Blog

  • हेर्नुस तपाइँको आजको राशिफल

    हेर्नुस तपाइँको आजको राशिफल

    आज मिति २०८२ पुस १४ गते (२९ डिसेम्बर २०२५) साेमवार, पौष शुक्लपक्ष दशमी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।

    हेर्नुस आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। आम्दानीकाे नयाँ स्राेत फेला पर्न सक्छ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ। काममा साथ दिनेहरू पनि बढ्नेछन्। व्यवसायमा फाइदा हुनेछ। मान–सम्मान समेत प्राप्त हुने समय छ। भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मनग्य आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला। मिहिनेत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। अर्थ अभावले कुनै काम बीचैमा राेकिन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्च बढ्नेछ। तापनि पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रोकिएकाे काम अग्रजहरूको सहयोगले बन्न सक्छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले कामको तारिफ गर्नेछन्। पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। मान-प्रतिष्ठा कमाउने बेला छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। तत्काल फाइदा नभए पनि सम्भावना पहिचान गर्न सकिनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजना गोप्य राखेर अघि बढ्नुहोला, चाँडै लाभ उठाउन सकिनेछ। चुनौती चिर्दै काम बनाउने समय छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। पछिसम्म फाइदा हुने दिगाे काम थालनी हुने अनुकूल समय छ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। तर बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

  • जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

    जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

    काठमाडौँ, १३ पुसः 
    जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

    आज यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो ।

    देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा, नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरियो ।”

  • चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन, १३ पुस :
    इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा आइतबार भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्बललाई एक विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

    टस जितेर पहिले बलिङ रोजेको चितवनले १ सय ४४ रनको विजयी लक्ष्य पाएको थियो । एपीएफले दिएको विजयी लक्ष्य चितवन क्लबले १९ दशमलव ५ ओभरमा नौ विकेट गुमाएर भेट्टायो । एक बल बाँकी रहँदा चितवनका विपिन खत्रीले छक्का प्रहार गर्दै टिमलाई विजय बनाएका हुन् ।

    चितवनलाई विजयी बनाउन शुभ कंस्साकारले ३७ बलमा ६७ रन र दिपक डुम्रेले ३२ बलमा ३७ रन बनाए । बलिङतर्फ एपीएफका इर्साद अहमदले १८ रन खर्चेर ५ विकेट, दिवान पुनले १७ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै पहिले ब्याटिङ गरेको एपीएफका दिपक बोहोरा (ए)ले ४७, अमसिंह रौटेलाले २५ र सुमित महर्जनले २८ रन बनाए ।

    बलिङतर्फ चितवनका दिपेश कंडेलले २ र विपिन खत्रीले एक विकेट लिए । फाइनल खेलको म्यान अफ दि म्याच चितवनका शुभ कंस्कार चुनिए । उनले पाँच हजार रुपैयाँ हात पारे ।

    प्रतियोगिताको विजेताले चार लाख नगद र ट्रफि हात पारेको छ । यस्तै उपविजेता एपीएफले दुई लाख र तृतीय भएको त्रिभूवन आर्मी क्लबले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।उनीहरुलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ट्रफि र नगद प्रदान गरे । प्रतियोगितामा म्याद अफ दि म्याच आर्मीका त्रित राज दास घोषित भए ।

    उनले प्रतियोगिता अवधिभर अलराउण्डर प्रर्दशन गर्दै ३१० र ६ विकेट लिएका थिए । उनले १५ हजार रुपैयाँ नगद प्राप्त गरे । यस्तै वेस्ट ब्याटरमा ३१८ रन बनाएका दिल्ली वन्र्डसका महमद कैफ र १६ विकेट लिएका चितवनका दिपेश कंडेल वेस्ट बलर चुनिए । उनीहरुले १०/१० हजार रुपैयाँ हात पारे ।

    एपीएफ, दिल्ली वन्र्डस र पुलिसलाई पराजित गर्दै चितवन सेमिफाइनलमा पुगेको थियो । लिग चरणमा आर्मीसँग पराजित भएको चितवनले सेमिफाइनलमा आर्मीलाई नै पराजित गर्दै फाइनलमा पुगेको थियो । प्रतियोगितामा भारतका दुई टिम सहित छ टिमको सहभागिता रहेको थियो ।

  • जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं, १३ पुस:
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो ।

    उहाँले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गर्नुभयो । “आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अनुरोध छ”, प्रवक्ता डा बुढाथोकीले भन्नुभयो ।

    मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि अनुरोध गरेको छ ।

  • सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान

    सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान

    काठमाडौं, पुस १३
    भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगले हामी नेपालका संस्थापक सुदन गुरूङसँग बयान लिएको छ।

    आइतबार आयोगको कार्यालयमा उपस्थित भएर उनले बयान दिइरहेका छन्। बयान अहिले पनि जारी रहेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

    ‘२/३ घण्टादेखि बयान लिने काम भइरहेको छ, उहाँले यति धेरै कागजात लिएर आउनु भएको छ। हामी हेर्दैछौं,’ उनले भने।

    सुदन गुरूङले पनि सामाजिक सञ्जालमा आफू हामी नेपालीसँग आवद्ध आर्थिक कारोबार सम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित उपस्थित भएको लेखेका छन्।

  • राप्रपाले निर्वाचनमा सक्रिय रुपमा भाग लिनेः अध्यक्ष लिङ्देन

    राप्रपाले निर्वाचनमा सक्रिय रुपमा भाग लिनेः अध्यक्ष लिङ्देन

    मोरङ, १३ पुसः 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताउनुभएको छ ।

    राप्रपा मोरङ जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सक्रिय रुपमा सहभागिता जनाउने बताउनुभयो । उहाँले हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी राप्रपा भएकाले यस सम्बन्धमा इमान्दार एवं सक्रिय रुपमा पार्टीको ‘एजेन्डा’ जनतालाई बुझाउन कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

    अध्यक्ष लिङ्देनले भन्नुभयो, “जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम  गर्नु हो, निर्वाचन होइन ।”  अध्यक्ष लिङ्देनले जेनजी पुस्तासहित मुलुकमा विद्यमान सबै शक्तिबीच गोलमेच सम्मेलन गरी निर्वाचन अगाडि देखिएका माग समाधान गर्न आग्रह गर्नुभयो ।

    अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष गोपाल कट्वाल, महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, रामकुमार सुब्बालगायतले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन जनताको घरदैलोमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो । जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

  • म कांग्रेस बदल्न चाहन्छु, चुनाव लड्दिनँ : विश्वप्रकाश शर्मा

    म कांग्रेस बदल्न चाहन्छु, चुनाव लड्दिनँ : विश्वप्रकाश शर्मा

    काठमाडौँ पुस,१३
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन् ।

    आइतबारको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै शर्माले आफूले प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकमार्फत जाने भन्ने नभएको बताएका हुन् ।

    ‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसद्‌मा जाने भन्ने होइन,’ शर्माले बैठकमा भने,पार्टीको महामन्त्री समानुपातिकमा बस्नु भनेको एक अर्को साथीको सभावना र अवसर खोस्नु हो । म त्यस्तो गर्न चाहन्नँ ।’

    उनले संसद्‌ नगएर सम्पूर्ण समय पार्टीमा खर्चिन चाहेको पनि बताए ।

    ‘म संसद्‌मा नगएर सम्पूर्ण समय पार्टीमा काम गर्न चाहन्छु । कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरुरी छ । म त्यसमै समर्पित हुन चाहन्छु’ शर्माले भने ।

     

  • मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल

    मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल

    पोखरा, पुस १३-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताउनुभयो ।

    “यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरुप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो । उहाँले दलका नेताको दासका रुपमा नभइ विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गर्नुभयो ।

    “नयाँ राजनीतिक दलहरु मिल्दै छन्, पुराना दलहरु पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो ।

    त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । संस्थाको सर्वोपरी हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिष्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कर्मचारीको वृत्तिविकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । रासस

  • रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

    रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

    काठमाडौं, पुस १३-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन) को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आज (आइतबार) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति भएको हो ।

    रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।

    “बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।

  • चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन

    चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन

    नारायणगढ (चितवन), पुस १३-
    चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो ।

    केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्नेगरी सेवा सुरु गरेको छ । यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलाप प्रदान गरिने केन्द्रका अध्यक्ष हिरामान महर्जनले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहन गर्नु हो ।” ज्येष्ठ नागरिकलाई परिवार बाहिर पनि सामाजिक तथा मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    केन्द्रमा मुख्य रूपमा फिजियोथेरापी सेवा, शल्यक्रियापछिको हेरचाह, डिमेन्सिया, अल्जाइमर, पार्किन्सन रोगीको हेरचाह, पक्षघात (प्यारालाइसिस) भएका बिरामीको सेवा तथा ‘पेलियटिभ केयर’ सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार सेवा विस्तार गर्ने योजना बनाएको केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार केन्द्र ४५ सेयर सदस्यको लगानीमा स्थापना गरिएको हो ।

    करिब रु दुई करोडको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रले प्रारम्भिक चरणमा १५ शय्या क्षमताबाट सेवा सुरु गरेको छ । केन्द्रमा हाल १५ कर्मचारी कार्यरत छन्, जसमध्ये सात जना केयरगिभर रहेका छन् । आवासीय संरचनाअन्तर्गत १० सामान्य शय्या र पाँच मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचनाअनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो । रासस