Category: रत्ननगर
-

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दो
चितवन, ८ फागुन :आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएकाले पनि यो उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको पुष्टि हुन्छ ।केन्द्रका अनुसार चालु आर्थिक वर्षको छ महिनामा २४ हजार तीनजना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात हजार सात सय ९१ जनाले सेवा लिएका छन् ।यसैगरी, योग सेवा दुई हजार ६ सय १०, पूर्वकम÷पञ्चकर्म सेवा पाँच हजार पाँच सय २७, ज्येष्ठ नागरिक सेवा एक हजार नौ सय ७५, स्तनपान आमा तथा शिशु सेवा एक सय २०, नागरिक आरोग्य स्वास्थ्य सेवा दुई हजार सात सय ७९, प्रयोगशाला सेवा दुई हजार पाँच सय ४४, अकुपञ्चर सेवा तीन सय ३५, फिजियोथेरापी सेवा दुई सय ८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले लिएका छन् ।गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको सङ्ख्या ४९ हजार पाँच सय १३ थियो । केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्रहरु र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ । भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, मेघौली र डालेटारमा आयुर्वेद औषधालय रहेका छन् । यसका अतिरिक्त माडी र राप्तीको वीरेन्द्रनगरमा यी सेवा रहेका छन् ।कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङ्गारमा नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनमा छन् ।केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।केन्द्रले नमूना जडीबुटी उद्यान निर्माण, विद्युत् आयुर्वेद तथा योग शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, नागरिक आरोग्य सेवा तथा अभियान, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनजस्ता कार्यक्रम पनि गर्दै आएको छ ।केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद औषधि उपचारको व्यापक प्रचारप्रसार गर्नसकेमा यसले मानव स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो । केन्द्रको भौतिक पूर्वाधार र सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको उहाँको भनाइ छ ।केन्द्रलाई आगामी साउनदेखि २५ श्ययाको अस्पतालको रुपमा विकास गरिँदै छ । हाल केन्द्रको अस्पताल भवन निर्माणाधीन छ । यससँगै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप हुने र अन्तरङ्ग सेवा सुरु हुनेछ । -

विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण
रत्ननगर, माघ ५
रत्ननगर नगरपालिका वडा नम्वर-८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।

बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो ।
रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए ।
सो अवसरमा कार्यालयले दलित समुदायको उद्यमशिलतामा सहजता दिने उद्देश्यले वडाका २ जनालाई आधुनिक आरनको मेशिन बितरण गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले भने ” हाम्रा समाजका अनुभवका खानी हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्नु हाम्रो संस्कार र दायित्व भएकाले स्थानिय सरकार यसमा कहिलै चुक्ने छैन।” विपन्न र ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य केन्द्रमा नि:शुल्क सेवा र अस्पतालमा अति आवश्यक परेमा नगरपालिका सदैव तयार रहेको उनले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडाध्यक्ष कृष्ण चौधरी, त्यस्तै,अतिथिहरुमा वडा सदस्यहरु बिष्णु प्रसाद आचार्य,दुर्गा विक,सीता अधिकारी र केदार कुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक समन्व्य समिती,रनपा-८ को उपाध्यक्ष प्रेम कुमार थपलियाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम वडा सचिव रुप बहादुर पण्डित क्षेत्रीले संचालन गरेका थिए ।

-

तरकारीखेतीमा रमाएका चितवनका दीपबहादुर
चितवन, ४ माघ
जिन्दगीको पचास वसन्त पार गर्दासम्म रत्ननगर–११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गर्नुभएका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलेको बताउनुभयो ।विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थाल्नुभएको थियो । परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो । “छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ”, उहाँले भन्नुभयो ।
विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उहाँले तरकारीखेती गर्नुभएको हो । उहाँले भन्नुभयो, “दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।”
व्यावसायिकरूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । “भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफँैले हेरेर सिकेको हो”, उहाँले भन्नुभयो ।
भाडाको जग्गामा उहाँले वार्षिक प्रतिकठ्ठा रू चारु हजार तिर्नुहुन्छ । पाँच वर्षको अवधिमा उहाँले कुनै समय निकै राम्रो आम्दानी गर्नुभयो भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताउनुभयो । उहाँले थप्नुभयो, “परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले रू१७ लाख आम्दानी भएको थियो ।”
यस वर्ष मगरले सिमी र टमाटरमा रू छ लाख लगानी गरेको बताउनुभयो । भनेजस्तो भाउ पाएमा रू छ लाखको लगानीबाट रू १५ लाखनभन्दा बढी आम्दानी गर्न सकिने उहाँले जानकारी दिनुभयो । भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नुहने उहाँले गुनासो गर्नुभयो । “तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ । परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।”
तरकारीखेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताउनुभयो । “छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्”, उहाँले भन्नुभयो, “छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।” तरकारीखेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यती खुसी मिलेको छैन ।
उहाँलाई तरकारीखेती गर्न कामदारको अभाव छैन । नियमितजस्तै पाँच–छ जनालाई उहाँले रोजगारी दिनुभएको छ । निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उहाँले भन्नुभयो, “राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।”
एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाखजति लगानी हुने र खर्च कटाएर रू १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिनुभयो । क्रेटको रू पाँच सयमात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उहाँको भनाइ थियो । (रासस)
-

रत्ननगर महोत्सव : कृषि र पर्यटनलाई प्राथमिकता
चितवन, १३ पुस :
रत्ननगर महोत्सव यही पुस २६ गतेबाट सुरु हुने भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको यो १२ औँ संस्करण हो । सङ्घका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शङ्कर गिरीले यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिक उत्पादनलाई जोड दिने बताउनुभयो । विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा महोत्सव आयोजना हुँदै आएको छ ।
कोरोना महामारीका कारण सिर्जित स्वास्थ्य र आर्थिक सङ्कटबाट तङ्ग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एवं व्यावसायिक क्षेत्र अभुतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सवमार्फत उद्योग, कृषि र पर्यटन एवं आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव उपयोगी हुने बताउनुभयो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब चार सय ५० व्यापारिक कक्ष रहने छन् ।






