Blog

  • राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    काठमाडौँ, पुस १५ –
    प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ ।

    बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न अनुरोध गर्नुभयो ।

    राजनीतिक अस्थिरतासहित अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन हुन आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गर्नुभयो ।

    मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पार्नुभयो ।

    “धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौँ, सम्बद्ध सबै पक्षको साथ सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिएका छौँ,” उहाँले भन्नुभयो, “सबै किसिमका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ । यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ र सक्रिय रुपमा सहभागी भई निर्वाचनलाई सफल बनाऔँ ।”

    “हामी पनि न्यायका पक्षधर हौँ, सत्ताभोग र सुखसयल गर्न सरकारमा आएका होइनौँ । भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ । सबै कामको नतिजा रातारात नदेखिए पनि आधारशिला तयार गरेका छौँ । तपाईंले उठाउनुभएका कतिपय माग, मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ । अझै थप छलफल गर्दै जाऔँला, सरकार सदैव यहाँहरूकै साथमा छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

    सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

  • जेनजी आन्दोलनका सहिद रसिककी आमा रचना पनि रास्वपाको समानुपातिक सूचीमा

    जेनजी आन्दोलनका सहिद रसिककी आमा रचना पनि रास्वपाको समानुपातिक सूचीमा

    काठमाडौँ , पुस १५ –
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई पनि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ।

    रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा रचनाको नाम खस आर्य महिला क्लस्टरबाट नवौँ नम्बरमा राखिएको छ। रास्वपाले उक्त क्लस्टरमा प्रतिभा रावललाई पहिलो नम्बरमा राखेको छ।

    खतिवडाले रास्वपा सभापति रवि लामिछानेले आफूलाई भेटेरै समानुपातिक सूचीमा बस्न भनेको बताएकी छन्।

    जेनजी आन्दोलनको क्रममा रसिकलाई भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शन छाती र पेटमा गोली लाग्दा ज्यान गएको थियो।

  • रास्वपाको समानुपातिक बन्दसूचीमा चितवनका मात्रै २१ जना, को-को परे ?

    रास्वपाको समानुपातिक बन्दसूचीमा चितवनका मात्रै २१ जना, को-को परे ?

    चितवन, पुस १५-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा चितवनका २१ जना समावेश भएका छन् । सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर पठाएको ११० जनाका नामावलीमा चितवनका मात्रै २१जना परेको रास्वपा चितवनका सभापति कृष्ण भूषालले जानकारी दिए । बन्द सूचिमा चितवनका २१ जना लेखिएपनि सविना मियाँ पनि चितवनबाट नै सिफारिसमा परेको उनले बताए ।

    ‘बन्द सूचीमा पर्नुभएका व्यक्तिको नागरिकता चितवनको तर अधिकांशको बसोबास अन्य जिल्लामा छ,’ उनले भने ‘चितवनको भोटर को-को हुनुहुन्छ हामीले छुट्टाउन बाँकी छ ।’ उनका अनुसार पार्टीको अन्तरिक निर्वाचन मार्फत चितवनबाट मनोहर प्रधान, प्रभा ढकाल र समिना मिया गरी तीन जना मात्र सिफारीस भएका थिए । पार्टी सभापति भुषालले कतिपय व्यक्ति विवेकशिल साझा, बालेन र कुलमान समुहबाट सिफारिस भएका कारण जिल्लाबासी छुट्टाउन कठिन भएको बताए ।

    समानुपातिकको बन्दसूचीमा चितवनबाट आदिवासी जनजाति तर्फ पाँच जना, खस आर्य तर्फ १५ र एक जना मुस्लिम समुदाय तर्फबाट बन्द सूचीमा परेका छन् । आदिवासी जनताति तर्फ डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लक्पा शेर्पा र सुरेश गुरुङको नाम बन्दसूचीमा परेको छ ।

    यस्तै खस आर्य तर्फबाट सचिन ढकाल, सुदिप ढकाल, अनुप कुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भूषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीता देवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल रहेका छन् । लामिछाने उज्यालो नेपाल पार्टीबाट बन्द सूचीमा परेकी हुन् ।

    चितवनपछि रास्वपाले मोरङ जिल्लाबाट १४ जनाको नाम समानुपाति तर्फको बन्दसूचिमा राखेको छ । सूदुरपश्चिमका आठ जिल्लाबाट भने एक जनाको पनि नाम सिफारिस भएको छैन ।

  • चितवनमा थपिए ३४ मतदान केन्द्र

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    चितवन, पुस १५-
    प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ । त्यसमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र कायम गरिएको छ ।

    उहाँका अनुसार मतदानस्थल भने थप भएका छैनन् । गत निर्वाचनमा कायम रहेका १६२ मतदानस्थल नै कायम गरी केन्द्र थप गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र थपिएका छन्, स्थल भने पहिलाको नै हो ।” क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल रहेको उहाँले जानकारी दिनुभयो । यस वर्षको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

    उहाँले ३३ हजार ७४० जना मतदाता थपिएको बताउनुभयो । क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ मतदाता कायम भएको उहाँले बताउनुभयो ।रासस

  • व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकताः कुलमान

    व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकताः कुलमान

    काठमाडौं,पुस १५-
    कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको बताएका छन्। ऊर्जामन्त्रीसमेत रहेका घिसिङले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। उनले भनेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’

    यो एकीकरणले देशलाई निकास दिने उनको विश्वास छ। उज्यालो अभियानलाई अझ सशक्त बनाउन जस्तै निरन्तर साथ र सहयोग रहने विश्वास उनले व्यक्त गरेका छन्। उनले थप लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’

    सोमबार साझ रास्वपा सभापति रवि लामिछाने र कुलशमानले पार्टी एकीकरणको सहमति गरेका हुन्। यो सहमतिको साक्षी बालेन्द्र साह बनेका छन्।

  • तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

    तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

    काठमाडौँ, पुस १५-
    उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।

    नेपालका आदिवासी तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको पावन अवसरमा आज उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

    उहाँले भन्नुभएको छ, “यस दिनपछि दिन लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण सृजना हुने जनविश्वासले प्रकृति र जीवनशैलीबीच गहिरो सम्बन्ध उजागर गर्नमा यो पर्वले सहयोग पुग्दछ ।”

    गुरुङ समुदायले पुस १५ दिन पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने परम्परा छ । यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै सामुदायिक जीवनमा नवीन ऊर्जा थप्ने कार्य गरेको उहाँको भनाइ छ । कृषि चक्रसँग सम्बन्धित ल्होसारलाई सूर्यको गतिसँग पनि जोडिएको मानिन्छ ।

    “यस अवसरमा पूजापाठ गर्ने, रैथाने परिकार तयार गर्ने, मौलिक नाचगान गर्ने, रोधीघरमा दोहोरी गाउनेलगायत सांस्कृतिक एवं परम्परागत गतिविधि आयोजना हुनुले सामुदायिक आस्था, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सघाउँदछ”, शुभकामना सन्देशमा भनिएको छ । रासस

  • रास्वपाका समानुपातिक उम्मेदवारः क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म (सूचिसहित)

    रास्वपाका समानुपातिक उम्मेदवारः क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म (सूचिसहित)

    काठमाडौं,पुस १५-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले मध्यरातमा काठमाडौं महानगरपालिकामेयर बालेन्द्र शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिक सूची बुझाएको हो ।

    सोमबार मात्रै दुवै समूहसँग एकता सकेपछि बुझाइएको सूचीमा कलाकार प्रकाश सपूतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसमेतलाई समेटिएको छ । यश सूचीमा बालेनका ४० जना र कुलमानको उज्यालो नेपालका १८ जनालाई राखिएको छ । अरू रास्वपाका छन् ।

  • रामबहादुर थापा ‘बादल’ एमालेको समानुपातिक सूचीमा, एक नम्बरमै नाम

    रामबहादुर थापा ‘बादल’ एमालेको समानुपातिक सूचीमा, एक नम्बरमै नाम

    काठमाडौं,पुस १४-
    नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि समानुपातिक सूचीमा परेका छन् । एमालेले अहिले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा उनको पनि नाम समावेश छ । उनी आदिवासी जनजातीको पहिलो नम्बर रहेका छन् ।

    बादल पछिल्लोपटक अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्रका रूपमा देखिएका छन् । उनलाई ओलीले आफूपछिको वरीयतामा राखेका छन् ।

  • समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

    समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

    पाटन (ललितपुर), पुस १५ –
    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।

    तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

    “तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उहाँले भन्नुभएको छ ।

    कार्यवाहक सभापति खड्काले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । रासस

  • नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

    नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

    राँझा (बाँके), पुस १५ –
    नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    चालु आवको पाँच महिनामा रुसात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । चालु आवको साउनमा रुएक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रुएक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रुएक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९।७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

    त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत रुएक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रुदुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत रुएक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व सङ्कलन भएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१.८२ को साउनमा लक्ष्यको ७३।६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

    नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा रु ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। चालु आव २०८२.८३ को मङ्सिर मसान्तसम्म रु३० अर्ब ६६ करोड ८९ लाख ९० हजारबराबरको वस्तु तथा सामान आयात भएको हो ।

    गत आव २०८१.८२ को सोही अवधिमा रु २९ अर्ब आठ करोड ४५ लाख ४४ हजारबराबरको मालसामान आयात भएको थियो। नेपालगन्ज भन्सार कार्यालयबाट चालु आवको पाँच महिनामा रुएक अर्ब एक करोड ६३ लाख ८९ हजारबराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा रु ८८ करोड ६८ लाख ८२ हजारबराबरको मालसामान निर्यात भएको थियो।

    चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल रु३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजारबराबरको कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा रु२९ अर्ब ९७ करोड १४ लाख २६ हजारबराबरको कारोबार भएको थियो।कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको पाँच महिनामा उस्तै रहेको छ। अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६।६८ रहेकोसूचना अधिकारी खड्काले बताउनुभयो । रासस