Blog

  • दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

    दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

    पथरी (मोरङ), पुस ९ –
    दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु एक लाख एक हजार १११ मा चित्त बुझाउनुपरेको छ ।

    इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा इन्ट्रा पथरी–११ का मन्जिल खड्का, सञ्जय लिम्बू, नीरज परियार, सौर्य राउतले गोल गर्दा बेतना युनाइटेडका विवेक पौडेल र रुद्र कार्कीले गोल गरे । बेतनाका आशिष लावती र निमा तामाङको प्रहार भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

    खेलको म्यान अफ दी म्याच बेतनाका विवेक पौडेल घोषित भए । प्रतियोगितामा बेतनाका मुस्कान लिम्बू उत्कृष्ट गोलरक्षक, मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र निमा तामाङ उत्कृष्ट फर्वड घोषित हुँदा इन्ट्रा पथरीका धिरेन क्षेत्री उत्कृष्ट डिफ्रेन्स, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक, मिक्चेन दास र सञ्जय लिम्बू हाइस्कोर र गोलरक्षक समिर क्षेत्री सर्वोकृष्ट खेलाडी घोषित भए ।

    विजेता तथा उपविजेता टिमलाई एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, केराबारी गाउँपलिका अध्यक्ष सुमन मिरिङचिङ मगर, वडा नं ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले पुरस्कार प्रदान गर्नुभयो । सतिसाले स्पोर्टिङ क्लब केराबारी–६ मोरङको आयोजनामा सम्पन्न गोल्ड कप सतिसाले स्पोर्टिङ क्लबको खेलमैदान भएको थियो । रासस

  • प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

    प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

    काठमाडौं, पुस ९-
    प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गरेका थिए ।

    सो रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन गरिएको थियो । प्रतिनिधि सभा विघटन र चुनावी सरकार गठन असंवैधानिक भएको जिकिर गर्दै यसअघि गत मंसिर १० गते नेकपा एमालेका ७५ सांसदहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दायर गरेका थिए ।

    यसैगरी मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले पनि रिट दायर गरेका थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा यही पुस २ गते सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । मंगलबार पुस ८ गते फेरि कांग्रेसका ६५ जनाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी जम्मा ६८ जनाले हस्ताक्षर गरेर रिट दायर गरिएको थियो ।

    यसरी कांग्रेस–एमालेसहित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्ने सांसदहरुको संख्या १४३ पुर्‍याइएको छ । यो २७५ सदस्यीय प्रतिनिधि सभाको बहुमत संख्या हो । बहुमतका लागि १३८ सांसद भए पुग्छ । बहुमत सांसदले माग गरेपछि प्रतिनिधि सभा पुनर्स्थापनामा दबाब पुग्ने विश्वास उनीहरुको छ । तर जेनजी युवा अगुवा, वैकल्पिक राजनीतिक शक्ति र नेपाली कम्युनिस्ट पार्टी लगायतले भने प्रतिनिधि सभा पुनर्स्थापना नगरी ताजा जनादेशका लागि चुनावमा जानुपर्ने माग गर्दै आएका छन् ।

  • वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज (पर्सा), पुस ९-
    वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताउनुभयो ।

    गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् रु एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो ।

    त्यसैगरी रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको एलपी ग्यासको पनि आयात भयो । त्यस्तै रु सात अर्ब २५ करोडको एटिएफ र रु १९ करोडको मट्टितेल आयात भएको छ । रासस

  • आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पुस ९ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर २४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी, १० घडी २० पला, बिहान ११ बजेर १ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–धनिष्ठा । योग–हर्षण, २१ घडी ६ पला, दिउँसो ३ बजेर २० मिनेट उप्रान्त बज्र । करण–भद्रा, बिहान ११ बजेर १ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मकर, बेलुकी ६ बजेर १५ मिनेट उप्रान्त कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २५घडी ५० पला ।

    आजकाे राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खेल वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । साथीभाइ वा आफन्तबाट उपहार प्राप्तिको योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार तथा शेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । राजनीतिक भेटघाट,बैठक तथा यात्रामा समय व्यातित हुने योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तसँग रमाइलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यवसाय फस्टाएर जानेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । राजनीतिक तथा सामाजिक काम गर्नेहरूले दौडधुप गर्नुपर्ने हुन सक्छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । अध्ययन तथा खेलकुदमा हुने प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययनमा समय खर्च गरी चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । उद्योग, शेयर बजार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समय फलदायी रहेको छ । प्रेममा सामीप्यता बढेर जानेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुनेछ । व्यापार, औद्योगिक तथा विलासिताका सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार, शेयर बजारबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । मायालुका साथ दिनभर समय व्यतीत गर्न पाउँदा मन हर्षित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • दैनिक योगले कसरी हटाउँछ शरीरको थकान र कसिलोपन

    दैनिक योगले कसरी हटाउँछ शरीरको थकान र कसिलोपन

    काठमाडौँ, ८ पुस –
    व्यस्त जीवनशैली, लामो समयसम्म एकै ठाउँमा बसेर गरिने काम र शारीरिक व्यायामको कमीले गर्दा शरीर कसिने वा अक्कडिने समस्या अचेल आम बनेको छ। विशेषगरी जाडो मौसममा यो समस्या अझ बढ्छ, जसले हिँडडुलमा असजिलो गराउनुका साथै मानसिक तनाव समेत बढाउँछ।

    यस्तो अवस्थामा शरीरलाई स्फूर्त राख्न र मांसपेसीको लचकता बढाउन योग एक प्राकृतिक र प्रभावकारी विकल्प हुन सक्छ। दैनिक रूपमा केही विशेष योगासनहरूको अभ्यास गरेर शरीरको कसिलोपन हटाउन र लचकता कायम राख्न सकिन्छ।

    मेरुदण्डलाई लचिलो बनाउन र ढाडको कसिलोपन हटाउन भुजङ्गासनु निकै उपयोगी मानिन्छ। पेटको बलले सुतेर छातीलाई बिस्तारै माथि उठाउँदा यसले ढाड, गर्धन र काँधका मांसपेसीलाई तन्काएर आराम दिन्छ।

    त्यस्तै, मानसिक तनाव कम गर्न र तिघ्रा एवं कम्मरको कसिलोपन हटाउन बालासनु रामबाण मानिन्छ। घुँडा टेकेर अगाडि झुक्दै निधारले भुईँ छुने यो आसनले स्नायु प्रणालीलाई शान्त पार्नुका साथै पूरै शरीरलाई विश्राम प्रदान गर्छ।

    मेरुदण्डको स्वास्थ्यका लागि मार्जरीआसनु अर्को उत्कृष्ट अभ्यास हो, जसले श्वासप्रश्वाससँगै ढाडलाई चलायमान बनाउँदा पाचन प्रणालीलाई समेत सक्रिय राख्न मद्दत गर्छ।

    शरीरको तल्लो भाग र खुट्टाको लचकताका लागि पश्चिमोत्तानासनु प्रभावकारी हुन्छ। दुवै खुट्टा अगाडि फैलाएर बसेर अगाडि झुक्ने यो अभ्यासले मेरुदण्डलाई लामो बनाउनुका साथै ढाडको तल्लो भागको दुखाइ र कसिलोपन कम गर्छ।

    अन्त्यमा, पद्मासनु को नियमित अभ्यासले कम्मर र घुँडाका जोर्नीहरूलाई लचिलो बनाउँछ। सीधा बसेर गहिरो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दा यसले शरीरलाई ऊर्जावान् बनाउनुका साथै एकाग्रता समेत बढाउँछ।

    यी आसनहरूलाई दैनिक बिहानीको तालिकामा समावेश गर्दा शरीर सधैँ स्वस्थ र फुर्तिलो रहन्छ।-एजेन्सीको सहयोगमा

  • सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

    सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

    काठमाडौँ, ८ पुस : 
    सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बाइपासको एक घरबाट सुनका गरगहना चोरी गर्ने लकाई डल्लुस्थित सीता ज्वेलर्सका सञ्चालक भएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

    प्रहरीले पक्राउ परेका लकाईसँग सुनको नेकलेस १४ थान, सुनको लकेट नौ थान, सुनको मङ्गलसूत्र आठ थान, सुनको नौगेडी पाँच थान, सुनको पिस लकेट तीन थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । पक्राउ परेका लकाईसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

    कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

    काठमाडौँ, ८ पुसः 
    नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ ।

    सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताउनुभयो ।

    “चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोवल उच्च बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो ।

    पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उहाँको भनाइ थियो । नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा कोइरालाले बताउनुभयो ।

    उहाँले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

  • निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सकारबीच समझदारी

    निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सकारबीच समझदारी

    काठमाडौँ, ८ पुस :
    आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच समझदारी भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको छलफलमा यस्तो समझदारी जुटेको हो ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार त्यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

    “देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो”, राष्ट्रपति पौडेलले सो छलफलमा बताउनुभएको प्रेस सल्लहकार पोखरेलले भन्नुभयो ।

    राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

  • चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

    चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

    सौराहा,पुस ८-
    चितवनको पर्यटकीय नगरी सौराहामा यही पौष ११ गतेदेखि १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । महोत्सव स्थल बाघमारा चौरमा आन्तरिक व्यवस्थापन, खेलमैदान तयारी तथा स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको महोत्सव संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो ।

    महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्ती शृङ्गार प्रतियोगिता, हात्ती बनभोज, स्वास्थ्य शिविर, हात्तीको दिनचर्या सम्बन्धी जानकारी तथा पूजा कार्यक्रम सञ्चालन गरिनेछ । सरकारी र निजी क्षेत्रका गरी ८० वटा हात्ती महोत्सवमा सहभागी हुनेछन् । यसैगरी पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता, करिब ७० वटा हात्ती सहभागी शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन तथा पर्यटकलाई लक्षित गरी हात्ती, जीप र डुङ्गा सफारीको व्यवस्था गरिएको छ । महोत्सवले चितवनको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा संयोजक थपलियाले गर्नुभयाो ।

  • राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

    राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

    काठमाडौँ, पुस ८ –
    राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गर्नुभएको छ ।

    उहाँहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि उहाँहरुबीच भएको यो पहिलो भेट हो । रासस