भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार गरिँदै

काठमाडौं, पुस १३ –
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि दिल्लीको निगमबोध घाटमा लगिएको छ । उनको केहीबेरमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मनमोहन सिंहको पार्थिव शरीरलाई तीनवटै सेनाले सलामी दिएका थिए ।

उनको पार्थिव शरीरलाई सेनाको गाडीमा निगमबोध घाटमा लगिएको थियो । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी शव लिएर कारमा बसेका थिए । सोनिया गान्धी, प्रियंका गान्धी र कांग्रेसका वरिष्ठ नेताहरू पनि घाटमा उपस्थित छन्।

राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले मनमोहनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

मनमोहनको पार्थिव शरीर बिहान ९ः३० बजे उनको निवासबाट कांग्रेस मुख्यालयमा ल्याइएको थियो । यहाँ डा. सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राहुल गान्धी, सोनिया र प्रियंकालगायत अन्य कांग्रेस नेताहरूले पनि मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिए।

डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको हो । उनी ९२ वर्षका थिए । उनी लामो समयदेखि बिरामी थिए । घरमै बेहोस भएपछि उनलाई राति ८ः०६ बजे दिल्लीको एम्स अस्पतालमा लगिएको थियो । अस्पतालको बुलेटिनका अनुसार राति ९ः५१ बजे उनले अन्तिम सास लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *