Category: विदेश

  • स्विट्जरल्यान्डमा आजदेखि बुर्का लगाउन नपाइने

    स्विट्जरल्यान्डमा आजदेखि बुर्का लगाउन नपाइने

    काठमाडौं, पुस १७ –
    स्विट्जरल्यान्डमा आजदेखि सार्वजनिक स्थानमा हिजाब तथा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । अरू कुनै पनि माध्यमबाट अनुहार छोप्न महिलालाई प्रतिबन्ध लगाइएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार, यस कानूनको उल्लंघन गरे एक लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

    सन् २०२१ मा स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । त्यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको थियो । जुन आजदेखि लागु भएको छ ।

    स्विट्जरल्यान्डभन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड र बुल्गेरियाले यस्तै कानुन बनाइसकेका छन् । नयाँ कानून लागु भएसँगै सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेस्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

    सन् २०२२ मा, स्विस संसद्को तल्लो सदनले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनको पक्षमा मतदान गरेको थियो । यसमा १५१ सदस्यले कानुनको पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए ।

    कतिपयले यस कानूनले मुस्लिम महिलालाई अनुचितरूपमा लक्षित गरेको बताएका छन् । यस कानूनका पक्षधरले सार्वजनिक स्थानमा सांस्कृतिक मूल्य र सुरक्षाका लागि आवश्यक कदम भएको दाबी गर्छन् ।

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

    दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं, पुस १६ –
    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

    सियोल पश्चिमी जिल्ला अदालतले निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पुष्टि गरेको हो।

    दक्षिण कोरियाली सञ्चारमाध्यम योनहापका अनुसार दक्षिण कोरियामा पहिलो पटक कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा अदालतले निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

    गत डिसेम्बर ३ मा अप्रत्याशित रुपमा देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले गर्दै छोटो अवधिको सैन्य कानुन अर्थात् ‘मार्शल ल’ घोषणा गरेका थिए। त्यसको ६ घण्टाको अन्तरालमा उनले आफ्नो घोषणा फिर्ता लिए।

    तर, विपक्षीले दोस्रो पटक संसदमा राष्ट्रपतिको कदमविरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भएपछि राष्ट्रपति योल निलम्बित भएका थिए। उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ। उनले चालेको कदमका विषयमा छानबिन गर्न र सोधपुछका लागि अदालतमा उपस्थित हुन भने पनि तीन पटकसम्म राष्ट्रपति नगएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै छानबिनको दायरामा ल्याइ अनुसन्धान गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयले अदालतलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गरेका थिए।

    राष्ट्रपतिले आफ्नो कार्यालयमा प्रहरीलाई छापा मार्न समेत नदिएपछि भ्रष्टाचार कार्यालयले यस्तो कदम उठाएको बताइएको छ।

  • अफगानिस्तानका आवासीय भवनमा महिला देखिने गरी झ्याल राख्न प्रतिबन्ध

    अफगानिस्तानका आवासीय भवनमा महिला देखिने गरी झ्याल राख्न प्रतिबन्ध

    अफगानिस्तान, पुस १५ –
    अफगानिस्तानमा तालिबान सरकारले महिला विरोधी अर्को आदेश जारी गरेको छ । तालिबानका सर्वोच्च नेताले आवासीय भवनहरूमा झ्यालहरू नराख्न आदेश दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    तालिबानका सर्वोच्च नेताले महिलाहरू देखिने ठाउँमा झ्यालहरू नराख्न र अहिले रहेका झ्यालहरू पनि बन्द गर्न आदेश दिएका खबरमा उल्लेख छ । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले भान्साकोठामा, आँगनमा वा पानी जम्मा गर्दा महिलाहरू काम गरिरहेको देख्दा ‘अश्लील कार्यहरू हुन सक्ने’ सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

    तालिबानले नगरपालिकाका अधिकारीहरू र अन्य सम्बन्धित क्षेत्रहरूलाई तोकिएको क्षेत्रमा झ्यालहरूमा प्रतिबन्ध लगाउन अनुगमन गर्न पनि भनेको छ ।

    सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि महिलाहरूलाई सार्वजनिक ठाउँहरूमा प्रतिबन्ध लगाइरहेको छ । तालिबानको यो कदमको संयुक्त राष्ट्रसङ्घलगायत धेरै पश्चिमी देशहरूले निन्दा गरेका छन् ।

    अफगानिस्तानमा तालिबानले बालबालिका र महिलाहरूका लागि प्राथमिक शिक्षापछि प्रतिबन्ध लगाएको छ । तालिबानी महिलाहरूलाई काम गर्न तथा पार्क र अन्य सार्वजनिक ठाउँहरूमा जान पनि दिइएको छैन । – एजेन्सी

  • दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो

    दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो

    सियोल, पुस १४ –
    दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ ।

    ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।

    भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताएका छन् ।

    विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्यान्डका नागरिकसहित १७५ यात्रु रहेका थिए भने ६ जना चालक दलका सदस्य थिए ।

    दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९ः०७ बजे दुर्घटनाग्रस्त भएको थियो । थाइल्यान्डको बैंककबाट उडेको जेजु एयरको विमान ७सी२२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

    विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

    अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।

    पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमान पुनः आकाशमा फर्किएको र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिङ’को साथ गरिएको थियो ।

    स्थानीय टेलिभिजनले प्रसारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ ।

    यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ । रासस/सिन्ह्वा

  • विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी

    विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी

    काठमाडौं, पुस १४ –
    थाइल्यान्डको बैंककबाट दक्षिण कोरियाको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै गरेको अवतरणका क्रममा दुर्घटनामा परेपछि जेजु एयरले माफी मागेको छ ।

    ‘मुआन एयरपोर्टमा भएको घटनाबाट प्रभावित सबैसँग हामी गहिरो माफी चाहन्छौँ,’’ जेजु एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, हामी स्थिति समाधान गर्न हर प्रयास गर्नेछौँ । यसबाट पर्न गएको पीडाप्रति हार्दिक दुःख व्यक्त गर्दछौँ ।

    विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

  • दक्षिण कोरिया विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, २ जनाको उद्धार

    दक्षिण कोरिया विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, २ जनाको उद्धार

    काठमाडौं, पुस १४ –
    दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा परी १७९ जनाको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये २ महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु रहेको अधिकारीले जनाइएको छ ।

    दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरी उपचारका लागि मोकपो अस्पतालमा लगिएको जनाइएको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

    थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

    विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

  • दक्षिण कोरियामा विमान दुर्घटना : मृतकको संख्या ६४ पुग्यो

    दक्षिण कोरियामा विमान दुर्घटना : मृतकको संख्या ६४ पुग्यो

    काठमाडौं, पुस १४ –
    दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

    थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

    चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ ।

    विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

    सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

    दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

  • मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

    मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

    नयाँ दिल्ली, पुस १३ –
    भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीको निगमबोध घाटमा ल्याइयो थियो।

    अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री जेपी नड्डा र उपराष्ट्रपति जगदीप धनखर, रक्षामन्त्री राजनाथ सिंह र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलगायत उपस्थित थिए। सोनिया गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी लगायत धेरै प्रतिष्ठित नेताहरू पनि त्यहाँ उपस्थित थिए ।

    निगमबोध घाटमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक पनि उपस्थित थिए । उनले डा मनमोहन सिंहलाई श्रद्धाञ्जली अर्पण गरे। ९२ वर्षीय सिंहको बिहीबार दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । कांग्रेसले डिसेम्बर २६ देखि जनवरी १ सम्मका सात दिनका आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ । – एजेन्सी

  • दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

    सियोल, पुस १३ –
    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

    यही डिसेम्बरको सुरुमा सैनिक शासन लागु गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ । यसले देशलाई दशकौँयताकै सबैभन्दा खराब राजनीतिक संकटमा धकेलेको छ ।

    युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि पनि शुक्रबार महाभियोग लगाइएको थियो । युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो । तर, दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    “राष्ट्रपति युनको रक्षाका निम्ति करिब २० लाख मानिस एकजुट हुनेछन्,” सियोलमा आयोजित र्‍याली आयोजकमध्येका युनका एक समर्थक री काङ सानले भने ।

    उनले अगाडि भने, “महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्‍यालीले निरन्तरता दिएको छ ।”

    युनविरोधी र्‍यालीका आयोजकले उनीविरुद्धको महाभियोगलाई समर्थन गर्नेहरूको आक्रोश ‘झनै चर्को रूपमा जलिरहेको’ टिप्पणी गरेको छ । उक्त र्‍यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेका’ छन् ।

    युनलाई महाभियोग लगाउने संसद्को निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा ६ न्यायाधीशले निर्णय गर्न सक्छन् । रासस/एएफपी

  • २६२ क्यानेडियन कलेजमाथि मानव तस्करीको आरोप

    २६२ क्यानेडियन कलेजमाथि मानव तस्करीको आरोप

    काठमाडौँ, पुस १३ –
    भारतको प्रवर्तन निदेशालय (ईडी)ले क्यानाडाका दर्जनौं कलेज र मुम्बईका दुई संस्थाहरूमाथि मानव तस्करीको आरोप लगाएको छ।

    ईडीले मानव बेचबिखनसँग जोडिएको आशंकामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ। यो सञ्जालले क्यानाडाबाट अमेरिकामा विद्यार्थीहरूलाई गैरकानुनी रूपमा आवतजावत गर्न सहयोग गरेको आरोप छ।

    ईडीले सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा कानूनको उल्लङ्घनको आरोपमा अनुसन्धान गरिरहेको भनेको छ। ईडीका अनुसार, एजेन्टहरूले विद्यार्थी भिसामा भारतीयहरूलाई क्यानाडाका कलेजहरूमा भर्ना गराएर अमेरिका पुर्याउँथे।

    क्यानाडा पुगेपछि, उनीहरू कलेजमा जानुको सट्टा अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेको आरोप लगाइएको छ। ११२ कलेजहरू एक संस्थासँग र १५० भन्दा बढी कलेजहरू अर्को संस्थासँग सम्झौता गरेर मानव तस्करी गर्दै आएका थिए।

    ईडीले मुम्बई, नागपुर, गान्धीनगर र वडोदरामा खोजी गरी ठूलो मानव तस्करी नेटवर्कको पर्दाफास गर्यो, जसमा मुम्बई र नागपुरका दुई एजेन्टले वार्षिक ३५ हजार अवैध आप्रवासीहरूलाई विदेश पठाउँथे। यो नेटवर्कले गुजरातमा एक हजार सात सय र भारतभर तीन हजार पाँच सय एजेन्टहरू परिचालन गरेको थियो, जसमध्ये ८०० भन्दा बढी अझै सक्रिय छन्। – एजेन्सी