भैरहवामा कुहिरो लागेपछि पाँच घण्टादेखि काठमाडौं विमानस्थलमै रोकिए रवि लामिछाने

बुटवल पुस ४,
रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । शुक्रबार (पुस ४) बिहान करिब ७ बजेदेखि उनी त्रिभुवन विमानस्थलमै रोकिएका ‘जेनजी’ अगुवा पुरुषोत्तम यादवले जानकारी दिए ।

यादव पनि लामिछानेसँगै भैरहवा जान लागेका छन् । शुक्रबारै उनी रास्वपामा प्रवेश गरेका हुन् ।

“रवि दाइसँग म विमानस्थलमै छु । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि उहाँ बिहान ७ बजेदेखि काठमाडौं एयरपोर्टमै रोकिनुभएको छ । जहाज डिले भएको छ । अब कति बजे जाने भनेर फिक्स भएको छैन,” उनले  भने ।

यादवका अनुसार, बिहान ७ः५५ बजेको बुद्ध एयरको फ्लाइटबाट लामिछाने भैरहवा जान टिकट काटिएको थियो । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकमबराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *