Blog

  • संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज विश्व ध्यान दिवस मनाइँदै

    संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज विश्व ध्यान दिवस मनाइँदै

    काठमाडौं पुस ६
    संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ ।
    संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

    गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो ।

    नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो ।

    सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

    यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ ।
    यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

  • पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

    पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

    काठमाडौँ पुस ६
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा मा हुस्सु लागेको छ ।

    आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

    देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

  • आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष ६ गते । आइतबार । इस्वी सन् २०२५ डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा, ४ घडी १० पला, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाषाढा, ५१ घडी ३३ पला, रातको ३ बजेर २९ मिनेट उप्रान्त उत्तराषाढा । योग–वृद्धि, २६ घडी ३ पला, बेलुकी ५ बजेर १७ मिनेट उप्रान्त ध्रुव । करण–बव, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २५घडी ५० पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा प्रशासनिक काममा कमजोर उपस्थिति रहनेछ भने सरकारी ओहोदामा रहेकाहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरहरू गुम्नेछन् । परिवारजनको असहयोगले नयाँ योजनाहरू थाती रहनेछन् । घरेलु कामहरूको चापले गर्दा बाहिरी क्षेत्रमा सामेल हुन नसकिने ग्रहयोग रहेको छ । तापनि खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय खर्चिए सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो खटाइका बाबजुद आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आट, साहस तथा हिम्मतले कामहरू सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेषक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय गति सँगै चल्न नसक्दा अरूभन्दा पछि परिनेछ । पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरूकै हातमा जानेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरे अनुसार प्रतिफल पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्नुहोला । तर पनि वित्तीय बजारको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहीँ मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ तथा मांगलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरूले अविश्वास गर्नेछन् । प्रेम प्रसङ्गमा मनमुटाब हुने योग रहेको छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार वा शेयर बजारमा आम्दानी कम हुनाले लगानी गरी हाल्ने समय रहेको छैन । सङ्गीत क्षेत्रमा भने समय राम्रो रहेको छ भने साङ्गीतिक यात्राको तय हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्त गर्ने योग रहेको छ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । शेयर बजार तथा अनलाइन व्यापारबाट नाफा कमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूबाट सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अनलाइन व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • इच्छाकामनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इच्छाकामनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    चितवन, ५ पुसः
    नेपाली सेनाको श्री नयाँ सबूज गणको आयोजना, इच्छाकामना गाउँपालिकाको समन्वय र कलेज अफ मेडिकल साइन्सेस (CMS) को प्राविधिक सहकार्यमा चितवनको इच्छाकामना गाउँपालिका–७, गर्दासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    शिविरमा मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी विष्णु कुमार खड्का, नं.७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कमल बानिया, नयाँ सबूज गणका गणपति प्रमुख सेनानी दिनेश लामा र इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ सहभागी थिए।

    विशेषज्ञ डाक्टरहरूको टोलीले जनरल फिजिसियन, छाला तथा यौन रोग, दन्त रोग, ENT, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, मधुमेह र बाल रोगसम्बन्धी सेवा उपलब्ध गराएको थियो। साथै, USG, भिडियो एक्सरे, ईसीजी, मधुमेह तथा रक्तचाप परीक्षण र आवश्यक औषधि वितरण समेत निःशुल्क गरिएको थियो।

    शिविरबाट इच्छाकामना गाउँपालिकाका १३९ महिला, ७४ बालबालिका र ६२ पुरुष लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकको प्रारम्भिक स्वास्थ्य समस्या पहिचान, उपचार र स्वास्थ्य सचेतना अभिवृद्धिमा यस शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    स्वयंसेवक र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिताले शिविरलाई व्यवस्थित र प्रभावकारी बनाएको थियो। नेपाली सेनाको यस किसिमको मानवीय पहलले सेना र नागरिकबीचको सम्बन्ध थप प्रगाढ र विश्वासिलो बनाएको छ।

  • थोक औषधि व्यवसायी संगठन नारायणगढमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल

    थोक औषधि व्यवसायी संगठन नारायणगढमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल

    चितवन पुस ५
    थोक औषधि व्यवसायी संगठन नारायणगढको नवौँ अधिवेशनबाट नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि संगठनको नयाँ नेतृत्व चयन गरेको हो।

    अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा लेखनाथ कडेल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा निर्मला थापा र सह-कोषाध्यक्षमा बैकुण्ठ शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा रामकृष्ण दुवाडी, प्रबिन थापा र इन्द्र पौडेल रहनुभएको छ।

    संगठनको २०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन भरतपुर–१५ स्थित अतिथि पार्टी प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष बिज्ञान पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा नेपाल थोक औषधि व्यवसायी संघ, बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष शिबप्रसाद पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी बागमती प्रदेश नेपाल थोक औषधि व्यवसायी संघका थोक सदस्य कपिल सुवेदी तथा नेपाल थोक औषधि व्यवसायी संघ जिल्ला शाखा चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा जानकारी दिँदै निवर्तमान अध्यक्ष बिज्ञान पौडेलले विगत कार्यकालमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नयाँ नेतृत्वले थोक औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने विश्वास व्यक्त गर्नुभयो।

  • निर्वाचनको विकल्प छैनः सभापति लामिछाने

    निर्वाचनको विकल्प छैनः सभापति लामिछाने

    नारायणगढ, ५ पुसः 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।

    कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको हो । उहाँले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सभापति लामिछानेले भन्नुभयो, “निर्वाचनअघि जेनजी आन्दोलनको बलमा बनेको सरकारले उनीहरूका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् । रास्वपा जेनजीका माग पूरा गर्न र निर्वाचन सम्पन्न गर्ने हकमा सरकारसँग सधैँ खडा हुनेछ ।”

    उहाँले  सुशासनका सवालमा सरकार दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । सभापति लामिछानेले भन्नुभयो,“मेरो व्यक्तिगत माग केही छैन । जेनजीले जेका लागि बलिदानी दिएका थिए त्यो पूरा गर्न सरकार अडिग रहोस्, त्यसमा हामी साथ दिन्छौँ । सुशासनका भाइ–बहिनीले बगाएको रगत, तिनका परिवारको सपनाबारे सरकारले कुनै कसर बाँकी नराखोस् ।”

    देश जटिल परिस्थितिमा उभिएकाले सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने धारणा राख्नुभयो । सभापति लामिछानेले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने र सधैँ लोकतन्त्रमा विश्वास गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  • अर्बिट स्कुल विकाश चोकमा विज्ञान प्रदर्शनी

    अर्बिट स्कुल विकाश चोकमा विज्ञान प्रदर्शनी

    भरतपुर । भरतपुर ५ स्थित अर्बिट स्कुलमा आयोजित विज्ञान प्रदर्शनी कार्यक्रममा अर्किड स्कुल प्रथम भएको छ । त्यस्तै, दोस्रो स्काइराइडर स्कुल र तेस्रो वाल्मिकी शिक्षा सदन भएको छ ।

    यस कार्यक्रमको सभाध्यक्ष अर्बिट स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रराज ढकाल रहेका थिए।

    प्रमुख अतिथि भरतपुर वडा नं. ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ र विशिष्ट अतिथिमा अर्बिट स्कुलका पिटिए अध्यक्ष रामचन्द्र अधिकारी रहेका थिए।

    कार्यक्रम संयोजक जगन्नाथ अधिकारी र सञ्चालक प्लस टुका संयोजक देवी बञ्जारा सहयोगमा यो प्रदर्शनी सम्पन्न भएको हो। कार्यक्रमको आरम्भमा स्कुल इन्चार्ज नारायण गौतमले स्वागत मन्तव्य राखे।

    विज्ञानीय प्रयोग, नवीनतम आविष्कार र मोडलहरूले भरिएको यस प्रदर्शनीले विद्यार्थीहरूको सृजनशीलता र वैज्ञानिक सोचलाई उजागर गरेको थियो।

  • समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छः मन्त्री घिसिङ

    समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छः मन्त्री घिसिङ

    चितवन, ५ पुसः
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताउनुभएको छ ।

    उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उहाँले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भन्नुभयो, “कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेसा नभइ समाज सेवामा लगाउन आवश्यक छ । अबको राजनीति सेवा समर्पित हुनुपर्छ ।”

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताउनुभयो ।

    बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मितिसमेत तय गरेको छ ।

  • चितवनमा रविको सम्बोधनः जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

    चितवनमा रविको सम्बोधनः जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

    चितवन,पुस ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्।

    उनले रास्वपा २०८४ को चुनाव कुरिरहेको बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे। आफूहरू चुनाव कुरेर बसिरहेको बेला जेनजीले सरकारलाई तागत देखाइदिएको बताए। देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउँदै उनले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ। रास्वपा लाग्छ।’

    उनले जेनजी भाइबहिनीको साथमा अब रवि दाइ थपिएको बताए। उनले चौबीसकोठीमा पुगेर नेपालको झन्डा फहराउँदै विशेष सम्बोधन गरेका थिए । उनले भने, ‘चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ। चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ। मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ।’ चितवनमा विशेष सम्बोधन लगत्तै रविले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्न काठमाडौं गएका छन ।

     

  • कारागारबाट छुटेपछि चितवनमा रविको कार्यक्रम (फोटोफिचर)

    कारागारबाट छुटेपछि चितवनमा रविको कार्यक्रम (फोटोफिचर)