Category: विदेश

  • भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार गरिँदै

    भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार गरिँदै

    काठमाडौं, पुस १३ –
    भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि दिल्लीको निगमबोध घाटमा लगिएको छ । उनको केहीबेरमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मनमोहन सिंहको पार्थिव शरीरलाई तीनवटै सेनाले सलामी दिएका थिए ।

    उनको पार्थिव शरीरलाई सेनाको गाडीमा निगमबोध घाटमा लगिएको थियो । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी शव लिएर कारमा बसेका थिए । सोनिया गान्धी, प्रियंका गान्धी र कांग्रेसका वरिष्ठ नेताहरू पनि घाटमा उपस्थित छन्।

    राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले मनमोहनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

    मनमोहनको पार्थिव शरीर बिहान ९ः३० बजे उनको निवासबाट कांग्रेस मुख्यालयमा ल्याइएको थियो । यहाँ डा. सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    राहुल गान्धी, सोनिया र प्रियंकालगायत अन्य कांग्रेस नेताहरूले पनि मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिए।

    डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको हो । उनी ९२ वर्षका थिए । उनी लामो समयदेखि बिरामी थिए । घरमै बेहोस भएपछि उनलाई राति ८ः०६ बजे दिल्लीको एम्स अस्पतालमा लगिएको थियो । अस्पतालको बुलेटिनका अनुसार राति ९ः५१ बजे उनले अन्तिम सास लिएका थिए ।

  • क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

    क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

    काठमाडौं, पुस १३ –
    क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ।

    १३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्।

    उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए।

    काठमाडौंकी श्रेष्ठ थरकी ती युवती ९ महिनाअघि मात्रै क्यानडा गएकी थिइन्।

    दुर्घटनामा मृत्यु भएपछि युवतीकी अभिभावकहरू क्यानडा पुगिसकेको र कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारको तयारी भइरहेको अध्यक्ष दुलालले जानकारी दिए।

  • भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु

    भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु

    नयाँ दिल्ली, पुस १३ –
    उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

    दुर्घटना पन्जाबको भटिन्डा जिल्लाको जीवनसिंह वाला गाउँनजिक भएको हो । बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो ।

    दुर्घटनाको लगत्तै स्थानीय बासिन्दा घाइतेरूलाई मद्दत गर्न घटनास्थलमा पुगे र प्रहरीलाई खबर गरे । प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारीहरू पठाए ।

    “आजको दुर्घटनामा एक दुई वर्षीया बालिका सहित आठजनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिन्डाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई बताए, “तलबन्दी अस्पतालमा पाँचजनाको र अन्य तीनजनाको सिभिल अस्पताल भटिन्डामा मृत्यु भएको पुष्टि भएको छ ।”

    भटिन्डाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको बताए । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । – रासस/सिन्ह्वा

  • मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

    मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

    मोरक्को, पुस १३ –
    पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिएका मध्ये २५ मालीका नागरिक थिए ।

    यो ‘अस्थायी डुङ्गा’मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन् ।

    यो डुङ्गा गत हप्ता नै डुबेको थियो तर मालीले अहिले आएर मात्र पुष्टि गरेको छ । मालीले स्थितिको समीक्षा गर्न आफ्नो सङ्कट इकाई पठाएको छ।

    माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको सिकार हुँदै आएको छ। जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भएको थियो ।

    सैन्य सरकारले सन् २०२४ को मार्चमा आम निर्वाचन गराउने वाचा गरेको थियो तर ती निर्वाचनहरू अहिलेसम्म भएका छैनन्। देशको अवस्थालाई ध्यानमा राख्दै ठुलो सङ्ख्यामा मानिसहरू गैरकानुनी रूपमा युरोप पुग्न एट्लान्टिक रुट प्रयोग गरिरहेका छन् । – एजेन्सी

  • विदेशी विद्यार्थीलाई विश्वविद्यालयहरूको आग्रह: ट्रम्प नआउँदै फर्कनुस्

    विदेशी विद्यार्थीलाई विश्वविद्यालयहरूको आग्रह: ट्रम्प नआउँदै फर्कनुस्

    वासिङ्टन, पुस १२ –
    अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ ।

    देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एड्भाइजरी जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सीएनएनले जनाएको छ।

    डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका थिए । उनले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शपथ लिनेछन् ।

    नोभेम्बर १८ मा अमेरिकी विदेश मन्त्रालय, शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तथ्याङ्कअनुसार २०२३–२०२४ शैक्षिक वर्षमा दुई सय १० भन्दा बढी मूल स्थानका ११ लाख २६ हजार ६९० अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी उच्च शिक्षा संस्थाहरूमा अध्ययन गरेका छन्। यो आँकडा अघिल्लो शैक्षिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो।

    ट्रम्पको शपथग्रहण अघि कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले आफ्नो वेबसाइटमा नयाँ राष्ट्रपति प्रशासनअन्तर्गत आप्रवासन परिदृश्य परिवर्तन हुने सम्भावना रहेको जनाउँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आगामी वर्ष जनवरी २१ बाट सुरु हुने अर्को सेमेस्टर सुरु हुनुअघि फर्कन वा ‘यात्रा योजनाबारे सल्लाहकारसँग कुरा गर्न र ढिलाइका लागि तयार रहन’ सल्लाह दिएको छ ।

    ‘शपथग्रहण पछि चाँडै यात्रा प्रतिबन्ध लागू हुने सम्भावना छ । यो प्रतिबन्धमा पहिलो ट्रम्प प्रशासनमा लक्षित देशहरू किर्गिस्तान, नाइजेरिया, म्यानमा, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन र सोमालियाका नागरिकहरू समावेश हुने सम्भावना छ। यस सूचीमा चीन र भारत जस्ता नयाँ देशहरू थपिन सक्छन् ।

    यी ‘चिन्ताका क्षेत्रहरू’ बाहेकका अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई यात्रा प्रतिबन्ध वा लक्षित भिसा निलम्बनले प्रभावित गर्ने सम्भावना छैन’, कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले भन्यो।

    कार्यालयले भनेको छ, ‘उल्लिखित देशहरूका अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूले सन् २०२५ जनवरी २१ देखि सुरु हुने सेमेस्टरअघि नै अमेरिका फर्किनु राम्रो हुन्छ। यदि यो सम्भव छैन भने सल्लाहकारसँग आफ्नो यात्रा योजनाबारे कुरा गर्नुहोस् र ढिलाइका लागि तयार रहनुहोस्।’

    विद्यार्थी नेतृत्वको मिडिया साइट युएससी एनेनबर्ग मिडियाका अनुसार युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया अफिस अफ इन्टरनेसनल सर्भिसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यात्रासँग सम्बन्धित ‘कुनै पनि चुनौतीबाट बच्नका लागि सबैभन्दा सुरक्षित तरिका’ जनवरी १३ मा वसन्त सेमेस्टर सुरु हुनुअघि अमेरिकामा शारीरिक रूपमा उपस्थित हुनु हो भनेर चेतावनी दिएको छ।

    राष्ट्रपति चुनावको नतिजापछि युसिएलएको आप्रवासन कानून तथा नीति केन्द्रले नोभेम्बर ६ मा विद्यार्थीहरूलाई दिएको सन्देशमा सन् २०२४ को राष्ट्रपति चुनावको नतिजाले संयुक्त राज्य अमेरिकाभरका आप्रवासी समुदायहरूका लागि गम्भीर प्रश्नहरू उठाएको बताएको छ।

    ‘आगामी ट्रम्प प्रशासनको नीति र भनाइले लाखौं आप्रवासीहरूमा दीर्घकालीन प्रभाव पार्नेछ । यसमा विद्यार्थी, कर्मचारी र प्राध्यापकको रूपमा क्यालिफोर्निया विश्वविद्यालय (युसी) को हिस्सा भएकाहरू पनि सामेल छन् ।

    युसी नीतिअनुसार विश्वविद्यालयले न्यायिक वारेन्ट, सम्मन, अदालतको आदेश वा कानूनले अन्यथा आवश्यक नगरेसम्म गोप्य विद्यार्थी रेकर्डहरूमा रहेको आप्रवासन स्थिति वा सम्बन्धित जानकारी जारी गर्नेछैन’, युसिएलएले भन्यो ।

     

  • अजरबैजान एयरलाइन्सको जहाज रुसले खसालेको आरोप

    अजरबैजान एयरलाइन्सको जहाज रुसले खसालेको आरोप

    काठमाडौँ, पुस १२ –
    ३८ जनाको ज्यान जानेगरी भएको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनामा रुसको हात रहेको आरोप लागेको छ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अजरबैजान एयरलाइन्सको जहाज रुसको एयर(डिफेन्स सिस्टमले खसालेको दाबी गरेको हो।

    दुर्घटनाको प्रारम्भिक छानबिनबारे जानकार चार अधिकारीलाई उधृत गर्दै रोयटर्सले यस्तो खुलासा गरेको हो। गत बुधबार ६७ यात्रु लिएर अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको फ्लाइट जे २-८२४३ कजाकिस्तानको अक्ताउमा खसेको थियो।

    दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने २९ जनाको उद्धार गरिएको थियो। रोयटर्सको समाचारमा एक अजरबैजनी स्रोतलाई उधृत गर्दै उक्त जहाजमा रुसी पन्तसिर-एस एयर डिफेन्स सिस्टमले आक्रमण गरिएको उल्लेख गरिएको छ। अन्य तीन स्रोतले पनि त्यस्तै बताएको समाचारमा जनाइएको छ।

    रुसले ड्रोन खसाल्न पनि एयर डिफेन्स सिस्टमको प्रयोग गर्ने गरेको छ। रुसका प्रवक्ता डिमिट्री पेस्कोभले भने अनुसन्धान पूरा नहुँदै यस्तो अनुमान गर्न नहुने टिप्पणी गरेका छन्।

    ‘अनुसन्धान सकिनुअघि नै अनुमान गर्नु गलत हुन्छ’, उनले भने।

  • अस्ट्रेलियामा योट दौडको क्रममा दुई जनाको मृत्यु

    अस्ट्रेलियामा योट दौडको क्रममा दुई जनाको मृत्यु

    सिड्नी, पुस १२ –
    अस्ट्रेलियामा वार्षिक रूपमा सिड्नीदेखि होर्बटसम्म आयोजना हुने योट दौडमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले बताएअनुसार छुट्टा छुट्टै दुई दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

    मृतकहरू क्रु मेम्बर भएको बताइएको छ । पहिलो दुर्घटना फ्लाइङ फिश अक्रनोस् र दोस्रो बोलाइनमा घटेको भनिएको छ ।

    यस दौडको पहिलो योट शुक्रबार अबेर वा शनिबार बिहान होबार्ट आइपुग्ने अपेक्षा गरिएको छ । खराब मौसमका कारण दौडमा भाग लिएका कयौँ योट फर्किएका छन् ।

    पहिलो घटना बिहीबार मध्यराति भएको र अर्को त्यसको दुई घन्टापछि भएको बताइएको छ । यस्तो खालको दौडमा मृत्युको घटना यो पहिलो भने होइन । – एजेन्सी

  • ‘पुष्पा २’ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई दिइयो २ करोड

    ‘पुष्पा २’ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई दिइयो २ करोड

    काठमाडौं, पुस ११ –
    दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को विशेष शोमा मृत्यु भएकी महिलाको परिवारलाई फिल्मका टिमले २ करोड भारू दिएका छन्।

    अभिनेता अल्लू अर्जुनका बुबाका अनुसार अल्लू अर्जुनले मात्रै १ करोड भारू दिएका छन्। पुष्पाका निर्देशक सुकुमार र मैत्रेयी प्रोडक्सन हाउसले ५०/५० लाख भारू दिएका हुन्।

    ४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो। अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका छन्। एक महिलाको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका थिए।

    केही दिनअघि हैदराबाद प्रहरीले अल्लू अर्जुनलाई पक्राउ पनि गरेको थियो। तर तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि धरौटीमा छाडेको हो।

  • बंगलादेशको सचिवालयमा आगलागी, नियन्त्रणमा लिन ६ घण्टा लाग्यो

    बंगलादेशको सचिवालयमा आगलागी, नियन्त्रणमा लिन ६ घण्टा लाग्यो

    काठमाडौं, पुस ११ –
    बंगलादेशको राजधानी ढाकाको सेगुनबागीचा क्षेत्रमा रहेको सरकारको सचिवालयमा आगलागी भएको छ । गए राति सुरुमा सचिवालय भवन नम्बर ७ बाट आगलागी सुरु भएर फैलिएको ढाका ट्रिब्युनले जनाएको छ ।

    आगलागी नियन्त्रणका लागि झन्डै २० वटा दमकल खटाइएको थियो । तर, ठाउँ अभावका कारण १० वटा दमकलमात्र प्रयोग गरिएको थियो ।

    आगो नियन्त्रणमा लिन २११ जना अग्नि नियन्त्रक परिचालन गरिएको थियो । झन्डै ६ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

    आगलागीबाट भवनको छैटौँ, सातौँ, आठौँ र नवौँ तलामा क्षति पुगेको समाचारमा उल्लेख छ । आठौँ र नवौँ तलामा बढी क्षति भएको छ । केही महत्त्वपूर्ण कागजात पनि जलेका छन् ।

    यसैबीच, आगलागी नियन्त्रणमा खटिएका एकजना अग्नि नियन्त्रको मृत्यु भएको छ । ट्यांकरमा पाइप लगाउन जानेबेला ट्रकको ठक्करबाट उनको निधन भएको हो ।

  • कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

    कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

    काठमाडौं, पुस ११ –
    कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ ।

    कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।

    बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकिस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।

    उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

    दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् । त्यहाँ एक शिशु जवितै फेला परेका थिए । उनी बेहोस अवस्थामा थिए । तर उनको कागजात नभएकाले पहिचान गर्न कठिन भएको छ । ती शिशु हाल अस्पतालमा छन् ।

    अजरबैजानको सरकारी समाचार एजेन्सीका अनुसार विमानको ब्ल्याक बक्स भेटिएको छ र दुर्घटनाको कारण पत्ता लगाउन तथा यात्राुहरुको सहायताका लागि एक आयोग गठन गरिएको छ ।