Category: धादिङ

  • नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

    नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

    धादिङ मंसिर २२, 

    नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ ।

    सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन उक्त सडक यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो ।

    सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ ।

    यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह गरेको छ ।

    त्रिभुवन राजपथको नागढुङ्गा–नौबीसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ ।

    काठमाडौं जिल्ला भित्रपर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ ।

    यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    एकै पटकमा धेरै गह्रौं उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए ।

    यो समयमा नागढुङ्गा–पिपलामोड खण्डको लागि काठमाडौंतर्फबाट आउने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र गल्छीबाट काठमाडौंतर्फ जाने सवारीलाई खानीखोला र जुँगे खोलामा रोकिनेछ ।

    गल्छी–गजुरी खण्डको लागि नौबीसेतर्फबाट आउने सवारीलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबीसेतर्फ आउने सवारीलाई मलेखु क्षेत्रमा रोकिने सडक आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

    अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन् ।

    सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सक्नेछन् ।

    एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहनजस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्नेछ ।

  • चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

    चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

    धादिङ मङ्सिर २०

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

    स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    दुर्घटनामा परेको बस मध्य एउटा बस चितवनको कालिका नगरपालिका वडा नं. ६ मा रहेको माध्यमिक विद्यालय रेडक्रसग्रामको स्कुलबस रहेको खुलेको छ ।
    कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई दुईदिने शैक्षिक भ्रमणमा लिएर गएको बस दुर्घटनामा परेको हो ।

    ४३ जना विद्यार्थी र ४ जना शिक्षक बसमा सवार रहेकामा ७ जना विद्यार्थी घाइते भएका विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले जानकारी दिए । घाईते मध्ये २ जनालाई उपचारको लागी काठमाडौँ पठाईएको छ।
    घाईते विद्यार्थीहरुको उपचार र उद्धारको लागी आवश्यक समन्वय र पहल भईरहेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए।

  • वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

    वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

    धादिङ, १२ भदौ :
    कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् ।

    विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ ।

    काठमाडाँैदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्नुहुन्छ, “हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पु¥याउनुपर्छ ।” बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स–साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ ।

    सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्नुहुन्छ, “पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।”

    पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।

    मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी प¥यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ ।

    “कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भन्नुभयो ।

  • काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध

    काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध

    काठमाडौँ भदौ १२
    काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।

    रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले  बताए ।

    घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरिएको छ । जेसीबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

    दुईतर्फी बाटो अवरुद्ध भएको स्थान मंगलटारबाट २ सय मिटरेको दुरीमा पर्छ ।

  • सडकमै पल्टियो काठमाडौं आउँदै गरेको माइक्रो, ८ जना घाइते

    सडकमै पल्टियो काठमाडौं आउँदै गरेको माइक्रो, ८ जना घाइते

    काठमाडौं, भदौ ६
    धादिङमा माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

    बुटवलबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१-००२ ज ६७६३ नम्बरको माइक्रो शुक्रबार साँझ साढे ६ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ विशालटारस्थित पृथ्वी राजमार्ग सडकमा पल्टिएको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उक्त माइक्रोमा ११ जना सवार थिए।

  • धादिङमा ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

    धादिङमा ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

    मलेखु (धादिङ), १६ साउन :
    धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी राजमार्गमा आज ट्याङ्करले दुई सवारीसाधनमा ठक्कर दिँदा सात जना घाइते भएका छन् ।

    चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो । माइक्रोमा सवार १३ जनामध्ये सात जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार घाइतेहरू चन्दा गौतम, भीमकुमारी भट्ट, शारदा परियार, सन्दीप सुनार, सिर्जना पचभैया, जमुना पचभैया र धनबहादुर खड्का रहेका छन् । तीन जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था मध्यम प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

    घाइतेलाई प्रारम्भिक उपचारपछि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ । ट्याङ्कर चालक सतिष बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङ्करसहित तीन वटै सवारीसाधन घटनास्थलमै रहेका छन् ।

  • धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

    धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

    मकवानपुर २४ असार
    धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।

    शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ ।

     

  • धादिङको गल्छीमा दुई हाइस आपसमा ठोक्किँदा १२ जना घाइते

    धादिङको गल्छीमा दुई हाइस आपसमा ठोक्किँदा १२ जना घाइते

    मलेखु (धादिङ), जेठ ३० :
    गल्छी गाउँपालिका–६ भल्टारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् ।

    बिहीबार अपराह्न करिब ४ः४५ बजे लमजुङबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ६९४ नम्बरको हाइस र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश०१–००६ख ७१४१ नम्बरको हाइस एक आपसमा ठोक्किएको हो ।

    दुर्घटनामा परी दुवै गाडीबाट ६–६ जना गरी कुल १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो । घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ रेफर गरिएको सूचना अधिकारी हमालले जानकारी दिनुभयो ।

    घटनास्थलमा प्रहरी निरीक्षक चरीबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् भने सडक अवरुद्ध नभएको जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

  • धादिङको ज्वालामुखीमा रोटरी र रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनको स्वास्थ्य शिविर

    धादिङको ज्वालामुखीमा रोटरी र रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनको स्वास्थ्य शिविर

    चितवन, जेठ ४ –
    धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    ज्वालामुखी गाउँपालिका, रोटरी क्लव अफ नारायणी मिड टाउन र रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनको आयोजनामा जेठ ३ गते शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो । चितवन एभरेष्ट हस्पिटल र मङ्गलम डेन्टल केयरको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

    स्थानपति आधारभुत विद्यालय ज्वालामुखी गाउँपालिका ७ मा सम्पन्न स्वास्थ्य शिविरमा ५६८ जना सहभागी भएका रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष राजिव घिमिरेले जानकारी दिए । ५६८ मध्ये जनरल फिजिसियन तर्फ १६९ जना, हाडजोर्नी तथा नसा रोग तर्फ १५४ जना, आँखा जाँच तर्फ १२६ जना, दन्त सेवा तर्फ ४५ जना, बाल रोग तर्फ ६ जना, छाला रोग तर्फ २७ जना र महिला रोग तर्फ ४१ जनाले सेवा लिएको अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा ५० वटा चस्मा समेत वितरण गरिएको थियो ।

  • धादिङमा बोलेरो भारतीय ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु

    धादिङमा बोलेरो भारतीय ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु

    धादिङ, वैशाख ६

    धादिङमा बोलेरो गाडी भारतीय ट्रकसँग ठोकिँदा एक यात्रुको मृत्यु भएको छ। काठमाडौँबाट पोखरा जाँदै गरेको प्र ३-०१-०२३ च ६५८ नम्बरको गाडी हिजो (शुक्रबार) राति पृथ्वी राजमार्गअन्तर्गत एक्लेफाँटमा यूपी ३२ टीएन ४१९८ नम्बरको भारतीय ट्रकको पछाडिको भागमा ठोकिएको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका-१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको थियो। तर उपचारका क्रममा शनिबार बिहान २ बजेतिर उनको मृत्यु भएको डिएसपी हमालले जानकारी दिए।

    बोलेरो गाडीमा रहेका चालकसहित अन्य ५ जना भने सकुशल छन् । हाल भारतीय ट्रक चालक भारत उत्तर प्रदेश मोहमदपुर खला बस्ने ४० वर्षीय कमलेश कुमार यादब र बोलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।