Category: धादिङ

  • धादिङ ट्राफिकले सुरु गर्यो सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण अभियान

    धादिङ ट्राफिकले सुरु गर्यो सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण अभियान

    मलेखु (धादिङ), १९ भदौ
    राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।

    यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । “धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ”, उहाँले भन्नुभयो, “धादिङ जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ ।”

    अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ । पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो । “सबै जिल्लाबाट आवतजावत गर्ने सवारीसाधनका चालक सहचालकको धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो अभियान थालिएको हो”, उहाँले भन्नुभयो ।

    स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य समस्या भएकामध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटियो । स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएका छौँ । सवारीधनीलाई फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिएका छौँ ।”

    दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो ।”

    यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । “नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएका छौँ, धादिङ जिल्लामा २४सै घण्टा जाँच पर्ने गरी ठाउँ–ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    चालक र यात्रुले भने सडकमै जाँच गर्नुको सट्टा काउन्टरबाट सवारी छुट्नुअघि जाँच गर्दा अझ प्रभावकारी हुने बताएका छन् । बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्याउन ढिलाइ हुने भएकाले सवारी छुट्ने ठाउँ बसपार्कमै यस्ता जाँच गर्न चालक मनोज कुमालले आग्रह गर्नुभयो । यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन् । दिनानुदिन भइरहेका दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने यात्रु लोक थापामगरले बताउनुभयो । रासस

  • मध्यबर्खामा पनि खानेपानीको पिरलो

    – शङ्कर श्रेष्ठ
    मलेखु (धादिङ), १५ भदौ
    धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ ।

    यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ । गाउँभरिमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ ।

    स्थानीय शेरबहादुर तामाङले भन्नुभयो, “सबैले चार/चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ ।” उहाँका अनुसार यहाँ अहिले पनि खानेपानी पुगेको छैन ।

    जताततै पानीको छ्यालछ्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो । भौगोलिक हिसाबले सङ्घीय राजधानी काठमाडौँबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ । पानी, बत्ती र बाटो यी तिनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन् । शेरबहादुरले भन्नुभयो, “मध्य बर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौँ ।”

    गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटा मात्रै धारा छ । “भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुङ्गो हुँदैन । धारामै पानी आए पनि धितमर्ने गरी पानी खान पाइदैन”, उहाँले भन्नुभयो, “खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन ।” मेसिनको सहायताले धारामा ल्याइएको पानी छ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी छ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

    स्थानीय कविता तामाङका अनुुसार पोखरीडाँडामा पानी जम्मा गर्ने एउटा सानो ट्याङ्की छ । “गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ । दैनिक पाँच हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “पाँच हजार लिटर पानीले ६८ घरपरिवारले प्यास मेटाइरहेका छन् ।” एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात् ८० लिटरका दरले पानी भागमा पाउने उहाँले जानकारी दिनुभयो ।

    माइक्रो हाइड्रो पावरको बत्ती प्रयोग गरेर पानी तानिएको भन्दै बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्न नसकने कविताले बताउनुभयो । गाउँमा बिजुली बिग्रिएको बेला एक दिन थापेको चार भाँडो पानीले दुई÷तीन दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ । “त्यो पनि हावाहुरी चलेका बेला बिजुली बिग्रियो भने आकाशे पानी थापेर खानु सबैको बाध्यता हो”, उहाँले दुःख सुनाउनुभयो ।

    गाउँको धारोमा पानी भाग नपुगेको दिन आवतजावत पाँचदेखि छ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको कविताले बताउनुभयो । “खोलामा पानी लिन जान सबैभन्दा नजिक घर हुने पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ”, उहाँले भन्नुभयो, “पाखुरे, काउलेखोला, फुर्लुङडाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ ।”

    पानीको दुःखले भोक, निन्द्रा केही नलाग्ने स्थानीय मैना तामाङको भनाइ थियो । खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयको दिन बित्ने गरेको उहाँले बताउनुभयो । खाना पकाउन आकाशे पानीको प्रयोग गर्ने गरिएको बताउँदै उहाँले खोलामा बाढी आएका बेला आकाशेपानी नै खाने गरेको बताउनुभयो । “लुगा धुन, नुहाउन खोलामा नै जान्छन्”, मैनाले भन्नुभयो, “पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याउँदैन ।”

    घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानी पु¥याउन करोडौँको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको सधैँ कष्ट छ । “हिउँमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ”, मैनाले भन्नुभयो, “गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौँदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन् ।”

    “देशमा कैयौँपटक सरकार परिवर्तन भए । कैयौँ मन्त्री फेरिए । ‘घरघरमा सिंहदरबारको’ नारासहित दोस्रो पटक स्थानीय सरकार बदलियो । सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्यूँ का त्युँ छ”, स्थानीय ६७ वर्षिया साइली तामाङले भन्नुभयो । हिउँदमा खोलामा पानी लिन जानेको लाम हुने गरेको उहाँको भनाइ थियो । पिँठ्युमा खानेपानीको ग्यालिन बोकेर तिर्खा मेटाउने गरिएको उहाँले बताउनुभयो ।

    “गाउँको बीचमा दुई वटा आहाल बनाएर आकाशेपानी जमाउने गरिएको छ । वस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटामध्ये एउटा आहाल यो वर्ष सुख्खै छ”, साइलीले भन्नुभयो, “आहाल सुधार गर्न वरपर ढुङ्गाको वाल उठाउन थालेकाले आकाशेपानी पनि जमाउन सकिएको छैन ।”

    ‘एक घर एक धारा’ तीनै तहका सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौंदेखि खानेपानीको सास्ती व्यहोर्न बाध्य छन् । गत आर्थिक वर्षमा दुई वटा ट्याङ्की निर्माण गरी पानी ल्याउने योजना बनाइए पनि मुहानबाट ट्याङ्कीसम्म पानी पु¥याउन नसकिएको स्थानीय बताउँछन् ।

    यस्तो छ योजना

    ‘फियान नेपाल’ नामक गैरसरकारी संस्थाको सहयोगमा बजेट माग्दै स्थानीय नगरपालिका गएपछि आर्थिक वर्ष २०७८÷७९ मा खानेपानीका लागि रू ४० लाख बजेट विनियोजन भएको थियो । उक्त रकममा दुई वटा ट्याङ्की निर्माण गरिएको छ । एउटा गाउँको सिरानमा र अर्काे गाउँको बीच भागमा छ ।

    आर्थिक वर्ष २०८०÷८१ मा रू ६१ लाखमा पलभिस कन्ट्रक्सनले दुई योजना निर्माणको जिम्मा पाएको थियो । गाउँको सिरानसम्म एउटै लिफ्टिङबाट सम्भव नभएपछि प्राविधिक सल्लाहअनुसार दुई वटा लिफ्टिङ गरेर पानी तान्ने योजना बनेको ठेकेदार कम्पनीका प्रमुख सुनिल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो लिफ्टमा बीचको ट्याङ्कीमा जम्मा गर्ने दोस्रो लिफ्टमा बीचको ट्याङ्कीबाट सिरानको ट्याङ्कीमा हालेर गाउँमा वितरण गर्ने योजना छ ।

    यसै वर्ष खोलाको पानी ५० हजार लिटर सङ्कलन गरी ट्याङ्कीमार्फत गाउँसम्म पु¥याउने उद्देश्यले काम थालिएको प्रमुख शर्माले बताउनुभयो । असारमै काम सक्नुपर्ने भए पनि वर्षामा भौगोलिक विकटता, निर्माण सामग्रीको अभावलगायत कारणले काम रोकिएको उहाँको भनाइ थियो । पानी तान्ने पाइप गाउँसम्म पु¥याइएको भन्दै उहाँले अब छिट्टै पुनः काम थाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँमा नपुग्नु अर्काे समस्या रहेको स्थानीय उर्मिला तामाङले बताउनुभयो । “बिजुली बत्तीका लागि गाउँमा खम्बा पनि गाड्न थालेको एक वर्ष भयो । अहिलेसम्म सबै ठाउँमा खम्बार र तार पुगेको छैन”, उहाँले भन्नुभयो, “सरकारी बिजुली आइदिएदेखि ठूलो मोटरले पानी तान्ने आश यो वर्ष पनि अधुरै बनेको छ ।”

    गाउँमा खम्बा गाडिए पनि पानी तान्ने खोलासम्म खम्बा र तार पु¥याउन बाँकी नै रहेको उर्मिलाले बताउनुभयो । “बिजुली बत्तीको सुविधा आएदेखि पानीको पनि सुविस्था हुन्थ्यो कि भन्ने आशमा छौँ”, उहाँले भन्नुभयो । रासस

     

     

  • नागढुङ्गा–मुग्लिन सडक करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुँदै

    नागढुङ्गा–मुग्लिन सडक करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुँदै

    धादिङ, १० भदौ
    सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।

    यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ ।

    एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिनुभयो । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा रू १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उहाँले बताउनुभयो । “नौविसे नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ”, उहाँले भन्नुभयो ।

    सडक विभागको तथ्याङ्क अनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथहुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् ।

    उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताउनुभयो । साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ । समग्रमा कम्तीमा नौ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उहाँले जानकारी दिनुभयो । “नौविसे र खत्रीपौवामा पुल बन्दैछ । नौविसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ”, उहाँले भन्नुभयो ।

    सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुङ्गामाटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केहीबेर रोकेर काम गर्ने गरिएको कार्कीले बताउनुभयो । बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ । रासस

  • ‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

    ‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

    – शङ्कर श्रेष्ठ
    मलेखु (धादिङ), १० भदौ
    धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो ।
    ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताउनुभयो ।

    उहाँले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाउनुभएको छ । विसं २०७८ बाट ड्रागन फुडखेती सुरु गर्नुभएका उहाँले दोस्रोपटकको आम्दानी लिन थाल्नुभएको छ । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उहाँले भन्नुभयो, “घरैमा पुग्नेलाई प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेको छु ।”

    टाढा–टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो “विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आउनुभएको छु । ड्रागन फुडखेतीका लागि रु २२ लाख लगानी भइसकेको छ । यसलाई अझ विस्तार गर्ने सोचमा रहेको छु । ”

    कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उहाँ व्यावसायिक ड्रागन फुडखेतीमा रमाउन थाल्नुभएको छ । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बन्नुभएको छ व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उहाँले बताउनुभयो । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फुडखेतीको सुरुआत गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताउनुभयो । उहाँका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

    कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न उहाँको आग्रह छ ।

    नीलकण्ठ –१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहनुभएको छ । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाउनुभएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहनुभएको छ । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गर्नुभएका गुरुङले अहिले आम्दानी लिइरहनुभएको छ ।

    एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुल्नुभएको छ । गुरुङको बारीबाटै प्रतिकेजी रु पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।

    गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । उहाँको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । रासस

  • धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

    धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

    मलेखु (धादिङ), २ भदौ
    पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

    तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

  • पहिराको जोखिममा धादिङको रिगाउँ, विद्यालय बन्द

    पहिराको जोखिममा धादिङको रिगाउँ, विद्यालय बन्द

    २९ साउन, धादिङ
    धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

    बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका र जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सिधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।

    वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ । अहिले त्यहाँका बासिन्दाले घरायसी सरसामान र बस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले जानकारी दिए ।

    केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् । गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ । करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर पनि जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।

    कुनै पनि बेला पहिरो झर्नसक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ । स्कुलको दुई वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा परेको छ । कादुरी भन्ने संस्थाले दुई वर्षअघि निर्माण गरिदिएको खानेपानीको ट्याङकी पनि बगाउन सक्ने सम्भाबना बढेको छ ।

    हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले गएर गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले बस्ती खाली गराइएको हो ।

    जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्राय तामाङ समुदायको बसोबास छ । बर्खा लागेपछि यहाँ सवारीसाधन चल्दैन ।

  • दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

    दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

    काठमाडौं, २८ साउन
    पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

    आइतबार अपराह्न करिब साढे ४ बजे धादिङको गजुरी गाउँपालिका–१ स्थित गाउँपालिकाको कार्यालयनजिकै सडकमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी रुपमा बन्द भएको थियो ।

    अविरल वर्षासँगै सडकमाथिबाट लेदोसहितको पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको थियो । अहिले पहिरोबाट थुप्रिएको लेदो हटाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

  • गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं, २८ साउन
    पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    आइतबार अपराह्न करिब साढे ४ बजे धादिङको गजुरी गाउँपालिका–१ स्थित गाउँपालिकाको कार्यालयनजिकै सडकमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

    अविरल वर्षासँगै सडकमाथिबाट लेदोसहितको पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी गराएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य जारी छ ।

  • धादिङबेँसी–मलेखु सडक अवरुद्ध, ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल खुलाउन कठिन

    धादिङबेँसी–मलेखु सडक अवरुद्ध, ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल खुलाउन कठिन

    काठमाडाैं, साउन ३
    धादिङको सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ ।

    नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुवैतर्फ अवरुद्ध बनाएको हो ।

    अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ ।

    घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन् ।

    पहिरोले ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको ठाउँ साँघुरो घुम्तीसँगै उकालो भएकोले जोखिम बढेको छ ।

  • बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

    बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

    मलेखु, १२ जेठ

    खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् ।

    बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।

    विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरुको भनाइ छ । वर्षेनी खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् । “बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ ।” बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुग्नुभएकी टिकाकुमारी श्रेष्ठ भन्नुहुन्छ, “बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, वर्षेनी दुःख गर्यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।”

    अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइ छ । “दुःख ग¥यो, मल हाल्यो खेती ग¥यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ”, किसान देवीप्रसाद रिजाल भन्नुहुन्छ, “हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।”

    बाँदरले मकै नाश गरको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङवेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन् । रासस