Blog

  • रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

    रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

    काठमाडौँ, पुस १० –
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ ।

    पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन् ।

    तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ । उम्मेद्वार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ ।

    प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताउनुभयो । प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ । आवश्यकताअनुसार पार्टी उपसभापति डा स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने बताइएको छ ।

    प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्याङ्कन ‘भर्चुअल’ माध्यमबाट गरिने छ । उम्मेद्वार छनोट समितिको प्रस्ताव तथा पार्टी उपसभापति डोलप्रसाद अर्याल र वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूसमेत सहभागी गराइने रास्वपाले जनाएको छ । रासस

  • प्रतिनिधिसभा चुनावका लागि रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस

    प्रतिनिधिसभा चुनावका लागि रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस

    भरतपुर,पुस १०-
    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेता सन्तोष पनेरुले जानकारी दिए ।

    भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ । सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले महानगरपालिकामा झन्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।

  • प्रधानमन्त्रीले भनिन्ः मुलुक बंगलादेश नहोस्

    प्रधानमन्त्रीले भनिन्ः मुलुक बंगलादेश नहोस्

    काठमाडौं,पुस १०-
    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ ।

    बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउनु भयो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गर्नुभयो । राजनीतिक दल र जेन-जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताउनु भयो । उहाँले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्नुभयो । आफूहरु अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेन—जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमीहरुको औकात त छोडेर हिँड्ने न रहेछ, के ग¥यौ भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरु हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहीँ नहोस् ।’

    प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

  • एन्टिमाइक्रोबियलको प्रयोग सम्बन्धि कृषि विश्विद्यालयमा पशुपालक किसानलाई एएमआर जनचेतना कार्यक्रम

    चितवन, पुष १० –
    कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनद्वारा आयोजित ‘किसानस्तरका लागि एएमआर’ (Antimicrobial Resistance) जनचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।

    पौष ८ र ९ गते (डिसेम्बर २३ र २४) मा दुई दिनसम्म तालिम सञ्चालन थियो । कार्यक्रममा चितवनको भरतपुर, माडी, इच्छाकामना र नवलपरासीको गैंडाकोटबाट आएका ५५ जना पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमको मुख्य उद्देश्य पशुपालन क्षेत्रमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको वैज्ञानिक तथा जिम्मेवार प्रयोगबारे किसानहरूलाई सचेत गराउनु, औषधिको दुरुपयोगबाट सिर्जना हुने एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) को जोखिमबारे जानकारी दिनु तथा मानव, पशु र वातावरणीय स्वास्थ्यमा पर्ने दीर्घकालीन असरबारे जनचेतना अभिवृद्धि गर्नु रहेको थियो ।

    कार्यक्रममा एएमआरको अवधारणा, पशु स्वास्थ्य व्यवस्थापन, जैविक सुरक्षा, औषधिको सही मात्रा, समय र विधि, रोग रोकथामका उपाय तथा ‘वन हेल्थ’ अवधारणासम्बन्धी विषयमा विज्ञ स्रोत व्यक्तिहरूद्वारा सहजीकरण गरिएको थियो ।

    कार्यक्रमका स्रोत व्यक्तिहरुका रुपमा प्रा.डा. भुमिनन्द देवकोटा, प्रा.डा. होमबहादुर बस्नेत, प्रा.डा. सुबिर सिंह, प्रा.डा. रेवन्त कुमार भट्टराई , डा. गोकर्ण गौतम, डा. अमरनाथ चौधरी र डा. रामकृष्ण यादव जस्ता पशु स्वास्थ्य तथा एएमआर क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम अन्तरक्रियात्मक विधिमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत सहभागी किसानहरुले आफ्ना अनुभव, समस्या र जिज्ञासाहरू साझा गर्दै व्यवहारिक समाधानका उपायबारे प्रत्यक्ष छलफल गर्न अवसर पाएका थिए ।

    कार्यक्रमको उद्घाटन सत्रमा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. पुष्कर बहादुर पालले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कृषि तथा पशुपालन क्षेत्रमा सुरक्षित, वैज्ञानिक तथा जिम्मेवार औषधि प्रयोगको आवश्यकता औंल्याउनु भएको थियो । उहाँले किसानस्तरमै एएमआरसम्बन्धी जनचेतना विस्तार गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

    कार्यक्रमको समापन सत्रमा विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थापालियाले एएमआर विश्वव्यापी चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि किसानस्तरमै प्रभावकारी जनचेतना अत्यावश्यक रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय र किसानबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रम एशियन डेभलपमेन्ट बैंक (एडिबि), जेनेक्स र सथगुरुको सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको निरन्तर शिक्षा केन्द्र आयोजना गरेको थियो । निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा.डा. ओमप्रकाश सिंहले कार्यक्रम सफल बनाउन सहयोग पु‍र्याउने सम्पूर्ण सरोकारवाला निकाय, स्रोत व्यक्ति तथा सहभागी किसानहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

  • रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदन गुरुङले लगाइदिए गेटमा ताला !

    रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदन गुरुङले लगाइदिए गेटमा ताला !

    काठमाडौँ  १० पुस
    फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ।

    छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहेका छन् । उनले आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताए ।

    यतिमात्रै होइन उनले आफैँले सामाजिक सञ्जालमार्फत छलफलका लागि दबाब दिन आफूले घरको गेटमा ताला लगाइदिएको बताए । सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने उनको भनाइ छ ।

    उनले एक भिडियो समेत जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं !’

    उनले भिडियोमा भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’

     

  • प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना

    प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना

    काठमाडौँ, पुस १०-
    प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।”

    प्रधानमन्त्री कार्कीले विविध धर्म, भाषा र संस्कृतिको सङ्गम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको पनि उल्लेख गर्नुभएको छ ।

    उहाँले ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । रासस

  • आफ्नै नेतृत्वमा दल बनाउन जुटे बालेन, रविको नेतृत्व नस्वीकार्ने संकेत

    आफ्नै नेतृत्वमा दल बनाउन जुटे बालेन, रविको नेतृत्व नस्वीकार्ने संकेत

    काठमाडौं पुष १०
    काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै नेतृत्वमा नयाँ दल बनाउने तयारीमा जुटेका छन्।

    दल गठनका लागि बालेनसहितको टिम विभिन्न राजनीतिक दलका नेता, पत्रकार, सिभिल सोसाइटीका अगुवा, कलाकार र अन्य पेशागत व्यक्तिसँग परामर्शमा सक्रिय रहेको छ।

    बुधबार उनी ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म विभिन्न व्यक्तिसँग छुट्टाछुटै र सामूहिक रूपमा छलफलमा व्यस्त रहेका थिए। स्रोतका अनुसार, यी छलफल आज पनि जारी रहनेछ।

    छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टका प्रतिनिधि र केही पत्रकारहरू सहभागी थिए। विशेषगरी नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेन–जेजी फ्रन्टकी संयोजक रक्षा बम र शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल सहभागी भएका थिए।

    मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलासँग पनि बालेनले छलफल गरेका थिए। बालेनको समूहले आज पनि विभिन्न व्यक्तिसँगको छलफललाई निरन्तरता दिने योजना बनाएको स्रोतले जनाएको छ।

     

     

  • उच्च मूल्यबाट घट्यो सुनचाँदी

    उच्च मूल्यबाट घट्यो सुनचाँदी

    १० पुस, काठमाडौं ।
    उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ कारोबार भएको थियो । आज अघिल्लो दिन ४ हजार ४०० रुपैयाँ तय भएको छ ।

  • तमिलनाडुमा बसले दुई कारलाई कुल्चिँदा ९ जनाको मृत्यु

    तमिलनाडुमा बसले दुई कारलाई कुल्चिँदा ९ जनाको मृत्यु

    चेन्नई , पुस १० –
    भारतको तमिलनाडु राज्यस्थित कडलूर जिल्लामा बुधबार राति भएको एउटा सडक दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। तिरुचिरापल्लीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी रोडवेज बसको टायर अचानक पड्किएर अनियन्त्रित हुँदा यो घटना भएको हो।

    अनियन्त्रित बस सडकको डिभाइडर नाघेर अर्को लेनमा पुगेपछि विपरित दिशाबाट आइरहेका दुईवटा कारलाई कुल्चिन पुगेको थियो। बसले किचेका दुवै कारहरू पूर्ण रूपमा चकनाचूर भएका छन्।

    दुर्घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीले उद्धार कार्य सुरु गरेका थिए। घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप २ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरूमा ५ पुरुष र ४ महिला रहेका छन्। दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन्, जसमा २ बालबालिका समेत रहेका छन्। घाइतेहरूको हाल सरकारी अस्पतालमा उपचार भइरहेको छ।

    यो दुर्घटनाका कारण चेन्नई–तिरुची राष्ट्रिय राजमार्गमा धेरै किलोमिटर लामो सवारी जाम लागेको थियो। करिब दुई घण्टापछि क्रेनको सहायताले दुर्घटनाग्रस्त सवारी साधनहरू हटाएर सडक सञ्चालनमा ल्याइएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। मुख्यमन्त्री राहत कोषबाट मृतकका परिवारलाई जनही ३ लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई १ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा समेत गरिएको छ। एजेन्सी

  • निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

    निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

    काठमाडौँ, पुस १० –
    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।

    निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।

    आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ । रासस