ।

    शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।

    शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ ।

    वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्

    वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।

    पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।

    पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।

    प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।

    कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।

    वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।

    वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।

  • आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन ६ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्लपक्ष । तिथि– प्रतिपदा, ४८ घडी ४३ पला, रातको १ बजेर २२ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–उत्तराफाल्गुनी, १४ घडी १ पला, बिहान ११ बजेर २९ मिनेट उप्रान्त हस्त । योग–शुक्ल, ३७ घडी ५८ पला, बेलुकी ९ बजेर ३ मिनेट उप्रान्त ब्रह्म । करण–किंस्तुध्न, मध्यान्ह १२ बजेर ४८ मिनेट उप्रान्त बव, रातको १ बजेर २२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कन्या । शारदिय नवरात्र प्रारम्भ । घटस्थापना ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १६ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने निर्णय तपाईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले इष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । तर पनि वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देख्न पाइनेछ । खाद्यान्न, बिलासी सामान तथा लत्ताकपडाको व्यापारबाट लाभ लिन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । नचाहँदा नचाहँदै पुराना सम्झौताहरू भङ्ग गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि खाद्यान्न, सवारी साधनको खरिद बिक्री, कपडा, गरगहना, बिलासी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उत्पादनमुखी उद्योग, खाद्यान्न, कपडा तथा बिलासी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मेहनतेको फल अरूले फुत्काउन कोसिस गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुख दिनेहरू सक्रिय हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शङ्का बढ्ने योग रहेको छ । तर पनि टेक्निकल सामानको व्यापार, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । दैनिक उपभोग्य बस्तु, कपडा, सवारी साधनको खरिदबिक्री, गरगहनाको व्यापारबाट नाफा कमाउन सकिनेछ । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । व्यापारबाट नाफा कमाउन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय, दैनिक उपभोग्य वस्तु, गरगहना र कपडाको व्यापारबाट नाफा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । दैनिक उपभोग्य बस्तु, पहिरनको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । कृषि तथा पशुपालनमा गरिएको लगानी फलदायी हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । प्रेममा सामिप्यता बढ्नेछ । समय सापेक्ष व्यापारमा लगानी गर्नेहरूका लागी आम्दानीमा बढोत्तरीको योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सङ्कट व्यवस्थापनमा चालिएका कदमहरू निरर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । तर पनि दैनिक उपभोग्य बस्तु र पहिरनको सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा, धर्मकर्म तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खाद्यान्न, पहिरन, सवारी साधनको खरिदबिक्री,गरगहना तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग रहेको छ ।

    तपाईँको आजकोदिन शुभ रहोस् ।

  • थप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने

    थप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने

    काठमाडौं, असोज ५
    प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्।

    आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। उनी स्वास्थ्य अतिरिक्त सचिव हुन्। उनले उक्त पदबाट राजीनामा समेत दिएकी छन्।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिइएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।

    सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ। उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।

    त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ। उनी समता फाउन्डेसनका अध्यक्ष हुन्।

    उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्। सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।

  • नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

    चितवन, ५ असोज 
    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ ।

    दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले अहिले  ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो । त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । सोही स्थानमा पुनः पहिरो खसेको हो । यो सडकमा  दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन् ।

  • विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

    ५ असोज, काठमाडौं ।
    सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।

     

     

  • मुग्लिङ-नारायणगढ सडक राति ९ बजेदेखी बिहान ५ बजेसम्म बन्द हुने

    मुग्लिङ-नारायणगढ सडक राति ९ बजेदेखी बिहान ५ बजेसम्म बन्द हुने

    भरतपुर, असोज ५
    मुग्लिङ – नारायणगढ सडक राति ९ बजेदेखी बिहान ५ बजेसम्म बन्द हुने भएको छ ।

    जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोला मुग्लिङ – नारायणगढ सडक खण्ड स्थितमा सडक माथिबाट सुख्खा पहिरोको कारण अवरुद्ध सडक हाल एकतर्फी सञ्चालनमा आएको छ ।

    उक्त क्षेत्रमा सुख्खा पहिरो जोखिम कायमै रहेकोले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आज रातको ९ बजेदेखि भोलि विहान ५ बजे सम्म सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।