Blog

  • शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

    शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

    राजविराज पुस १५
    शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

    राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ ।

    त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले बिदा दिइएको उल्लेख छ ।

    त्यसैगरी अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनका लागि बिदा दिएको जारी सूचनामा उल्लेख छ ।

    यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइसकेको छ । ती दुवै पालिकाले पुस १८ गते शुक्रबारसम्म पाँच दिनको बिदा दिएको छ । साथै बोदेवरसाइन नगरपालिकाले पनि जाडो बिदा दिएर त्यहाँका सबै बिद्यालय बन्द गराइएको थियो । बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म्म विद्यालय बन्द गरेको थियो ।

    सप्तरीमा शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ । बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । अहिले चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । खासगरी रुघाखोकी, ज्वरो तथा दमका बिरामी यहाँ उपचारका लागि आउने गरेका अस्पताल प्रशासनले जनाएको छ । जिल्लाको अन्य स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ ।

  • शीतलहरले बाटो चिप्लो हुँदा १४ घण्टादेखि दाउन्ने सडक अवरुद्ध

    शीतलहरले बाटो चिप्लो हुँदा १४ घण्टादेखि दाउन्ने सडक अवरुद्ध

    बुटवल पुस १५

    शीतलहरले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा १४ घण्टादेखि सडक अवरुद्ध भएको छ ।

    दाउन्ने पहाडको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर चल्न सकेका छैनन् ।

    लामो जामले गर्दा सास्ती भोग्नु परेको यात्रुले गुनासो गरेका छन् । काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा फसेको बताए ।

    इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले शीलतरहरले बाटो चिप्लिएपछि गाडीको ठूलो लाम लागेको बताए । ‘समस्या आइतबारदेखि नै थियो,’ काफ्लेले भने, ‘हिजो साँझदेखि ठप्प नै छ । बढी समस्या अहिले नवलपरासी पश्चिम खण्डमा छ । प्रहरीले खुलाउने प्रयास गरिरहेको छ । ’

    निर्माणाधीन बुटवल नारायणगढ ११४ किलोमिटर सडकको अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ । दाउन्नेमा वान वे बनाएर काम गर्दा ओभरलोड गाडी बिग्रिने समस्या भएको उनले बताए ।

  • हेर्नुस् तपाइँको आजको राशिफल

    हेर्नुस् तपाइँको आजको राशिफल

    आज मिति २०८२ पौष १५ गते (३० डिसेम्बर २०२५) मंगलवार, पौष शुक्लपक्ष एकादशी तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष।

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    जाेशजाँगर बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश सञ्चय गर्न नसकिएला। अरूका लागि खर्च हुनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    दिन उपलब्धिमूलक रहनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। गुमेको चिज पुनः प्राप्त हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिसँग मित्रता बढ्नेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे काममा जग बसाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू पनि भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। व्यवसायतर्फ विशेष अवसर प्राप्त हुन सक्छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। मिहिनेतले राम्रो उपलब्धि प्राप्त हुनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सानोतिनो कमजोरीले अल्झाउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत बन्नेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    आँटले काम बन्नेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्।

  • म नेपाल हाँसेको हेर्न चाहन्छु : बालेन शाह

    म नेपाल हाँसेको हेर्न चाहन्छु : बालेन शाह

    १४ पुस, काठमाडौं-
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।

    ‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् ।

    कुलमान घिसिङलाई रास्वपा ल्याउनेगरी सहमति भएपछि बालेनले तस्वीर सेयर गर्दै उक्त पोस्ट गरेका हुन् ।

    बालेन भने हिजो बिहानै रविसँगका एकतामा हस्ताक्षर गरेका थिए । कुलमानसँग पनि केहीबेर अघि एकतामा हस्ताक्षर भएको छ ।

  • नेकपा र रञ्जिताको नागरिक उन्मुक्ति पार्टीबिच एकता

    नेकपा र रञ्जिताको नागरिक उन्मुक्ति पार्टीबिच एकता

    काठमाडौं, पुस १४-
    रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।

    सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

  • कुलमान, रवि र बालेन एउटै दल भएर निर्वाचनमा जान सहमत

    कुलमान, रवि र बालेन एउटै दल भएर निर्वाचनमा जान सहमत

    काठमाडौं, पुस १४-
    उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्।

    सोमबार कुलमान र रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।

    दुई जनाबीच सहमति भएको हामी नेपालका संस्थापक सुदन गुरूङले सेतोपाटीलाई बताए।

    रास्वपाका उपसभापति डिपी अर्यालले पनि तीन जना मिलेर जाने सहमति भएको बताए।

    ‘सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुँदैछ,’ उनले भने।

  • हर्कले भने- बालेन जहाँबाट उठे पनि हराउँछौं

    हर्कले भने- बालेन जहाँबाट उठे पनि हराउँछौं

    काठमाडौँ, १४ पुसः
    श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आगामी संसदीय निर्वाचनमा पराजित गर्ने चेतावनी दिएका छन्।

    सोमबार साँझ सामाजिक सञ्जालमार्फत शृंखलाबद्ध टिप्पणी गर्दै साम्पाङले बालेनले जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए पनि आफ्नो पार्टीले हराउने दाबी गरेका हुन्।

    ‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छन्, त्यहीँ हामी हराउनेछौं,’ साम्पाङले लेखेका छन्।

    मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने तयारी गरे पनि कुन क्षेत्रबाट उठ्ने भन्ने टुंगो लागिसकेको छैन।

  • नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

    नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ, १४ पुसः 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

    कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो ।

    पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।

    पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ । साथै अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ ।

    नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ ।

    एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ ।

  • रास्वपासँग फेरि छलफलमा जुटे कुलमान

    रास्वपासँग फेरि छलफलमा जुटे कुलमान

    काठमाडौं पुस,१४
    उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् ।

    पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुन: छलफलका लागि गएको कुलमाननिटक एक नेताले बताए ।

    स्रोतका अनुसार, केहीबेरअघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् ।

    उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन ।

    ‘रवि दाई भर्खरै बैठकबाट निस्कनुभयो,’ रास्वपा स्रोत भन्छ, ‘कुलमानजीसँग छलफल गर्न भनेर जानुभएको छ ।’

    यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन् ।

     

     

  • भदौ २३ गतेको प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने आकलन थियो, परिस्थिति असामान्य बन्यो : रमेश लेखक

    भदौ २३ गतेको प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने आकलन थियो, परिस्थिति असामान्य बन्यो : रमेश लेखक

    काठमाडौं पुस १४,

    तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजीले गरेका प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि अत्यन्त दु:खद घटना भएको बताएका छन् ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान दिएर फर्किएपछि लेखकले पत्रकार सम्मेलन गर्दै आन्दोलनको उद्देश्य राम्रो भए पनि त्यसबाट उत्पन्न परिस्थिति असामान्य बनेको बताए ।
    भदौ २२ गते साँझ ६ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बसेको स्मरण गर्दै लेखकले त्यसअघि दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको बताए ।

    उनले भने, ‘२३ गते हुने जेनजी आन्दोलनबारे सूचनाको संकलन र विश्लेषण भयो, त्यहाँ सबै सुरक्षा निकायले आपसी समन्वयमा परिचालन हुने निष्कर्षसहित बैठक टुंगियो ।’

    लेखकले केन्द्रीय सुरक्षा समितिको बैठकमा हताहती र कोही पनि मान्छे मर्ने अवस्था नरहोस् भनेर निर्देशन दिएको बताए ।

    ‘जेनजी आन्दोलन कुनै राजनीतिक दलको आयोजनामा आन्दोलन नभएर घुसपैठ हुनसक्छ भनेर ख्याल गर्नुहोला भनेर सुरक्षा निकायलाई निर्देशन दिएको थिएँ,’ लेखकले भने, ‘त्यस बैठकमा अशान्ति हुने, हिंसात्मक घटना हुने, बल प्रयोग हुने कुनै खालका निर्णय भएको थिएन ।’