Blog

  • सन्तनेता पूर्वप्रधानमन्त्री भट्टराईको शालिक राखिने

    सन्तनेता पूर्वप्रधानमन्त्री भट्टराईको शालिक राखिने

    पाटन, पुस ८-
    नेपाली कांग्रेस ललितपुरको पार्टी कार्यालयमा सन्तनेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राखिने भएको छ ।

    नेपाली कांग्रेसका पूर्वपार्टी सभापतिसमेत रहनुभएका सन्तनेता भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले उहाँको सालिक राख्ने स्थानको शिलान्यास गर्नुभयो ।

    शिलान्यास पश्चात् मन्तव्य राख्दै कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले किसुनजी आफ्नो आदर्श व्यक्तित्व भएको बताउँदै उहाँको आश्रमलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो ।

    “किसुनजीका नाममा विसं २०५६ मा भवनको शिलान्यास भएको थियोे, आज शालिक शिलान्यास भएको छ, तत्कालीन अवस्थामा डेराबाट पार्टी कार्यालय चलाउनुपथ्र्यो, धर्म महर्जनले जग्गा दिएर स्वर्गीय केदारबहादुर अमात्यको पहलमा भवन बनेपछि त्यो समस्या समाधान भयो । धेरैको योगदानमा भवन बन्यो, नेपाली कांग्रेसको सम्पत्तिको रुपमा कास्कीले घर बनाएपछिको यो दोस्रो घर हो”, उहाँले भन्नुभयो ।

    नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले आज शिलान्यास भएको शालिक निर्माण सम्पन्न गरी केही दिनमा नै अनावरण गर्ने प्रयास रहेको बताउनुभयो । “सबै साथीहरूको योगदान भवन निर्माणमा रह्यो, हामी नेतृत्वमा आइसकेपछि भवनलाई व्यवस्थित ग¥र्यौँ, शालिक निर्माणमा योगदान गर्नेको मूल्याङ्कन हुनेछ”, उहाँले भन्नुभयो ।

    उहाँले पार्टीको अधिवेशनका क्रममा प्रतिनिधि ल्याउने र क्रियाशील दिने कुरामा कसैले कसैलाई प्रतिबन्ध र बन्देज गर्न मिल्दैन भन्दै यसमा ध्यान दिनुहोला भन्ने आग्रह गर्नुभयो । रासस

  • उवासंघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी समुहको उम्मेद्वारी घोषणा, यस्तो छ सामुहिक प्रतिवद्धता

    उवासंघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी समुहको उम्मेद्वारी घोषणा, यस्तो छ सामुहिक प्रतिवद्धता

    चितवन, पुष ८ –
    उवासंघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी समुहको उम्मेद्वारी घोषणा भएको छ । हेरौं, सामुहिक प्रतिवद्धता ।

     

     

     

  • पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    वीरगञ्ज (पर्सा), पुस ८ –
    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् ।

    गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताउनुभयो । चालु आवको पाँच महिनामा रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, रु ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।

    रु २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन्भने रु २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ । रासस

  • तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

    तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

    दमौली तनहुँ, पुस ८ –
    जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार सङ्घसंस्था दर्ता नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ राजस्व सङ्कलन भएको छ ।

    ४३४ गुनासा फछ्र्यौट
    चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन् । विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो । प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उहाँले बताउनुभयो । गुनासोमध्ये ४३४ गुनासो फछ्र्यौट गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

    सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआरकोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेपनि क्युआरकोडमार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ । त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन । प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फछ्र्यौट भएका छन् । रासस

  • बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

    बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

    गोरखा, पुस ८-
    गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताउनुभयो । उहाँका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो ।

    कम्पनीले रु ३१ अर्ब ३२ करोडको लागतमा बूढीगण्डकी ‘क’ र रु ५६ अर्ब ९९ करोडको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिनुभयो । बूढीगण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ । आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । एक सय ११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभयो । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ ।

    दुई सय २६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभएको छ ।

    “यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ”, उहाँले भन्नुभयो, “भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ ।”

    यहाँ उत्पादन भएको र बूढीगण्डकी क बाट प्राप्त भएको गरी ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ । रासस

  • सुनको मूल्य हालसम्मकै उच्च , तोलामा ५ हजार ५ सय बढ्यो

    सुनको मूल्य हालसम्मकै उच्च , तोलामा ५ हजार ५ सय बढ्यो

    काठमाडौं , पुस ८ –
    अघिल्लो दिनदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै,चाँदीको भाउमा पनि केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ ।

    अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार कारोबार भइरहँदा नेपाली समय १०:५० बजे प्रतिऔंस सुनको भाउ ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ । एक प्रतिऔंस बराबर २ः४३ तोला हुन्छ ।

  • ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

    ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

    भोजपुर, पुस ८ –
    रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट नियन्त्रणका लागि अभियान सुरु गरेको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

    गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल गाउँपालिकामा उपलब्ध प्राकृतिक, पर्यटकीय तथा आर्थिक स्रोतको पहिचान गर्दै त्यसलाई आम्दानीसँग जोड्ने कामलाई प्राथमिकता दिइएको छ ।

    “जनतालाई दिने सेवासुविधालाई सहज बनाउँदै गाउँपालिकाको आन्तरिक स्रोत बलियो बनाउने अभियानमा जुटेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “आन्तरिक स्रोत मजबुत भएमा मात्र स्थानीय सरकार आत्मनिर्भर र सक्षम बन्न सक्छ । त्यसका लागि यहाँका स्रोतसाधनको व्यवस्थित उपयोग आवश्यक छ ।”

    गाउँपालिकामा वनजन्य स्रोत, सवारी तथा ढुवानी साधन, ढुङ्गा, गिट्टी, बालुवा, स्थानीय बजार तथा व्यवसायबाट सङ्कलन हुने राजस्वलाई व्यवस्थित गर्ने लक्ष्यले नियन्त्रणका लागि कडाइ गरिएको उहाँले स्पष्ट पार्नुभयो । राजस्व चुहावट हुने सम्भावित क्षेत्रको अनुगमन बढाइने र नियमविपरीतका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।

    आन्तरिक स्रोत वृद्धि गर्न गाउँपालिकाले पूर्वाधार करअन्तर्गत विभिन्न सवारीसाधन तथा वस्तु ढुवानीमा करका दर निर्धारण गरेको छ । अध्यक्ष राईका अनुसार बाहिरबाट आउने दशचक्के ट्रकलाई एकपटकको ढुवानीमा रु एक हजार ५००, छचक्के सवारीलाई रु एक हजार, मसला तथा फलफूल ढुवानीमा एकपटकको रु ४००, ठूला बसलाई वार्षिक रु तीन हजार, ट्याक्सीलाई वार्षिक रु एक हजार ५०० र बाहिरबाट आउने ठूला ट्रकलाई एकपटकको रु तीन हजार कर तोकिएको छ । राजस्व समिति र स्थानीय प्रहरी प्रशासनको संयुक्त बैठकबाट निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

    यसैक्रममा गाउँपालिकाले राजस्व चुहावट नियन्त्रणसँगै शान्ति सुरक्षा सुदृढ गर्ने विषयमा स्थानीय प्रहरी प्रशासनसँग समन्वय र छलफल थालेको छ । प्रहरी इन्चार्जसँग भएको छलफलमा अनुगमनलाई प्रभावकारी बनाउने, अवैध कारोबार नियन्त्रण गर्ने तथा राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा सहमति भएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले आगामी दिनमा कर प्रणालीलाई प्रविधिमैत्री बनाउने, करदातालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा आन्तरिक आम्दानी वृद्धि गरी विकास निर्माणका कामलाई तीव्रता दिने योजना अघि सारेको छ । रासस

  • आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष ८ गते । मंगलबार । इस्वी सन् २०२५ डिसेम्बर २३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–तृतीया, ९ घडी ३२ पला, बिहान १० बजेर ४२ मनेट उप्रान्त चतुर्थी । नक्षत्र–श्रवण, ५७ घडी ४० पला, रातको ५ बजेर ५७ मिनेट उप्रान्त धनिष्ठा । योग– व्याघात, २३ घडी ४४ पला, बेलुकी ४ बजेर २२ मिनेट उप्रान्त हर्षण । करण–गर, बिहान १० बजेर ४२ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २५घडी ५० पला ।

    हेर्नुस् आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट हुन सकिनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्मसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा वृद्धि हुनेछ । वित्तीय बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार वा शेयर बजारमा आज गरिने लगानी भविष्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ । धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक क्षेत्र फराकिलो हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रसन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै कामहरू गर्न सकिनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ । इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटोपार्टस सम्बन्धी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तर पनि गैह्र न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लगान गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरू सहजै समाधान हुनेछ । राजनीतिक भेटघाट, बैठक तथा गोष्ठीमा समय व्यातित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

    राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

    चितवन, पुस ७-
    राष्ट्रिय स्तरको अनलाइन वक्तृत्वकला प्रतियोगिता “Public Speaking Rhetoric” को आयोजना गरिएको छ। यसको पहिलो चरणको आधिकारिक सूचना सोमबार प्रकाशित भएको छ।

    प्रतियोगिताको पहिलो चरणको लागि “अबको नेपालमा ZEN-Z को भूमिका” विषयमा ३ मिनेटको भिडियो बनाएर पेश गर्नु पर्नेछ। आयोजक समितिका अनुसार, भिडियो २०८२ साल कोजाग्रत पूर्णिमा (२०८२/०९/१०) गतेसम्म पेश गर्नुपर्नेछ। १५ देखि २९ वर्ष उमेर समूहका नेपाली भाषी युवा यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

    प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा उत्कृष्ट २० जना प्रतिस्पर्धी छनोट हुनेछन् भने दोस्रो चरणमा आयोजकले नै नयाँ विषय दिई ३ मिनेटको भिडियो बनाउन लगाउनेछ। दोस्रो चरणको मूल्याङ्कन सामाजिक सञ्जालमा प्राप्त लोकप्रियता (५०%) र निर्णायक मण्डलको निर्णय (५०%) को आधारमा हुनेछ।

    उत्कृष्ट तीन जनालाई नगद राशि, ट्रफी, मेडल र सम्मानपत्रले पुरस्कृत गरिनेछ। प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार र तृतीय १० हजार रूपैयाँ रकम रहनेछ।

    ध्यान दिनुपर्ने मुख्य बुँदाहरू:

    · भिडियो ल्यान्डस्केप मोडमा न्यूनतम ७२०पी (720p) को गुणस्तरको हुनुपर्छ।
    · भिडियो अनिवार्य रूपमा नेपाली भाषामा हुनुपर्छ।
    · सहभागीले आफ्नो वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्छ।
    · भिडियोमा अश्लील, घृणा वा विद्वेष फैलाउने सामग्री हुनु हुँदैन।

    सहभागिता दर्ता र भिडियो पेशगर्न आयोजकले तोकेको गूगल फर्म (Google Form) मार्फत गर्नुपर्नेछ। थप जानकारीको लागि कार्यक्रम संयोजक समीर लामिछाने ९७४५२९०२८३ मनिष पौडेल ९८११२६३९७३ रुपक घिमिरेलाई ९७४१७९१०३७ सम्पर्क गर्न सकिनेछ।

    यस प्रतियोगिताले नेपाली युवाको वक्तृत्व क्षमता, चिन्तन र डिजिटल सञ्चार कौशललाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

  • महोत्सवको फोहोर जलाएको प्रकरण : जेन्जी समूह चितवन र बेटर चितवनद्वारा भरतपुर महानगरलाई अल्टिमेटम

    महोत्सवको फोहोर जलाएको प्रकरण : जेन्जी समूह चितवन र बेटर चितवनद्वारा भरतपुर महानगरलाई अल्टिमेटम

    भरतपुर, ७ पुसः
    नारायणी किनारमा सम्पन्न खेलकुद तथा व्यापार महोत्सवको फोहोर राति जलाइएको घटनामा कारबाही गर्न भन्दै जेन्जी समूह चितवन र बेटर चितवनले भरतपुर महानगरलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । फोहोर जलाइएको २८ दिन बितिसक्दा पनि महानगरले दोषीमाथि कुनै ठोस कारबाही नगरेकाले फेरि चेतावनी पत्र बुझाउन बाध्य भएको जेन्जी समूह चितवनका आशिष सापकोटा बताउँछन्।

    सापकोटाका अनुसार ४८ घण्टे अल्टिमेटम पत्रमा मुख्यत पाँचवटा मागहरू रहेका छन्। महोत्सव आयोजक सम्बन्धित ठेकदार तथा जिम्मेवार पदाधिकारीमाथि फोहोर मैला व्यवस्थापन ऐन ,वातावरण संरक्षण ऐन, स्थानीय सरकार सञ्चालन ऐन तथा सर्वोच्च अदालतका आदेश अनुसार तत्काल कारबाही गर्ने चेतावनी पत्रमा भनिएको छ।यस्तै फोहोर जलाउने कार्यमा संलग्न व्यक्ति तथा संस्थामाथि दण्ड जरिवाना तथा क्षतिपूर्ति असुलीको निर्णय कार्यान्वयन गर्ने समेत पत्रमा उल्लेख छ ।यसैगरी उक्त घटनाबाट नारायणी आसपासको क्षेत्रमा भएको वातावरणीय क्षतिको मूल्याङ्कन गरी सरसफाई तथा पुनःस्थापना कार्य आयोजकबाटै गराउने मागपत्रमा उल्लेख छ।

    बेटर चितवन र जेनजि समुह चितवनले संयुक्त रुपमा आज महानगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेललाई पत्र बुझाएको बेटर चितवनका संस्थापक सागर कार्कीले बताए।उनका अनुसार अन्य मागहरुमा भविष्यमा यस्ता महोत्सव वा ठूला कार्यक्रमका लागि अनिवार्य फोहोर तथा वातावरण व्यवस्थापन योजना पूर्ण कार्यान्वयन नगरेसम्म अनुमति नदिने प्रशासनिक व्यवस्था कडाईका साथ लागू गर्न माग गरिएको छ ।यसैगरी नदी किनार क्षेत्रमा फोहोर फाल्ने वा जलाउने कार्यमा संलग्न जोसुकैलाई शून्य सहनशीलताको नीति अवलम्बन गरी कारबाही गर्ने स्पष्ट निर्देशन जारी गर्न समेत माग गरिएको कार्कीले जानकारी दिए।

    चेतावनी मागपत्र सम्बोधन नभए उपल्लो निकाय मुद्दा लिएर जाने उक्त समूहले जनाएको छ । यसभन्दा अगाडिसमेत दोषीलाई कारबाहीको माग गर्दै गत मङ्सिर ८ गते तिनै समूहले महानगरलाई पत्र काटेका थिए। त्यतिबेला पत्र लिएर बारम्बार महानगर धाइरहेको यो समूह लाई प्रमुख प्रशासकीय अधिकृत पौडेलले घटनाको छानबिन गरी दोषी उपर कारबाही गर्ने प्रतिबद्धता दिएका थिए। आज ठ्याक्कै २८ दिनपछि फेरि उनले पुस ९ गते ५ बजेभित्र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोराएका छन् ।”हामी यस बारेमा बुझेर कारबाही प्रक्रियामा लागेका छौं । पूर्वाग्रह राखेर कारबाही गर्यो भन्ने नपरोस् भनेर केही समय हामीले लिएका हौं। पौडेलले भने । पुष ८ गते नगरसभा सक्ने बित्तिकै यस विषयमा एक्सन लिने उनले फेरि दोहोर्याए ।

    २८ दिनसम्म कारबाही नगरेको महानगरले अबको केही दिनमा कारबाही गर्छ भन्नेमा विश्वास छ भन्ने प्रश्नमा कारबाही नभए पर्यावरण अपराधको ठहर गरी महानगरकै अगाडि धर्ना बस्न लागेको समूहले जानकारी दिएको हो ।”प्रशासनप्रमुखको केही दिनमा सरुवा हुने भन्ने कुरो सुनेको छु। उहाँले कारबाही गर्छु भनेरै दिन र समय तोकेपछि भरोसा नै गर्न नसके पनि आशा गर्नुको विकल्प छैन। कारबाही नगरे हामी सिर्जनात्मक शैलीमा विरोधका कार्यक्रम गर्छौं।परिआए उपल्लो निकाय पुगेरै भएपनि दोषीलाई कारबाही गरेरै छाड्छौं” । समूहका एक सदस्यले चितवनअपडेट सँग भने।

    छलफलको क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफू निकट व्यक्ति र समुहलाई सिफारिसका आधारमा मात्रै अनुमति दिने गरेको हुँदा यो समस्या आएकाले अब नगरसभाबाट नै यस्तो किसिमको मेला महोत्सव गर्न नारायणी किनारको साटो वैकल्पिक स्थानमा मात्रै अनुमति दिने नीति ल्याउन अग्रसर रहेको जानकारी दिए।

    चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा गत कार्तिक १८ देखि मंसिर २ सम्म नारायणी किनारमा गरिएको महोत्सव सकिए लगत्तै राति फोहोर जलाइएको थियो।

    महानगरको फोहोर उठाउने ठेक्का पाएको संस्थाका केशव नेपालले यस विषयमा आयोजकले आफूहरूसँग कुनै पूर्व सम्झौता नगरेको बताएका छन्। पहिले ४ लाख रुपैयाँमा महोत्सवको फोहोर उठाउने आफूहरुले प्रस्ताव गरेपनि आयोजक सहमत नभएपछि २.५ घनमिटर फोहोर सहितको एक ट्रिपको ३००० पर्ने भन्दै आफूहरुले बताएको तर आयोजक सँग फोहोर उठाउने कुनै सहमति नभएको उनले प्रस्ट पारे ।

    यस विषयमा आयोजक चितवन खेलकुद विकास समितिले भने घटनाको जानकारी सञ्चारमाध्यममा समाचार आएपछि मात्रै थाहा पाएको भन्दै फोहोर जलाउनमा आफूहरुको संलग्नता नरहेको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो।