Category: धादिङ

  • धादिङमा एक पुरुषले गरे गर्भवती श्रीमतीको हत्या

    धादिङमा एक पुरुषले गरे गर्भवती श्रीमतीको हत्या

    मलेखु, २४ साउन
    भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमानले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उनको मृत्यु भएको हो । निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए ।

    साउन १८ गते राति हत्या गरिएको अवस्थामा निशाको शव फेला परेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् प्रकाश मगरलाई प्रहरीले साउन २० गते पक्राउ गरी अनुसन्धान गरेको थियो । निशाको हत्या प्रकाशले नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिए । पटक पटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन् । निशाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ । रासस

  • धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

    धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

    धादिङ, साउन २३-
    जिल्लाका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन् ।

    बिग्रिएर थन्किएका बाहेक अन्य ५२ वटा एम्बुलेन्सले मापदण्ड पूरा नगरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एम्बुलेन्समा साइरन हुनुपर्ने, रातो रङको लामो सङ्केत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको हुनुपर्ने, एम्बुलेन्सको वर्गीकरण खुल्ने चिह्न हुनुपर्ने, निलो रङको कम्तीमा ३० सेन्टिमिटर दायाँबायाँ र पछाडि तीनतर्फ चिह्न राखिएको हुनुपर्नेलगायत मापदण्ड तोकिएको छ ।

    राजस्व छुट प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्ने, एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अङ्कको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्डमा प्रष्ट लेखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले बताउनुभयो ।

    मापदण्ड पालना नगरेमा कानुनबमोजिम कारबाहीको व्यवस्था गरेको भए पनि धादिङमा निर्वाध रुपमा सञ्चालित एम्बुलेन्सका बारेमा सम्बन्धित निकायको ध्यान नभएको स्थानीय बताउँछन् ।

    दुई वर्षअघि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जिल्लामा सञ्चालित ४२ एम्बुलेन्समा जिपिएस राखेको थियो । हरेक वर्ष गर्ने नवीकरण एम्बुलेन्स सञ्चालक आफैँले गर्नुपर्ने प्रावधान रहेको बताउँदै छत्कुलीले विभिन्न प्रतिष्ठानको नाममा सञ्चालन गरिएका र अन्य एम्बुलेन्सले जिपिएस राखेको जानकारी नभएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सदस्य सचिव रहने व्यवस्था छ । जिल्लामा ‘क’ र ‘ख’ वर्गका मात्र एम्बुलेन्स सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख भए पनि समितिको कार्यालयमा रहेको अभिलेख अनुसार हाल ५२ एम्बुलेन्स सञ्चालनमा आएका छन् । तीमध्ये अधिकांश ‘ग’ वर्गमा पर्दछन् ।

    हरेक वर्ष नवीकरण गर्नुपर्ने र समितिबाट सिफारिस लिनुपर्ने व्यवस्था भएको जनाउँदै तीन वर्षसम्म कुनै पनि एम्बुलेन्स नवीकरण गर्न नआएको सचिवालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका सूचना अधिकारी छत्कुलीले बताउनुभयो । तसर्पु स्वास्थ्य चौकी, धुनीबँेसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाँक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले सञ्चालन गरेको एम्बुलेन्स मात्र ‘ख’ वर्गका छन् । ख वर्गका एम्बुलेन्सले समेत नवीकरण नगरेका र निवेदन नदिएका उहाँको भनाइ छ ।

    जिल्ला अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स गत असार ५ गतेदेखि बिग्रिएर थन्किएको छ । चालक फेरबदल गरेपछि बुझबुझारत गर्दा बिग्रिएको अवस्थामा रहेकाले मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएसँगै बजेट व्यवस्थापनपछि सञ्चालन गरिने अस्पतालका सूचना अधिकारी डा राम रिजालले बताउनुभयो । युनाइटेड सिमेन्ट उद्योगले सञ्चालन गरेको एम्बुलेन्स एक वर्षदेखि, ताल्ती स्वास्थ्य चौकीको चार महिनादेखि बिग्रिएर थन्किएका छन् ।

    सरकारी मापदण्ड र मुलुकको कानुन अनुसार मानिसको जीवनसँग सरोकार राख्ने एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनको काम एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । कानुन विपरीत सञ्चालित एम्बुलेन्सलाई कानुनी दायरामा ल्याएर कारबाही गरिनेमा उहाँले जोड दिनुभयो । रासस

     

  • धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

    धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

    धादिङ, २१ साउन
    धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

    धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

  • धादिङमा तीन वटा चितुवा मृत फेला

    धादिङमा तीन वटा चितुवा मृत फेला

    धादिङ, साउन ११-
    धादिङ तीन वटा चितुवा मृत फेला परेको छ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको हो ।

    हिजो (बिहीबार) गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा फेला परेको थियो ।

    घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली घटनास्थलमा पुगेको थियो ।

    थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

  • त्रिशुलीमा हाम फालेका ट्रक सहचालक बेपत्ता, खोजी गर्दै प्रहरी

    त्रिशुलीमा हाम फालेका ट्रक सहचालक बेपत्ता, खोजी गर्दै प्रहरी

    चितवन, ४ साउन
    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् ।

    शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

  • धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    २७ असार, चितवन
    धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    बिहीबार दिउँसो साढे २ बजे धादिङको रोराङ गाउँपालिका-१० स्थित पानीधारा भन्‍ने ठाउँमा ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउन करिब १ घण्टा लाग्‍नेछ ।

    बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।

    सडक अवरुद्ध हुँदा पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको थियो भने जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको थियो ।

     

  • नौबिसे-मलेखु सडक भोलिदेखि १५ दिनसम्म राति बन्द हुने

    नौबिसे-मलेखु सडक भोलिदेखि १५ दिनसम्म राति बन्द हुने

    २५ असार, काठमाडौं

    नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने जनाएको छ ।

    सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।

    यस सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको पूर्वी खण्डले जनाएको छ ।

    पूर्वी खण्डका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् ।

  • नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने

    नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने

    मलेखु (धादिङ), १९ असार :

    नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ ।

    त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

    दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो । “पुलको आरसिसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भन्नुभयो, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”

    हेभी इक्पिमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ । चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उहाँले बताउनुभयो ।

    उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के शीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

  • त्रिशुली नदीमा बेपत्ता धादिङका एक बालकको शव फेला, एक बेपत्ता

    त्रिशुली नदीमा बेपत्ता धादिङका एक बालकको शव फेला, एक बेपत्ता

    काठमाडौँ, जेठ २७-
    त्रिशुली नदीमा बेपत्ता भएका दुई बालकमध्य एकको शव फेला परेको छ।

    हिजो (शनिबार) अपराह्न ४ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदीको शव फेला परेको हो । तर, अर्का १३ वर्षीय रिदम रोइला भने अझै बेपत्ता छन्।

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले कपडा भेटिएको १०/१५ मिटरनजिक करिब २० फिट गहिराइमा शव फेला परेको हो। अर्को बालकको खोजी जारी छ ।

  • अवैध उत्खनन बन्द गर्न धादिङका प्रमुख जिल्ला अधिकारीको निर्देशन

    अवैध उत्खनन बन्द गर्न धादिङका प्रमुख जिल्ला अधिकारीको निर्देशन

    धादिङ, २५ जेठ : 

    धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म र सडक निर्माणको नाममा अवैध रुपमा सञ्चालन भइरहेको उत्खनन तत्काल रोक्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सरोकार भएकालाई निर्देशन दिनुभएको छ ।

    अवैध रुपमा खानी सञ्चालन गरी बालुवा निकासी गरेको र पालिकामा तिर्नुपर्ने वातावरण शुल्कसमेत नबुझाएपछि स्थानीय तीन दल र बहुमत कार्यपालिका सदस्यले छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेसँगै प्रमुख जिल्ला अधिकारी पाण्डेले काम तत्काल रोक्न प्रहरीलाई निर्देशन दिनुभएको हो ।

    सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा बहुमत कार्यपालिका सदस्यको बैठकले विभिन्न आठ वटा निर्णयको प्रतिलिपिसहित अनुसन्धान र कारबाही गर्न अनुरोध गरेको छ ।

    गाउँपालिका कमिटीअन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष रामहरि बराकोटी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प थपलिया र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष ईश्वरी अर्यालले हस्ताक्षर गरेको छ बुँदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी पाण्डेलाई बुझाइएको माओवादी केन्द्रका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।

    गाउँपलिकाले विसं २०८१ जेठ १८ गते पिपलटार एकीकृत कृषि फार्म प्रालि सिद्धलेक–७ लाई प्रचलित ऐन तथा कानुनको पालना गरी कृषि कार्य गर्न मात्र अनुमति दिइएको थियो ।

    उक्त फार्मले सो क्षेत्रमा बालुवा भएको ठाउँ उत्खनन गरी दैनिक अवैध बालुवा निकासी गर्ने, कृषि फार्म सञ्चालन नगर्न दिइएको, अनुमतिको नाममा अवैध खानी सञ्चालन भइरहेको भन्दै कानुन विपरीतका कार्य बन्द गर्न पालिकाका अध्यक्षसहित अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    अध्यक्षबाहेक बहुमत कार्यपालिका सदस्यले पिपलटार अमनटारमा कृषिजन्य कार्य गर्ने क्रममा (जमिन सम्याउँदा) निस्केको भनिएको माटोजन्य पदार्थ निकासी गर्दा पालिकामा कानुनबमोजिम कर तिर्नुपर्नेमा नतिरेकाले अवैध उत्खनन निकासी बन्द गर्न र निकासी गर्दा पालिकालाई राजस्व तिर्न माग गरिएको एकीकृत समाजवादी गाउँपालिका कमिटीका अध्यक्ष अर्यालले बताउनुभयो ।

    निजी जग्गाको माटोजन्य वस्तु निकासी गर्दा वाग्मती प्रदेश सरकारको आर्थिक ऐन २०८० अनुसार प्रतिक्युफिट तीन रुपैयाँ ५० पैसाका दरले पलिकामा कर तिर्नुपर्नेमा प्रावधान छ । उक्त कर नतिरेपछि यही जेठ १९ गतेको सर्वदलीय बैठकमा बसेर छलफल भएको थियो ।

    “पालिका अध्यक्षले सोबापतको रकम तिराउँछु भने पनि पालिकामा जम्मा नभएकाले पालिकालाई हानिनोक्सानी पु¥याएको भन्दै कानुनविपरीतका कार्य बन्द गर्न माग गरेका हौँ”, एमाले गाउँपालिका कमिटीका अध्यक्ष बराकोटीले भन्नुभयो ।

    गतवर्ष वाग्मती प्रदेश सरकारले पिपलटार अमनटार सडक निर्माण गर्न रु १० लाख दिएको थियो । सडक निर्माण गर्दा निस्किएको माटोजन्य पदार्थको निकासी शुल्क रु १८ लाख एक हजार आठ सय पालिकाको खातामा जम्मा गर्नुपर्नेमा पिपलटार अमनटार सडक स्तरोन्नति आयोजना उपभोक्ता समितिले रु ६८ हजार दुई सय मात्र जम्मा गरेकाले बाँकी रकम तत्काल जम्मा गर्नसमेत माग गरिएको अध्यक्ष बराकोटीले बताउनुभयो ।

    फकुर्केखोलाबाट बुङचुङसम्मको क्षेत्रमा सात वटा गोठ निर्माण गर्न, सिसिटिभी क्यामरा राख्न र सडक छेउमा बिरुवा रोपेर हरियाली सडक बनाउन पालिकाले गरेको ठेक्कामा केन्द्र र प्रदेश सरकारको अनुदान कटौती भएकाले गर्न नसकिने अवस्थामा ठेक्का लगाएको भन्दै उक्त ठेक्का रद्द गर्न प्रमुख जिल्ला अधिकारीलाई राजनीतिक दल र जनप्रतिनिधिले छुट्टाछुट्टै माग गरेका छन् ।

    ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी पाण्डेले अवैधरुपमा भएको उत्खनन र कृषि फार्मको नाममा भएको उत्खनन तत्काल रोक्न र पालिकाले दिएको अनुमतिसमेत लिएर छलफलमा उपस्थित गराउन प्रहरीलाई तत्काल निर्देशन दिनुभएको छ ।

    बहुमत कार्यपालिका सदस्यले अनियमितता रोक्न गरेको निर्णय अध्यक्षलाई जानकारी गराउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ । सर्वदलीय बैठकमा केहीबेर छलफल गर्नुभएका गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडा यही जेठ २० गतेदेखि मोबाइल बन्द (अफ) गरेर सम्पर्कमा आउनुभएको छैन ।