Blog

  • निर्वाचन ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

    निर्वाचन ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

    काठमाडौँ, पुस ५ –
    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ ।

    साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो ।

    मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो ।

    पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए दावी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो ।

    यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रकार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्नुभएको हो ।

    नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।रासस

  • शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने

    शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने

    कञ्चनपुर, पुस ५-
    विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

    चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार, नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ ।

    “प्रतिकूल मौसमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो,” उनले भने, “अत्यधिक चिसोले गर्दा पठनपाठनमा बाधा पुग्न थालेको छ, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले नगरप्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदाबाट मिलान हुनेगरी दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरिएको छ ।” शुक्रबार भुवा पर्वको बिदा र शनिबार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको छ ।

    कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ ।

    स्थानीय तहहरूले चिसोबाट जोगिनका लागि सर्वसाधारणलाई सार्वजनिक सूचना जारी गर्दै सचेत पार्ने कार्य गरिरहेका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान र आगो ताप्दा सावधानी अपनाउन र सचेत रहन स्थानीय तहहरूले आग्रह गरेका छन् । रासस

  • चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको अध्यक्षमा ईन्द्र रेग्मी

    चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको अध्यक्षमा ईन्द्र रेग्मी

    चितवन, ४ पुस :
    चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको ९औँ बार्षिक साधारण सभा तथा ५औँ अधिवेशन आज अजिरकोट गाउँपालिका–३ स्थित नम्कि होमस्टेमा सफलतापूर्वक सम्पन्न भएको छ।
    अधिवेशनले इन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

    समितिमा उपाध्यक्षमा यज्ञ प्रसाद पौडेल, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा होमनाथ पौडेल, र सदस्यमा क्रमशः जनक कुमार ढकाल, सुरेश चौधरी, दीपक कडेल, सन्तोष भट्टराइ, र देवेन्द्र अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

    कार्यक्रम सस्थाका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थापक अध्यक्ष इश्वर कुमार श्रेष्ठ, प्रमुख अतिथि तथा पूर्व उपाध्यक्ष र सल्लाहकार गोपाल भट्टराइ विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सन्चालनको जिम्मेवारी सस्थाका सचिव कमल अधिकारिले सम्हालेका थिए।

  • रविले लामिछानेले आज  चितवनमा विशेष सम्बोधन गर्दै

    रविले लामिछानेले आज  चितवनमा विशेष सम्बोधन गर्दै

    चितवन,पुस ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने भएका छन् ।

    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछानेले आज बिहान ११ बजे भरतपुरको चौबिसकोठीमा आयोजना हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

    त्यसपछि उनी दिउँसो १ः५० बजेको जहाजको उडानमार्फत काठमाडौं फर्किने र जेन–जी आन्दोलनका शहीद तथा घाइते परिवारलाई भेट्ने कार्यक्रम रहेको झाले जानकारी दिए । ‘आजै काठमाडौं आएर जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ’, झाले भने । त्यस्तै, लामिछानेलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखिएको छ ।

  • आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष ५ गते । शनिबार । इस्वी सन् २०२५ डिसेम्बर २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा, अहोरात्र । नक्षत्र–मूल, ४६ घडी ४६ पला, रातको १ बजेर ३४ मिनेट उप्रान्त पूर्वाषाढा । योग–गंड, २५ घडी ५६ पला, बेलुकी ५ बजेर १३ मिनेट उप्रान्त वृद्धि । करण–किंस्तुध्न, बेलुकी ७ बजेर ४३ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २५घडी ५० पला ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । हतार गर्ने बानिले अनावश्यक विवादमा फस्ने ग्रहयोग रहेको छ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । तर पनि बैक तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । तर पनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ । बैठक, गोष्ठी तथा यात्रामा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शुभ कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । शैक्षिक यात्रा हुने तथा आफन्त, तथा शैक्षिक क्षेत्रमा मानिससँग समय व्यातित हुनेछ । निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । प्रेम प्रसङ्गमा अविश्वास बढ्ने योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब बढ्नेछ । अन्य काममा अलमलिँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि, पशुपालन तथा ग्रामीण क्षेत्रमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई तपाईँको साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नैहरूले रुपैया पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा राय बाझिने तथा मनमुटाब सिर्जना हुन सक्छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । व्यापार तथा उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) इमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । राजनीतिक भेटघाट, बैठक, गोष्ठी, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवनशैलीमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । गीत संगीतमा समय लगानी गर्नेहरूका लागी यात्राको अवसर प्राप्त हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • रिहाइपछि रविको प्रतिक्रिया, अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ

    रिहाइपछि रविको प्रतिक्रिया, अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ

    ४ पुस,बुटवल-
    रिहाइपछि रविराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकीरहेको बताएका छन् ।

    शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् ।

    उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताए । अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उनले बताए ।

     

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सातदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सातदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न

    चितवन, ४ पुसः
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सञ्चालन गरिएको “Faculty Development Training on Instruction Pedagogy and Evaluation” शीर्षकको सातदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

    मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म सञ्चालन गरिएको तालिमको समापन समारोह विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा योजना निर्देशनालयका निर्देशक डा. रामहरि तिमिल्सेना तथा टेक्सास टेक विश्वविद्यालयका प्राध्यापक कृष्णप्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो। साथै कृषि संकायका डिन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।

    तालिममा सहभागी शिक्षकहरूलाई उपकुलपति प्रा.डा. शारदा थपलियाबाट प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति थपलियाले शिक्षकहरूको क्षमता अभिवृद्धि विश्वविद्यालयको शैक्षिक उत्कृष्टताको आधार भएको उल्लेख गर्दै यस्ता तालिमहरूले विश्वविद्यालयलाई उत्कृष्टताको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।

    तालिमको क्रममा कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पुष्कर बहादुर पालले शिक्षकहरूले अवलम्बन गर्नुपर्ने Ethics, Ethos, Pathos र Logos का सिद्धान्तहरूबारे विशेष प्रशिक्षण प्रदान गरेका थिए।

    उनले यी मूल्य आधारित अवधारणाहरूले शिक्षकको पेशागत आचरण, प्रभावकारी शिक्षण र विद्यार्थी केन्द्रित शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

    निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा.डा. ओमप्रकाश सिंहले तालिम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवाला निकाय, स्रोत व्यक्ति तथा सहभागी शिक्षकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।

  • रिहा भए रवि लामिछाने

    रिहा भए रवि लामिछाने

    ४ पुस, काठमाडौँ ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

    ४ पुस,बुटवल । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् ।

    काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए ।

  • रवि लामिछाने चितवन आइपुगे रुपन्देही लगिँदै

    रवि लामिछाने चितवन आइपुगे रुपन्देही लगिँदै

    काठमाडौँ ४ पुस 
    रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ ।

    भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् ।

    उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक जना अधिकृतले रातोपाटीलाई बताए । लामिछानेसँग केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि गएका छन् ।

    उनलाई शुक्रवार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।

  • कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस

    कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस

    अर्घाखाँची, पुस ४ –
    नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

    जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफरिस गरेको हो । आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि डा मुिक्तराम श्रेष्ठ, डा जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र पार्टी उपसभापति बाबुराम पौडेल को नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले बताउनुभयो ।

    यस्तै समानुपातिकतर्फ पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि पूर्व सांसद डा रामबहादुर विसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र कांग्रेस पूर्व केन्द्रिय सदस्य बालकृष्ण पाण्डेको नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो । रासस