Blog

  • जेनजी प्रदर्शनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ

    जेनजी प्रदर्शनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ

    ७ असोज, काठमाडौं ।
    जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक समातिएका छन् ।
    पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
    सोही भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।

    जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

    रायको सिन्धुलीको हो भने थापाको घर दार्चुला हो । जवान थापालाई त डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै कुटेर हत्या गरिएको थियो ।

    त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।

  • तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

    तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

    चितवन, असोज ७–
    नारायणघाट–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ ।

    आज दिउँसो इच्छाकामना–५ तुइन खेलामा फेरि पहिरो खसेपछि फेरि दुईतर्फी बाटो अवरुद्ध भएको हो । निरन्तर ढुंगा झरेको कारण उपकरण संचालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    यसअघि शुक्रबार साँझ खसेको पहिरो ४६ घण्टापछि आइतबार यो सडक खण्ड संचालनमा आएको थियो । तर सोमबार पनि दिउँसो करिव ४ घण्टा बाटो बन्द गरेर दुई तर्फी खुलाईएको थियो । अहिले फेरि बाटो अवरुद्ध हुँदा दशै मनाउन जान लागेका यात्रुहरु मर्कामा परेका छन् ।

  • चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

    चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

    चितवन, असोज ७-
    जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो ।

    “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो”, प्रमुख रुपाखेतीले भन्नुभयो ।

    जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने गर्दछ । रासस

  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको २ लाख २१ हजार नाघ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको २ लाख २१ हजार नाघ्यो

    काठमाडौँ असोज ७ –
    एकपछि अर्को गर्दै सुनको मूल्य आकासिएको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँले नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
    अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ भएको सुनको मूल्य मंगलबार प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ ।

    आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

  • चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

    चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

    चितवन, असोज ७ –
    चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।

    कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२ वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उहाँले भन्नुभयो, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ ।

    निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन आग्रह गरिएको छ ।” वन्यजन्तु संरक्षणका लागि बनाईएका समुदाय स्तरका क्लबहरुलाई सचेतना जगाइएको उहाँले जानकारी दिनुभयो ।

    ९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष चाडपर्वको समयमा तस्करहरु आउने गरेकाले यस वर्ष उच्च सतर्कता बढाइएको उहाँले बताउनुभयो । रासस

  • गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

    गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

    काठमाडौं, ७ असोज –
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।

    भक्तपुरको गुन्डुस्थित निवासमा नेता कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

    भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन् । सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् ।

    भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्वजनिक भएका थिएनन् ।

    २३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए ।

    ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

  • विशेष महाधिवेशन आह्वान गर्न काँग्रेसमा हालसम्म १०९ जनाले गरे हस्ताक्षर

    विशेष महाधिवेशन आह्वान गर्न काँग्रेसमा हालसम्म १०९ जनाले गरे हस्ताक्षर

    काठमाडौं, असोज ७ –
    नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।

    ६ असोजबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो । कांग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ । विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।

    विधानको दफा १७ (२) मा भनिएको छ,‘ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ ।

    विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको अगुवा नेताहरुले जानकारी गराएका छन् । हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ गर्ने मध्येका एक नारायण भट्टराईले जानकारी गराए । उनले भने, ‘हस्ताक्षर अभियानमा यो त्यो समूह भन्ने छैन । विशेष महाधिवेशन माग गर्ने सबै पक्षका साथीहरु हुनुहुन्छ ।’

    परिवर्तित राजनीतिक अवस्था र विषम परिवेशमा कांग्रेस मुकदर्शक भएर बस्न नहुने हस्ताक्षरकर्ताहरुले विज्ञप्ति निकालेर जनाएका छन् । ‘अहिलेको परिस्थिति आउनुमा विगतमा पार्टीले अख्तियार गरेका नीति, निर्णय, कदम, काम कारबाही त जिम्मेवार छैनन् ? भनि नेतृत्वलाई प्रश्न गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । नेतृत्वको कार्यशैलीमा प्रश्न उठाउनेहरुलाई किनाराकृत र विभेद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसका केही भ्रातृ संस्था र केही जिल्ला तथा स्थानीय तहको नेतृत्वले पनि विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।

  • कांग्रेस नेता रुंगटाको घरमा आगजनी हुँदा घाइते महिला मजदुरको मृत्यु

    कांग्रेस नेता रुंगटाको घरमा आगजनी हुँदा घाइते महिला मजदुरको मृत्यु

    वीरगन्ज ०७ असोज
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा आज मृत्यु भएको छ।

    पर्सा प्रहरीका अनुसार, आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा १३ दिनसम्मको उपचारपछि निधन भएको हो। उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो।

    गत भदौ २४ गते जेनजी समूहले रुंगटाको घरमा आगजनी गर्दा घर पूर्ण रूपमा ध्वस्त भएको थियो। आगलागीका बेला घरभित्र काम गरिरहेका मजदुरहरू फसेका थिए। स्थानीयको सहयोगमा अधिकांश मजदुरलाई सकुशल बाहिर निकालिए पनि हजरा र अर्का एक भारतीय मजदुरलाई निकाल्न ढिलाइ भएको थियो।

    प्रहरीका अनुसार, हजरा रुंगटाको घरको दोस्रो तल्लामा फसेकी थिइन्। सुरुमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गरिए पनि उनको अवस्थामा सुधार नआएपछि काठमाडौं रेफर गरिएको थियो। तर, त्यहाँ पनि उनको ज्यान बचाउन सकिएन।

    यसै घटनामा हजरासँगै गम्भीर घाइते भएका भारतको बिहार राज्य, सुगौलीका १८ वर्षीय विनय यादवको कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ। उनको पनि शरीरको ५० प्रतिशत भाग जलेको भए पनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताएका छन्।

    आगजनीका क्रममा रुंगटाको घरको परिसरमा रहेका अन्य चारवटा घरमा समेत तोडफोड र लुटपाट भएको कांग्रेस नेता रुंगटाले जानकारी दिएका छन्।

  • आज नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

    आज नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

    काठमाडौं असोज ७

    नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्।

    पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन्। उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन्। अन्ततः बेलपत्र समेत त्यागेर खुला आकाश मुनि निराहार कठोर तपस्या गरिरहेकी थिइन्। यसरी कयौँ हजार वर्षको तपस्याका कारण उनको शरीर कमजोर भए तापनि धैर्य र आत्मबलले तपस्या निरन्तर जारी राखिन्।

    ब्रह्मचारिणीको कठोर तपस्या देखेर माता मेनका चिन्तित भइन् र छोरीलाई रोकिन आग्रह गरिन् तर उनले अडिग रहिन्। यस तपस्याले तीनै लोकमा हाहाकार मच्चियो र देवता, ऋषि, मुनीहरू सबैले उनको प्रशंसा गरे। अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भने, ूहे देवी, आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन्। तिम्रो मनोकामना पूरा हुनेछ र चाँडै नै भगवान महादेव पति स्वरूप तिमीलाई प्राप्त हुनेछौ,ू भनी आशीर्वाद दिए।

    ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गरिन्छ। विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ। भक्तजनहरूले उनको आराधना गरेमा आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास छ। श्रद्धा भक्तिले अर्पण गरिएका फलफूल, पकवान र पुष्प ब्रह्मचारिणीलाई प्रिय छन्।

    शास्त्रीय मान्यता अनुसार कुनै पनि प्रकारको बन्धन वा अनिष्ट नाशका लागि आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणी माताको पूजा गरी सख्खर चढाउनुपर्छ। यस दिन गरिएको दानपुण्यले शुभफल प्राप्त हुन्छ।

    ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार छस् देवीलाई फूल, अक्षत, रोली र चन्दन अर्पण गर्नुपर्छ। दूध, दही, सख्खर, घृत वा मधुले स्नान गराई प्रसाद चढाउनुपर्छ। प्रसादपछि आचमन, पान र सुपारी अर्पण गरी देवीलाई प्रदक्षिणा गर्नुपर्छ। कलश देवता, नवग्रह, दशदिक्पाल, नगरदेवता र ग्रामदेवतासहित पूजा गरी अन्त्यमा हातमा फूल लिएर प्राथना गर्नुपर्छ।

    भक्तिपूर्वक गरिएको ब्रह्मचारिणीको आराधनाले अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास छ।

    ब्रह्मचारिणी मन्त्र:

    या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
    नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
    दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
    देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

    ब्रह्मचारिणी ध्यान:

    वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
    जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम ।।
    गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।
    धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।
    परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
    पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

    ब्रह्मचारिणी स्तोत्र पाठ:

    तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।
    ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।
    शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।
    शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।

    ब्रह्मचारिणी कवच :

    त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।
    अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।
    पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।।
    षोडशी सदापातु नाभो गृहो च पादयो ।
    अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी ।

  • आज मङ्गलबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

    आज मङ्गलबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन ७ गते । मंगलबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्ल पक्ष । तिथि– द्वितीया, ५२ घडी २० पला, रातको २ बजेर ४९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–हस्त, १८ घडी ३१ पला, दिउसो १ बजेर १७ मिनेट उप्रान्त चित्रा । योग–ब्रह्म, ३८ घडी ३ पला, बेलुकी ९ बजेर ६ मिनेट उप्रान्त ऐन्द्र । करण–बालव, दिउसो २ बजेर २ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५७ मिनेट । दिनमान ३० घडी १२ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा पारिवारिक मिलन हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । तर पनि दैनिक उपभोग्य बस्तु तथा पहिरनको व्यापारबाट लाभ लिन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ। शेयर बजार तथा वित्तीय क्षेत्रमा नाफा कमाउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तर पनि दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा पारिवारिक मिलन हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । तर पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । यात्रा, मनोरञ्जनमा समय व्यातित हुने तथा पारिवारिक मिलन हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैङ्किङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । तर पनि दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।