Category: रत्ननगर

  • पूर्वि चितवनको नेपाल नमुना माविको प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर आन्दोलनमा उत्रियो अनेरास्ववियु

    पूर्वि चितवनको नेपाल नमुना माविको प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर आन्दोलनमा उत्रियो अनेरास्ववियु

    भरतपुर , १३ चैत
    पूर्वि चितवनको नेपाल नमुना माविको प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर अनेरास्ववियु चितवन आन्दोलनमा उत्रिएको छ ।

    रत्ननगर नगरपालिका २ स्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक र अध्यक्षको कुर्र्सी अनेरास्ववियुले चितवनले रुख बाँधेको हो । विद्यालयलाई राजनैतिक प्रयोगशाला बनाइएको भन्दै विरोधस्वरुप कुर्सी रुखमा बाँधिएको हो ।

    राजनैतिक द्वन्द्वका कारण विद्यालयमा प्रअ र व्यवस्थापन समितिबीच विवाद भइरहँदा विद्यालयको शैक्षिक गतिविधिमा प्रभाव परेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गगराउँदै आएको थियो ।

    केही दिनअघि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिले नयाँ प्रअ नियुक्ति गरेको छ । अदालतको आदेशबाट प्रअ नियुक्त भएका व्यक्तिलाई हटाएर समितिले अर्काे व्यक्तिलाई प्रअ नियुक्त गरेको हो ।

    उच्च अदालतको फैसला विरुद्ध नयाँ प्रधानाध्यापक नियुक्ति गरिएपछि नेपाल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कुर्सीलाई अनेरास्ववियुले रुखमा बाँधेर रचनात्मक विरोध गरेको हो । एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवन आन्दोलनमा उत्रिएको छ ।

    अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रत्ननगर नगरपालिका २ स्थित श्री नेपाल नमुना माध्यमिक विद्यालयमा भएको चरम राजनैतिक द्वन्द्वले विद्यालयको समग्र शैक्षिक वातावरण धमिलिएको विषयमा हाम्रो संगठनले सम्वन्धित पक्षहरूलाई पटक–पटक सचेत गराएको सर्वविदितै छ ।
    विद्यालयलाई राजनैतिक क्रिडास्थल बनाएर दुई व्यक्ति र समुहबीच भएको अन्तर द्वन्द्वले विद्यार्थीको अध्ययनलाई निकै नकारात्मक प्रभाव पारेको छ । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर सर्वसाधारण गरिब निमुखा जनताका छोराछोरी पढ्ने विद्यालयलाई राजनैतिक प्रयोगशाला बनाइनु खेदजनक छ । गरीबका छोराछोरी पढ्ने विद्यालयलाई स्वार्थको राजनिती गरी लामो समयदेखि प्रयोगशाला बनाउँदा कोही कसैले चुुईक्क नबोल्दा अनेरास्ववियु चितवन टुलुटुलु रमिता हेरेरमात्र बस्न सक्दैन । सामुदायिक विद्यालय ध्वस्त बनाएर निजि विद्यालयलाई प्रोत्साहन गर्ने गतिविधि भइरहँदा आफूलाई शिक्षाप्रेमि भन्न रुचाउने स्वघोषित शैक्षिक ठेकेदारहरुबाट वार्षिक परीक्षाको मुखैमा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।’

    विज्ञप्तिमा थप भनिएको छ, ‘स्वार्थ बाझिने गरी आर्थिक एवम् राजनैतिक लाभको आशामा विद्यालय जस्तो संवेदनशील शान्ति क्षेत्रमा प्रअ र नगरपालिका प्रतिनिधि (विद्यालय व्यवस्थापन समिति) अध्यक्ष बीचको सित युद्ध सँगै विकसित भएको भौतिक रुपमै देखिने असामाजिक क्रियाकलापले विद्यालयको गरिमालाई धमिलो बनाएको छ ।
    सम्मानित उच्च अदालत पाटन हेटौंडा इजलासले थमौती गरेको प्रधानाध्यापकलाई पुनः नगरपालिका र नगर शिक्षा समितिको सल्लाहमा विद्यालय व्यवस्थापन समितिले हटाएर अदालतकै अपहेलना गर्नुले संस्था र नेतृत्वकर्ताको शैक्षिक स्तर र कार्य क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ । नगरपालिका भित्रको एकमात्र नमुना विद्यालयको मैदानलाई रंगमञ्च बनाएर राजनैतिक नाङ्गो नाच प्रदर्शन तत्काल रोक्न र शान्तिपूर्ण शैक्षिक गतिविधि अगाडि बढाउन अनेरास्ववियु जिल्ला कमिटी चितवन हार्दिक आग्रह गर्दछ । राजनैतिक प्रतिशोधको आधारमा आफू निकट व्यक्तिलाई संरक्षण गरी विद्यालयलाई राजनैतिक भर्ती केन्द्र बनाउने गलत मनासयसहित राजनीतिक अभिष्ट पुरा गर्न गरिएको प्रपन्च तत्काल रोकेर १० दिन भित्रमा विद्यार्थीको सर्वाेत्तम हित हुने गरी अगाडि बढ्न सम्वन्धित सबैमा आग्रह गर्दछौं ।’

  • शालिन मृत्यु प्रकरण : स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

    शालिन मृत्यु प्रकरण : स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

    चितवन, ५ चैत
    शालिन पोखरेल मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो ।

    रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले बताए ।

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् ।

    जबर्जस्ती करणीपछि हत्या भएको दाबी परिवारले गर्दै आएको थियो । तर, मृतक बालिकाको पोष्टमार्टममा बलात्कार नभएको पुष्टि भएपछी परिवारले मुद्दा परिवर्तन गरेको हो ।

  • रत्ननगरको सालघारीमा ८४ वर्षीया वृद्धा मृत फेला

    रत्ननगरको सालघारीमा ८४ वर्षीया वृद्धा मृत फेला

    चितवन, ५ चैत
    रत्ननगर नगरपालिका वडा नं-१२, सालघारीमा ८४ वर्षीया एक वृद्धाको शव फेला परेको छ ।

    रत्ननगर-१२ स्थित सेवक सुवेदीको पुर्दै गरेको पोखरीमा गोरखा सिरानचोक गाविस घर भई विगत चार दशकदेखि जिरौनास्थित कृष्ण मन्दिरको आश्रममा बस्दै आएकी र मानसिक अवस्था ठीक नभएकी ८४ वर्षीया मनकुमारी पोख्रेल मृत अवस्थामा भेटिएकी हुन् ।

    प्रहरीले शवको मुचुल्कापश्चात पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

    घटनाबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • रत्ननगरमा झुण्डिएको अवस्थामा एक महिला मृत फेला

    रत्ननगरमा झुण्डिएको अवस्थामा एक महिला मृत फेला

    चितवन, १ चैत
    चितवनको रत्ननगर नगरपालिका १३ स्थित अमिलियामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    धादिङ घर भई रत्ननगरमा बिष्णु पौडेलको घरमा डेरा गरि बस्ने पवित्रा खतिवडा आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

    पंखाको सिलिङमा सलको पासो लगाई झुण्डीएको अवस्थामा खतिवडा मृत भेटिएकी हुन् । प्रहरी घटनास्थलमा पुग्दा खतिवडाको छोराछोरीले पासो काटिसकेको चितवन प्रहरीले जनाएको छ ।

    प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार खतिवडाको शब पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा ल्याइएको छ।

  • रत्ननगरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते

    रत्ननगरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते

    चितवन, ३० फागुन
    पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका वडा नं-१० स्थित निपनी चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

    भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना ५५ प ९७९१ नम्बरको मोटरसाइकलले पैदलयात्री रत्ननगर नगरपालिका वडा नं-१० बस्ने ३४ वर्षीय नेत्रप्रसाद लामिछाने गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका वडा नं-८ बस्ने २३ वर्षीय सुशील घर्तीमगर र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ५१ वर्षीय दिलबहादुर घर्तीमगर मध्यम घाइते भएका छन् ।

    तीनैजना घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • रत्ननगरको एक फेन्सी पसलमा विद्युत सर्ट भई आगलागी ८० लाख बढीकाे क्षती

    रत्ननगरको एक फेन्सी पसलमा विद्युत सर्ट भई आगलागी ८० लाख बढीकाे क्षती

    चितवन, फागुन २८

    रत्ननगर नगरपालिका–१ सौराहा चोकस्थित साहारा सुपर मार्केट भित्र रहेको सुहाना फेन्सी कलेक्सनमा गएराति आगलागी भएको छ ।
    आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा क्षति भएकाे छ । आगलागीबाट ८० लाख बढीकाे क्षती भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । सुपर मार्केट भित्र रहेकाे सुहाना फेसन कलेक्सन पूर्ण रुपमा पुर्न रुपमा जलेर नस्ट भयको छ । उक्त पसलमा विक्रीका लागि राखिएकाे नयाँ कपड, एसी, फर्निचर तथा अन्य सामाग्री जलेर नष्ट हुँदा ७५ लाख बराबरकाे क्षति भएकाे छ ।

    मञ्जु सापकोटाले सञ्चालन गरेको उक्त फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

    आइतबार राति करिब ११ः२० बजेको समयमा विद्युत् सर्ट भई लागेको आगो बिहान साढे १२ बजे नियन्त्रणमा आएको उनले बताए । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको हो ।

    आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

     

  • चितवनको रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको मृत्यु

    चितवनको रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको मृत्यु

    चितवन, २७ फागुन
    पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको ढलेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रत्ननगर वडा नं ३ लौरीघोलका जीवनबाबु थापामगर रहेका छन् । मुटु जाँच गर्नका लागि टिकट काट्न लाइनमा बसेको केही बेरमै ढलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    एक्कासी ढलेपछि उनलाई अस्पतालको आकास्मिक कक्षमा पुर्याइएको थियो । उनि मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थिए ।

    अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।

  • चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

    चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

    काठमाडौँ, २० फागुन
    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

    यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल उक्त विद्यालयको छात्राबासमा मृतअवस्थामा फेला पर्नुभएको थियो ।

    बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्साहन के हो ? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।

    समितिले विद्यालय तथा छात्राबासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्राबासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ ।

    विद्यालय शिक्षा विधेयकलाई कसरी चाँडो टुङ्ग्याउनेभन्नेबारे पनि छलफल गरिने सभापति जोशीले जानकारी दिनुभयो । बैठकमा सांसदहरुले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    उहाँहरुले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घकालीन उपाय अपनाउन, विद्यालय र छात्राबासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गर्नुभयो ।

    बैठकमा आ–आफ्नो धारणा राख्नेमा सांसदहरु देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, विद्या भट्टराई, तोसिमा कार्की, विनिता कुमारी सिंह, दिपा शर्मा, इश्वरी घर्ती, डा कलुराम राई, रामप्रकाश चौधरी र उर्मिला थेवे हुनुहुन्थ्यो ।

    ‘शालिन पोखरेलको मृत्यु आपराधको घटना’
    यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृहमन्त्रालयअन्तर्गत मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त अपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गर्नुभयो ।

    “दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ । यसबारे गम्भीर रुपमा छानबिन भइरहेको छ । बालिका मृत्यु प्रकरण अपराधको घटना हो”, समितिको बैठकमा मन्त्री राईले भन्नुभयो, “घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ । हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पु¥याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ ।” उहाँले छात्राबास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्राबासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

    शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले यसलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

    मन्त्री राईले त्रिवि सेवा आयोगको रिक्त सदस्य मनोनयनका निम्ति उपकुलपतिलाई सिफारिस गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालगृहको सुधार र अनुगमनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर प्रभावकारी काम अगाडि बढाइने जानकारी दिनुभयो ।

  • चितवन बालिका मृत्यु प्रकरण : तत्काल देशभरका छात्राबास अनुगमन गर्न सांसदहरूको माग

    चितवन बालिका मृत्यु प्रकरण : तत्काल देशभरका छात्राबास अनुगमन गर्न सांसदहरूको माग

    चितवन, २० फागुन
    चितवनकी १३ वर्षीया बालिकाको मृत्यु घटनाबारे सांसदहरूले ध्यानाकर्षण भएको बताएका छन्। विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न आइतवार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले देशभरका छात्रावासको अनुगमन गर्नुपर्ने बताएका हुन् ।

    सांसद विद्या भट्टराईले विद्यालयको छात्रावास व्यवस्थापन अनुगमन गर्ने दायित्व शिक्षा मन्त्रालयको भएकोले तत्काल समिति बनाई अनुगमन गर्नुपर्ने माग राखेकी छिन् । सो घटनामा मन्त्रालयले समितिमार्फत छानबिन गर्नुपर्ने उनले बताइन् ।

    सांसद तोसिमा कार्कीले देशभरका अन्य छात्रावासको समेत मापदण्डबारे तत्काल अनुगमन गर्नुपर्ने बताइन् । पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेलले घटनाको गम्भीर छानबिनका लागि समितिले सरकारलाई निर्देशन दिनुपर्ने धारणा राखेका छन् ।

    साथै अन्य विद्यालयमा समेत छात्रावास व्यवस्थापन समिति गठन भए नभएको तथा त्यसको भूमिकाबारे मन्त्रालयले चासो राख्नुपर्ने उनले बताए ।

    फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या थिइन् ।

    शालिनको बलात्कार पछि हत्या भएको भनी परिवारले दाबि गरिरहेका छन् ।  राजनीतिक दलका नेता र महिला अधिकारकर्मीले घटना रहस्यमयी भएको भन्दै छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

  • शालिन मृत्यु प्रकरणबारे प्रधानमन्त्रीले भने, “न्याय दिलाउन सरकार प्रतिबद्ध छ”

    शालिन मृत्यु प्रकरणबारे प्रधानमन्त्रीले भने, “न्याय दिलाउन सरकार प्रतिबद्ध छ”

    काठमाडौँ, २० फागुन
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एक विद्यालयको छात्रावासमा मृत्यु भएकी १४ वर्षीया छात्रा शालिन पोखरेललाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

    उनले शनिवार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आफूले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको पनि जानकारी गराएका छन् ।

    ‘चितवनको एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’

    फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या थिइन् । गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् ।

    यस प्रकरणमा एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ परेका छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

    घटना शंकास्पद भएको भन्दै शालिनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । मृतक बालिकाको परिवारले पोष्टमार्टम गर्नका लागि शब काठमाडौँको टिचिङ अस्पतालमा लगेका थिए ।

    जबर्जस्ती करणीपछि हत्या भएको दाबी परिवारले गर्दै आएको छ ।