Category: धादिङ

  • धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

    धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

    धादिङ, २० वैशाख
    धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

    गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले राससलाई बताउनुभयो । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।

    “राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो”, प्रहरी उपरीक्षक केसीले भन्नुभयो ।

    यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

    आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उहाँले बताउनुभयो । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।

    यसैबीच, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताउनुभयो ।

  • धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

    धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

    धादिङ, १९ वैशाख
    साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।

    गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दैआएको बताउनुभयो । “साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,” अधिकृत श्रेष्ठले भन्नुभयो ।

    गङ्गाजमुना-२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेकोे भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताउनुभयो । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उहाँको भनाइ छ ।

    हाल ‘री’ गाउँका ६ युवाले रु दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताउनुभयो । उक्त महभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।

    गङ्गाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताउनुभयो । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लाग्नुभएको थियो । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ ।

    गङ्गाजमुनाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गङ्गाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँमासमेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गङ्गाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् । पर्यटन विकास संंयोजक ढकालले गङ्गाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौँमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

  • धादिङमा कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले बनाए विद्युतीय गाडी

    धादिङमा कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले बनाए विद्युतीय गाडी

    धादिङ, १४ वैशाख
    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो ।

    “कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ”, अर्का विद्यार्थी अधिकारीले भन्नुभयो, “हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।”

    केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान ग¥यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।

    सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उहाँहरु बताउनुहुन्छ । बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताउनुभयो । ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।

    गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ । अध्यक्ष उप्रेतीले उहाँहरुलाई नगदसहित सम्मान गर्नुभएको हो । गाडी प्रदर्शन कार्यक्रममा पुग्नुभएका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाउनुभएको थियो । गाडी बनाउनुभन्दा पहिला उहाँहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

  • धादिङमा गुडिरहेको ट्रकमा आगो लागेपछि…

    धादिङमा गुडिरहेको ट्रकमा आगो लागेपछि…

    चितवन, १२ वैशाख
    धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारस्थित पृथ्वीराजमार्गमा गुडिरहेको एक्कासि ट्रकमा आगलागी भएको छ ।

    भैरहवाको सुनौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रकमा औषधि बनाउने केमिकल लोड गरिएको थियो ।

    ट्रकमा लागेको आगो नियन्त्रणमा आउन नसक्दा ट्रकमासमेत क्षति भएको छ । घटनास्थलमा दमकल आउन ढिला भएकोले आगो नियन्त्रणमा लिन कठिन भएको चालक सुशील विकले बताए ।

    औषधिजन्य केमिकलहरु एकआपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक विकले बताए ।

  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    मलेखु, ११ वैशाखः

    रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।

    केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।

    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

    धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

  • पोर्चुगलमा दुई सातादेखि बेपत्ता भएका टेकबहादुरको शव समुद्रमा भेटियो

    पोर्चुगलमा दुई सातादेखि बेपत्ता भएका टेकबहादुरको शव समुद्रमा भेटियो

    पोर्चुगल, ६ चैत
    सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

    धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिनुभयो । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

    गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

    परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिनुभयो ।

    वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए ।
    नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकैपर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलामा राखिएको छ । -राष्ट्रिय समाचार समिति (रासस)

  • घादिङ मिनिट्रक दुर्घटना: घाइते बालकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

    घादिङ मिनिट्रक दुर्घटना: घाइते बालकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

    धादिङ, ४ वैशाख
    धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ ।

    दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

    नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएका छ जना घाइतेको भने काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार जारी छ ।

    दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरुको मृत्युले गाउँ नै शोकमा परेको छ ।

    साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

  • धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

    धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

    २ वैशाख, काठमाडौं
    धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

    नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए ।

    घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी मिश्रले जानकारी गराए ।

  • धादिङका किसान चैतेधान रोपाइँमा व्यस्त

    धादिङका किसान चैतेधान रोपाइँमा व्यस्त

    धादिङ, २२ चैत
    धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।

    चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका–७ का किसान बलराम अधिकारीले बताउनुभयो ।

    कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा दश हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिनुभयो ।

    उहाँले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण सङ्कलन भइनसकेको बताउनुभयो ।

  • धादिङमा मूर्ति चोरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

    धादिङमा मूर्ति चोरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

    धादिङ, १३ चैत
    थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित आग्रा खोलाबाट उक्त मूर्तिसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।