Category: धादिङ

  • मलेखुबाट चार किलो चरेश बरामद, दुईजना पक्राउ

    मलेखुबाट चार किलो चरेश बरामद, दुईजना पक्राउ

    धादिङ, २७ फागुन
    पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ । गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३० प ७०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

    प्रहरीले मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले चरेशसहित नगद रु ३० हजार पनि बरामद गरिएको छ ।

    “शङ्का भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा गरेकाे र मलेखु पुगेपछि नियन्त्रणमा लिएर जाँच गर्दा कालो झोलाभित्र तीन वटा बट्टामा चरेश भेटियो”, जैसवारले भन्नुभयो ।

    प्रहरीले सो सम्बन्धमा अनुसन्धान चलिरहेको बताएको छ ।

  • धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला

    धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला

    मलेखु (धादिङ), २४ फागुन :

    धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

    कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

    गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

    बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए ।

  • धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

    धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

    धादिङ, २३ फागुन
    धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।

    दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी छ ।

    उहाँले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताउनुभयो । प्रउ गौतमले “घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।”

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • अँगेनोमा बालेको आगो सल्किँदा घर जलेर नष्ट

    अँगेनोमा बालेको आगो सल्किँदा घर जलेर नष्ट

    मलेखु, १२ फागुन
    पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।

    गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभयो । “दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्”, तामाङले भन्नुभयो, “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।”

    करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् ।

  • धादिङमा विद्युतीय आरोले काटेर ३८ वर्षीय युवकको मृत्यु

    धादिङमा विद्युतीय आरोले काटेर ३८ वर्षीय युवकको मृत्यु

    धादिङ, २८ माघ
    आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।

    अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • एमाले धादिङ जिल्ला अधिवेशन : नेता र कार्यकर्ताबीच कुटाकुट हुँदा एकजनाको हात भाँचियो

    एमाले धादिङ जिल्ला अधिवेशन : नेता र कार्यकर्ताबीच कुटाकुट हुँदा एकजनाको हात भाँचियो

    चितवन, २१ माघ
    एमाले धादिङ जिल्ला अधिवेशनमा नेता र कार्यकर्ताबीच कुटाकुट हुँदा एकजनाको हात भाँचिएको छ। हात भाँचिनेमा पार्टी कार्यकर्ता सन्तोष खनाल रहेका छन् ।

    बागमती प्रदेश एमाले अध्यक्ष कैलाश ढुंगेलले एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रको विवाद बढेर कुटाकुटमा परिणत भएको बताएका छन् । अधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा भएको विवाद बढ्दै जाँदा असहज, आक्रमक र आतंकित परिस्थिति देखा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘जिल्ला कमिटीबाट पाँच प्रतिशत मनोनयन हुने प्रतिनिधिका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो। जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्कासमेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको शुरूवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रमक र आतंकित परिस्थिति देखा पर्यो । यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ’, विज्ञप्तिमा ढुंगेलले भनेका छन् ।

    अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । तर, तनाबको स्थिति आएपछि अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको छ ।

    यस्तो छ विज्ञप्ति :-

     

  • धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

    धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

    मलेखु (धादिङ), ३ माघ :

    धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

    दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।

  • भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा

    भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा

    मलेखु, २४ कात्तिक
    धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो ।

    व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । तिहार लक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पु¥याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उहाँले बताउनुभयो ।

    “तिहारमा प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारीलगायतका सामग्री फेला परेको छ”, उहाँले भन्नुभयो, “सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।”

    व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महँगोमा भाइ मसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ । व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । विभिन्न किसिमका सामान जम्मा गरेर आफँैले प्याकिङ गरिरहेकोसमेत फेला परेको उहाँले जानकारी दिनुभयो ।

    तिहार लक्षित भाइ मसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ । (रासस)

  • प्लास्टिकजन्य फूलका गुच्छा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

    प्लास्टिकजन्य फूलका गुच्छा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

    काठमाडौँ, २३ कात्तिक
    जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलकोगुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्रीवितरणलाई पूर्णरुपमा नियन्त्रण गरिने बताउनुभयो ।

    उहाँले स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको प्रयोग गर्न गराउन जिल्लास्थित सार्वजनिक निकाय, राजनैतिक दल, उद्योगी व्यवसायी, नागरिक समाजलगायत सम्पूर्ण जिल्लावासीमा अनुरोधसमेत गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलका गुच्छा, मालाआदिको उत्पादन, बिक्री वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

    किसानबाट उत्पादित फूल स्थानीय माग धान्न पर्याप्त रहेको उल्लेख गर्दै सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूलको गुच्छा उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरुपमा रोक लगाएको कार्यालयद्वारा आज जारी सूचनामा स्मरण गराइएको छ ।

    प्लास्टिकजन्य फूलका गुच्छा, मालाका साथै चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, तथा कृत्रिम अभावको सिर्जना गरी मूल्यवृद्धि गर्ने जस्ता कार्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।

  • धादिङको विकट बस्ती तिप्लिङमा मोटर बाटो पुग्यो, स्थानीय खुसी

    धादिङको विकट बस्ती तिप्लिङमा मोटर बाटो पुग्यो, स्थानीय खुसी

    मलेखु (धादिङ), १७ कात्तिक
    धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

    चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको छ । विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

    धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ । तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो ।

    धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिनुभयो । सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको तामाङले बताउनुभयो ।

    मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ । पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन् । सडक सञ्जाल जोडिए पनि सबैखालका मोटर भने जान सक्दैन । धेरै घुम्ती र उकालो–आरालो अत्यधिक भएकाले जोखिम भने थुप्रै छ । खोलामा पुल नहँुदा पानीमै जोखिम मोल्नुपर्ने बाध्यता छ ।