Blog

  • देउवा दम्पती डिस्चार्ज हुँदै

    देउवा दम्पती डिस्चार्ज हुँदै

    काठमाडौं, असोज ८-
    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा.आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् ।

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए ।

    डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले बताए ।

  • शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

    शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

    –  दुर्लब बन्धु पोख्रेल
    काठमाडौं, असोज ८-
    पछिल्लो समय नेपाली समाजमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको देखिन्छ। झट्कार्दा ती ट्याटुहरु कुनै शक्तिका प्रतीक, कुनै प्रेमका प्रतीक, कुनै सुन्दरताको प्रतीकको रुपमा देखिएपनि त्यसको पछाडिको भाव भने फरक देखिन्छ । नेपाली समाजमा शास्त्रीय रूपमै के बुझाई छ भने यस जीवनमा, लोभ, पाप गरेर जतिसुकै नैतिक अनैतिक सुख सम्पत्ति कमाएपनि यो आवधिक जीवनमा मर्दासँगै लैजाने भौतिक चिज भने केहीपनि छैन। तर ट्याटु यस्तो चिज हो जो भौतिक रुपमा निर्माण गरेर आफ्नो पार्थिव शरीरसँगै लैजान सकिन्छ । यसै बुझाईले धेरै जनाले आफ्नो कमाईको केही अंश हिस्सा भएपनिसँगै लैजाने हेतुले शरीरमा ट्याटु खोप्ने गरेको देखिन्छ। देशको पछिल्लो राजनीतिक परिवेशलाई विश्लेषण गर्ने हो भने ट्याटु पछि राजनीतिक दल यस्तो भौतिक चिज हो जुन नेताको शरीरसँगै सती जाने परिस्थिति देखिन्छ।

    हुनत व्यक्तिको आयुको तुलनामा देश, दल, सङ्घ, संस्थाहरूको आयु निकै लामो हुन्छ भन्ने बुझाई छ। तर हाम्रो देशको मूलधारका भनिने प्रमुख दल को अवस्था हेर्ने हो ती दलका नेतृत्वले आफ्नो जीवनसँग दललाई पनि सँगै लैजाने प्रयत्न गरेको देखिन्छ भने दोस्रो पुस्ता भनिनेले नेतृत्वसँगै दललाई पनि सती पठाउने प्रयत्न गरेको देखिन्छ। नेतृत्वसँग सँगै सती जानसक्ने दलको लिष्टमा नेकपा एमाले अग्र पङ्क्तिमा रहेको छ। हुनत् एमालेले यस देशलाई निकै ठुलो गुन पनि लगाएको छ। व्यक्ति हत्याबाट राज्यसत्ता प्राप्त हुन्न भन्ने विश्व कम्युनिष्ट आन्दोलनको उग्रवामपन्थी भड्काउनेलाई विचारको बहस र शान्तिपूर्ण आन्दोलनबाट जनमत स्थापीत गरि सरकार सञ्चालनको माध्यमबाट जनपक्षीय बजेटको माध्यमबाट जनहितका कार्य गर्न सकिन्छ भनि निर्वाचनमा ब्यालेट थापेर देशको ठूलोदल बनी (बजेटलाई स्थानीय तहले परिचालन गर्ने गरि स्थानीय तहमा बजेट पठाउने, आफ्नो गाउँ आफै बनाउ भन्दै जनसहभागितामा विकास निर्माण गर्ने योजना अगाडि सार्ने, नौ सू को माध्यमबाट सुधारका योजना अगाडि बढाउने, वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्य योजना अगाडि बढाउने, पारवहन सन्धिको माध्यमबाट समुन्द्रसङको पहुँच बिस्तार गर्ने, नाकाबन्दीमा डटेर सामना गर्ने, आफ्नो देशको सिमा सम्बन्धमा अन्तर्राष्ट्रिय फोरममा आवाज उठाउने, पानिजाहज, मनोरेल, रेल जस्ताकुरा गफैमा सिमित भएपनि देशमा बिकास सम्भव छ भन्दै बिकासमा बहस चलाउने दल ने क पा एमाले हो भन्दा कसैलाई अन्याय हुन्छ जस्तो लाग्दौन । यति हुदा हुदैपनी एमाले को पछिल्लो नेतृत्वले १४ वर्ष सम्म तपस्या गरी प्राप्त गरेको शेषनागको भन्दा फड्कारीलो जिव्रो, बिदुरको भन्दा बढ्ता ज्ञान, दुर्योधनको भन्दा बढ्ता दम्भ शकुनि भन्दा पनि चलाख अझ भन्ने हो भने अमरत्तो प्राप्त गरेका कारणले उनको जीवन सगै सरिरमा खोपेको ट्याटु जसरी एमालेपनी बिलिन हुने मोडमा पुगेको छ। एमालेको अवसानमा मुल नेतृत्व सगै बा को लगुटी नसमाई हिड्नै नसक्ने बा लाई नै देवत्तोकरणगरी बा कै आसिर्वादको प्रसादमा रमाइ रहेने सठिई सकेको दोस्रो पुस्ता को पनि उत्तिकै भुमिका छ। कुनै पनि दलमा जीवन चक्र चल्न सक्नुपर्छ। एकातिरबाट पस्ने र चक्रमा चल्दै अर्को तर्फबाट निस्कने सिस्टम बिकास गर्न सकेन भने मुखबाट हालेको चिज तलबाट निस्केन भने जे हुन्छ पाटीपनी तेही हुने हो ।

    अझैपनि भिरमा पुगेको एमालेलाई राम राम जप्दै जोगियोस् भन्नेहरुको संख्या ठुलै छ तर काँधै हाल्ने आट कमजोर बन्दै गएको छ। कमजोर नहोस् पनि कसरी एमालेमा जुन पुस्ता क्रियाशिल छ उ राम नाम जपेरै बस्ने पुस्ता छ। तो पुस्ताको अझै एमालेलाई आशिर्वाद त छ तर जुन पुस्ताको बलले दलहरुलाई उर्जा थप्ने हो तो पुस्ता दलमा छिर्नकालागी दलको जिवनचक्र चलेकै छैन । चलोसपनि कसरी असी वर्षमा पनि विहारको कोईला रेलले फालेको धुवाँ भन्दा कालो त जुगाँ पलाउँदै आएको छ। ९९ सय कौरव भाईहरुको मृत्यु पश्चात् पनि दुर्योधनमा जुन दम्ब थियो एमाले नेतृत्वमा पनि अझै बाँकी छ। किनकी एमाले नेतृत्वको आडमा अझैपनि असोस्थामा र कृतवर्मा बाँकी नै छन्। तिनिहरुले एमाले नेतृत्वको साथ तेति बेलासम्म छोड्ने छौनन् जतिबेलासम्म ओलिको सरिमा खोपेको ट्याटु जसरी ओलसँगै एमालेलाई चितामा पुराउने छैनन्। त्यसैले एमाले जनले एमालेमा लागेको धुलो ट्क्टकाएर उठोस र फेरीपनि देश र जनताको पक्षमा जुटोस् भन्ने हो भने पाखामा बसेर रामनाम जपेरमात्र हुनेवाला छैन। बा र आमाको को लगुटी नसमाई हिडन नजानेको दोस्रो पुस्तामा आस गर्न भन्दा । बामे सर्दैगरेको तेस्रो पुस्तासँग बिचाका बात गर्नु पर्ने छ। बा र आमाका लगुटीका पछाडी लगाउन भन्दा बहसबाट बिचारको सृजनामा लगाउन पर्ने छ। जसलेगर्दा तन्देरी पुस्ताले पनि आफ्नो बिचार राख्ने ठाउ पाउन। तन्नेरी पुस्ता पाटीमा पस्न सकोर र सठिएको दम्बी नेतृत्वले पनि सम्मान जनक वहिर्गमन पाओस।

    दलमा पुस्तान्तरणको समस्या एमालेमा मात्र रहेको भने हैन। नेपालका मुलधारका भनिएका सबै दलको समस्या एउटै हो। एमाले प्रती नेपाली जनताले गरेको आस अलि बढी भएकाले कुरापनि एमालेको अलि भढी भयोहोला। वि पी को शेख पछी फरदिप गिरी, नरहरी आचार्य लगाएतका एकदुई नेतालाई अपवाद मान्ने हो भने विचारमा बहस गर्ने नेतानै काङ्ग्रेसमा छैन। यदी पाटीहरुलाई बिचारले बाध्न सकिएन भने नेतृत्वत कालो होस वा गोरो निरङकुश नै हुन्छ । नपत्याए जेन्जी भनिएको नयाँ पुस्ताको नेतृत्व हेर्नू। हिजो राप्रपाले आन्दोलन गर्दा महानगरको सन्दौर्यता बिगारेको भन्दै निर्मल निवासलाई चिट काट्ने बालेन आज माहगरजल्दा कस कस्लाई चिट काटे त? यो आन्दोलनका पछाडीको छन् । भन्नेकुरा नदेखिएको हो र? २३ गते को नरशंहारको जिम्मा के पी ओलीलाई दिने हो भने रु २४ गते को बिध्वंसको जिम्मापनि त कसैले लिन पर्ने होलानी? मन परेकाको त कुन्नी के पनि बसाउँछ भने जस्तो हो भनिएको हाे र ? नेता पुर्वाग्रही हुने हो भने हिजोको र आजको मा के फरक परो त ?

    उता माओवादी केन्द्रको त कुरै भएन उ त कम्युनिष्ट पाटी हो कम्युनिष्ट पाटीमात नेता नमरी नेतृत्व परिवर्तन हुने त कुरै भएन अहिले जनार्दनले रोईलो गरीरहेका छन् उनले माओवाद नबुझेरहो भनेर मैले भन्न त मिलेन एक दिन अध्यक्षले गद्दार लिम्प्याओ भन्ने छन् सबैले तालि बझाउछन सकिन्छ जस्तो लाग्छ। नयाँ भनिएको रास्वपा त पाटी बन्नै सकेन रवि जादाँ रविको ट्याटु बरु जालाकी नजाला तर रवि बेगर रास्वापा रहला जस्ताे लाग्दैन ? यदी जेन्जी पुस्ता भनिनेहरुपनि नीतिको खोजि नगरी नेतृत्वकै उत्साह बहकिने हो भने । अहिले बालेनको शरीरमा ट्याटु छ कि छैन त थाहा भएन एक दिन बालेनको शरीरमा जेन्जीको ट्याटु अवश्य बन्ने छ।

    कुनै पनि आन्दोलनले आनदोलनको बिषयको उठान गर्दा कारक तत्व केहो भनि विश्लेषण गरेर कारक तत्व जरा नउखेल्ने हो भने आन्दोलनले बिध्वंस गर्न त सक्छ तर निकास दिन सक्दैन। हाम्रो जेन्जी पुस्ताले हाम्रो देशमा भ्रष्टचारले कहिलेदेखी रफ्तार लिएको हो र यसको पछाडीको कारक के हो भन्ने विश्लेषण गरेर विषयको उठान गर्न जरुरी छ। अहिले हामिले जिन पुस्तालाई भ्रष्ट भनिरहेका छौ तिनीहरुपनी कुनै बेला हजुरहरु भन्दापनी तन्देरी र क्रान्तिकारी थिए। शिर मा कफन बाधेरै हिडेकै हुन् । हजुरहरुले आज बोल्ने गरेको भन्दापनी कडा बोल्थे लाग्थो यिनीहरुलाई सत्ता सुम्पन पाए देशले काँचुली फेर्ने छ । नेतृत्व पनि सुम्पियकै हो विडम्बना के भने काचुलिपनी फेरी यो तर तिन्को शरिर को मात्र। भोली तपाईहरु यी नेता भन्दा भ्रष्ट नहुने ग्यारेन्टी के छ? शंका किन भने हजुरहरुको आन्दोलनको जग भ्रष्ट नियत माथी उभिएको छ।

    ४६ को आन्दोलनपछी खुला अर्थनिती अंगिकार गरेकाले विदेशी संघसंस्थाहरुले देशमा खुलम्खुला प्रवेस पाए। जब नेताको पहुँचमा जवाफ दिन नपर्ने पैसाले प्रवेस पायो हो त्यहीबाट हो यी नेताको नैतिकता हल्लीएको। ६३ पछी त झन ती एन जि ओ आइ एन जि ओ हरुको पहुँच हाम्रो संसद, कर्मचारी तन्त्र, न्यायलय, पुलिस, पत्रकार, वकिल, बौद्धिक सबैतिर फैलियो। हाम्रोमा एउटा भनाई छनी एक पटक बाघले मानिसको रगत खायो भने उ निरन्तर मानिस माथी नै आक्रमण गर्छ रे । हो तेही भएको हो हाम्रो समाजमा । जब आई एन जि ओ हरुले नेपाली जनताको रगत पिउन सिकाए त्यस पछी नेताहरुमा बे खोव उन्मात जागेको हो। यदी हामिले भ्रष्ट्रचार मुक्त देश सुसासन चाहने हो भने एन जि ओ को बुई चढेर सम्भव छ जस्तो लाग्दैन । हाम्रो समाजमा एउटा उखान छ गोवन साँप र पस्चिमाले सँगै लखेटे भने पहिला पस्चिमालाई मार्नु पर्छ गोवन सँगत बाँच्न सकिन्छ तर पस्चिमासँग बाच्न गारो हुन्छ। गोवन साँपत मार्यै अव अर्को सग बाँच्न पर्ने छ ।

  • काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

    काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

    काठमाडौं, असोज ८-
    काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् ।

    अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दुःख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ ।

    ‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन,’ पूर्वमन्त्री शर्माले भनेका छन्, ‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं ।’

    शर्मा अर्थमन्त्री हुँदा काठमाडौंको चन्द्रागिरि, चित्लाङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने योजना बजेटमा राखेका थिए ।

  • सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

    सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

    काठमाडौं, असोज ८-
    नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघहा अनुसार आज सुन तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको हो ।

    योसँगै आज सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

  • एमाले सुदूरपश्चिममा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव

    एमाले सुदूरपश्चिममा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव

    ८ असोज, धनगढी ।
    नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ ।

    मंगलबार बसेको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका दल नेता राजेन्द्र सिंह रावलले मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव गरेका हुन् ।

    रावलले सचिवालयमा परिवार तथा नातेदारलाई नियुक्त गरेकाहरुले समेत नियुक्ति खारेज गर्नुपर्ने कुरा बैठकमा राखेका थिए । खासगरी अहिले प्रदेशका कतिपय मन्त्रीले स्वकीय सचिव, सवारी चालक र भान्सेमा परिवारकै सदस्य तथा नातेदार राखेका छन् ।

    उक्त कुरालाई लिएर आलोचना हुने गरेको छ । ‘दलका नेता कमरेडले बैठकमा मन्त्री र सांसदले निजी सचिवालयमा परिवारका सदस्य नराख्ने र राखेकाहरुले पनि तत्काल हटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘उहाँको प्रस्तावमा सबै जना सकारात्मक देखिनुभएको छ । परिवार र नजिकका नातेदारको ठाउँमा पार्टीकै कुुनै भूमिकामा भएको दक्ष व्यक्तिलाई जिम्मेवारी दिनु राम्रो कुरा हो ।’

    बैठकले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति बनाउने निर्णय गरेको छ भने सबै सांसदहरुलाई जिल्ला केन्द्रीत हुन निर्देशन दिएको छ ।

    सांसदहरु जिल्लामा पुगेर त्यहाँ भएको क्षतिको बारेमा अध्ययन गरेर प्रतिवेदन बनाउने निर्णय पनि गरिएको छ ।

  • टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

    टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

    भोजपुर, असोज ८ –
    टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् ।

    गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताउनुभयो । टहरामा त्रिपाल हालेर वषौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उहाँको भनाइ छ ।

    “गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उहाँले भन्नुभयो, “वर्षात तथा जाडोको समयमा जीवनयापन गर्न कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”

    खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइ दिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फुलमाया विश्वकर्माले बताउनुभयो । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उहाँले भन्नुभयो, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्न सक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

    घर नहुँदा चिसोका कारण दैनिक जसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताउनुभयो । सरकारले आर्थिक अवस्था कमजोर भएका घरविहीन दलित परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

    एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । “राज्यको तहबाट १० दलित परिवारले नयाँ घर पाएका छन्”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “आर्थिक रुपमा अतिविपन्न परिवारले घर पाएका हुन् । आर्थिक अवस्था कमजोर भएकाको घर निर्माणको लागि सिफारिस गरेको थियाँै ।”

    यी घर निर्माण सम्पन्न भए पश्चात पुनःअन्य तीन विपन्न परिवारको आवश्यक प्रक्रिया पूरा गरेर पठाएकोमा हालसम्म बजेट प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । रासस

  • जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

    जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

    काठमाडौँ, असोज ८-
    गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो ।

    चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो ।

    राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् ।

    सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगले सत्यतथ्य सार्वजनिक गर्ने नै छ ।

    मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति भएको छ । अध्यक्ष ढकाल निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनुहुन्छ ।

    आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उहाँको बुझाइ छ । सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ ।

    देशभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले रु १० अर्ब ८५ करोड बराबरको क्षति भएको प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा विवरण दिनुभएको छ । सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र नौ वटामा आशिंक क्षति पुगेको छ ।

    कूल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ । भाटभटेनीले नेपालीको सबैभन्दा ठूलो चाड दसैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ । दसैँ भत्तासमेत दिने उसको घोषणा छ ।

    “रोजगारी कोही कसैको पनि जाँदैन, तलब भत्ता पनि रोकिदैन”, गुरुङले भन्नुभएको छ । भाटभटेनीका स्टोरमा राखिएका रु पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९३ बराबरको सामग्री पूर्णरुपमा जलेका छन् । यस्तै, झण्डै ५० करोड बराबरको सामग्री तोडफोड र लुटपाट भएको छ ।

    त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ । मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ । १०औँ तल्लासम्म लुटपाट भएको छ । कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन् ।

    लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ । सो कम्पनीका करिब चार सय कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन् । आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो । नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ ।

    एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन् । मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने सङ्घ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासङ्घले जनाएको छ ।

    होटल एशोसिएशन अफ नेपाल ९हान० का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै रु २५ अर्ब बराबरको क्षति पुगेको छ । काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्वद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।

    यस्तै, काठमाडौँको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ । व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ । त्यहाँ राखिएका सामान लुटपाट भएको छ । चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ । चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आकलन छ ।
    महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकाल सम्वद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केवलकार बन्द छ । मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।
    ढकालको आइएमई समूहले सातै प्रदेशमा केवलकार निर्माण गर्ने योजना अगाडि सारेको छ । सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ ।

    यस्तै, काठमाडौँको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी शोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ । विभिन्न प्रदर्शनी तथा मेला आयोजना गरेर अटो व्यवसायमा नयाँ उभार आइरहेको बेला जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको व्यवसायीहरुको भनाइ छ ।

    सरकारले यसबीचमा के ग¥यो
    जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समितिले ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने सरकारले निर्णय गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरूले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिनुभयो ।

    क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बिमाबाट अग्रीम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलायएको छ ।

    त्यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्नेछन् । यस्तै, सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनःनिर्माण कोषबाट प्रदान गरिनेछ ।

    त्यस्तै, सरकारले पुनःनिर्माणका लागि पुनःनिर्माण कोण खडा गर्ने निर्णय गरिसकेको छ । कोषमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् ।
    यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यही असोज ५ गते निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताउनुभएको थियो । सरकारले अर्थतन्त्रका सुधारका लागि छिट्टै सुधारात्मक प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।

    बिमा दाबी २२ अर्ब २५ करोड
    जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।

    बागमती प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
    माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा बिमा दाबीको आवेदन हो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । यो निजी क्षेत्रको क्षतिको मात्रै दाबी हो । सरकारी संरचनाको भने बिमा नभएका कारण दाबी भुक्तानी हुन सक्दैन ।

    प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, दिन ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ ।
    सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्य बीमाका १९ वटा आवेदन प्राप्त भएको जनाइएको छ । रासस

  • आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

    २०८२ असाेज ८ गते बुधवार, २४ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष तृतीया तिथि। चित्रा नक्षत्र, १५ः२९ बजेपछि स्वाती। चन्द्रराशि तुला।

    मेषः

    आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । पुरानो समस्याबाट मुक्ति मिल्नेछ । प्रेम सम्बन्धमा भने रमाइलो वातावरण बन्नेछ ।

    वृषः

    शत्रुमाथि विजय हुने समय रहेको छ । सुख दुःखले कर्मलाई निरन्तरता दिनुपर्ला । छोटो मिठो यात्राको अवसर पनि मिल्न सक्नेछ । राज्यपक्षबाट विशेष सहयोग प्राप्त हुने समय छ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुनेछ ।

    मिथुनः

    माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाईनेछ । शैक्षिक एवं राजनैतिक क्षेत्र कमजोर रहला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ ।

    कर्कटः

    सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । व्यापार व्यवसायमा पनि सोचेअनुसार हुनेछैन । बाटो काट्दा विशेष साबधानी अप्नाउनु होला । प्रतिष्ठित काम गरेर अवसरहरु हात पार्ने समय रहेको छ ।

    सिंहः

    नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्नेछन् । शैक्षिक एवम् राजनैतिक क्षेत्रमा उन्नति प्रगतिको समय रहेको छ ।

    कन्याः

    वादविवादमा प्रतिस्पर्धीहरू हावी हुने समय छ । आँखामा खराबी तथा मौसमी समस्या देखापर्नाले स्वास्थ्य कमजोर रहन सक्नेछ । कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नु नै उचित हुने देखिन्छ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ ।

    तुलाः

    समय निकै उत्साहजनक रहनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने योग रहेको छ ।

    बृश्चिकः

    आन्तरिक विवाद झन् बढ्नेछ । राजनीतिक खिचातानीमा फसिनेछ । माटो सम्बन्धी कार्य मध्यम रहला । प्रेम सम्बन्ध भने सुदृढ बन्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

    धनुः

    तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त हुनेछ । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । आँटेताकेका कामहरु सहजै सम्पन्न हुने समय रहेको छ । बैदेशिक क्षेत्र फलदायी नै देखिन्छ ।

    मकरः

    आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ ।

    कुभ्मः

    रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । प्रेमी÷प्रेमीकाका बिच मतभेद पनि बढ्ला । तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।

    मीनः

    अप्ठ्यारो समयमा सहयोगीहरूले साथ नदिन सक्छन्, तर काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । जप, तप, साधना तथा सिद्धि जस्ता कुराहरुमा वृद्धि हुनेछ । स्वास्थ्यलाई लिएर खानपिनमा विशेष सजग रहनुहोला ।

  • आज नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

    आज नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

    काठमाडौं असोज ८

    शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ । चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय मानिन्छन् । देवी चन्द्रघण्टालाई विशेष गरी दूधको परिकार चढाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ ।

    धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टाले त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन सिंह हो ।

    देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ । यिनको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन् । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ ।

    पूजा सामाग्री:

    फूल, अक्षता, धूप, दीप, नैवेद्य (दुधजन्य परिकार) गंगाजल, चन्दन, बेलपत्र ।

    पूजा विधि:

    स्नान गरी सफा कपडा धारण गरी दाहिने हातमा जल, अक्षता र फूल लिई सङ्कल्प गर्नुपर्दछ । मम समस्त पापक्षपद्वारा श्री दुर्गा प्रत्यर्थी चन्द्रघण्टा पूजन करिष्ये । कलशमा जल, सुपारी, दूबो, अक्षता र सिक्का राखेर ढाक्नुपर्दछ र त्यसमाथी नरिवल राख्नुपर्दछ । कलशलाई माता चन्द्रघण्टाको प्रतीक मानि पूजा गर्नुपर्दछ । ॐ चन्द्रघण्टायै नमः उत्चारण गरी फलपूल, दुध वा दुधजन्य परिकार, वस्त्र, अर्घ, गन्ध आदि अर्पण गर्नुपर्दछ । दुर्गा सप्तशती चण्डीको तेस्रो अध्याय पाठ गर्नुपर्दछ जसमा माता चन्द्रघण्टाको वर्णन गरिएको । शक्तिशाली देवी मन्त्रः । “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” १०८ वा १००८ चोटी जप गर्नुपर्दछ र अन्तमा भजन गाई आरती गर्नुपर्दछ ।

    माता चन्द्रघण्टाको पूजा गर्नाले आत्मबल बढ्ने, नकारात्मक ऊर्जा तथा भएको अन्त हुने र पारिवारिक सुख शान्तिमा वृद्धि हुने शास्त्रमा वर्णन गरिएको छ ।

    नवरात्र अवधिमा शोभा भगवती, नक्साल भगवती, गुयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, बङ्गलामुखी तथा उपत्यका बाहिर धरान, भोजपुर ताप्लेजुङ, गोरखा, दाङ लगायत शक्तिपीठहरुमा बिहानै देखी दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।

    चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।

    यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।

    नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।

  • तुइनखोलामा फेरि खस्यो भयंकर पहिरो, अनिश्चितकालका लागि बन्द

    तुइनखोलामा फेरि खस्यो भयंकर पहिरो, अनिश्चितकालका लागि बन्द

    ७ असोज, नारायणगढ
    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।

    मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको उनले बताए ।