Blog

  • मौसमले रोकेपछि रवि लामिछाने भरतपुर हुँदै गाडीबाट जाने

    मौसमले रोकेपछि रवि लामिछाने भरतपुर हुँदै गाडीबाट जाने

    पौष ४,काठमाडौँ ।
    भैरहवाको खराब मौसमले हवाई उडान अवरुद्ध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वैकल्पिक यात्रा तय गरेका छन्। काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि उनी चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यसपछि रुपन्देहीसम्म गाडीबाट जाने भएका हुन्।

    शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने दिउँसो १ बजेसम्म उडान नहुँदा काठमाडौँमै रोकिएका थिए। उच्च अदालत बुटवल–तुलसीपुरले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने आदेश दिएपछि अदालत उपस्थित हुन उनी भैरहवा जान लागेको रास्वपाले जनाएको छ।

  • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको सर्‍यो समय

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको सर्‍यो समय

    ४ पुस, काठमाडौँ ।
    नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बसेसम्मका लागि सरेको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

    बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

  • जेनजी आन्दोलन: चितवनका सात जना घाइतेको वर्गीकरण सिफारिस

    जेनजी आन्दोलन: चितवनका सात जना घाइतेको वर्गीकरण सिफारिस

    चितवन, पुस ४-
    गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएका सात जनाको वर्गीकरणका लागि सिफारिस गरिएको छ । यस जिल्लामा रहेका १४२ घाइतेमध्ये उनीहरुको वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार घाइतेमध्ये अहिलेसम्म १७ जनाले परिचयपत्र बनाएका छन् । तीमध्ये सात जनाको जिल्लामा निर्णय गरेर वर्गीकरणका लागि पठाइएको हो । वर्गीकरण गरिएकामा अधिकांश मध्यम र सामान्य घाइते रहेका छन् । जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधिका आधारमा केन्द्रमा प्राविधिक समिति रहेको छ भने जिल्लामा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिले घाइतेको वर्गीकरण गर्ने गर्दछ ।

    प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आठ सदस्यीय समन्वय समिति रहेको छ । समितिमा सङ्घीय अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, दुई जना चिकित्सक, जनस्वास्थ्य प्रमुख, प्रहरी अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकृत रहने व्यवस्था छ । समितिले जिल्लामा वर्गीकरण गरेर केन्द्रमा पठाउने गरेको छ ।

    केन्द्रको प्राविधिक टोलीले पुनः हेरेर स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गर्नेछ । अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार चरणमा वर्गीकरण गरिने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये अतिगम्भीर, गम्भीर र मध्यम घाइतेलाई अवस्थाअनुसार जीवननिर्वाह भत्ता राज्यले व्यवस्था गरेको छ ।

    जिल्लामा भएको प्रदर्शनका क्रममा घाइते भएकाको परिचयपत्र बनाएसँगै उनीहरुलाई सुरुआती समयमा रु २० हजारसम्म उपचार खर्च दिने व्यवस्था रहेको छ । परिचय पत्र अन्य जिल्लाका स्थायी बासिन्दा भएकाको हकमा सो जिल्लाबाट नलिएको प्रमाणसहित निवेदन दिनसमेत उहाँले आग्रह गर्नुभयो । परिचयपत्र वितरण र वर्गीकरणको काम भइरहेकाले प्रदर्शनका क्रममा भएका घाइतेलाई स्थानीय प्रशासनमा सम्पर्कमा आउनसमेत प्रशासनले आग्रह गरेको छ । रासस

  • ‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

    ‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

    काठमाडौँ, पुस ४
    अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन नसकेका बोर्ड, समिति र संस्थान खारेज गरी बजेट बचत र प्रभावकारी उपयोगमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । डा खनालका अनुसार पछिल्ला वर्षमा सामाजिक सुरक्षाको दायित्व तीव्र रूपमा बढ्दै गए पनि त्यसअनुसार परिणाम देखिएको छैन ।

    उहाँले उत्पादनशील क्षेत्रमा वृद्धि नदेखिनु अर्थतन्त्रको प्रमुख समस्या भएको उल्लेख गर्दै सरकारले उत्पादन क्षेत्रमा सहुलियत तथा प्रोत्साहन दिएको भए पनि अपेक्षित नतिजा नआएको धारणा राख्नुभयो । डा खनालले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटको ठूलो हिस्सा खर्च हुने गरे पनि ती क्षेत्रमा गुणस्तरीय सुधार हुन नसकेको बताउनुभयो ।

    “गरिबीको अवस्था, प्रतिव्यक्ति खपत र जीवनस्तरको सूचकमा नेपाल दक्षिण एसियामै कमजोर मुलुकको सूचीमा पर्छ । सार्वजनिक खर्च प्रशासन सुधारका प्रयास भए पनि ती पर्याप्त छैनन् । सेवा प्रवाहमा समेत अझै उल्लेख्य सुधार नआएकाले समस्या भइरहेको छ”, उहाले निष्कर्ष सुनाउनुभयो ।

    डा खनालले सार्वजनिक खर्चका केही प्रवृत्ति संविधान, दिगो विकास लक्ष्य ९एसडिजी० का प्रतिबद्धता तथा योजना र बजेटका प्राथमिकतासँग विरोधाभासपूर्ण रहेको भन्दै स्वास्थ्य क्षेत्रमा खर्च २०११/१२ मा सात दशमलव आठ प्रतिशत रहेकोमा २०२२/२३ मा घटेर चार दशमलव दुई प्रतिशतमा सीमित भएको उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार शिक्षा क्षेत्रमा तीव्र कटौती देखिएको र २०२२/२३ मा २१ प्रतिशत रहेको हिस्सा २०२३÷२४ मा १० दशमलव पाँच प्रतिशतमा झरेको छ । यस विपरीत सामाजिक सुरक्षामा खर्च तीव्र रूपमा बढ्दै गएको छ । २०११/१२ मा तीन दशमलव छ प्रतिशत रहेको सामाजिक सुरक्षा खर्च २०२२/२३ र २०२३/२४ मा क्रमशः १४ दशमलव चार प्रतिशत र १६ दशमलव दुई प्रतिशत पुगेको छ । केही वृद्धि जायज भए पनि खर्चको यस्तो तीव्र वृद्धिले कमजोर नतिजा दिएको उहाँको भनाइ छ ।
    डा खनालले बजेटको ठूलो हिस्सा आर्थिक वर्षको अन्तिम महिना र अन्तिम सातामा खर्च हुने प्रवृत्ति अझै कायम रहेकातर्फ ध्यानाकर्षण गराउनुभयो । कुल बजेटमा राजस्वको योगदान बढ्नु सकारात्मक भए पनि अनुदान घट्दै जानु र आन्तरिक ऋण बढ्नुले वित्तीय स्पेस साँघुरो बन्दै गएको उहाँले बताउनुभयो ।

    “यस्तो अवस्थामा अर्थतन्त्रको पुनर्निर्माण र पुनरुत्थानका लागि ठूलो लगानी आवश्यक रहेको अवस्थामा अत्यधिक तरलता हुँदाहुँदै पनि लगानीको अपेक्षित माग नदेखिनु अर्को असन्तुलित प्रवृत्ति हो । अत्यन्तै खुकुलो मौद्रिक नीतिका बाबजुद पनि लगानी बढ्न नसक्नु गम्भीर समस्याका रूपमा लिनुपर्छ”, डा खनालले भन्नुभयो,“कुल गार्हस्थ उत्पादनको अनुपातमा हेर्दा नेपालमा सार्वजनिक खर्च भारतबाहेक अन्य दक्षिण एसियाली मुलुकको तुलनामा उच्च छ । बजेट विनियोजनको तुलनामा खर्च निकै कमजोर छ । अर्धवार्षिक समीक्षामा ठूलो कटौती हुँदाहुँदै पनि यस्तो अवस्था दोहोरिनु बजेट प्रणालीकै कमजोरी हो ।”

    यसैगरी उहाँले रकमान्तरको प्रवृत्ति अत्यधिक रहेको उल्लेख गर्दै २०२३/२४ को बजेटमा कुल रकमान्तर १४ दशमलव ६४ प्रतिशत पुगेको र त्यसको ठूलो हिस्सा अन्तिम समयमा खर्च हुनु विद्यमान नियमविपरीत भएको बताउनुभयो । कुल खर्च मुख्यतः दोहोरिने खर्चका कारण बढिरहेको र वित्तीय खर्च पुँजीगत खर्चभन्दा तीव्र गतिमा बढिरहेको उहाँको विश्लेषण थियो ।
    “समस्याको मूल कारण प्रणालीगत तथा संरचनात्मक रहेको छ । राज्य प्रणाली र त्यसको राजनीतिक नियन्त्रणमा आधारित कार्यप्रणाली नै मुख्य समस्याका रूपमा देखिन्छ । यी समस्या पहिचान हुँदै आए पनि व्यवहारमा भाषण र प्रचारमै सीमित हुने गरेको छ”, डा खनालले गुनासो गर्नुभयो,“आवधिक योजना, लक्ष्य, उद्देश्य, रणनीति, कार्यक्रम, नीति र कार्यान्वयनबीच ठूलो असन्तुलन रहेको छ । मध्यमकालीन खर्च संरचनालाई औपचारिकतामा सीमित नराखी सम्पूर्ण बजेट प्रणाली सुधारको प्रमुख औजारका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।”

    उहाँले आन्तरिक लेखापरीक्षण, समयमै प्रतिवेदन, स्रोतको चुहावट तथा दुरुपयोग नियन्त्रण अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै आधारित लेखा प्रणाली र सम्पत्ति व्यवस्थापन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । यस्तो अवस्थालाई ध्यानमा राख्दै छोटो, मध्यम र दीर्घकालीन रणनीति एकैसाथ अघि बढाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । रासस

  • जेनजी आन्दोलनका अतिगम्भीर घाइतेलाई मासिक १८ हजार भत्ता

    जेनजी आन्दोलनका अतिगम्भीर घाइतेलाई मासिक १८ हजार भत्ता

    काठमाडौं, पुस ४-
    सरकारले गत भदौ २३ र २४ गतेको जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई अघि बढाएको छ ।

    जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउन मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणित गर्नेछ ।

    कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपांगताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहनेछ । उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर्गीकरण गर्नेछ ।

    गम्भीर घाइतेले मासिक रु नौ हजार र अतिगम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार प्राप्त गर्ने व्यवस्था गरिएको गृहमन्त्रालयले जनाएको छ । कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले मासिक चार हजार भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।

    गृहमन्त्री अर्यालको सक्रियतामा जेनजी घाइतेहरूको जनभावना अनुरूप वर्गीकरणका लागि मन्त्रालयले सम्बद्ध निकायलाई घाइतेहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन भए बमोजिम प्रक्रिया अघि बढाइएको वर्गीकरण सहजीकरण समितिले जनाएको छ । रासस

  • राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

    राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

    काठमाडौँ, पुस ४-
    राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ । सो ओलम्पिकमा विभिन्न १२ खेलका खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ । रासस

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    पाटन (ललितपुर), पुस ४-
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।

    ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उहाँले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताउनुभयो ।

    मन्त्री घिसिङले भन्नुभयो, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।”

    सहरी विकासमन्त्री समेत रहनुभएका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा त्यसले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको भन्दे अब प्रधावकारी, प्रविधिमैत्री एवम् भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायतको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “हामीले हाम्रो ठाउँको काठलाई उपयोग गर्न नसक्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ । काठ आयातमा हामीले धेरै रकम खर्च गरिरहेका छौँ, बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ”, मन्त्री घिसिङले भन्नुभयो ।

    सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन मन्त्रालय तयार रहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भ अनुकूल, जलावायुमैत्री प्रविधि, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको बताउनुभयो । रासस

  • भैरहवामा कुहिरो लागेपछि पाँच घण्टादेखि काठमाडौं विमानस्थलमै रोकिए रवि लामिछाने

    भैरहवामा कुहिरो लागेपछि पाँच घण्टादेखि काठमाडौं विमानस्थलमै रोकिए रवि लामिछाने

    बुटवल पुस ४,
    रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । शुक्रबार (पुस ४) बिहान करिब ७ बजेदेखि उनी त्रिभुवन विमानस्थलमै रोकिएका ‘जेनजी’ अगुवा पुरुषोत्तम यादवले जानकारी दिए ।

    यादव पनि लामिछानेसँगै भैरहवा जान लागेका छन् । शुक्रबारै उनी रास्वपामा प्रवेश गरेका हुन् ।

    “रवि दाइसँग म विमानस्थलमै छु । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि उहाँ बिहान ७ बजेदेखि काठमाडौं एयरपोर्टमै रोकिनुभएको छ । जहाज डिले भएको छ । अब कति बजे जाने भनेर फिक्स भएको छैन,” उनले  भने ।

    यादवका अनुसार, बिहान ७ः५५ बजेको बुद्ध एयरको फ्लाइटबाट लामिछाने भैरहवा जान टिकट काटिएको थियो । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकमबराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

  • मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

    मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

    मोरङ, पुस ४ –
    सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

    मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उहाँले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सरोकार भएका निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।

    मन्त्री श्रेष्ठले मन्त्रालयले बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो ।

    माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संस्थाले विगत ३० वर्षदेखि मानव बेचबिखनविरूद्ध काम गर्नुका साथै जनचेतना जगाउने, उद्धार र पुनस्थापनामा सहजीकरण गर्दै आएको जानकारी दिनुभयो । अहिले पनि किशोरीहरू अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनमा परी बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि समाज, सङ्घसंस्था, सरकारी निकाय सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन नेपालको मुख्य समस्या भएको उल्लेख गर्दै यसको रोकथाम आपसी समन्वयबाट हुने बताउनुभयो ।

    मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ, दिल्ली प्रहरीका डा राकेश कुमार, गैरसरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्तलगायतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेतना जगाउन र आगाी रणनीति तयार गर्न गोष्ठी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    मानव बेचबिखन नियन्त्रणमा दुई देशबीच आपसी सहकार्य र समन्वय सुदृढ गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपाल र भारतका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाजलगायत सरोकार भएका सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता छ । रासस

  • रिहाइ प्रक्रियाका लागि रवि रुपन्देही जादैँ

    रिहाइ प्रक्रियाका लागि रवि रुपन्देही जादैँ

    काठमाडौं , पुस ४ –
    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारागार प्रशासनले अहिले रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ । केहीबेरमा जहाजबाट उनी भैरहवा जाँदैछन् ।

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।

    उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

    बिहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि रवि आज काठमाडौंबाट रुपन्देही गएका हुन् । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।