Blog

  • एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी

    एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी

    काठमाडौँ, पुस ८-
    नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको सन्देशबारे पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई जानकारी गराएको छ ।

    एमालेका महासचिव शङ्कर पोखरेलले आज ‘भर्चुअल’ बैठक आयोजना गरी महाधिवेशनले एमाले र राजनीतिक दलप्रति जनतामा विश्वास पुनःजागृत भएको र पार्टीको आन्तरिक लोकतन्त्र थप मजबुद हुँदै गएको सुनाउनुभयो । उहाँले सुरक्षाको प्रत्याभूति र वर्तमान सरकार गठनको संवैधानिक परीक्षण पूरा नभएसम्म अहिले यथास्थितिमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचत सुनिश्चित नभएको पनि बताउनुभयो । उहाँले पार्टी र पार्टीका नेतृत्वविरुद्ध अनेक षड्यन्त्र भएको जनाउँदै त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । रासस

  • प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

    प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

    चन्द्रपुर (रौतहट), पुस ८ –
    रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मङ्गलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–४ र ६ ले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो ।

    सो अन्तरक्रियामा चन्द्रपुर सव डिभिजन वन कार्यालयका प्रमुख अनिल महतोले दिगो वन व्यवस्थापन कार्यक्रमले हातेमालो सामुदायिक वन उपभोक्ता समूह देशकै नमूना सामुदायिक वनको रूपमा स्थापित भएको बताउनुभयो । सो सामुदायिक वनको कूल क्षेत्रफलको २८२ हेक्टरमध्ये २७४ हेक्टर वन क्षेत्र उत्पादनशील रहेको उहाँले जानकारी दिनुभयो । आठ वटा आवधिक खण्ड बनाएर संरक्षण गरिँदै आएको उक्त सामुदायिक वनमा बालीचक्र ८० वर्ष कायम गरेर वन संरक्षण कार्ययोजना बनाइएको वन अधिकृत महतोले जानकारी दिनुभयो ।

    एक खण्डमा करिब साढे ३४ हेक्टर जङ्गल रहेको र एक खण्डलाइ १० वटा भागमा विभाजन गरी दिगो बन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा मात्रै साढे तीन हेक्टर वन क्षेत्रमा एक हजार ६९७ रुखमध्ये २७२ वटा रुख माउ रुखको रूपमा कायम गरिएको र बाँकी एक हजार ३२५ वटा रुख पुनःउत्पादन तथा कटानका लागि सिफारिस गरिएको छ ।

    डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जिल्लामा तीन वटा सामुदायिक वन र एउटा साझेदारी वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु भएको जानकारी दिनुभयो । तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूह, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह र हातेमालो सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिमा सो कार्यक्रम लागु भएको उहाँको भनाइ छ ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ रौतहटका अध्यक्ष बेदहरी दाहालले दिगो वन व्यवस्थापन कार्यक्रम इमान्दारिताका साथ काम गरे फाइदै फाइदा हुने बताउनुभयो । हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले आफूले नेतृत्व गरेको सामुदायिक वन साल उत्पादन तथा संरक्षणमा देशमै नमूनाको रूपमा परिचित हुँदै गएको उल्लेख गर्नुभयो । रासस

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

    काठमाडौँ, पुस ८ –
    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिनुभयो । रासस

  • डडेल्धुरामा बिजुलीका खम्बा पुगे तर बिजुली पुगेन

    डडेल्धुरामा बिजुलीका खम्बा पुगे तर बिजुली पुगेन

    अमरगढी (डडेल्धुरा), पुस ८ –
    भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन ।

    उहाँले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गर्नुभयो । उहाँले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका बताउनुभयो । यस्तै भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताउनुभयो । उहाँले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको र सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको बताउनुभयो ।

    डडेल्धुराका एक हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सुविधाबाट वञ्चित रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहका एक हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

    सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन ।

    आलिताल गाउँपालिकामा १८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा १०० घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् ।

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी एक हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले सबै नागरिकलाई विद्युत् पहुँचमा पु¥याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिनुभयो ।

    बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक भने टुकी र सोलारको भरमा दैनिकी बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । रासस

  • अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

    अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

    मेक्सिको सिटी, पुस ८ –
    अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री वोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

    मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

    सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरु बाच्न सफल भएको जनाइएको छ ।

    अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ ।

    विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको जनाइएको छ ।

    विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्दछ ।

    फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो भने अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी रेकर्ड गरिएको थियो । रासस

  • मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

    मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

    पाटन (ललितपुर), पुस ८-
    उद्योग, वाणिज्य तथा आपूर्ति कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले नेपाली कांग्रेसको क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गरेको छ ।

    निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनीतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा पनि देशलार्ई निकास दिन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    “दलहरू पनि देशलाई राजनीतिक निकास दिनेतर्फ लाग्नुपर्छ, अहिले देश सङ्कटमा छ, हामीले सहमति गर्ने हो, हामी निर्वाचनमा केन्द्रित भइसकेका छौँ, सरकारले के कस्तो वातावरण बनाउनुपर्छ, राजनीतिक दलको अपेक्षा र सुझाव पनि सरकारलाई आवश्यक छ”, मन्त्री सिन्हाले भन्नुभयो ।

    मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनीतिक दलबीच संवाद जारी राखेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सरकारले बोलाएको वार्तामा सहभागी भएर नेपाली कांग्रेसले सहयोग गरिरहेको छ, चुनावलाई कसरी निष्पक्ष बनाउन सकिन्छ भनेर हामीले सबै राजनीतिक दलसँग छलफल गरिरहेका छौँ । चुनावको वातावरण बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । का निम्ति विश्वसनीय वातावरण पनि बनाउँछ ।” निर्वाचनको वातावरण बनाउन सरकारले सरोकार भएका सबै पक्षसँग वार्ता गरिरहेको मन्त्री खरेलको कथन थियो ।

    मन्त्री खरेलले जेनजी आन्दोलनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहनाअनुसार पार्टी कार्यंलय भवन कसरी पुनर्निर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू आएको बताउनुभयो ।

    मन्त्रीद्वयलाई स्वागत गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबै मिलेर निर्वाचनमा जानुपर्छ । सबै दलको दृष्टि चुनावमा हुनुपर्छ ।”

    टोलीलाई सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत पदाधिकारीले आन्दोलनमा भएको क्षतिबारे जानकारी दिनुभएको थियो । रासस

  • राष्ट्रपति रामचन्द्र पौडेलले ओली, देउवा र प्रचण्डसगँ छलफल गर्ने

    राष्ट्रपति रामचन्द्र पौडेलले ओली, देउवा र प्रचण्डसगँ छलफल गर्ने

    काठमाडौं ,पुस ८ –
    राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

    पौडेलले (आज) मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दिउँसो ३ बजे छलफल हुने राष्ट्रपतिको कार्यालय जनाएको छ ।

    तर, राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।

  • मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

    काठमाडौँ, पुस ८ –
    काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

    उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका र उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । रासस

  • महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ :प्रधानन्यायाधीश

    महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ :प्रधानन्यायाधीश

    काठमाडौँ, पुस ८ –
    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभएको छ ।

    महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताउनुभयो ।

    उहाँले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढनुपर्ने जरुरी भएको बताउनुभयो ।

    अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रणालीले विधि र प्रक्रियाअनुसार अनुुसन्धानलाई वस्तुनिस्ट, सुक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालयको अभियोजन सुधार र व्यावसायिक सफलताको कामनासमेत गर्नुभयो ।

    सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले जनतालाई न्यायको केन्द्रविन्दुमा राखेर पीडितलाई न्याय दिने तरिकाले अभियोजन सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानले मुद्दा चलाउने वा नचलाउने भन्ने जिम्मेवारीसमेत दिएको बताउनुभयो ।

    वरिष्ठतम् न्यायाधीश मल्लले अहिले जटिल परिस्थितिबाट न्यायालय अगाडि बढिरहेको र सुधारको चाहनालाई लिएर भएको जेनजी पुस्ताको मागलाई ध्यान दिनुपर्ने जरुरी भएको बताउनुभयो ।

    उहाँले डिजिटल प्रविधिको नवयुग प्रवेश गरिरहेको हुनाले यसलाई सही कसरी प्रयोग गर्ने र डिजिटलबाट हुने अपराधलाई न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई निरन्तर सुधार गर्न लागिरहेको बताउनुभयो । उहाँले सरकारी वकिलको कार्यालय अभियोजन गर्ने निकाय भएकाले बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार भएको हुनाले अभियोजनमा प्रभाव पर्छ कि पर्दैन भन्ने जिज्ञासा राख्नुभयो । उहाँले जिल्ला न्यायाधीशमा सरकारी वकिलले नाम निकाल्न सफल भएको र ५० प्रतिशतभन्दा बढी महिला भएको जानकारी गराउनुभयो ।

    नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले गरिबले न्याय पाउने गरि काम गर्नुपर्ने र फौजदारी अभियोजनमा सुधारमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनताको न्यायमा ध्यान दिन प्रेरित गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विधिको शासन, अभियोजन प्रणालीलाई व्यवस्थित बनाइ प्रविधिमैत्री तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालय र नेपाल प्रहरीबीच सोच, सहकार्य तथा समन्वयमा प्रभावकारी तरिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

    नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले फौजदारी अभियोजन सुधारमा काम गरिरहेको उल्लेख गर्दै गत भदौ २३ र २४ गते १९ कार्यालय क्षति भएको भए पनि अहिले मर्मत गरी कार्य सञ्चालनमा आएको जानकारी दिनुुभयो ।

    सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’ को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको छ भने १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनमा पुरस्कार तथा सम्मान गरिएको थियोे । प्रधानन्यायाधीश राउतले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

    सर्वोत्कृष्ट सरकारी वकिल सहन्यायाधिवक्ता न्यौपानेले सम्मानले काम र कर्तव्यमा थप उर्जा र जिम्मेवारी थपिएको अनुभव राख्नुभयो । कार्यक्रममा प्रधानन्यायाधीश राउतले महान्यायाधिवक्ता कार्यालयले प्रकाशित स्थापना दिवस विशेषाङ्क विमोचन गर्नुभएको थियो । रासस

  • नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छः नेता पौडेल

    नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छः नेता पौडेल

    काठमाडौँ, पुस ८-
    नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।

    आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गर्नुभयो । साथै उहाँले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, “महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।”

    पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिनुभयो । पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने जानकारी गराउनुभयो । रासस