Blog

  • थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

    थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

    दमौली (तनहुँ), पुस ३ –
    जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।

    योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली वा पोखरा जानुपर्ने बाध्यता अन्त्यका लागि हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरी केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब यहाँका स्थानीयवासीले आँखा उपचारका लागि अन्यत्र जानुपर्दैन । यहाँबाटै नियमित रूपमा उपचारको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनुका साथै समय र खर्च बचत हुनेछ ।”

    उपचार केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा विभिन्न वडाका सर्वसाधारण उपचारका लागि आएका अस्पतालले जनाएको छ । केन्द्र सञ्चालनका लागि प्राविधिकसहित उपकरण हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ भने उपचारका लागि अन्य सहयोग म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ ।

    सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक रु छ लाख उपलब्ध गराउनेछ भने बिरामीबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानीका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त समितिको संयोजकमा थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सहसंयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

    त्यस्तै सदस्यहरूमा म्याग्दे(४ का वडाध्यक्ष, वडा नं ७ का वडाध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् । रासस

  • केन्द्रीय सदस्यमा ज्ञवाली निर्वाचित

    केन्द्रीय सदस्यमा ज्ञवाली निर्वाचित

    काठमाडौँ, पुस ३
    नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई महासचिवको उम्मेदवार नबन्न आग्रह गर्दै उपाध्यक्ष लड्न सुझाएका थिए । तर, ज्ञवालीले भने उपाध्यक्ष नलड्ने घोषणा गर्दै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।

    उनले केन्द्रीय सदस्यमा उनले १९४२ मत ल्याए ।

  • निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    काठमाडौँ, पुस ३-
    नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन् । आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

    यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी पोखरेलले ५६४ मत मात्रै प्राप्त गरे ।

  • रामकुमारी झाँक्री अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी

    रामकुमारी झाँक्री अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी

    काठमाडौं पुस ३ –
    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा अत्याधिक मतसहित विजयी भएकी छन् । उनले १९११ मत ल्याइन् ।

    झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । सचिवको आकांक्षी भए पनि भाग नपुगे पनि उनले केन्द्रीय सदस्यमै चित्त बुझाएकी हुन् । प्रतिनिधिहरूले उनलाई अत्यधिक मत दिएका छन् ।

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    काठमडौँ, पुस ३ –
    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा नरेश सुवेदी नियुक्त हुनुभएको छ । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उहाँलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो ।

    विगत २५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत डा सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा हुनुहन्थ्यो । पदीय जिम्मेवारीका क्रममा डा सुवेदीले नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएको छ । उहाँकै पहल र सक्रियतामा नेपाल सरकारले ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नै जिम्मा दिने निर्णय गरेको थियो । यसका साथै, उहाँको नेतृत्वदायी क्षमता र अन्तरराष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायबाट संरक्षण केन्द्रित दुई सय भन्दाबढी परियोजनाहरू कोषमा भित्रिएका छन् ।

    यसैगरी प्राज्ञिक र अनुसन्धानको क्षेत्रमासमेत डा सुवेदीको उपस्थिति प्रभावशाली रहेको कोषले जनाएको छ । उहाँका हालसम्म करिब दुई सय भन्दाबढी उच्चस्तरीय अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् भने दई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारीधि (पिएचडी) तहमा मार्गदर्शन गर्नुभएको छ ।

    संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल राख्ने डा सुवेदीको कार्यकालमा प्रकृति संरक्षण, वन्यजन्तु व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थप नवीन र रणनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ । रासस

  • एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको सङ्घर्षपूर्ण राजनीतिक यात्रा

    एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको सङ्घर्षपूर्ण राजनीतिक यात्रा

    काठमाडौँ, पुस ३ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्र्षशील एवं जेलनेल भोगेको नेताका रुपमा स्थापित हुनुहुन्छ । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथसहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिनुहुन्छ ।

    एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसक्नुभएका नेता ओली काठमाडौमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसक्नुभएको छ ।

    पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

    गत मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रुपमा रहेको एमालेलाई विशेष गरी जेन्जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।

    अध्यक्ष ओली विसं २०७१ साउन १ गते काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थयो । यसैगरी २०७८ मङ्सिर दोस्रो साता चितवनामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्ष हुनुभएको थियो ।

    समृद्धि, विकास र राष्ट्यिताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि कमाउनुभएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रुपमा चिनिनुहुन्छ ।

    नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । यसैगरी, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँ दोस्रो पटक सरकारको नेतृत्वमा पुग्नुभएको थियो ।

    विसं २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि पहिलो वरियताको अध्यक्ष हुनुभएका उहाँ पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उहाँको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकार बाहिर पुग्नुभएको थियो ।

    निम्नमध्यम् वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्व प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटक पटक कठोर यातना भोग्ने नेता हुनुहन्छ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुग्नुभएको थियो । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओली आफ्नो बाल्यकालमा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेको अहिले पनि स्मरण गर्ने गर्नुहुन्छ ।

    तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तर घुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित हुनुभएको थियो ।

    अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उहाँ नेतृत्वदायी भूमिकामा हुनुहन्छ ।

    अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुनुहुन्छ ।

    पन्ध्र वर्षको किशोर उमेरमा २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल हुनुभएको थियो । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

    माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । कम्प्युनिष्ट आन्दोलनमा होमिनुभएका ओली २०२६ सालमा पहिलो पटक पञ्चायती सरकारको गिरफ्तारीमा पर्नुभएको थियो ।

    पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताउनुभएको छ ।

    अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उहाँ केन्द्रीय सदस्य हुनुभयो । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी संहाल्नुभयो ।

    नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष हुनुभयो ।

    नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा ९माले० र नेकपा ९माक्र्सवादी०बीच पार्टी एकीकरण भएर नेकपा(एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य हुनुभयो ।

    बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य हुनुभयो । यसैबीच पार्टी जिम्मेवारीका क्रममा पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी उहाँले सम्हाल्नुभयो । पछि उहाँ उपप्रधानमन्त्री र परराष्ट्र पनि बन्नुभयो ।

    बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो । रासस

  • अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    काठमाडौँ, पुस ३ –
    विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन् ।

    काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो ।

    काठमाडौँं महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइन दुई सय ६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजना पक्राउ परेका छन् । मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित व्यक्ति पक्राउ परेका छन् । तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित, सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुईजना, मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुई जना तथा रुपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ । रासस

  • एमालेमा सर्वाधिक लोकप्रिय मत भगवती चौधरीलाई

    एमालेमा सर्वाधिक लोकप्रिय मत भगवती चौधरीलाई

    काठमाडौं,पुस ३-
    नेकपा एमालेको ११ औँ महाधिवेशनबाट सर्वाधिक लोकप्रिय मत भगवती चौधरीलाई प्राप्त भएको छ। खुला महिलाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी चौधरीले २०४४ मत प्राप्त गरेककी छन्। उनी सुनसरीबाट विघटित प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् भने महिला तथा बालबालिका मन्त्री समेत भइसकेकी नेता हुन्।

    यस्तै उनीपछि केन्द्रीय सदस्यमै बागमतीको महिलातर्फ उम्मेदवार रहेकी निरकुमारी कुँवर (निरु दर्लामी)ले २००५ मतसहित दोस्रो लोकप्रिय मत पाएकी छन्।

  • सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी

    सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी

    पुष ३,काठमाडौं ।
    काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उनी विजयी भएकी हुन् ।

    सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको छ । जसमा दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पछि पारिन् । उनले १६६८ भोट ल्याएकी छन् । उनका दुई प्रतिस्पर्धी ईं राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।

    सुनिताले स्थानीय निर्वाचनमा काठमाडौं महानगरबाट मेयरमा स्वतन्त्र लड्ने तयारी गरेकी थिइन् । पछि उनलाई एमालेले उपमेयरको टिकट दियो । उनी अत्यधिक मतका साथ उपमेयरमा विजयी बनिन् । त्यसयता उनी एमालेकै सक्रिय छिन् ।

  • लेखराज, रघुवीर र योगेश बने एमालेका उपमहासचिव

    लेखराज, रघुवीर र योगेश बने एमालेका उपमहासचिव

    काठमाडौँ, पुस ३-
    नेकपा (एमाले)को उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्।

    एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, उपमहासचिवमा निर्वाचित लेखराजले १ हजार ४५२, रघवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन्।

    उपमहासचिवमा ७ जनाको उम्मेदवारी परेको थियो। ओली निकट नेता विष्णु रिमाल चौथो नम्बरमा रहे। उनले एक हजार ९१ मत पाए।

    त्यस्तै, पाँचौँ नम्बरमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ र छैटौँ रहेका वैजनाथ चौधरीले ५१७ मत पाए। त्यस्तै, अन्तिममा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन्।