Blog

  • निर्वाचन आउन ७६ दिन बाँकी: जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

    निर्वाचन आउन ७६ दिन बाँकी: जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

    काठमाडौँ, पुस ४ –
    समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन लागेको हो ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसङ्ख्याको नयाँ तथ्याङ्कअनुसार प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को अनुसूची परिमार्जन गर्न अध्यादेश ल्याइएको हो ।

    निर्वाचन आयोगमा गत मङ्सिर २५ गते भएको छलफलका आधारमा जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि रहेको छ सदस्यीय समिति गठन गरिएको थियो ।

    सो समितिले राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको थियो । सोही समितिले राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरेको हो । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।

    जनसङ्ख्याको प्रतिशतका आधारमा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्नेछन् । राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा सिट सङ्ख्या निर्धारण हुनेछ । सोही प्रयोजनका लागि सरकारले अध्यादेशमार्फत कानुनी प्रबन्ध गरेको हो । रासस

  • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    काठमाडौं,पुस ४-
    नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

  • रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै

    काठमाडौं,पुस ४-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको छ ।

    रास्वपाका नेता हरि ढकालका अनुसार रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।

  • नारायणी अञ्चलका लागि टोयोटा मोटरको आधिकारिक सब डिलर अटोवेज मात्रै हो : कम्पनी

    नारायणी अञ्चलका लागि टोयोटा मोटरको आधिकारिक सब डिलर अटोवेज मात्रै हो : कम्पनी

    चितवन, ३ पुसः
    युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा नेपाल) ले नारायणी अञ्चलका लागि टोयोटा मोटर, स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको बिक्री–वितरण र सवारी मर्मत सेवाका लागि अटोवेज प्रा.लि. मात्रै  आधिकारिक सब–डिलरको रूपमा रहेेेको जनाएको छ।

    भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा अवस्थित अटोवेज प्रा.लि. लाई टोयोटा नेपालले उक्त जिम्मेवारी दिएको छ ।

    साबिक नारायणी अञ्चलमा टोयोटासम्बन्धी सवारी बिक्री, स्पेयर पार्ट्स तथा मर्मत सेवा लिन उपभोक्ताहरूले यही आधिकारिक सब–डिलरमार्फत सेवा लिनुपर्ने कम्पनीले जनाएको छ।

    टोयोटा नेपालले आधिकारिक सब–डिलर बाहेक अन्य व्यक्ति वा संस्थाबाट सामान वा सेवा लिँदा हुने कुनै पनि किसिमको हानि–नोक्सानीप्रति कम्पनी जिम्मेवार नहुने स्पष्ट पारेको छ।

    साथै, उपभोक्ताहरूलाई आधिकारिक माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरिएको छ।

  • कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

    चितवन, ३ पुसः
    चितवनको कटाव दि स्कार्पमेन्टले ‘माया के हो’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्ने भएको छ । ब्याण्डले आज (बिहीबार) प्याराडाइज क्याफे बिगबजारमा पत्रकार सम्मेलन गर्दै गीतको अफिसियल म्युजिक भिडियो पुष ९ गते २४ डिसेम्बरमा रिलिज हुने जानकारी दिएको हो ।

    ब्याण्डले एडम्स लाउन्ज बाह्रघरेमा क्रिसमस इभ आयोजना गरेर गीत प्रिमियर गर्न लागेको हो । सोही दिन युट्युबमा पनि गीत रिलिज हुने ब्याण्ड म्यानेजर अनुपम घिमिरेले जानकारी दिए । एक दशक अघि स्थापित ब्याण्डले यो गीत तयार पारेको ७-८ वर्ष भईसके पनि म्युजिक भिडियो भने हालै मात्र तयार भएको हो ।

    विविध कारणले अफिसियल म्युजिक भिडियो निर्माणमा ढिला भएको ब्याण्डका भोकलिस्ट प्रविण लोप्चनले बताए । भिडियोमा कन्टेन्ट क्रियटर सविन मगर र प्रमिशा सिग्देल फिचर्ड छन् । दुबैको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु भएकोले उत्साहित रहेको दुबैले बताए ।

    अमृत गुरुङले निर्देशन गरेको भिडियोको सह निर्देशक किरण ढकाल हुन् भने सिनेमाटोग्राफर सन्देश मगर र लवसन हुन् । हाई स्टेसनले भिडियो निर्माण गरेको हो । पत्रकार सम्मेलनमा नारायणगढ जेसिस वर्ष २०२६ का अध्यक्ष सन्तोष पण्डितले सफलताको कामना गरे ।

  • एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

    एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

    काठमाडौँ, ३ पुसः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

    शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

    आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौँ, पुस ३-

    मन्त्रिपरिषद् बैठक जारी छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ । जारी बैठक नियमित हो ।

  • रविलाई रिहा गर्न आदेश

    रविलाई रिहा गर्न आदेश

    पुष ३,काठमाडौं ।
    उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।

    सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो ।

    रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नभएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

  • रवि र छविको मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

    रवि र छविको मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

    ३ पुस, बुटवल ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदनमाथि उच्च अदालत, बुटवलमा सुनुवाइ सकिएको छ ।

    न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलाशमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो । लामिछाने र जोशीले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।

    आजको सुनुवाइमा लामिछानेका तर्फबाट अधिवक्ताहरु डा. नारायणदत्त कँडेल,दीपेन्द्र झा,महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । यस्तै जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए । यस्तै सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले र जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस गरेका थिए ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको रिट निवेदनलाई जिल्ला अदालतले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका थिए ।

    यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। लामिछाने र जोशीको मुद्दामा कात्तिक १३ गतेयता निरन्तर सातौँ पटक पेशी सर्दै आएको थियो ।

    लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन् । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

    लामिछानेले आफू सहकारीको सेयर सदस्य नभएको र ऋण लिने कुनै पनि प्रक्रियामा संलग्न नरहेको दाबी गर्दै सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान दिँदै आएका छन् ।

  • तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

    तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

    विराटनगर, पुस ३ –
    सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उहाँले सुरु गर्नुभएको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो ।

    खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गर्नुभएको हो । “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उहाँले भन्नुभयो ।

    सुकेको जमिनमा नयाँ आशा
    सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन । “पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भन्नुभयो । त्यस्तो अवस्थामा उहाँले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उहाँको भनाइ छ ।

    खेमराजले भन्नुभयो, “साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ ।” उहाँसँगै उभिनुभएका जग्गाधनी प्रकाश उप्रेतीले भन्नुभयो, “पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।” तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उहाँको भनाइ छ ।

    उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् ।

    “यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भन्नुभयो, “बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।” उहाँले बिघाको रु ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताउनुभयो । सबै खर्च काट्दा वर्षको करिब रु सात लाख बचत हुने जनाउँदै उहाँले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गर्नुभयो । केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उहाँले जानकारी दिनुभयो ।

    पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताउनुभयो । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उहाँको भनाइ छ ।

    “तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भन्नुभयो । बँदेलले भने केही नोक्सानी पु¥याउने गरेको किसानको गुनासो छ । उहाँका अनुसार बारीबाटै प्रतिकिलो रु ४५ का दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताउनुभयो । “बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

    गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिनुभयो ।

    भविष्यको सम्भावना

    सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उहाँका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतिक बनेको छ ।

    यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उहाँले बताउनुभयो । यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ । रासस