Blog

  • आज बिहिवार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज बिहिवार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष १० गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–पञ्चमी, ९ घडी ५० पला, बिहान १० बजेर ५० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–शतभिषा । योग–बज्र, १७ घडी ३० पला, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त सिद्धि । करण–बालव, बिहान १० बजेर ५० मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १३ मिनेट । दिनमान २५घडी ५० पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापारको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तापनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । अध्ययनबाट नतिजा हात पार्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उपहार प्राप्तिको योग रहेको छ भने मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवरका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुःख पाइनेछ । शरीरमा आलस्यता बढेर जानेछ भने भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तर पनि विदेशमा बसेर काम गर्नेहरूका लागी वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ । बिलासी सामान तथा उपहार प्राप्तिको योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • नारायणी नदीकिनारमा आयोजना गरिएको चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र

    नारायणी नदीकिनारमा आयोजना गरिएको चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र

    गैँडाकोट,पुस ९

    नारायणी नदीकिनारमा आयोजना गरिएको चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र पारिएको छ । गैँडाकोट नगरलाई उद्योग, व्यापार, पर्यटन र संस्कृतिसहितका सम्भावनाहरुको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यसहित यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटले जानकारी दिएको छ ।

    महोत्सवका संयोजक छविलाल कँडेलका अनुसार महोत्सवमा करिब २५० व्यावसायिक कक्ष रहने छन् । दुई हप्तासम्म चल्ने महोत्सवबाट करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब २५ करोड कारोबार हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो । अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोबाइल–इलेक्ट्रोनिक्स, निर्माण सामग्री, हस्तकला, कृषि तथा जडीबुटी, पर्यटन, तयारी पोसाक, जुत्ता–चप्पलदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामग्री प्रदर्शनमा राखिने छन् ।
    घरेलु, साना, मझौला तथा ठूला उद्योगसँगै बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत विशेष सहभागिता रहने आयोजकले जनाएको छ । ‘महोत्सवले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, किराना, कृषि उत्पादन, हस्तकला तथा साना उद्यमहरुको व्यापारमा प्रत्यक्ष वृद्धि गर्नेछ’, कँडेलले भन्नुभयो, ‘यसले स्थानीयस्तरमा व्यापारसँगै रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनमा समेत योगदान पु¥याउन सक्छ ।’

    त्यतिमात्र नभई गैँडाकोट क्षेत्रमा हुने मेला–महोत्सवले समग्र गैँडाकोट नगर क्षेत्रकै आर्थिक अवस्थालाई चलायमान बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । महोत्सवलाई यसवर्ष थप व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि चार भागमा विभाजन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान र खानपान क्षेत्रलाई छुट्टाछुट्टै तरिकाले व्यवस्थापन गरिने महोत्सवका संयोजक कँडेलले जानकारी दिनुभयो ।

    राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, फेसन शो, विद्यालय तथा विभिन्न कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यानमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेल, जलपरी, माछाका एक्वेरियम र ओपेरा हाउस जस्ता आकर्षणहरुले महोत्सवलाई परिवारमै रमाउने केन्द्रका रुपमा प्रस्तुत गर्ने तयारी गरिएको महोत्सवका प्रचारप्रसार संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको प्रवेशद्वारलाई कलात्मक शैलीमा निर्माण गर्ने तयारी गरिएको छ । गैडाकोट क्षेत्रमा रहेर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सहकारी र संघसंस्थालाई समेत महोत्सवमार्फत प्रबद्र्धन गरिने उहाँले बताउनुभयो ।

    महोत्सवले उपभोक्ता र उत्पादकलाई प्रत्यक्षरुपमा एकै स्थानमा भेट गराउने अवसर प्रदान गर्ने हुँदा औद्योगिक तथा व्यापारिक गतिविधिको केन्द्रको रुपमा समेत विकसित गर्ने लक्ष्य लिइएको उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव तेजनारायण पाण्डेले बताउनुभयो । नयाँ प्रविधि, लगानी र उत्पादनसम्बन्धी जानकारी आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको सामाजिक, प्राकृतिक, सांस्कृतिक एवम् आर्थिक विविधताको प्रवेशद्वार मानिने गैँडाकोट पछिल्लो समय फस्टाउँदै गरेको तीव्र औद्योगीकरण, पर्यटन वृद्धि र व्यापारिक गतिविधिका कारण प्रदेशकै आकर्षक नगरका रुपमा उदाउँदै गएको छ । त्यसका साथै नारायणी नदीकिनारको सुन्दर काखमा महोत्सव आयोजना गरिँदा धार्मिक एवम् सांस्कृतिक हिसाबले पनि सकारात्मक मानिने हुँदा यसले समाजमा सकारात्मक प्रभाव पार्दै आएको आयोजकको दाबी छ ।

     

  • ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

    ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

    काठमाडौं ९ पुस 
    काठमाडौंको थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ यतिबेला विवादको घेरामा छ । इन्टर्नसिपका लागि भन्दै दुबई पठाएर अलपत्र पारेको आरोप लगाउँदै पीडित विद्यार्थीहरुले आन्दोलन गरेपछि कलेजभित्रको विवाद सतहमा आएको हो ।

    अहिले विद्यार्थीहरुले कलेजको शैक्षिक कार्यक्रमको वैधता, विद्यार्थीसँग लिइने शुल्क लगायतको विषयमा समेत गम्भीर प्रश्न उठाएका छन् ।

    के हो मुख्य विवाद ?

    कलेजले ‘हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट’ कार्यक्रम अध्ययनरत् विद्यार्थीलाई इन्टर्नसिपमा संयुक्त अरब इमिरेट्सको दुबई लैजाने व्यवस्था गरेको भन्दै प्रचार गर्ने गरेको छ । त्यस क्रममा राम्रो कमाइ समेत हुने भन्दै महँगो शुल्क लिएर विद्यार्थी भर्ना गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।

    यही कार्यक्रम अन्तर्गत गत सेप्टेम्बरमा विद्यार्थीलाई कलेजले दुबई पुर्‍याएको थियो । तर त्यहाँ पुगेपछि कलेजले आफूहरुलाई मजदुरी गर्न बाध्य पारेको विद्यार्थीहरूको गुनासो छ ।

    ‘हामीलाई इन्टर्नसिपको लागि भन्दै दुबई लगिएको थियो । राम्रो पैसा पनि हुन्छ भनेर भनियो । हामी सेप्टेम्बर ८ पुगेका थियौं तर २० दिन पनि कलेजले हामीलाई राखेन,’ कलेजका एक विद्यार्थीले भने, ‘कोही कता कोही कता कोठामा रोएर बस्नुपर्ने अवस्था आयो । सरहरूले उल्टै थर्काउनुहुन्थ्यो ।’

    करिब तीन महिना अन्योलपूर्ण रुपमा बसेपछि आफूहरु नेपाल फर्किएको ती विद्यार्थीको भनाइ छ । कलेजले आफूहरूलाई मानव तस्करीको शैलीमा अलपत्र पारेको उनको आरोप छ ।

    विदेशमा अलपत्र परेर फर्किएपछि केही विद्यार्थीहरुले कलेज परिसरमै पुगेर विरोध गरेका थिए । त्यतिबेला कलेजले सस्पेन्ड गर्ने धम्की समेत दिएको विद्यार्थीहरुको दाबी छ । सार्वजनिक भएको एउटा भिडियोमा त ‍विरोध प्रदर्शनका क्रममा एक जना विद्यार्थीले ‘म सस्पेन्सन लेटर लिन आएको हैन सर’ भन्दै अनुनय गरिरहेको देखिन्छ ।

    के भन्छ ब्रिटिस कलेज ?

    कलेज प्रशासनले भने पछिल्लो समयमा आएका विषयवस्तु भ्रामक र बदनियतपूर्ण भनेको छ । यो घटनाबारे सार्वजनिक रुपमा टीकाटिप्पणी हुन थालेपछि कलेजले प्रेस विज्ञप्तिमार्फत आफ्नो बचाउ गरेको हो ।

    कलेजले आफूले विद्यार्थीलाई इन्टर्नसिपका लागि दुबई लैजाने गरेको स्वीकार गरेको छ । तर यस्तो इन्टर्नसिप र बसोबासको प्रकृति अस्थायी किसिमको हुने गरेको कलेजको प्रष्टोक्ति छ । इन्टर्नसिपका लागि कलेजले दुबईस्थित ‘द वुलविच इन्स्टिच्युट’ शैक्षिक संस्थासँग सहकार्य गरेको र हाल त्यहाँ २५ देशका विद्यार्थी पढिरहेको जनाएको छ ।

    इन्टर्नसिपका लागि यसपटक दुबईमा ५१ जना गएमध्ये ९ जना मात्रै फर्किएको र ती विद्यार्थीहरु फर्किनुका कारण उनीहरुको व्यक्तिगत असन्तुष्टि भएको कलेजको दाबी छ । उनीहरुका लागि डिसेम्बरको सुरुदेखि इन्टर्नसिपको अवसर प्रदान गरिएको समेत कलेजको दाबी छ ।

    आफूले आवासका लागि अस्थायी रुपमा थर्ड पार्टीबाट सेवा लिएको भन्दै कलेजले यो छोटो अवधिका लागि रहेको जनाएको छ । दीर्घकालीन आवासको व्यवस्था विद्यार्थी आफैँले गर्नुपर्ने विषय सम्झौतामै उल्लेख भएकाले कलेजले जनाएको छ ।

    त्यसो त इन्टर्नसिपको अवसर प्रदान गरिने भएपनि त्यसको शतप्रतिशत ग्यारेन्टी भने आफूहरुले नलिने र यो कुरा भर्ना हुनुअघि नै विद्यार्थीलाई जानकारी गराइएको समेत कलेजको दाबी छ ।

    शैक्षिक कार्यक्रम र सम्बन्धनमाथि प्रश्न

    केही विद्यार्थीले त कलेजमा पढाइ हुँदै आएको बीबीए कोर्सको आधिकारिकतामाथि समेत प्रश्न उठाएका छन् । विद्यार्थी शशांक जैसी कलेजले सम्बन्धन लिएको बेलायतको युनिभर्सिटी अफ वेस्ट इङ्ल्याण्डको आधिकारिक वेबसाइटमा बीबीएको कोर्स नै नरहेको बताए ।

    ‘त्यहाँ बीए अनर्स बिजनेस म्यानेजमेन्ट जस्ता कोर्स छन्, तर कलेजले बीबीए भनेर विद्यार्थी भर्ना गरिरहेको छ, जसले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको छ,’ उनले भने ।

    कलेजले मनलाग्दी रुपमा शुल्क वृद्धि गरेको आरोप समेत उनीहरुको छ । सुरुमा साढे दुई लाख भनिएको शुल्कपछि पटक-पटक बढाइएको र दुई वर्षको कोर्सलाई ६ महिनामै सकाइदिएको र अप्सनल कोर्स समेत हटाइएको उनीहरुको दाबी छ ।

    कलेज प्रशासनले यो आरोपको खण्डन गर्दै बाह्य तत्त्वले घुसपैठ गरेर यस्तो दुष्प्रचार गरेको दाबी गरेको छ । पुस ७ र ८ गते भएका गतिविधिलाई सामाजिक सञ्जालमार्फत लगाइएका आरोपलाई कलेजले अपुष्ट र दोषपूर्ण भनेको छ ।

    आफूहरुले विद्यार्थीका अभिभावकसँग सकारात्मक संवाद गरिरहेको अवस्थामा पनि बाह्य संस्थाका व्यक्तिले परिस्थिति अशान्त बनाएको कलेजको आरोप छ । आफूले असन्तुष्ट विद्यार्थीहरूलाई तीन पटकसम्म संवादका लागि बोलाउँदा पनि उनीहरू उपस्थित नभई अनधिकृत गतिविधिमा लागेको आरोप लगाएको छ ।

    शिक्षा मन्त्रालयले थाल्यो छानबिन

    ब्रिटिस कलेजको विवाद बढ्दै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत यसबारे चासो देखाएको छ । विवादबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चा तथा पीडित विद्यार्थीको उजुरीपछि मन्त्रालयले यसबारे छानबिन गर्न एक समिति गठन गरेको छ ।

    मन्त्रालयको टोलीले कलेजको सम्बन्धन शुल्क संरचना र वैदेशिक इन्टर्नसिपको कानुनी आधारका बारेमा अध्ययन गर्ने जनाइएको छ ।

  • दुई राप्रपा एक हुँदै, १६ गते एकता घोषणा

    दुई राप्रपा एक हुँदै, १६ गते एकता घोषणा

    काठमाडौँ ९ पुस
    राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबिच एकता गर्ने सहमति भएको छ।

    राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ।

    उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
    राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति, हस्ताक्षरको तयारी

    पार्टीमा थापाको सम्मानजनक सहभागिता रहने बताइएको छ ।

    गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका थिए।आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

    सोही निर्वाचनको मुखमा एकताको सहमति भएको हो।

     

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने

    ९ पुस, काठमाडौं ।
    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।

    केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुन: बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको उनले बताए ।

    ‘महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यताको प्रगति सन्दर्भमा उहाँ (कार्यबाहक सभापति)ले आफ्नो कुरा राख्नुभयो,’ उनले भने ।

    बैठकमा सहभागी नेताहरूले अन्य केही विषयमा थप टिप्पणी गर्ने काम भएको र यो क्रम भोलि पनि जारी रहने प्रवक्ता महतले बताए ।

  • अध्यादेशबाट शासन चलाउनु हानिकारक हुन्छ : अर्थमन्त्री खनाल

    अध्यादेशबाट शासन चलाउनु हानिकारक हुन्छ : अर्थमन्त्री खनाल

    ९ पुस, विराटनगर ।
    अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा आजबाट सुरु विराट ट्रेड एक्स्पाे २०२५ काे उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारसँग असिमित म्याण्डेट नभएकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतन्त्रका लागि हितकर नहुने बताएका हुन् ।

    ‘यो सरकारलाई असीमित म्याण्डेट छैन । कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो,’ उनले भने, ‘मैले सधैँ भन्दै आएको छु अध्यादेशको आधारमा शासन चलाउनु हुँदैन, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन र यो असल अभ्यास पनि होइन ।’

    सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद पनि निजी क्षेत्रको आशालाई सम्बोधन गर्न सरकारले प्रयास गरिरहेकाे उनले बताए ।

    निजी क्षेत्रले संकटका बेला देखाएको धैर्यता र पुनरुत्थान गर्ने क्षमताको प्रशंसा गर्दै उनले निजी क्षेत्र आफैं जुर्मुराएर अघि बढ्न खोज्नु सुखद् पक्ष भएको बताए ।

  • कुलमानले भने -चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु

    कुलमानले भने -चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु

    काठमाडौँ, पुस ९
    सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् ।

    ‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’

    वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

    त्यस्तै उनले नयाँ दलहरू आपसमा मिलेर चुनावमा जानुपर्ने बताएका छन् । ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो । चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेमा हामी एक छौँ ,’ उनले भने ।

  • सुशीला सरकार भंग गर्न विप्लवको १० दिने अल्टिमेटम

    सुशीला सरकार भंग गर्न विप्लवको १० दिने अल्टिमेटम

    काठमाडौं,पुस ९ –
    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ ।

    बुधबार शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा जेन-जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।

    ‘ज्ञापनपत्रमा भनिएको छ , ‘यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ’।

    १० दिनभित्र माग सम्बोधन नगरिए सडक सङ्घर्षमा अगाडि बढ्ने समेत चेतावनी दिइएको छ ।

  • सुन र चाँदीको मुल्यमा लगातार वृद्धि , कतिमा कारोबार हुदैँछ ?

    सुन र चाँदीको मुल्यमा लगातार वृद्धि , कतिमा कारोबार हुदैँछ ?

    काठमाडौं पुस ९ –
    सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

    बुधबार नेपालि बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो ५ हजार ५ सय रुपैयाँ बढेर २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

  • विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

    विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

    लुम्बिनी, पुस ९ –
    कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । जैविक विषादीका विषयमा किसान जागरुक नहुँदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

    यस्तै कृषि विषयमा अध्यापन गराउँदै आउनुभएका शिक्षक ज्ञानेन्द्र पौडेल विषादीको बिक्रीवितरण सहज हुने भएकाले खाद्यान्न बेच्ने ठाउँमा समेत यसको बिक्रीवितरण सहजै हुने गरेको बताउनुहुन्छ । उहाँले बजारमा सहजै जैविक वनस्पति विषादी नपाउने र महँगो पर्ने भएकाले कृषि ज्ञान केन्द्रलगायत सरकारका निकायहरूमा सहजता ल्याउनेगरी योजना बनाउनुपर्ने बताउनुभयो ।

    रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ का अवसरमा बुटवलमा मङ्गलबार आयोजित ‘नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव’ विषयक कार्याशाला गोष्ठी सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले पर्याप्त सूचना अभावमा किसानले किटनाशक विषादीलाई औषधिका रुपमा प्रयोग गरेका कारण मानव स्वास्थ्यमा गम्भीर र घातक रोग निम्त्याए बताएका छन् ।

    कृषि उत्पादन बढाउन किसानले अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्तासमेत गरेका छन् ।

    कार्यक्रममा कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भए पनि यसको अस्वाभाविक प्रयोगले खतरनाक रोग लाग्न थालेकाले जैविक विषादीको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरूको छ ।

    कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत विज्ञ मिलन गैरे मानव स्वास्थ्यमा किटनाशक विषादीको असर अझै संवेदनशील रहेको र यसले खेतमा काम गर्ने किसान, मजदुर तथा उपभोक्ता सबै जोखिममा पर्दै गएको बताउनुभयो ।

    “छालामा सिधा सम्पर्क, श्वास फेर्दा वा खानामा रहेको अवशेषका कारण विषादी शरीरमा प्रवेश गर्ने र तत्काल रूपमा टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, छालामा जलन हुनेजस्ता समस्या देखिन सक्छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीमा असर, हर्मोन सन्तुलन बिग्रिनु, प्रजनन क्षमतामा कमी र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पर्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् । अवशेषयुक्त खाद्यान्नको नियमित सेवनले उपभोक्ताको स्वास्थ्यमा मौन तर गहिरो क्षति पुर्याउने खतरा रहन्छ ।”

    कार्यक्रममा कृषि अनुसन्धानकर्ता शारदा पाण्डे परम्परागत किटनाशक सम्बन्धमा अनुसन्धानसहितको धारणा प्रस्तुत गर्नुहँुदै यसले वातावरणीय दृष्टिले किटनाशक औषधिले जैविक सन्तुलनमा ठूलो खलल पुर्याउने गरेको स्पष्ट पार्नुभयो । “माटो, पानी र हावामा मिसिएका रसायनले कीरामात्र होइन, मौरी, चरा, माछा तथा अन्य उपयोगी जीवलाई समेत नष्ट गर्छ । मौरी नष्ट हुँदा परागण प्रक्रिया प्रभावित भई कृषि उत्पादनमा नै दीर्घकालीन नकारात्मक असर पर्छ”, उहाँले भन्नुभयो, “नदी, खोला र भूमिगत पानी प्रदूषित हुँदा मानव र वन्यजन्तु दुवै जोखिममा पर्छन् । माटोमा लामो समयसम्म रहने रसायनले पारिस्थितिक प्रणालीलाई कमजोर बनाउँछ र जैविक विविधता घटाउँछ ।”

    राष्ट्रिय गहुँबाली अनुसन्धान भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले किटनाशक औषधिको प्रयोग पूर्ण रूपमा निषेध नभएर विवेकपूर्ण, सुरक्षित र वैकल्पिक उपायसँग जोडेर प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । “एकीकृत कीट व्यवस्थापन, जैविक कृषि, सही मात्रा र सही समयमा प्रयोग तथा किसान र उपभोक्तामा चेतना अभिवृद्धि अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो, “कृषि उत्पादन, मानव स्वास्थ्य र वातावरणबीच सन्तुलन कायम नगरेसम्म किटनाशकबाट हुने लाभ अस्थायीमात्र रहनेछ र त्यसको मूल्य समाजले दीर्घकालसम्म तिर्नुपर्नेछ ।”

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार कम गर्न र उपभोक्ताको सचेतना बढाउने काममा साझेदारी गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले उपभोक्ता सचेत नहुँदासम्म यस्ता समस्या अझै बढ्ने बताउँदै नियामक निकायले अनुगमनलाई नियमित रूपमा अघि बढाउनुपर्ने र सबैलाई कर्तव्यबोध गराउनुपर्ने धारणा राख्नुभएको थियो । रासस