Category: रत्ननगर

  • आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दो

    आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दो

    चितवन, ८ फागुन : 
    आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएकाले पनि यो उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको पुष्टि हुन्छ ।
    केन्द्रका अनुसार चालु आर्थिक वर्षको छ महिनामा २४ हजार तीनजना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात हजार सात सय ९१ जनाले सेवा लिएका छन् ।
    यसैगरी, योग सेवा दुई हजार ६ सय १०, पूर्वकम÷पञ्चकर्म सेवा पाँच हजार पाँच सय २७, ज्येष्ठ नागरिक सेवा एक हजार नौ सय ७५, स्तनपान आमा तथा शिशु सेवा एक सय २०, नागरिक आरोग्य स्वास्थ्य सेवा दुई हजार सात सय ७९, प्रयोगशाला सेवा दुई हजार पाँच सय ४४, अकुपञ्चर सेवा तीन सय ३५, फिजियोथेरापी सेवा दुई सय ८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले लिएका छन् ।
    गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको सङ्ख्या ४९ हजार पाँच सय १३ थियो । केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्रहरु र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ । भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, मेघौली र डालेटारमा आयुर्वेद औषधालय रहेका छन् । यसका अतिरिक्त माडी र राप्तीको वीरेन्द्रनगरमा यी सेवा रहेका छन् ।
    कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङ्गारमा नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनमा छन् ।
    केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    केन्द्रले नमूना जडीबुटी उद्यान निर्माण, विद्युत् आयुर्वेद तथा योग शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, नागरिक आरोग्य सेवा तथा अभियान, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनजस्ता कार्यक्रम पनि गर्दै आएको छ ।
    केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद औषधि उपचारको व्यापक प्रचारप्रसार गर्नसकेमा यसले मानव स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो । केन्द्रको भौतिक पूर्वाधार र सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको उहाँको भनाइ छ ।
    केन्द्रलाई आगामी साउनदेखि २५ श्ययाको अस्पतालको रुपमा विकास गरिँदै छ । हाल केन्द्रको अस्पताल भवन निर्माणाधीन छ । यससँगै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप हुने र अन्तरङ्ग सेवा सुरु हुनेछ ।
  • भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ : उत्साहित भए व्यवसायी

    भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ : उत्साहित भए व्यवसायी

    चितवन, २९ पुस
    भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।

    मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् ।

    सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो । रेष्टुराँ एण्ड बार एशोसियशन नेपाल (रेवान) सौराहाका अध्यक्ष धुव्र गिरीले भन्नुभयो, “यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ ।” उहाँले यस क्षेत्रको विकासका लागि बसपार्कसम्म पुग्ने सडकमार्गमा ‘डालो लाइट’ जडान गरी ‘नाइट म्युजिकल लाईफ’को सुरुआत गर्न १८औँ फुड फेष्टिवलले सहयोग गर्ने बताउनुभयो ।

    अब सौराहामा नाइट लाइफ हेर्न बसपार्क साइड, प्रकृतिक सौन्र्दयमा रमाउन रिभर साइड क्षेत्रलाई सौन्दर्यकरण गर्ने रेवानले घोषणा गरेको बताउँदै गिरीले फुड फेष्टिवललगत्तै काम सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सौराहामा फुड फेष्टिवल लक्षित गरी ८० प्रतिशत होटल बुक भइसकेका छन् ।

    “नयाँ ठाउँ छनोट गरेका दर्शक र पर्यटक आउँदैन् कि भनेर सोचेका थियौँ । फेष्टिवलको पहिलो दिनमा नै ¥यालिदेखि फेष्टिवल परिसरमा खानाको स्वाद लिन पर्यटकको घुइँचो देख्दा हार्षित छौँ”, गिरीले भन्नुभयो । अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा कमि हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको छ ।

    स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको पर्यटनलाई पुनःगतिशील बन्ने सङ्केत दिएको पर्यटन व्यवसायी वासु ढुङ्गानाले बताउनुभयो । सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको रेवानका महासचिव नवीन नेपालले बताउनुभयो । फेष्टिवलमा नयाँनयाँ स्थानीय परिकारका खानाको स्वादमा पर्यटक खुसी देखिएका उहाँको भनाइ थियो ।

    सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश तथा विदेश ‘घुमौँ सौराहा अभियान’ लिएर जाने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो । “चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपालसम्म उक्त अभियान लिएर प्रचारप्रसारमा जाने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष गिरीले सडक पूर्वाधार राम्रो नहुनु, हवाई यातायात महँगो हुनुलगायत कारणले पर्यटकको सङ्ख्या बढ्न नसकेको गिरीको भनाइ थियो ।

    सौराहामा मात्रै साना–ठूला गरी एक सय ४० बढी होटल सञ्चालित छन् । दैनिक सात हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगानीमा होटल तथा रेष्टुराँ खुल्ने क्रम जारी छ ।

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटक बढी आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

    सौराहाका साथै निकुञ्जसँग जोडिएका पटिहानी, जगतपुर, मेघौलीलगायत स्थानमा पर्यटकको आगमन बढेको निकुञ्जले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा घुइँचो हुने गर्दछ । गतवर्ष स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । राष्ट्रिय समाचार समिति (रासस)

  • चितवनको रत्ननगरमा दुईजना युवकमाथि खुकुरी प्रहार

    चितवनको रत्ननगरमा दुईजना युवकमाथि खुकुरी प्रहार

    चितवन, २५ माघ
    चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् ।

    घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडिले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू फरार रहेका छन् ।

    घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटनास्थलबाट प्रहरीले ब्रेजा कार बरामद गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • रत्ननगर नगरपालिका राजनीतिक भर्ति केन्द्र बन्न खोजेको भन्दै अनेरास्ववियु चितवनले जनायो आपत्ति

    रत्ननगर नगरपालिका राजनीतिक भर्ति केन्द्र बन्न खोजेको भन्दै अनेरास्ववियु चितवनले जनायो आपत्ति

    भरतपुर, २४ माघ
    रत्ननगर नगरपालिकाले खुलाएको स्वयंसेवक शिक्षकको सूचिकरणमा एमाले निकट अनेरास्ववियु चितवनले गम्भीर आपत्ति जनाएको छ । आज बुधबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले नगरपालिका राजनीतिक भर्ति केन्द्र बन्न खोजेको आरोप लगाएको छ ।

    स्वयंसेवक शिक्षक सूचिकरणको लागि पुस ३ गते सूचना प्रकाशित गरेर आवश्यक संख्या ‘केही’ राखिएकोमा अनेरास्ववियुले संख्या स्पष्ट खुलाउनु पर्ने भन्दै सो सूचनाको विरोध गरेको थियो । तर, सो सूचना तत्काललाई स्थगित भए पनि गत माघ १६ गते स्वयंसेवक शिक्षक सूचिकरणको लागि परीक्षा सञ्चालनको सूचना सार्वजनिक गरिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो ।

    अनेरास्ववियु चितवनका कार्यवाहक अध्यक्ष सरोज तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रुटी नसच्याई स्वयंसेवक शिक्षक सूचिकरणको लागि परीक्षा सञ्चालन सूचना प्रकाशित हुँदा नगर शिक्षा अधिकारीको कार्यक्षमता र कार्यकुशलतमाथि नै प्रश्न चिन्ह खडा भएको छ । पटकपटकको ध्यानाकर्षणपछि पनि नगर शिक्षा अधिकारीबाट भएको नियोजित गैरजिम्मेवारीपनको अनेरास्ववियु जिल्ला कमिटी चितवन खेद प्रकट गर्छ । राजनीतिक अभिष्ट पूरा गर्न राजनीतिक आस्थाको आधारमा कार्यकर्ता भर्ती केन्द्र बनाउने दुस्साहस तथा दुश्प्रयास नगर्न र प्रष्ट निष्पक्षरुपमा संख्या खुलाएर मात्र पक्रियामा जान पनि अनुरोध गर्दछौं ।”

    रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारीको कार्यक्षमता र कार्यकुशलतमाथि नै अनेरास्ववियुले प्रश्न चिन्ह खडा गरेको छ । नगरपालिकाद्वारा निकालिएको शिक्षकको सूचिकरण तत्काल सच्याउन अनेरास्ववियु चितवनले माग गरेको छ । नगरपालिकाले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    हेर्नुहोस् विज्ञप्ति :-

  • सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

    सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

    चितवन माघ १८
    चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो ।

    निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिए । उनले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा डेढ करोड मात्र विनियोजन भएको बताए ।

    सभाहलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको आयोजनाका इञ्जिनियर सुजन खतिवडाले जानकारी दिए । निर्माणको लागत रु ३५ करोड २२ लाख ७० हजार रहेको उनले बताए । सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने जनाइएको छ ।

    रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभाहल सौराहाको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताए । रत्ननगरले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा ‘सिटीहल’ निर्माण गरिएको हो । रासस

     

  • विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण

    विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण

    रत्ननगर, माघ ५
    रत्ननगर नगरपालिका वडा नम्वर-८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।

    वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।

    बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो ।

    रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए ।

    सो अवसरमा कार्यालयले दलित समुदायको उद्यमशिलतामा सहजता दिने उद्देश्यले वडाका २ जनालाई आधुनिक आरनको मेशिन बितरण गरेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले भने ” हाम्रा समाजका अनुभवका खानी हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्नु हाम्रो संस्कार र दायित्व भएकाले स्थानिय सरकार यसमा कहिलै चुक्ने छैन।” विपन्न र ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य केन्द्रमा नि:शुल्क सेवा र अस्पतालमा अति आवश्यक परेमा नगरपालिका सदैव तयार रहेको उनले बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडाध्यक्ष कृष्ण चौधरी, त्यस्तै,अतिथिहरुमा वडा सदस्यहरु बिष्णु प्रसाद आचार्य,दुर्गा विक,सीता अधिकारी र केदार कुमार श्रेष्ठ रहेका थिए ।

    कार्यक्रममा ज्येष्ठ नागरिक समन्व्य समिती,रनपा-८ को उपाध्यक्ष प्रेम कुमार थपलियाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम वडा सचिव रुप बहादुर पण्डित क्षेत्रीले संचालन गरेका थिए ।

  • तरकारीखेतीमा रमाएका चितवनका दीपबहादुर

    तरकारीखेतीमा रमाएका चितवनका दीपबहादुर

    चितवन, ४ माघ
    जिन्दगीको पचास वसन्त पार गर्दासम्म रत्ननगर–११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गर्नुभएका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलेको बताउनुभयो ।

    विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थाल्नुभएको थियो । परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो । “छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ”, उहाँले भन्नुभयो ।

    विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उहाँले तरकारीखेती गर्नुभएको हो । उहाँले भन्नुभयो, “दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।”

    व्यावसायिकरूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । “भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफँैले हेरेर सिकेको हो”, उहाँले भन्नुभयो ।

    भाडाको जग्गामा उहाँले वार्षिक प्रतिकठ्ठा रू चारु हजार तिर्नुहुन्छ । पाँच वर्षको अवधिमा उहाँले कुनै समय निकै राम्रो आम्दानी गर्नुभयो भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताउनुभयो । उहाँले थप्नुभयो, “परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले रू१७ लाख आम्दानी भएको थियो ।”

    यस वर्ष मगरले सिमी र टमाटरमा रू छ लाख लगानी गरेको बताउनुभयो । भनेजस्तो भाउ पाएमा रू छ लाखको लगानीबाट रू १५ लाखनभन्दा बढी आम्दानी गर्न सकिने उहाँले जानकारी दिनुभयो । भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नुहने उहाँले गुनासो गर्नुभयो । “तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ । परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।”

    तरकारीखेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताउनुभयो । “छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्”, उहाँले भन्नुभयो, “छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।” तरकारीखेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यती खुसी मिलेको छैन ।

    उहाँलाई तरकारीखेती गर्न कामदारको अभाव छैन । नियमितजस्तै पाँच–छ जनालाई उहाँले रोजगारी दिनुभएको छ । निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उहाँले भन्नुभयो, “राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।”

    एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाखजति लगानी हुने र खर्च कटाएर रू १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिनुभयो । क्रेटको रू पाँच सयमात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उहाँको भनाइ थियो । (रासस)

  • रत्ननगर महोत्सव : कृषि र पर्यटनलाई प्राथमिकता

    रत्ननगर महोत्सव : कृषि र पर्यटनलाई प्राथमिकता

     

    चितवन, १३ पुस :

    रत्ननगर महोत्सव यही पुस २६ गतेबाट सुरु हुने भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

    रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

    रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको यो १२ औँ संस्करण हो । सङ्घका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शङ्कर गिरीले यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिक उत्पादनलाई जोड दिने बताउनुभयो ।  विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा महोत्सव आयोजना हुँदै आएको छ ।

    कोरोना महामारीका कारण सिर्जित स्वास्थ्य र आर्थिक सङ्कटबाट तङ्ग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एवं व्यावसायिक क्षेत्र अभुतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सवमार्फत उद्योग, कृषि र पर्यटन एवं आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव उपयोगी हुने बताउनुभयो ।

    महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब चार सय ५० व्यापारिक कक्ष रहने छन् ।

  • रत्ननगर बकुलहरसहित बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रीपरिषद्को निर्णय

    रत्ननगर बकुलहरसहित बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रीपरिषद्को निर्णय

    मकवानपुर, पुस ४

    बागमती प्रदेश सरकारले प्रदेशका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसको मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

    जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय भएको छ भने भक्तपुरको भक्तपुर अस्पताललाई ३०० शय्या बनाउने निर्णय भएको छ । यसअघि ती दुवै अस्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका थिए ।

    बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिसुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्या बनाउने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको हो ।

    मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ ।

  • ४ वर्षपछि चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै, हटाइयो हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो

    ४ वर्षपछि चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै, हटाइयो हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो

    चितवन, मंसिर २९ –
    सौराहामा १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । पौष १० देखि १४ गतेसम्म महोत्सव हुन लागेको हो ।

    महोत्सव हुनेबारे आज आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै पर्यटन महोत्सव गर्न लागेको हो ।

    पत्रकार सम्मेलनमा चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गर्न लागेको जानकारी गराइयो ।
    महोत्सव संयोजक ओमप्रकाश पाण्डेका अनुसार साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यस पटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । अधिकारकर्मीहरुले प्रश्न उठाउन थालेपछि व्यवसायीहरुले उक्त तीन प्रतियोगिता हटाएका हुन् । हात्तीसँग सम्बन्धित कुनै पनि खेलकुद हुने छैनन् ।

    पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती बनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण विभिन्न खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ ।

    यसैगरी महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्बधनात्मक कार्यक्रम गरिने कार्यक्रम गरिने संयोजक पाण्डे बताउँछन् ।

    क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको हो । चालु आर्थिक बर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । ति मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

    महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।