Category: रत्ननगर

  • शालिन पोख्रेल मृत्यु प्रकरण : अनुसन्धान प्रभाव पार्नेगरी कुनै सामाग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह

    शालिन पोख्रेल मृत्यु प्रकरण : अनुसन्धान प्रभाव पार्नेगरी कुनै सामाग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह

    चितवन,फागुन १९-

    एकता शिशु निकेतनको छात्रावासमा छात्राको मृत्यु भएको विषयमा अनुसन्धान प्रभाव पार्नेगरी कुनै सामाग्री सम्प्रेषण नगर्न चितवन प्रहरीले आग्रह गरेको छ ।

    प्रहरी नायव उपरिक्षक एवं चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा जानकारी आए लगत्तै प्रहरीले गम्भीर अनुसन्धान गरिरहेकाले अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सम्प्रेषण नगर्न समेत अनुरोध गरेका छन् ।

    घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा सम्प्रेषित विषय बस्तु प्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको पनि उनले बताएका छन् ।

    रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय एक छात्रा फागुन १२ गते छात्रावासको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    घटनाको सूचना प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थलमा विशेषज्ञ सहितको अनुसन्धान टोली खटी गई घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरु सम्पन्न गरी हाल सो घटनाको गम्भिर रुपमा थप अनुसन्धान कार्य भई रहेको भण्डारीले बताए ।

    बालबालिकाको मृत्यु जस्तो संवेदनशिल विषयलाई अत्यन्त गम्भिर्यताका साथ लिई प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम प्रहरीले आफ्नो पेशागत मुल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको उनले बताए । बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गर्ने उनले प्रतिबद्धता पनि जनाएका छन् ।

  • मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

    मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

    चितवन, १९ फागुन : 

    रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले हात पार्नुभएको छ । उहाँले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गर्नुभयो ।

    नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुङ्गिएको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

    प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ रहनुभयो । उहाँले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

    जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो । उहाँलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरियो ।

    त्रिभुवन आर्मीका टङ्क कार्की चौथो र सुवास कार्की पाँचौँ हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार र पाँच हजार प्राप्त गर्नुभयो । छैटौँदेखि १०औँ स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर हुनुभयो । उहाँहरूले जनही रु तीन हजार प्राप्त गर्नुभयो ।

    महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम हुनुभयो । उहाँले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो हुनुभएका त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । उहाँले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

    सशस्त्रकी आशा राउत तेस्रो हुनुभयो । उहाँले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गर्नुभयो । उहाँले रु पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

    सशस्त्रकै सीमा चौधरी चौथो हुनुभयो । उहाँले रु तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँचौँ स्थानमा रहनुभएकी स्मिता बुढाले रु दुई हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहनुहुने क्रमशः अस्मिता भुजेल, नम्रता गुरुङ, वर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयो ।

    खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुई हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो । उहाँहरुलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गर्नुभयो । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ राख्नुभयो ।

    प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गर्नुभएको थियो । उहाँले भरतपुर भ्रमण वर्षलाई टेवा पुर्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    प्रतियोगितामा सात सय ६५ धावकले सहभागिता जनाएका थिए । जसमध्ये खुलातर्फ चार सय ९४ जनाको सहभागिता थियो । महिलातर्फ दुई सय ७१ जनाले सहभागिता जनाए । जसमध्ये खुलातर्फ ६८  र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागिता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिनुभयो ।

  • शालिनको लागि न्याय माग्दै समीक्षाले लेखिन् “बलात्कारी फाँसीका लायक छन्”

    शालिनको लागि न्याय माग्दै समीक्षाले लेखिन् “बलात्कारी फाँसीका लायक छन्”

    चितवन, १९ फागुन
    गायिका समिक्षा अधिकारीले बलात्कारीलाई फाँसी हुनुपर्ने उल्लेख गरेकी छन् । चितवनकि १३ बर्षिया शालिन पोख्रेलका लागि न्याय माग गर्दै उनले यस्तो लेखेकी हुन् ।

    अधिकारीले शालिन पोख्रेलको मृत्यु प्रकरण सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन् । उनले आज शनिबार फेसबुकमा स्टाटस लेख्दै समाजमा दुईथरीको बलात्कार हुने चित्रण गरेकी छिन् ।

    उनले लेखेकी छिन् :-
    “बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।
    १.माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्।
    २.जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्।
    यी दुवै फाँसीका लायक छन्।
    चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दछु। “

  • चितवन बालिका मृत्यु प्रकरण : शालिनको सुसाइड नोट फेला

    चितवन बालिका मृत्यु प्रकरण : शालिनको सुसाइड नोट फेला

    भरतपुर, १९ फागुन
    चितवनको रत्ननगरको होस्टेलमा मृत भेटिएकी शालिनको सुसाइड नोट फेला परेको छ। अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्,‘सरी एभ्रिबडी, सरी ममि ड्याड ।’ प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दै छ ।

    फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या थिइन् । गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् ।

    यस प्रकरणमा एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ परेका छन्। उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

    घटना शंकास्पद भएको भन्दै शालिनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । मृतक बालिकाको परिवारले पोष्टमार्टम गर्नका लागि शब काठमाडौँको टिचिङ अस्पतालमा लगेका थिए । उक्त पोष्टमार्टको रिपोर्ट सोमबारसम्म आउने भनिएको छ ।

    जबर्जस्ती करणीपछि हत्या भएको दाबी परिवारले गर्दै आएको छ ।

  • चितवन बालिका मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने

    चितवन बालिका मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने

    चितवन, १८ फागुन
    चितवनको रत्ननगरको होस्टेलमा मृत भेटिएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ । मृतक बालिकाको परिवारले पोष्टमार्टम गर्नका लागि शब काठमाडौँको टिचिङ अस्पतालमा लगेका थिए ।

    इलाका प्रहरी कार्यालयले पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया थप अगाडि बढाइने बताएको छ ।

    फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या थिइन् । गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् ।

    यस प्रकरणमा एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ। घटना शंकास्पद भएको भन्दै छात्राको परिवारले प्रहरीमा उजुरी समेत दिएको थियो ।

    जबर्जस्ती करणीपछि हत्या भएको दाबी परिवारले गर्दै आएको छ ।

  • रत्ननगर बालिका मृत्यु प्रकरण : बलात्कारपछि हत्या भएको परिवारको दाबी, छानबिन गर्न माग

    रत्ननगर बालिका मृत्यु प्रकरण : बलात्कारपछि हत्या भएको परिवारको दाबी, छानबिन गर्न माग

    काठमाडौँ, १७ फागुन
    गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो ।

    मृतक शालिनका पिता दीपेन्द्र पोखरेलले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताउनुभयो ।

    “लास झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो”, मृतकका बाबु पोखरेलले भन्नुभयो, “घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी कोठाका साथी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले विद्यालय परिसरभित्रै मेरो भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरे ।”

    मृतकका बुबाले आफू काठमाडौँमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको र आफू त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिएता पनि आफु त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको सुनाउनुभयो ।

    “म त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’ को ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो,” उहाँले भन्नुभयो, “ शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ ।”

    बलात्कारपछि हत्या गरिएको आशंकापछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरीवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको मृत्तकका बाबु दीपेन्द्रले सुनाउनुभयो ।

    उक्त घटनामा चार दिनपछि प्रहरीले जाहेरी लिएको र मृतक शालिनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बाहनमा ल्याएको, पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको जानकारी दिनुभयो । प्रहरीले निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उहाँको माग छ ।

    मृतक शालिनकी आमा सगुनले आफूहरुलाई घटनाबारे ढिलो खबर गरेको र उक्त विद्यालय नजिकै बस्ने मृतककी हजुरआमासमेतलाई जानकारी नगराइएकाले घटना आत्महत्या नभई हत्या गरेको देखिएको हुँदा आफूजस्तै आमाले भोलिका दिनमा छोरीहरु यसैगरी गुमाउन नपरोस् भनेर घटनाको यथार्थ छानबिन गर्न माग गर्नुभयो । -राष्ट्रिय समाचार समिति (रासस)

  • चितवनका दुग्ध किसानले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्द

    चितवनका दुग्ध किसानले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्द

    चितवन, १७ फागुन
    चितवनका दुग्ध किसानले पुर्वपश्चिम राजमार्ग अवरुद्द गरेका छन् । दुधको भुक्तानी र मिल्क होलिडे अन्त्यको माग गर्दै किसानहरु आन्दोलित बनेका हुन् ।

    चितवन जिल्ला दुग्ध उत्पादक संघको नेतृत्वमा राजमार्ग अबरुद्ध गरिएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनका अनुसार रत्ननगरको बेल्सीचोकमा बसेर किसानहरुले सडक अवरुद्द गरेका हुन् । सडक विहान १० बजेदेखि १२ बजेसम्म अवरुद्द हुनेछ ।

    दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा आज बिहिबार देशभरका ३० ठाउँमा चक्काजाम गर्ने कार्यक्रम रहेको छ । दुग्ध किसानका विभिन्न संघसंगठनले विगत करिब ५ महिनादेखि ६ अर्ब रकम भुक्तानी पाउन नसकेको दाबी गर्दै आएका छन् ।

  • रत्ननगरमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

    रत्ननगरमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

    भरतपुर, १७ फागुन
    रत्ननगरमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

    रत्नगर नगरपालिका वडा नं-९, कृष्ण मन्दिरस्थित पूर्वपश्चिम सडकखण्डमा प्रदेश २-०३-००१ ख ६९९६ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

    गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म उनको नामथर खुल्न सकेको छैन ।

    ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • रत्ननगर बालिका मृत्यु प्रकरण : एकता शिशु निकेतनका प्रिन्सिपलसहित तिनजना पक्राउ

    रत्ननगर बालिका मृत्यु प्रकरण : एकता शिशु निकेतनका प्रिन्सिपलसहित तिनजना पक्राउ

    भरतपुर, १७ फागुन
    रत्ननगर बालिका मृत्यु प्रकरणमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ । एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा रत्ननगर १० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारि र ४८ वर्षीय कमल शर्मा पौडेल रहेका छन् । उनीहरुलाई ज्यान सम्बन्धि कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या थिइन् । गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् ।

    घटना शंकास्पद भएको भन्दै छात्राको परिवारले प्रहरीमा उजुरी दिएको थियो। जबर्जस्ती करणीपछि हत्या भएको दाबी परिवारले गरेको छ । अहिले बालिकाको शव पोष्ट मार्टमको लागि काठमाडौँ लगिएको परिवारले बताएको छ ।

  • चितवन लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा

    चितवन लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा

    चितवन १० फागुन
    चितवन लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा  भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।

    काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

    मौसमविद कँडेलले भन्नुभयो, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।”

    भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उहाँले उल्लेख गर्नुभयो । “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ”, मौसमविद् कँडेलले भन्नुभयो । -राष्ट्रिय समाचार समिति (रासस)