कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

काठमाडौँ, ८ पुसः 
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताउनुभयो ।

“चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोवल उच्च बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उहाँको भनाइ थियो । नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा कोइरालाले बताउनुभयो ।

उहाँले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *