Category: धादिङ

  • धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

    धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

    मलेखु (धादिङ), ८ कात्तिक
    धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडाँैतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।

    दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिनुभयो ।

    बसमा सवार काठमाडाँै चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उहाँकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते हुनुभएको छ । त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते हुनुभएको छ ।

    थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते हुनुभएको छ । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौँ पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथोे हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौँतर्फ जाँदै गरेको बा४ख ४१७७ नंको माइक्रोबस र काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए । त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए । – राष्ट्रिय समाचार समिति (रासस)

  • भूकम्पका कारण धादिङमा २० घर भत्किए

    भूकम्पका कारण धादिङमा २० घर भत्किए

    धादिङ, ५ कात्तिक
    आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।

    पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।

  • भूकम्पले धादिङमा पहिरो

    भूकम्पले धादिङमा पहिरो

    काठमाडौँ ,५ कात्तिक
    आइतबार बिहान ७ः३९ बजे धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्पले धादिङका ठाउँठाउँमा पहिरो गएको छ।

    गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालका अनुसार खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको थियो।

    उनले माटाका ढिस्काहरू भत्कनेबाहेक घरहरूमा पर्न गएको क्षतिको विवरण प्राप्त नगरेको जानाकारी दिएका छन् ।

  • धादिङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

    धादिङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

    धादिङ, २८ असोज
    धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् ।

    घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ । रासस

  • ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा

    ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा

    १७ असोज, काठमाडौं
    ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।

    काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका थिए ।

    ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

  • मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    मलेखु (धादिङ), १७ असोज
    धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

    सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

    काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् ।

    ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ । -रासस

  • धादिङमा खुर्पा प्रहार गरी ७२ बर्षीय वृद्धाको हत्या, एकजना पक्राउ

    धादिङमा खुर्पा प्रहार गरी ७२ बर्षीय वृद्धाको हत्या, एकजना पक्राउ

    धादिङ, १४ असोज
    धादिङको नेत्रावती गाउँपालिका-४ बस्ने ७२ बर्षीय सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भएको छ ।

    सोहि ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङको संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले मंगललाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

    धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

    मलेखु (धादिङ), भदौ २९
    धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा पनि नरहेको पाइएको हो ।

    बिहानै बधशालाको अनुगमनमा पुगेका सरकारी टोलीले हाल बधशालामा काटिएका मासु खानयोग्य नै नरहेको बताएको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा पुग्नुभएका जिल्ला भेटेरिनरी अस्पतालका पशुविज्ञ डाक्टर सन्दीप सिलवाल भन्नुहुन्छ, “धादिङबेँसीका पशु बधशालाहरु बधशाला भन्न मिल्ने अवस्थामा छैनन्, ती बधशालाहरुमा काटिएको मासु स्वस्थ्य छ, खान मिल्छ भन्न सकिने अवस्था छैन ।”

    वडा नं ८ को कमेरेमा नमल फ्रेस हाउसको नामबाट सञ्चालन भइरहेको पशु बधशाला र नीलकण्ठकै वडा नं १२ मा रहेको लापाली मासु पसलको नामबाट सञ्चालन भइरहेको बधशालाको बिहीबार विज्ञसहितको टोलीले अनुगमन गरेको हो । उहाँका अनुसार बिहान ५ बजे अनुगमन टोली पुग्दा लापाली मासु पसलको नामबाट सञ्चालित बधशाला बन्द गरेर राखेको भेटियो । “काट्नकै लागि ल्याएर राखिएका पशुहरु थिए तर बधशाला बन्द थियो”, डा सिलवालले भन्नुभयो, “हिजो अस्ती काटिरहेको बुझिन्छ, हामी बिहान ५ बजे पुग्दा पनि बन्द भएको भेटियो, पशु वस्तु थिए, कतैबाट सूचना पाएर बन्द भएको हुनसक्ने बुझिन्छ ।” अघिल्लो वर्ष बधशाला निर्माणका लागि प्रदेश सरकारको अनुदान सहयोग लिए पनि पुरानै ठाउँमा काट्ने गरेको भेटिएको छ ।

    कमेरेको नमल फ्रेस हाउस नामबाट सञ्चालन भइरहेको पशु बधशाला झन् वरिपरि मान्छे पुग्नै नसक्ने अवस्थामा पाइएको छ । पशु काटेर थुपारिएका छाला र हड्डीहरुले दुर्गन्धित त छँदैछ कुहिएको छाला र हड्डीले वरपरसमेत जान सकिँदैन । नाम बधशाला भनिए पनि बधशालामा हुनुपर्ने न्यूनतम मापदण्ड पनि लागू नगरेको भेटिएको नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक दीपक विश्वकर्माले बताउनुभयो ।

    पशु बधशाला तथा बधस्थल सञ्चालन मापदण्डअनुसार मासु काट्दा माक्स, एप्रोन, पन्जा, गमबुट अनिवार्य लगाउनु पर्छ । मासु काट्दा लगाउने र बाहिर लगाउने कपडा छुट्टै हुनुपर्छ । यी सामान्य मापदण्ड पनि लागू नगरेको पाइएको छ । “मापदण्डअनुसार सफा तथा स्वच्छ पानीले मासु धुनुपर्छ, बर्खाको बेला पनि खोलाको धमिलो पानी तानेर धुने गरेको भेटियो”, अनुगमनमा पुग्नुभएका नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्याय भन्नुहुन्छ, “मासु राखेका स्टोर कोठाहरु पनि सरसफाइ छैन, त्यहाँ काटेको मासु खानयोग्य देखिएन ।”

    उहाँका अनुसार मासु काट्ने र मासु लिन जानेहरुले प्रयोग गर्ने शौचालयमा पनि दिशा भरिएर जाम भएर दुर्गन्धित अवस्थामा छ । शौचालय जाँदा बोतलमा पानी बोकेर जाने गरेको र पर्याप्त पानी नभएकाले शौचालयको फोहोरसमेत मासुमै मिसिने खतरा रहेको भेटिएको उहाँले जानकारी दिनुभयो ।

    पशु बध गर्नुअघि बेहोस बनाउने र मार्नका लागि प्रयोग गर्ने उपकरण केही छैन । टाउकोमा घनले हानेर मार्ने पुरानै तरिका अपनाउने गरेको अनुगमन टोलीले भेटेको छ । मासु खानयोग्य हुन्छ कि हुँदैन भनेर काट्नु अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्छ । उहाँका अनुसार काटिसकेपछि त्यो मासु खानयोग्य छ कि छैन भनेर परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि दुवै बधशालामा पशु र मासु परीक्षण गर्ने मान्छे तथा उपकरण नै छैन ।

    बधशालाले लापरबाही तरिकाले काटिरहेको मासु बजारका मासु पसललेहरुले ल्याएर बेच्ने गरेको नगरपालिकाका पशु सेवा शाखाका सुवास खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार एउटा बधशालामा औषतमा दैनिक दुईदेखि तीन राँगा तथा भैँसी काटिने गरेको छ । बजारका प्रायः सबै मासु पसलहरुले त्यहीँबाट ल्याएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । मासु पसलमा सफा देखिए पनि गुणस्तरहीन हुनसक्ने खतिवडाको भनाइ छ ।

    जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, नगरपालिका, भेटेरिनरी अस्पताल लगायतले पटक पटक सुधार गर्न निर्देशन दिने गरेको भए पनि वर्षांैदेखि यी बधशालाहरु सुध्रिएका छैनन् । यसअघि पनि पटक–पटक तत्काल सुधार गर्न निर्देशन दिइएको थियो । बधशाला सञ्चालन गर्नेहरुले विभिन्न बहाना बनाउने र अनुगमन गर्ने निकायले निर्देशन दिने तथा फर्किने काम मात्रै भएको देखिएको छ । यस पटक पनि कमेरेमा रहेको बधशालाले एक वर्ष मात्रै जग्गाको सम्झौता बाँकी भएको भन्दै अनुगमन टोलीलाई गुनासो सुनाएको छ । अनुगमन टोली भने सरसफाइको कुरालाई आजैदेखि लागू गर्न र भौतिक संरचनाका कुरा एक हप्ताभित्र सुधार गरेर मापदण्डको दायरामा ल्याउन निर्देशन दिएर फर्किएको छ ।

    बधशाला सञ्चालकहरुले प्रशासन र सम्बन्धित निकायहरुको निर्देशन अटेरी गर्दै खुल्ला रुपमा पशु बध गरेर खुल्ला रुपमै ढुवानी गरिरहेका छन् । नियमनकारी निकायले मापदण्डमा ल्याएर कारबाही गर्न सकेको छैन । धादिङबेँसीका अधिकांश मासु पसल पनि मापदण्ड विपरीत नै भेटिएका छन् । बुधबार र बिहीबार मात्रै ४० मासु पसलमा अनुगमन गर्दा दुई÷तीनवटा पसलमा मात्रै पूर्ण रुपमा मापदण्ड लागू भएको पाइएको नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक राजेश कोइरालाले बताउनुभयो । “बुधबार १७ र बिहीबार २३ मासु पसलमा अनुगमन गरियो, धादिङबेँसीमा अनुगमन भएका दुई/तीनवटा पसलले मात्रै पूर्ण रुपमा मापदण्ड पूरा गरेको देखिन्छ”, कोइरालाले भन्नुभयो ।

    जिल्ला सदरमुकाम धादिङबेँसीको पुछार बजार, बीचबजार, सिरान बजारसहित आसपासमा कति मासु पसल छन् भन्ने तथ्याङ्क यकिन छैन । सिरानबजारको लिला मासु पसलको फ्रिजमा सडेको मासु पाइएको छ । पुछार बजार, माले बगर क्षेत्रका मासु पसल दर्ता बिनै सञ्चालन भएको पनि पाइएको छ । यस पटकलाई सचेतनामूलक बजार अनुमगन भनिएकाले कारबाही नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको भनाइ छ । दर्ता नभएका र मापदण्ड पूरा नगरेका सबै पसलहरुलाई लिखित रुपमै सुझाव दिएर तत्काल सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । अनुगमनमा सरोकारवाला निकायका प्रतिनिधि, प्राविधिक र स्थानीय जनप्रतिनिधि सहभागी हुनुहुन्थ्यो । -राष्ट्रिय समाचार समिति (रासस)

  • धादिङ राजमार्ग क्षेत्रका विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै

    धादिङ राजमार्ग क्षेत्रका विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै

    धादिङ, २८ भदौ
    राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।

    ट्राफिक नियमको अभावमा साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जिवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ ।

    “राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ”, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, “सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिइएको हो ।”

    विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

    ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखु लगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारी साधनको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

    बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । चाडपर्व नजिकिएसँगै राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्दाभिन्दै कार्यक्रम गर्दै आएको छ । रासस

  • डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

    डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

    मलेखु (धादिङ), २५ भदौ :

    धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।

    आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहनुभएका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।

    “पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर रू १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो”, चेपाङले भन्नुभयो, “अहिले बजारमा डोको बिक्न छोड्योे ।” चौकीभञ्ज्याङ र आसपासका सबैको पुख्र्याैली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उहाँले बताउनुभयो ।

    चेपाङ कतिले पुख्र्याैली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।

    डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काउनुभएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । “हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन”, उहाँले भन्नुभयो, “अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउदैनन् । पुख्र्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।”

    विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा रू दशसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाउनुभयो । “त्यस समयमा रू दुईमा एक पाथी नून, रू छ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०/१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले बजारमा डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।” उहाँका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।

    उहाँकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाउनुभयो । “त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो”, तिलकुमारीले भन्नुभयो, “अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।”

    डोकोको आकार हेरेर रू तीन सयदेखि रू पाँच सयसम्म र खाङ्ग्रेको रू एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताउनुभयो । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उहाँको भनाइ थियो । “गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । छदेखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ”, उहाँले भन्नुभयो ।

    प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताउनुभयो । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उहाँको भनाइ थियो । “गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्”, उहाँले भन्नुभयो, “अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुख्र्याैली पेसा सङ्कटमा पर्दै गएको हो ।”

    चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुख्र्याैली पेसा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् । रासस